देश जागेको बेला : एक चर्चा

तेजविलास अधिकारी

नेपाली कविता यात्रामा चालिसको दशकबाट विद्रोही काव्य स्वर समाएर अगाडि बढेका कवि विष्णु भण्डारी प्रगतिवादी स्रष्टा हुन् । वि.स. २०२० सालमा गुल्मीमा जन्मिएका भण्डारी काव्य विधामै बढी क्रियाशील देखिन्छन् । हालसम्म उनका झन्डै आधा दर्जन काव्य सम्बन्धी कृति प्रकाशित भइसकेको छन् । आन्दोलनलाई आत्मसात गर्ने र आन्दोलनमा जुझारु ढङ्गले लाग्ने स्वभाव भएका उनलाई मुक्तिको बाटोमा लाग्न साहित्यले धेरै साथ दिएको छ ।

निरन्तर क्रान्तिको कुरो गर्ने र क्रान्तिलाई नै मूलबाटो बनाउने सर्जकको जीवन पीडादायी मात्र होइन, साहसको उर्जाले चम्किएको हुन्छ । त्यही उर्जा नेपाली समाजको आजको सम्पत्ति बन्न पुगेको छ । कवि भण्डारी यी र यस्तै विषयलाई कविताको सामग्री बनाउन तल्लीन छन् । गद्य कविताको यात्रामा सफल यात्रीका रूपमा चिनिएका भण्डारी कतै विचारलाई सन्तुलित बनाएर लठ्याउने त कतै क्रान्तिको आह्वान गर्न पुगेका छन् । यसै सन्दर्भमा कवि भण्डारीको पछिल्लो कृति प्रकाशित भएको छ, ‘देश जागेको बेला’ (२०६३) ।

नेपाली क्रान्तिको आफ्नै स्वरूप संरचना र सीमाहरू मात्र होइन, यसको सौन्दर्य, उचाइ र आकर्षण समेत मौलिक रहेको पाइन्छ । नेपाली क्रान्तिको सुदीर्घ परम्परामा ज्वारभाटाको कालका रूपमा २०५२ देखि २०६३ देखा परेको छ । लाखौँ जनताको सहभागितामा हजारौँले बलिदानी दिएको यही काल नै भण्डारीका कविताको बीजभूमि हो ।

स्रष्टाका लागि हराभरा भूमि मात्र होइन बाँझो धर्ती पनि सिर्जनाको क्षेत्र बन्न सक्छ । जीवनभित्रको अशिक्षा र अज्ञानता मात्र होइन अज्ञानताभित्रको सुन्दर पक्षलाई पनि सष्टाले नै बाहिर ल्याउन सकेको हुन्छ । नेपालभित्रका उत्कर्ष र निष्कर्षलाई कविले ठिक ढङ्गले सम्बोधन गर्न आफ्नो नाममा केही नवीन चिन्तन सहित शब्द खर्चेका छन् । २४ चैत्र, २०६२ देखि १२ वैशाख, २०६५ सम्मको दैनिकी कविताको रूपमा प्रस्तुत भएकाले जनआन्दोलन काव्य दस्तावेजभन्दा पनि अत्युक्ति नहुने यस कविता सङ्ग्रहभित्र जीवन गुमाएर उचाइ लिने सहिदहरूप्रति उच्च सम्मान गरिएको छ । उनका कविताभित्र देशको कुन भागमा कुन दिन आन्दोलन कसरी उचाइमा पुग्यो सो कुरा पनि पढ्न सकिन्छ । कविकै शब्दमा :

‘रातको मस्त निद्रामा सुतेको छ सहर
तर जागेका छन् विषालु सर्पहरू
अन्धकार रात सबैतिर सुनसान छ
तर लुटिदै छन् महलहरूमा 
सुकुमारी सपनाहरू ।’(सपना र कीर्तिपुर, पृ. २)

कविले कवितामा स्वतन्त्रताको चाहनालाई कतै बिचमै छाड्नु पर्ने त होइन, यही चालले कडा सुरक्षा घेरामा देश जकडिए स्वतन्त्र बन्ने हाम्रो सपना कसरी अगाडि बढ्ला भन्ने प्रश्न उठाउँछन् । साथै स्वतन्त्रताको सम्भावना पनि व्यक्त गर्छन् । यसै प्रसङ्गमा आमासँग एकालापको ढङ्गमा संवाद समेत गर्छन् । आमा भन्छिन् :

