काठमाडौं, असोज २० (नागरिक)
विष्णु भण्डारीको उपन्यास ‘पहेंलो घाम’ बजारमा आएको छ। नाकाबन्दीका कारण औपचारिक कार्यक्रम नगरेरै उपन्यासलाई पाठकमाझ पठाइएको हो।
‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन । यही कारण कतिपय पूर्वघोषित पुस्तक बजारमै आउन सकेको छैन । हामीले चाहिँ पाठकको चाहनालाई सम्बोधन गर्दै पुस्तक बजारमा पठाएका हौं,’ प्रकाशक प्राइम बुक्सका अध्यक्ष पुरन थापाले बताए।
चार दशकदेखि काव्यिक आन्दोलनमा क्रियाशील विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’ अयोग्य छापामारको कथावस्तुमा आधारित छ । जनयुद्धमा साहसिक योद्धाका रूपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ। युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र देखाएको साहसको रोमाञ्चसँगै उपन्यास अघि बढ्छ। पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन् ।
उपन्यासकार भण्डारी भन्छन्, ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्यांकन गर्नुसाटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो । मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हुँ ।’
प्रगतिशील कविका रूपमा परिचित भण्डारीको यसअघि महाकाव्य, खण्डकाव्य, कवितासंग्रह र मुक्तक संग्रह गरी सात कृति प्रकाशित भइसकेका छन् । २९६ पृष्ठ रहेको उपन्यासको मूल्य ३ ५० रूपैयाँ राखिएको छ।