राजकुमार बानिया
फाल्गुन २९, २०७२
फाल्गुन २९, २०७२-बोलेरो जिपबाट चरीकोटको शेर्पा होटलको आँगनमा उत्रिएको छ, माइकल सोहन । दोलखाको लोकेसनमा डकुमेन्ट्री बनाउन आएको । अझ सुकुमारी ‘सार्पसुटर परी’ का रूपमा सुनिएकी, पढिएकी छापामार केटीको खोजीमा । अब के चाहियो ? उपन्यासको ओपनिङ पढ्दा लाग्छ, पक्कै छापामार केटीका तिलस्मी कथा–शृंखला होलान् । परदेशी आँखामा माओवादी सशस्त्र युद्ध अलिकति बेग्लै देखिएला । रुसी साहित्यको परिचित पेगले मनग्गे मात देला ।
सात थान काव्य पुस्तकपछि आख्यानको कारखानामा पसेका छन्, विष्णु भण्डारी । बुढेसकालको गद्यकारितामा उनले आफ्नै छोरी सरहकी एउटी नायिका शिवाको ‘डेब्यु’ गराएका छन् । खासमा तिनकै सौन्दर्य र सौर्यको रुमानी गाथा हो, ‘पहेँलो घाम’ । प्रसंगअनुसार डोल्मा तामाङ, शिवा अनि रमिला गरी तीन नाम छन् उसका । कुनै पात्र सोहनलाई सुनाउँछ, ‘पहिले भूमिगत हुनाले भेट्न अप्ठ्यारो । अहिले नामका कारणले भेट्न गाह्रो । धेरै माओवादी वास्तविक नामबाट चिनिँदै छन् ।’ यसको माने उपन्यास समसामयिक छ ।
महाकाव्यको ह्याङओभरमा होला, शिवालाई धीरोदात्त नायककै कोटिमा उभ्याउन खोजिएको छ । ठाउँठाउँमा झाँसीकी रानी, जादुमयी छापामार, हावामा छलाङ हान्ने निडर र आक्रामक योद्धा पनि भनिएको छ । ऊ उदास र निराश होइन, विद्रोही छे । ‘रातो चम्किलो तारा’, ‘चाङ काज’, ‘आमा’ र ‘आर्ट अफ वार’ आदि पुस्तक पढ्छे । डोरीमा झुन्डिएर ‘मंकी वाक’ गर्छे । कति फुर्तिली र साहसी भने ससाना कान्ला त नाघेरै पार गर्छे । व्यायामका बेला हातखुट्टा चलाउँदा गोमन साँपको जस्तो आवाज आउँछ । तर, यस्ती विद्रोहिणी शिवा युद्धको विसर्जनपछि दोबाटोमा उभिएकी बटुवा जस्तो लाग्छे ।
शिवामाथि एकपछि अर्को अन्याय भएको छ । स्कुले उमेरमै उसका मास्टर बाबु ‘सहिद’ भए । काका कमरेडको सम्पर्कमा पुगेपछि बन्दुक समाएर विभिन्न मोर्चामा लड्नुपर्यो । १८ वर्षको उमेरमै नेटा भन्ज्याङमा मेजर (उपन्यासमा कतै क्याप्टेन पनि लेखिएको छ) सहित दर्जन सैनिकको एकै चिहान पारेकी शिवा अन्त्यमा अपमानपूर्वक ‘अयोग्य’ का रूपमा क्यान्टोनमेन्टबाट निकालिएकी छ । बटालियन कमान्डर विक्रमको यौन प्रस्ताव नमान्नु र हात भाँचिदिनुलाई त्यसको कारण मानिएको छ । तर, त्यसको विस्तार गर्न लेखकले कन्जुस्याइँ या अल्छी गरेका छन् ।
शिवा कस्ती छापामार हो भने उसलाई आफ्नो ज्यानभन्दा बन्दुकको माया छ । बन्दुकसँगै विछोडिनुपरेपछि के हुन्छ ? अन्य सीप र शिक्षा नपाएकी अनि घर, डेरा ठेगान नभएकी केटीको जीवनमा के कस्ता मोड आउँछन् ? सोहनले उसको बारे डकुमेन्ट्री बनाउँछ कि बनाउँदैन ? उपन्यास यसै वरिपरि गोलचक्कर लगाउँछ ।
उपन्यास पढ्दा ब्यारेकभित्र या जंगलमा भएजस्तो लाग्छ । माइन, भेरिलाइट, गोली, एसल्ट, फोर्टिफिकेसन, बुबिट्याप, रिट्रिट, बमबार्डिङ, ब्याटलफिल्ड, एके ४७, एलएलआर, एलएमजी, कभर फायर आदि शब्दावी परकम्पजस्तो आइरहन्छन् ।
