सेतोपाटी, काठमाडौं, असोज २०
कविका रूपमा परिचित विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’ बजारमा आएको छ । अयोग्य छापामारको कथावस्तुमा आधारित उपन्यासमा छापामार युवतीको दुःख, आशा र पराक्रमको रोमाञ्चक कथा रहेको छ। सार्वजनिक उपन्यासमा एउटी युवतीले पालेको सपना कसरी भत्कन्छ र ऊ कसरी अयोग्य बनी तथा के मान्छे अयोग्य हुन्छ ? भन्ने कुरा उपन्यासले उठान गरेको छ ।
उपन्यासका सम्बन्धमा उपन्यासकार भण्डारीले यस्तो भनेका छन्,‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्याङ्कन गर्नुपर्नेमा अयोग्य बनाएको छ । यो गलत निर्णय थियो ।’
‘पहेँलो घाम’ लेखकको पहिलो उपन्यासिक कृति हो । यस अघि भण्डारीका कविता सङ्ग्रह, खण्डकाव्य र महाकाव्य गरी आठ कृति प्रकाशित भइसकेका छन्। भारतको अघोषित नाकाबन्दीका कारण किताव औपचारिक कार्यक्रम नगरिकनै सार्वजनिक गरेको प्रकाशकले जनाएको छ।
प्रकाशित मिति बुधबार, आश्विन २०, २०७२
http://kala.setopati.com/news/1984/