‘हो बाबु ! सदियौँदेखि मेरो छातीमाथि
यिनीहरू यसैगरी हिँडेका छन्
शताब्दियौँदेखि मान्छेलाई 
यसैगरी तर्साएका छन् ।’ (सपना र कीर्तिपुर, पृ. २)

कविले सदियौँदेखि दबेर बसेका नेपाली जनतामा आएको चेतनाले आन्दोलन बढ्दै गएको कुरा कवितामा व्यक्त गरेका छन् । एकातिर चुनौती र अर्कातिर सम्भावनाका बिचमा बाँचेका हामीहरू अझै दोधारमा लत्रिएर हिँड्न नहुने, लत्रिएर हिँडेमा दास मात्र बन्नुपर्ने कुरा समेत कविले उठाएका छन् ।

दासताका विरुद्धमा उठेको कीर्तिपुर हारेर पनि नलत्रिएको क्रान्तिकारी भूमि हो भन्दै कविले कीर्तिपुरलाई चेतनाको केन्द्र मानेका छन् । साथै जागेको सहर कीर्तिपुर हो भनी स्वीकार गरेका छन् :

‘साहस, वीरता र पीडाबोधको 
प्रतिमूर्ति हो कीर्तिपुर
दमन, उत्पीडन र अत्याचारको
जीर्ण छाती हो कीर्तिपुर
सधैँ सधैँ हेपिदै आयो तर हरेस खाएन उसले
सधैँ सधैँ हार्दै आयो तर पिठ्युँ फर्र्काएन उसले ।’ (सपना र कीर्तिपुर, पृ. २)

‘कीर्तिपुरको पीडा’ कवितामा कविले यावत खाले मानिसलाई अल्मल्याउने मात्र होइन भ्रममा पार्ने खालका विचालाई फ्याँकेर निरन्तर अगाडि बढ्न उत्प्रेरित गर्ने कीर्तिपुर, हामी सबैको गुरुको रूपमा बाँचेको आफ्नो जीवनयात्रालाई क्रान्तिकै निम्ति साँचेको भनूँ क्रान्ति र विद्रोहको पर्यायवाची बनेको कीर्तिपुर, वैशाखी टेकेर बाँच्न नजानेको सन्दर्भ समेत यस कवितामा प्रतिनित्व भएको छ । राजनीतिलाई मागाीखाने भाँडो नबनाउन समेत कीर्तिपुर सचेत रूपमा सबैलाई आह्वान गर्दछ :

‘दास बन्यो दासता स्वीकारेन 
पराजित भयो हार स्वीकारेन
सधैँ  सधैँ वीरताको बिम्ब बनी
ऊ बाँचिरह्यो
ऊ लडिरह्यो ।’ (कीर्तिपुरको पीडा, पृ. ८)

कीर्तिपुर पृथ्वीनारायण शाहकै पालादेखि एउटा विद्रोही तथा दमन नसहने निडर र नीर्भिक अभिव्यक्तिको प्रतीक हो । कविले कीर्तिपुर जहिले पनि क्रान्तिको चेतना बोकेर उभिएको तथ्यलाई उजागर गर्न सफल भएका छन् । नयाँ इतिहास रच्ने कीर्तिपुरले गर्जनका साथ पुराना र तमाम भ्रमलाई चिर्ने र रगतले इतिहास लेख्ने प्रण गरेको तर्फ पनि इङ्गित गरेका छन् :

‘कीर्तिपुरले आज फेरि उठेर गाउँदै थियो
नयाँ समरका नयाँ भाकाहरू
उसले आज पुनः उठेर लेख्दै थियो
नयाँ समयका नयाँ कथाहरू
कीर्तिपुरले लखेट्दै थियो
रगतमा रमण गर्ने जनताका दुश्मनहरू ।’ (कीर्तिपुरको पीडा, पृ. ८)

२०६२/०६३ को आन्दोलनलार्ई सबैभन्दा सार्थक बनाउने श्रेय पोखरालाई दिँदै कविले यस चरणका प्रथम सहिद भीमसेन दाहाल जन्माउने पोखरालाई सलाम गरेका छन् । अन्याय र दमनका विरुद्धमा जाग्ने पोखरा कहिल्यै पनि दमन सहेर बस्दैन । दमन र अत्याचारको प्रतिकारमा उठ्ने उसको स्वभाव साँच्चै माछापुच्छ्रेको लालीमा जस्तै रक्तिम छ, सेतीको बहावजस्तै सहस्यमय र सशक्त छ । पोखराको बलिदानलाई कविले खेर जान नदिने आश्वासन समेत प्रस्तुत गरेका छन् । यस कवितामा कवि भन्छन् :

