रातोपाटी | असोज २०
काठमाडौं – विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’ बजारमा आएको छ । चार दशकदेखि निरन्तर काव्यिक आन्दोलनमा क्रियाशील विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’ अयोग्य छापामारको कथावस्तुमा आधारित छ ।
जनयुद्धमा साहसिक योद्धाको रुपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र साहसको रोमाञ्चकतासँगै उपन्यास अघि बढ्ने उपन्यासकार भण्डारी बताउँछन् । ‘पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन्,’ उपन्यासकार भण्डारी भन्छन्, ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्याङ्कन गर्नुको साटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो । मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हुँ ।’
उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै उतारिएको उनको भनाइ छ । ‘उपन्यासमा माओवादी आन्दोलन किन र कसरी पहेँलो घामजस्तो कमजोर र ऊर्जाहीन भयो भन्ने खोज गरेको छ,’ उनले भने ।
प्रगतिशील कविताका रुपमा परिचित भण्डारीको यसअघि आठ काव्यकृति प्रकाशित छन् । विद्रोहको छाल (खण्डकाव्य–२०४३), आँधी–तुफान (मुक्तक संग्रह–२०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य–२०४५), कालो नाटक (लघुकाव्य- २०४५), फेरि अर्को तारा खस्यो (कविता संग्रह–२०६३), देश जागेको बेला (कविता संग्रह–२०६३), उत्सर्ग (महाकाव्य–२०६७) र घाइते ह्विलचेयर (कविता संग्रह–२०६९) उनका प्रकाशित कृति हुन् ।
पहेँलो घामलाई प्राइम बुक्स प्रालिले प्रकाशन गरेको हो । २९६ पृष्ठ रहेको उपन्यासको मूल्य तीन सय ५० रूपैयाँ छ ।
भारतले गरेको अघोषित नाकाबन्दीले सिर्जना भएको विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम नगरीकनै पहेँलो घामलाई बजारमा पठाइएको हो । सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम नगरी बजारमा पठाएको प्राइम बुक्सका अध्यक्ष पुरन थापाले बताए ।
http://www.ratopati.com/sahitya/7876/