सँझ्यामा तीन स्रष्टा

चैत्र १३, २०७३कान्तिपुर संवाददाता

भक्तपुर — सँझ्या साहित्यको यसपटकको शृंखलामा कविहरू विष्णु भण्डारी, मुक्तान थेवा र समा श्री प्रस्तुत भए । भण्डारीले ‘पहिचान’ शीर्षकको कविता सुनाउँदै शृंखलाको ढोका खोलेका थिए । यसपछि उनले ‘झन्डा’, ‘कछाड’ र ‘समय र घोडाहरू’ कविता सुनाए ।

उनका सिर्जनामा राजनीतिक विसंगति र राष्ट्रियताका भिन्न सन्दर्भ थिए । समा श्रीले ‘तिमी र म’, ‘घुमघाम’, ‘मेरो प्रेम’, ‘किस्ने अर्थात् एक भोट’ सुनाइन् । यी सिर्जना लैंगिक र वर्गीय विभेदजस्ता विषयमा आधारित थिए । 

मुक्तानका कविताहरू पनि उत्तिकै जोसिला थिए । उनको ‘गुरुजी’ कविताले जीवनको महत्त्व दर्साएको थियो भने ‘ग्याल्सारी दोर्जे’, ‘बाङ्गे सार्की’, ‘माइजन र जावर’ कविताहरूमा वर्गीय विभेदका साथै सिमान्तकृत समुदायको पीडा समेटिएको थियो । दोस्रो चरणमा भण्डारीले ‘क्षितिज’, ‘रमलमा देश खोज्दा’, ‘माटोको घर’ र ‘पात’ कविता सुनाए । 

समा श्रीले ‘म मृत सागरमा माछा मार्दै छु’, ‘आमालाई प्रश्नहरू’, ‘सीता उवाच’ र ‘म नारी हुँ’ कविता सुनाइन् भने मुक्तानले ‘डोल्मा’, ‘हलो’, ‘सभ्यताको बाह्रखरी’ र ‘अखण्ड आलाप’ कविता सुनाए । कार्यक्रममा बोनस कविताका रूपमा सन्तोष बस्नेतले ‘आमा आज त्ये हो’ सुनाए । 

https://ekantipur.com/ampnews/2017-03-26/20170326085703.html


  प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार ०३:११