‘पोखरा ! तिम्रो रगत खेर जाने छैन
ढल्ने छन् दुर्नामी चरित्रहरू
हामीले खसाउने छौँ
सत्ताको अट्टालीमा विराजमान
तिम्रो रगतका प्यासीहरू ।’ बलिदानको कविता हो पोखरा, पृ. १०)

‘बनेपा अर्को सहिद बन्यो’ शीर्षकमा एकपछि अर्को बलिदानी गर्ने क्रममा दोस्रो सहर बनेको बनेपालाई सम्बोधन गरिएको छ । नेपाली आमाका सपूतलाई समानता र स्वतन्त्रताका निम्ति बली चढाउने बनेपाले साँच्चै गतिलो काम गरेको कुरामा कविले खुलेर समर्थन गरेका छन् । मानौँ देशका विभिन्न भू–भाग बलिदानीका निम्ति सङ्घर्ष गर्दै थिए यही क्रममा बनेपा सबैलाई उछिन्दै अगाडि देखियो । राजधानीलाई समेत अझै तताउँदै, भीमसेन दाहालको जन्म जिल्ला काभ्रे आन्दोलनमा होमिएको कुरा कविले यसरी शब्दमा व्यक्त गर्छन् :

‘म निम्रो मृत्यु बोकी 
देशैभरि उठेको छु
दासताको जन्जिर तोड्न 
सडकहरूमा हिँड्दाहिँड्दै अर्को सहिद बनेको छु ।’ (बनेपा अर्को सहिद बन्यो, पृ. ११)

तानाशाहका अन्त्यका निम्ति बनेपाले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै साँचो अर्थमा कविले सन्तुलित शब्दगुच्छाले अभिनन्दन गरेका छन् । कवि फेरि थप्छन् :

‘मेरो आवाजदेखि डराएकाहरू
मेरो मुठ्ठीदेखि तर्सिएकाहरू
आए र लाठी बर्साए
आए र बारुद ओकले
रगतको आहालमा आफ्नो भविष्य देख्नेहरू 
आए र गोली चलाए 
तर म अझै डराएको छैन र कतै जाने छैन ।’ (बनेपा अर्को सहिद बन्यो, पृ. ११)

स्वतन्त्रताको आन्दोलनलाई दबाउन खोज्नेलाई ठाडो चुनौती दिन्छन् कवि । आफ्नो प्रतिबद्धताबाट नभाग्न समेत जनतालाई सचेत गराउँछन् ।

कविले देशको चिन्ता गर्ने र देशको घाउमा मल्हमपट्टी लगाउने डाक्टरलाई सम्बोधन गरेर ‘डाक्टर ! वर्तमान जल्दै छ’ शीर्षकमा आफ्नो काव्यिक भनाइ व्यक्त गरेका छन् । देशमा चलेको न्यायिक आन्दोलनलाई सडकमा उत्रिएर समर्थन गर्ने चिकित्सकहरूलाई अभिनन्दन र सम्बोधन गर्दै कविले एउटा विरामीलाई मात्र के बचाउनु ? सङ्कट परेको बेला देशलाई बचाउन र निकास दिन अगाडि बढ्नु महान् र न्यायसङ्गत कुरो हो भन्दै लेख्छन् :

‘आकाशमा चम्किने जून जस्तै	
तिमी जुलुसमा लम्किदै गरेको देख्दा
सिरिन्ज समाउने हातहरू
मुठी कसेर उठ्दै गरेको देख्दा
साँच्ची ! म खुसीले उफ्रिदै गाउँगाउँ डुलेँ
तिमी पनि मुक्तिको महान् यात्रामा
विद्रोहीझैँ लम्किदै गरेको देख्दा
मेरी आमाले हर्षविभोर भै आँसु झारिन् ।’ (डाक्टर ! वर्तमान जल्दै छ । पृ. १४)

एकता र विश्वासले नै जनआन्दोलनलाई उचाइमा पु¥याएको भन्ने कुरालाई अत्यन्त कलात्मक हिसाबले कविले प्राविधिकहरूको विद्रोही चेतले आफूलाई र आफूजस्तै लाखौँलाई उर्जा दिएको कुरा स्वीकार गरेका छन् ।

