dangsandesh.com
प्रकाशित मिति : शुक्र, माघ १२, २०७४
माओवादी केन्द्र निकट एक दर्जन साहित्यकारहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
एकताको नाममा एमालेमा विलय हुन लागेको भन्दै जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीलगायतले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
अध्यक्ष भण्डारीले आफूलाई विगतमा माओवादीले उठाएका मुद्दाका कारण आकर्षित गरेको तर एमालेमा विलय हुन लागेका कारण त्यहाँ बस्नुको कुनै कारण नरहेको बताए । उनले माओवादी केन्द्रले अब क्रान्तिको कार्यभार पूरा गर्न नसक्ने दाबी समेत गरे ।
“जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । कुरा सिद्धान्तको हो । सपनाको हो । मलाई माओवादीले उठाएका मुद्धा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् । माओवादी केन्द्रले समाज रूपान्तरणमा अहिलेसम्म जेजति भूमिका निभायो त्यसप्रति कसैले पनि असहमति जनाउनु पर्ने देख्दिन । अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ” भण्डारीले लेखेका छन् ।
“अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु । पार्टीबाट अलग हुँदा कसैलाई गालीगलौज गर्नुपर्ने पनि छैन । हिजोसम्म हिरा आज किरा भन्नुपर्ने पनि छैन । यो बीचमा मलाई सहयोग गर्ने, सँगै मिलेर काम गर्ने साथीहरूलाई धन्यवाद दिँदै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग्गिएको घोषणा गरेको गर्दछु” भण्डारीले लेखेका छन् ।
पार्टी परित्याग लगत्तै भण्डारीले समाजवादी लेखक संघ गठन गरेका छन् । बिहिबार राजधानीको कोटेश्वरमा भएको भेलाले सङ्घ गठन गरेको हो ।
समितिमा उपन्यासकार तथा कवि विष्णु भण्डारी, कवि शकुन्तला जोशी, कवि तथा पत्रकार कला अनुरागी, कवि तथा पत्रकार शैलज पौडेल, रङ्गकर्मी तथा लेखक केदार श्रेष्ठ र कवि छम गुरुङ रहेका छन् ।
ps://www.dangsandesh.com/2018/01/26/1322/