उपन्यासमा वर्णित या कल्पित ठाउँ त यथार्थ लाग्छन् तर वास्तविक पात्र को हुन् भन्ने कुनै भेउ पाइन्न । घरी शिवालाई मन पराउने, घरी जोगी हुने, घरी बेपत्ता हुने युद्धकालीन बिग्रेड कमिसार समरसिंह को हो ? उसलाई समेत पाठकले चिन्ने मौका पाउँदैन । सेना बुझाउनु क्रान्तिमाथि धोका हो, नेताले सेना होइन, कार्यकर्ता मात्र बनाउन खोजेको मान्ने बलियो आधार भेटिँदैन । उपन्यासलाई न काल्पनिक भन्न सकिने स्थिति छ, न त वास्तविक नै ।
उपन्यासको अन्त्यतिर शिवा र सोहनको लभ स्टोरी पनि छ । तर, त्यो ज्यादै नाटकीय । जिरी, गोरखा र पोखरामा सोहनकी सहयात्री शिवा ‘विवाहभन्दा पहिले हनिमुन’ मनाउन पनि पछि परेकी छैन । शिवा मौसम जस्ती छे, घरी बिरामी, घरी ठीकठाक । सोहनसँग विवाह गर्न चाहन्छे तर अमेरिका जान चाहन्न । उसलाई सिएटल समुद्री तट होइन, याम्बुको यात्रामा जानु छ । सहिदघरमा उभिएर सोहनलाई साक्षी राखेर नयाँ यात्राको संकल्प गराउनु छ । शिवाको चमत्कारी चरित्र देखेर सोहन उपन्यासमै आफैँ छक्क परेको छ, ‘रियल लाइफमा पनि यस्तो हुन्छ र ?’
लेखकजस्तै भावुक छ सोहन । सानैमा बाबुको हत्या भएपछि आमासित अमेरिका भासिएको, आमाको दोस्रो पतिको स्नेहमा हुर्किएको अनि अमेरिकाकै नागरिक भएको सोहनको माओवादी युद्धप्रति निरपेक्ष समर्थनलाई कसरी पत्याउने ? संयोगै संयोगमा सकिएको छ उपन्यास ।
लेखकको परीक्षा पाठककै इजलासमा हुन्छ । उसको चुनौती भनेकै पाठकले कहीँ न कहीँ आफूले भोगेको समय र समाजको कथा अनि भाषा भेट्नु हो । तिनको मानसिक थकान मेटाउने रमणीय बागवानी कला पनि जरुरी हुन्छ । यस अर्थमा शिवाको अधुरो पोर्टेट मात्रै हो, ‘पहेँलो घाम’ । लेखकले शिवामा दुस्साहस त भरेका छन्, बौद्धिकता दिन सकेका छैनन् । रेस्टुरेन्ट या दोहोरीमा काम गर्नु घीनलाग्दो हो, कसैकी पीए भनेको रखौटी बन्नु हो भन्ने निम्छरो धारणा कम्पनी कमान्डर र ‘इङ्लिस लिटरेचरमा ब्याचलर’ को होला त ? उपन्यास सकिँदासम्म पनि शिवा पूर्ण नायिका बन्न पाएकी छैन । बनाउन खोज्दा पनि बनेकी छैन । शिवाको आत्मसमीक्षा या आत्मसंघर्ष उपन्यासमा कतै देखिँदैन । ‘नोबडी’ उपन्यासका पात्र त हुन सक्छन् तर त्यसलाई सशक्त रूपमा ल्याउन लेखक चुकेका छन् ।
उपन्यासका पात्रहरू सुगाजस्ता छन् । पहिल्यै सुनिएका, पटकपटक भनिएका संवाद एकोहोरो भट्याइरहन्छन् । रुँदारुँदै हास्ने, हाँस्दाहाँस्दै रुने टाइपका थेत्तरो भइसकेका डाइलग सिर्जनशील हुनै सक्दैनन् । अति शालीनता या रुन्चेपन लेखकको सीमा हो । कतिपय ठाउँमा उनीभित्रको कवि हावी छ । समग्रमा तदर्थवादी हिसाबमा उपन्यास सकिएको छ । ११ चोटि दोलखा जानुभन्दा ११ चोटि पुनर्लेखन गरेको भए के जान्थ्यो ?