‘गोंगवु ! म गाउँला तिम्रो गीत’ कवितामा कविले जनताको आन्दोलनलाई दबाएर फुली थाप्न चाहने प्रहरी अधिकृतहरूलाई व्यङ्ग्य र आक्रोशपूर्ण रूपमा प्रश्न ठड्याउँदै जनताको आन्दोलनले उत्कर्षतर्फको यात्रा तय गरेको तर्फ इङ्गित गरेका छन् । कविले व्यक्तिलाई नै तोकेर नशामा लठ्ठिएकाहरूले निहत्था जनताको रगतमा होली खेलेको कुरालाई प्रस्तुत गरेका छन् । साथै जनताको गगनभेदी नारा र आन्दोलनप्रतिको उत्सुकतालाई सलाम समेत गरेका छन् । एकातिर दमन गर्नेलाई दुत्कार्न र अर्कोतर्फ जनताको न्यायिक आवाजलाई सम्बोधन गर्न यो कविता सफल भएको छ :

‘गोंगवु ! मैले घृणाले थुकिदिएँ
लाखौँ मान्छेको तर्फबाट
पागल जस्तै बरबराउने नराधम मूर्खलाई
आफ्नै आमाको छातीमा परेड खेल्ने 
हृदयविहीन पापिष्ट महादुष्टलाई ।’ (गोंगवु ! म गाउँला तिम्रो गीत, पृ. १६)

‘न कलम झुक्यो न  रङ्ग सुक्यो’ शीर्षकमा कविले चैत ३० गतेका दिन स्रष्टाहरूले बानेश्वरमा गरेको कार्यक्रममा नाङ्गो रूपमा प्रहरीले हस्तक्षेप गरेको प्रसङ्ग उठाएका छन् । सिर्जनालाई न कसैले मार्न सक्छ न प्रतिबन्ध लगाउन नै सक्छ । जसले प्रतिबन्ध लगाउन खोज्छ त्यो नै अप्ठ्यारोमा पर्ने कुरा व्यक्त गर्दै कविले उक्त घटनाले सत्ता नाङ्गिएको कुरा जनाएका छन् :

‘तिम्रा बर्बर कृत्यका यी ताण्डव नृत्यहरू
तिम्रा क्रूर यन्त्रणाका यी काला फरमानहरू
कालो इतिहास बनेर थन्किने छन् र थुक्ने छन् 
नयाँ युगका नयाँ मान्छेहरू ।’ (न कलम झुक्यो न रङ सुक्यो, पृ. १४)

साँच्चै सङ्कटकालमा चाहे एकेडेमीबाट निस्किएको जुलुसलाई पुतली सडकमा गरिएको हस्तक्षेप होस् चाहे २०६२ चैत ३० गते गुरुकूलको हस्तक्षेप होस् सबैले सत्ताको नृशंसता र क्रुरता व्यक्त गरेका छन् । यो हस्तक्षेपले अलिकता पनि विवेक नभएका मनिस राज्य वा सत्तामा बसेका छन् भन्ने ठहरिएको छ भनेका छन् कविले । सपनालाई सत्यमा बदल्न लागेका स्रष्टाको सिर्जन कर्म र अवाज रोक्नु भनेको सृष्टिको सिर्जनालाई अस्वीकार गर्नुजस्तै भएकोले बहुलाएको सरकारको आयु छोटिएको उद्घोष कविले गरेका छन् ।

लामो समयदेखि भारतीय सीमा अतिक्रमणबाट पीडित बनेको र न्यायपूर्ण आन्दोलनमा निरन्तर लागेको नवलपरासीबासीका सचेत जनताको विशाल जुलुसमा गोली चल्दा जीवनको आहुति दिने विष्णु पाण्डेको सम्झनामा ‘परासी र विष्णुका पदचापहरू’ तयार भएको हो । साँच्चै सबैलाई सन्देश दिनेगरी जीवनको उचाइलाई छुने विष्णु सच्चा सपूत हुन् भन्ने प्रमाण उनको बलिदानले दिएको छ । उनको बलिदानले सबैलाई आन्दोलनमा लाग्न प्रेरित गरेको सन्दर्भलाई कविले सम्मानित र गर्विलो ढङ्गले पेश गरेका छन् । आमाको मुक्तिका खातिर छोराको यो बलिदानलाई कविले अत्यन्त उच्च मूल्याङ्कन समेत गरेका छन् । बर्बरतापूर्ण आक्रमणबाट स्वतन्त्रताको द्वार छेक्न नसकिने कुरा नै यो कविताको सार हो ।

