लेखक सङ्घमा विष्णु भण्डारी

मूल्याङ्कन सम्वाददाता | April 25, 2016

वैशाख १३, काठमाडौं । 

अखिल नेपाल लेखक संघको अध्यक्षमा कवि तथा उपन्यासकार विष्णु भण्डारी चुनिएका छन् । शनिबार राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्ष चयन गरेको हो ।

भण्डारी यसअघि संघको केन्द्रीय समिति सदस्य रहिसकेका लेखक हुन् भने सम्मेलन अवधिमा उनी कार्यवाहक संयोजकका रुपमा कार्यरत थिए । वामपन्थी लेखकहरुको साझा संस्था प्रगतिशील लेखक संघको कोषाध्यक्ष समेत रहिसकेका भण्डारीका आधा दर्जन पुस्तक प्रकाशित छन् । गत वर्ष प्रकाशित ‘पहेँलो घाम’ उनको पहिलो उपन्यास हो ।

सम्मेलनबाट महासचिवमा समालोचक तेजविलास अधिकारी चुनिएका छन् भने उपाध्यक्षमा सीता शर्मा, डा. धनप्रसाद सुवेदी, डा. मधुसुदन गिरी, यज्ञबहादुर डाँगी, भानु भण्डारी र सुशिला प्रधानांग चयन भएका छन् ।

सात प्रदेशबाट सात सचिवसहित नौ सचिव चुनिएको संघले जनाएको छ । जसमा प्रमोद धिताल, जनक रसिक, छवि सुवेदी, मदन भण्डारी, इन्द्रकुमार श्रेष्ठ सरित्, चेतनाथ धमला, कला अनुरागी, माधव घिमिरे र वैद्यनाथ ठाकुर रहेका छन् । कोषाध्यक्षमा केबल विनाबी चुनिएका छन् ।

सम्मेलनबाट ६९ सदस्यीय केन्द्रीय समिति छानिएको जनाइएको छ । सम्मेलन उद्घाटन एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य, सांस्कृतिक विभागका प्रमुख तथा कवि एवम् उपन्यासका आहुतिले गरेका थिए ।

लेखक संघ एकीकृत नेकपा माओवादीसँग सम्बद्ध सांस्कृतिक मोर्चा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गतको आंगिक संगठनका रुपमा क्रियाशील छ । उक्त महासंघ अन्तर्गत चलचित्रकर्मी संघ, कलाकार संघ, ललितकलाकर्मी संघ, नाट्यकर्मी संघ लगायतका संगठनहरु आबद्ध छन् ।

लेखक संघको पहिलो राष्ट्रिय सम्मेलन २०६४ सालमा सम्पन्न भएको थियो । २०६४ सालमा सम्पन्न पहिलो सम्मेलनबाट घनश्याम ढकाल अध्यक्ष चुनिएका थिए भने संघमा विभाजन आएपछि सम्मेलन आयोजक समितिको संयोजक समालोचक रमेशप्रसाद भट्टराई रहेका थिए । निवर्तमान संयोजक भट्टराईको अनुपस्थितिमा भण्डारीलाई जनसांस्कृतिक महासंघले कार्यवाहक संयोजकको जिम्मेवारी दिएको थियो ।

महासंघले पनि वैशाख अन्तिम साता राजधानीमै पाँचौ राष्ट्रिय सम्मेलन गर्ने बताइएको छ ।


  प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार ०३:२२