यसको ट्रेजेडी नै व्यञ्जना या वक्रोक्ति नपाइनु हो । कथावस्तु, घटना, गुम्फन, भाषाशैली, चरित्रचित्रण र परिणाम सुन्दर, अद्भुत र असाधारण लाग्दैन । कताकता माआवादी छायामा लेखक पिल्सिए जस्तो पनि लाग्छ । लेखकले आफ्नो अनुभवभन्दा पनि सुनेका भरमा बयान गरेका छन् ।
त्यसो त अन्य कुरा प्राविधिक मात्र हुन् । उपन्यासले उठाएको महत्त्वपूर्ण प्रश्न पार्टी र नेता योग्य, तिनलाई भर्याङ बनाउने लडाकु कसरी अयोग्य ? भन्ने हो । वास्तविक अयोग्य लडाकु नभई पार्टीका नेतृत्वकर्ता हुन् भन्ने सन्देश पनि उपन्यासमा छ । माओवादी आन्दोलनको एउटा विम्ब हो, ‘पहेँलो घाम’ । यसका सारा प्रतिमान ढले या ढालिए । राप र ताप सकिएको यो आन्दोलन नअस्ताओस् भन्ने लेखकको चिन्ता छ । उनको भनाइमा पहेँलो घाम सृष्टिको अन्त्य होइन, सुरुवात हो । आन्दोलनको भलो चिताएरै उनले यसका तमाम भ्रष्टीकरणको उजागर गरेका छन् । महल, गाडी, आइफोन, रोलेक्स घडीदेखि जातीय राज्य, पृथ्वीनारायण शाहको अवमूल्यन आदि प्रसंग पनि उपन्यासमा छन् । यति भनेर लेखकीय कमजोरीमा उनलाई माफी मिल्नेवाला छ्रैन । यसले उनलाई चर्चा त देला तर उचाइ दिने छैन ।
यो उपन्यासलाई माओवादी युद्धविरोधी आख्यानको दर्जामा राख्न सकिँदैन । यस्तो उपन्यास माओवादी आन्दोलनको एन्टी थेसिस हुनै सक्दैन । ‘जनयुद्ध’ कतिपयका लागि कामधेनु भएको यथार्थ हो, भण्डारीले नलेखेको भए पनि जगजाहेर नै छ । यद्यपि माओवादी धारका लेखकहरूले नउठाएको जोखिम उनले लिएका छन् । द्वन्द्वको अभिघातमाथि लेखिएको यो उपन्यासमा लेखकले आस्थाको बोर्डर लाइन क्रस गर्नसकेका छैनन् । माओवादी पक्ष त लिएका छन् तर माओवादीलाई सही ठहराउन सकेका छैनन् । ‘पहेँलो घाम’ साहित्य नमान्नेका लागि उपन्यास हो, उपन्यास नमान्नेका लागि साहित्य हो ।
(प्रकाशित : कान्तिपुर कोसेली : २९ फागुन, २०७२)
http://kantipur.ekantipur.com/printedition/news/2016-03-12/20160312102027.html