‘आमा ! छाती  घोच्दै छ र पोल्दै छ भित्र कतै
यो पीडा हो वा खुसी हो !
यो अन्तिम बेला हो वा सुरुवात हो !’ (परासी र विष्णुका पदचापहरू, पृ. १९)

ग्रीष्मको मध्य घाम, सडकमा लागेको जिन्दावाद र मूर्दावादको नारा, सोही नारासँगै उत्साहित भएर आन्दोलनमा सहभागी हुँदा घाइते भएका आफन्तको उद्धार गर्न लाग्दा सहादत हुने विष्णु पाण्डेको सम्झनामा लेखिएको यो कविताले सबैलाई भावुकमात्र होइन थप जिम्मेवार हुन प्रोत्साहित गरेको छ । आमाको काखमा ढल्नुको गौरव र देशप्रतिको भूमिका साँच्चै उच्च मूल्याङ्कन योग्य हुन्छ ।

‘बुख्याँचा र न्यायमूर्तिका आवाजहरू’ शीर्षकको कविताले चैत्र ३१ मा वकिल र न्याय सम्पादनमा लाग्ने व्यक्तिहरूको जुलुसमाथि भएको निर्मम दमनको खुलेर विरोध गरेको छ । जुन देशमा न्याय सम्पादन गर्ने मानिसमाथि त दमनको गरिन्छ भने सामान्य नागरिकको हालत के होला ? यी तथ्य र पक्ष नै यस कविताभित्र परेका छन् । यस कविताले त्यतिखेर सत्ता कति निरङ्कुश थियो भन्ने कुरा प्रष्ट रूपमा देखाइदिएको छ । जसले जनतालाई सुख दिनुपर्ने हो त्यसैले दुःख दिन थालेपछि कति दिन पो टिक्न सक्ला र ! यस कवितामा कविले अत्यन्त कडा भाषामा यथार्थपरक दृष्टिकोणलाई प्रस्तुत गरेका छन् । निकम्मा सत्ताको खिल्ली उडाउने वकिलहरूलाई केन्द्रमा राखेर उनीहरूको प्रशंसा गरिएको छ । त्यसो त आँटी र साहसी जो कसैको समर्थन गर्नु, सत्यमा लाग्नेहरूलाई सघाउनु हो । साँच्चै चेतनाविनाको मानिस बुख्याँचा सिवाय के नै कहलिन सक्छ र ! कविले बेजोड ढङ्गले आफ्नो भावना व्यक्त गरेका छन् कविता मार्फत् ।

जनआन्दोलनको दौरानमा प्रशासनिक दमन गरिएको विभिन्न स्थानहरूमध्ये कालो पुल पनि एउटा ठाउँ हो । यस स्थानमा भएको दमनलाई ‘कालो पुलको अन्तर्व्यथा’ कवितामा पोखिएको छ । प्राकृतिक र कृत्रिम पक्ष वा वस्तुलाई मानवीय भावनामा बदलेर कविले स्वतन्त्रताको आन्दोलनमा पछि नहट्न सन्देश दिएका छन् । जनताको जनआवाज दबाउन वा जनतालाई चबाउन खोजिरहेकाले त्यसको प्रतिकारमा जनता उत्रिएको कुरालाई कविले अत्यन्त कटिलो ढङ्गले व्यक्त गरेका छन् ।

‘सुनसान रात अझै घना हुँदै छ 
सदियौँदेखिको मसाने चर्तिकला अझै कठोर बन्दै छ
उसले दबाउन खोज्दै छ मान्छेका लालसाहरू
उसले निमोठ्न खोज्दै छ विद्रोहका भावनाहरू ।’ (कालो पुलको अन्तव्र्यथा,  पृ. २७)

कविले बैशाख दुई गतेका दिन पत्रकारहरूको धर्नामा निर्ममतापूर्वक उत्रेको प्रहरी प्रशासनको कवितामार्फत् नै तीव्र विरोध गरेका छन् । पत्रकारहरूले स्वतन्त्रताका लागि ज्यान पनि गुमाउन तयार छन् भन्ने कुरो नबुझ्ने बेकम्मा सरकारको खिल्ली उडाएका छन् । हरेक कोणबाट असफल सिद्ध भइसकेको सरकार बौलाउन थालेको तथ्यलाई गौशालाको घटनाले पुष्टि गरेको छ । ‘डसिए सूचनाका सम्बाहकहरू’ शीर्षकको कवितामा कविले राज्यको चौथो अङ्गमाथि भएको बर्बर नाङ्गो हस्तक्षेप क्षम्य नहुने तर्क अघि सारेका छन् ।

‘मेरै सामुन्नेमा निर्लज्ज मुस्कुराउँदै छन्
मेरी आमाको लिलाम गर्ने दुष्टहरू
मेरै अघिल्तिर निर्धक्क उभिएका छन् 
मृत्युराजमा रमाउने अजीर्ण शासकहरू ।’ (डसिए सूचनाका संवाहकहरू, पृ. २८)

विश्वका हरेक स्थानमा पुगेर अत्यन्त साहिसिक ढङ्गले समाचार सङ्कलन गर्ने पत्रकारहरू सिकार हुनुमा राज्यको बेकम्मा रूप झल्किन्छ । विश्व जगतलाई सूचना दिने सञ्चारकर्मीलाई दमन गर्नु लज्जापूर्ण कुरा हो । उनले सामाजिक जीवनलाई सकारात्मक मोडमा लैजान समेत प्रेरित गरेका छन् । उनको कलात्मक प्रस्तुतिको नमूना यो कवितामा अत्यन्त सशक्त छ :

‘आमा ! सभ्य समाजका दर्पणहरू
चुप लागेर कसरी बस्न सक्छन् र ?
कति बर्बर ! 	
कति असभ्य !
यस्तो पनि हुन्छ आमा !
........................................
समयको आगोले हिटलर जलेर खरानी भयो
समयको तुफानी झट्काले
मुसोलिनी बेपत्ता भयो
समय बलवान छ, बलवान छन् जनताहरू
समयको बहावसँगै नासिने छन् निरङ्कुश शासकहरू ।’ (डसिए सूचनाका संवाहकहरू, पृ. ३०)

‘सहिदको रगतमा सिञ्चिएको अर्घाखाँची’ शीर्षकको कविताले २०५९ सालमा भएको अर्घाखाँची लडाइँको (वीरताको) कथालाई समेटेको छ । यस आक्रमणले नेपालमा सुदिनको आशा पलाएको सोच कविको छ ।

सङ्ग्रहका सबैजसो कवितामा आन्दोलनकै सन्दर्भलाई कविले उत्साहित भएर वर्णन गरेका छन् । ‘चावहिल तिमीलाई बधाई छ’ कवितामा कविले भिन्न विचार र चिन्तन प्रस्तुत नगरे पनि आन्दोलनको स्वरूप र संरचनाले पाएको मान्यता र यसले जनजनमा पारेको प्रभावका कारण बलशाली बन्दै गएको कुरा प्रतिबिम्बन भएको छ ।

‘अनाहूत ! मलाई माफ गरिदेऊ’ शीर्षकको कवितामा नेपालीले मात्र होइन विदेशीले समेत अनाहकमा लाठी खान परेको पीडादायक सन्दर्भलाई कविले प्रस्तुत गरेका छन्् । विदेशी पाहुनाहरूलाई पिटेर झन् निल्र्लज्ज  बनेको सरकारलाई धिर्कार्दै कविले आक्रोशपूर्ण भाषामा आलोचना गरेका छन् । साथै ती विदेशी पर्यटकहरूलाई यस्तो घटनाका लागि हामी नेपालीलाई माफ गरिदिन पनि अनुरोध गरेका छन् । कविको कर्तव्यबोध र जवाफदेहिता काव्यमार्फत सुन्दर ढङ्गले झल्केको छ । देशको कुनाकुना चहारेर नेपालको सुन्दरताको प्रचार र वर्णन गर्नेहरूलाई पिट्नु कति जायज हो भन्दै कवि आक्रोश पोख्छन् ।

कविले जनआन्दोलनले उत्कर्षता पाउँदै गरेको बखतमा हिरालाल गौतमले निजगढमा गरेको सहादतलाई दस्तावेजीकरण गरेका छन् । जति निरङ्कुश सत्ता कठोर बन्छ त्यति स्वतन्त्रताका सेनानी जुर्मुराउँछन् भन्ने भनाइलाई यस कविताले प्रष्ट पारेको छ । कवि भन्छन् :

‘तातो घामको रापसँगै
निजगढ रापिँदै रापिँदै गयो र अर्को तारा खस्यो ।’(निजगढको तारा, पृ. १४)

नेपालको भौगोलिक एकीकरण र राजनैतिक नेतृत्वको जस गोरखालाई दिँदै कविले गोरखालाई जति पीडा भोग्नु भोग्यो अब पीडा भोग्नका लागि तयार छैन बरु मर्न तयार छ भनेका छन् ।

ऐतिहासिक जनआन्दोलनमा कर्मचारीको पनि अत्यन्त महत्वपूर्ण भूमिका थियो । यसको बलियो प्रमाण हो बैशाख पाँच गते गृह मन्त्रालयमा भएको कर्मचारीको आन्दोलन । स्वतन्त्रताको चाहना सबैमा हुन्छ, निरङ्कुशताका विरुद्ध कर्मचारीले विरोध प्रदर्शन गर्नु अन्यथा होइन मनपरी गर्ने सत्ताको विरोध गर्नु ठिक हो भन्छन् कवि । कर्मचारीको आन्दोलनको चर्चा गर्दै कवि भन्छन् :

‘छोरी ! म एकमुठी खुसीका लागि
गृह मन्त्रालयको गेटभित्रै 
जुलुस बनेर जुलुस गरेँ
छोरी ! म सुन्दर बिहानका लागि
काँधमा जुलुस बोकेर हिँडिरहेँ । (जुलुस बोकेर हिँडेको मान्छे, पृ. ४१)

आन्दोलनमा नेपालगञ्ज पनि कम तातेको होइन । सेतु वि.क.को हत्याले त झन् सबै जनता जुरुक्क उठे निरङ्कुशता फाल्न । त्यतिमात्र होइन जनताको पसिनाले बन्न लागेको फटाहा राजाको शालिक पनि आवश्यक छैन भन्ने पुष्टि गरिदिए जनताले । जनता जाग्दा हुने क्रियाकलाप यस कविताको सामल बनेको छ । स्वतन्त्रताको अग्रणी सेतु वि.क.मा कविता समर्पण गरिएको छ ।

वैशाख छ गते झापामा हत्या गरिएका राजन गिरी, सुरज विश्वास र झापाको आन्दोलनको सेरोफेरोलाई कविले ‘वीरताको ज्यूँदो कहानी हो झापा’ शीर्षकमा लिपिबद्ध गरेका छन् ।

गणतन्त्रको यात्रा संविधान सभाको गठनसम्म आउँदा कति अपराधी जेल परे ? तथ्य कतै बोल्दैन । तथापि सनक र निर्देशनमा वैशाख ७ गतेको गोली काण्ड घटाउने जिम्मेबार व्यक्तिका विरुद्ध जनतामा छाएको आक्रोशलाई कविले भावपूर्ण ढङ्गले प्रस्तुत गरेका छन् ।

‘चन्द्रागिरि ! उनलाई थाहा छ
बलिदानको उचो मूल्य
बन्दुकको पिंजडामा थुनिएको स्वतन्त्रता
त्यसै उन्मुक्त हुन्न 
जाऊ र भनिदेऊ रगत नबगेसम्म देश स्वाधीन हुन्न ।’ (जागे कलंकीका स्वजनहरू, पृ. ४७)

इतिहासको साक्षी बनेको चन्द्रागिरिले जनतालाई कलङ्कीमा उतारेर सशक्त ढङ्गले उपस्थित गरायो । जसको उपस्थितिले तानाशाहको सपना पुरै भङ्ग हुने अवस्था आएको विषय यस कवितामा वर्णन गरिएको छ ।

जनताको आन्दोलन करिब करिब निर्णायक मोडमा पुग्न लागेको बेलामा सामान्य जनताले चक्रपथ पूरै घेरेको वर्णन कवितामा छ । बिस्तारै जनताका बैरीहरू कमजोर मात्र होइन पलायन समेत हुन थाले । ‘जनता जागेको दिन’ र ‘वीरतापूर्ण कथा लेखिएको दिन’ कविताको मर्म एकै खालको छ । यी दुबै कवितामा गाउँले सहर घेर्ने भनेजस्तै चक्रपथबाट भित्र पस्न थालेको अवस्थालाई कविले मर्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

‘चिबेचरा र बिरालाहरू’ कवितामा आन्दोलन सफल हुँदै गएपछि एकातिर आन्दोलन विरोधीहरू भागेको र अर्कोतिर स्वार्थी र लोभीहरू नेतृत्वको चाकडीमा लागिसकेको कुरा व्यक्त गरेका छन् । उनी लेख्छन् :

‘देश तराई भएर उठ्यो
देश पहाड भएर उठ्यो
जति जति बढ्दै गयो डढेलो
जति जति जाग्दै गए मान्छे
उति उति भाग्दै गए चिबेचराहरू
दुधको तर खान पल्किएका बिरालाहरू
लुसुक्क कुनातिर लागे र गाउन थाले
नयाँ मालिकका वीरगाथाहरू ।’ (चिबेचरा र बिरालाहरू, पृ. ६८) 

कविता सङ्ग्रहको अन्तिम दुई कवितामा आन्दोलनको बहाबले सहरभित्रका जनतालाई छुन नसकेको सङ्केत गरेका छन् ।

कवि भण्डारीका कविताबाट इतिहास लेखनमा महत्वपूर्ण सामग्री बटुल्न कविता शृङ्खलाले सहयोग पु¥याउँछन् । सबै कविता पढ्दा कविताका पङ्क्तिहरूमा भावगत पुनरावृत्ति पाइनु कविको सीमा रहेको छ । तथापि नेपाली कविता लेखनको क्षेत्रमा नवीन विषयको प्रस्तुतीले आम पाठकलाई फाइदा पु¥याएको भने पक्कै छ । पक्कै पनि कवितामार्फत् आन्दोलनको दस्तावेजीकरण हुनु सामान्य कुरा होइन ।

नेपाली जनताले न्यायपूर्ण आन्दोलनलाई प्राथमिकता दिनु यस कविता सङ्ग्रहको विशिष्ट पक्ष हो । कविले आफ्नो आँसु कवितत्वलाई यहाँ राम्रोसँग प्रयोगमा ल्याएका छन् । अतीतलाई कवितामा पोखेर आफ्नो काव्यात्मक सुवास छर्ने प्रयत्न समेत गरेका छन् । अहोरात्रको खटाइले धेरै मानिसलाई नेपालमा केही हुन्छ र हुनैपर्छ भन्ने चिन्तनको विकास भएको कुरा कविले समग्र कविता मार्फत् व्यक्त गरेका छन् ।

‘म तिम्रो छातीमा ढलेका
सहिदलाई सम्झन आएको थिएँ
अत्याचारका बलशाली ढुङ्गा फोर्दै
तानाशाहका जरा काट्ने महायात्रामा हिँड्दाहिँड्दै 
ढलेका सपुतहरूका प्रतिमा र 
उनकै पदचाप हेर्न आएको थिएँ
कलंकी ! तिम्रो गीत गाउँदै गाउँदै म फर्किने बेला भयो ।’ (कलंकी ! म फर्किने बेला भयो, पृ. १४) 

अन्त्यमा सरल भाषामा लेखिएका कविताहरू केही बाहेक मझौला र छोटा आकारका छन् । साथै बिम्ब र प्रतीकको सुन्दर र सन्तुलित प्रयोग कवितामा भेटिन्छ । कवितामा प्रस्तुत विषयले इतिहास लेखनका लागि महत्वपूर्ण सामग्री बटुल्न पनि सहयोग पुर्याएको छ । मूल कुरा त कवि आन्दोलनलाई जनताको मनमनमा पुर्याउन सफल भएका छन् । जनयुद्ध र जनआन्दोलनका सबै पक्षलाई नभए पनि उन्नाइस दिने जनआन्दोलनमा देखिएको जनलहरलाई चित्रण गर्न कवि सफल भएका छन् । प्रगतिशील विचारसहित साहित्य, भाषा र संस्कृतिमा ल्याउन सक्ने नवीन लहर र सम्भावनालाई कविले रोचकताका साथ प्रस्तुत गरेका छन् ।

‘जनता जागेको बेला’ कविता सङ्ग्रह नेपाली साहित्ययात्राको महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो । यसबाट २०६२ सालको आन्दोलन कस्तो पृष्ठभूमिमा कसरी उठेको थियो भन्ने तथ्य तथ्याङ्क समेत उत्खनन् गर्न सकिन्छ । कवि यस कविता सङ्ग्रहमा सुन्दर भविष्यतर्फको उज्यालो आभा देखाउन तल्लीन शब्दशिल्पी ठहरिएका छन् ।

(समय सन्दर्भ :२०७०)


  प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १६:२०