दीपक पराजुली
अब केही दिनपछि फाल्गुण १ गते २०५२ साल फाल्गुण १ गते औपचारिक धमाका गर्दै नेकपा माओवादी जनयुद्ध शंखघोष गरेको दिन । आउँदो फागुन १ गते जनयुद्धले २० वर्ष पुरा गर्दै छ, शान्ति प्रक्रियाले जारी जनयुद्धलाई १० बर्षमा समापन गरिदिएको थियो । यद्यपी अहिले पनि माओवादीकाकेही कान्तिकारी कार्यकर्ताको दावि हुनसक्छ– जनयुद्ध जारी छ । जनयुद्ध गर्ने सैन्यस्ताको नाम थियो, जनमुक्ति सेना, अर्थात् जनताको मुक्तिका निम्ति लड्ने र प्राण उत्सर्गका निम्ति तयार लडकू समूह । जनताले मुक्ति पाए कि पाएनन बहसको पाटो हो । तर जनताको मुक्तिका लागि भनेर लड्ने त्यो सैन्यदस्ताको जब आंशिक समायोजनसहितको विघटनात्मक अवसान भयो त्यसपछि ती मुक्तिकामी लडाकुहरूको सामाजिक–राजनीतिक जीवनमा के कस्ता आरोह अवरोह आए, त्यसैको समग्र तथा नमुना प्रस्तुति हो, पहेँलो घाम । विगत चार दशकदेखि काव्यिक आन्दोलनमा सक्रिय रहेका प्रगतिशील कवि विष्णु भण्डारीको यो पहिलो उपन्यास हो ।
अब एउटा कविता सुनौँ :
‘जर्सापको शक्तिशाली ट्याङ्क’ जसप, हजुरको ट्याइ शक्तिशाली छ जइलहरू सखाप पार्न सक्छ यसले र कच्याककुचुक पारिदिन सक्छ सयौँ मानिसहरुलाई तर यसको एउटा कमजोरी छ यसलाई चालक चाहिन्छ । जर्साप शक्तिशाली छ हजुरको बमवर्षक आधीभन्दा छिटो उड्न सक्छ यो र हात्तिभन्दा धेरै बोक्न सक्छ यो तर यसको यौटा दोष छ यसलाई मिस्त्री चाहिन्छ । जर्साप, मानिस छ नि मानिस उपयोगी छ धेरै तर यौटा दोष छ उसको ऊ सोच्न सक्छ । (साभारः बर्तोल ब्रेस्त, अनु : श्यामल पाण्डुलिपि, २०७१)
इतिहास दोहोरिन्छ जस्तो लाग्छ । विश्व कम्युनिष्ट आन्दोलनको नियति जे थियो त्यसैको एउटा खुद्रा संस्करण मात्र हो त नेपालको दशवर्षे जनयुद्ध ? प्रश्न गर्न मन लाग्छ । बन्दुकको नालबाट शक्ति निस्कुन्जेल बन्दुक चलाउन जान्ने मानिसहरू धेरै उपयोगी थिए । सायद त्यतिखेर उनीहरूलाई सोच्ने फुर्सद नभएको हुन सक्छ । जब बन्दुकको उपयोगिता सकियो अनि मानिसको योग्यताको मापदण्ड पनि बदलियो, बदलिदो समयले सोच्ने फुर्सद नपाएका बन्दुकधारीहरूलाई सोच्न बाध्य तुल्यायो र उनीहरूले सोचे पनि ।
हिजो पनि विश्वमा साम्यवादी कान्तिले नेताहरू आलिसान महलमा बसेर चौरासी व्यन्जन खाने र मजदुर सर्वहाराहरू धर्मशाला जस्ता व्यारेकहरूमा बसेर ड्रममा पकाइएका भात खाने नतिजा भोगेको हो । नेपालको दशवर्षे जनयुद्धको नतिजा पनि त्योभन्दा कति नै फरक पो भयो र ? सोच्न सक्नेहरूले प्रश्न गरेका छन् ।
हरेक प्रश्नहरु सोचकै उपज हुन् । सोच्नै नसक्नेले कसरी प्रश्न गर्लान् र ? मैले पहेंलो घामभित्र पुप्रै नाता प्रश्नहरू भेटाएँ । जसको उत्तर जनयुद्धका हर्ताकर्ता नेतृत्वने एक न एक दिन दिनु नै पर्छ ।
१. शंकाको कुरो
कार्ल माक्र्स भन्छन्, सबै कुरामा शंका गर ।
यो उपन्यास पढ्दा पाठकहरूलाई विश्वप्रसिद्ध लेखक म्याक्सिम गोर्कीको आमा उपन्यासको झल्को आउन सक्छ । किनभने पात्रहरू, पात्रहरूको चरित्र चित्रण गर्ने तरिका र संवादको शैली धेरै हदसम्म आमा उपन्याससँग मोल्दोजुल्दो देखिन्छ । रामायणका पात्रहरूको पुनर्जन्म महाभारतमा भएझैँ आमाका पात्रहरूको पुर्नजन्म पहेँलो घाममा भएको हो कि जस्तो लाग्छ । वर्गीय दृष्टिकोण, वैयक्तिक कान्तिचेत कान्तिप्रतिको आस्था र समर्पणभाव एवं वैचारिक प्रस्तुतिले गर्दा यस उपन्यासको मूल पात्र शिवा कतै आमा उपन्यासको नायक पावेलको नारी अवतार त होइन ? शङ्का गर्न मन लाग्छ । त्यसो त शिवालाई मन पर्ने लेखक म्यास्सिम गोर्की भएको र उनको कृति आमा शिवाले घरैपटक दोहो¥याएर पढेको कुरा उपन्यासमैै आउँछ । फेरि लेखकहरू अरू लेखकको कृतिबाट बिलकुल प्रभावित हुदैनन् र हुनु हुँदैन भन्ने कुरामा म विश्वास गर्दिनँ । मलाई थाहा छैन कम्युनिष्टहरूले निश्चित ढाँचामै आख्यान लेख्नुपर्छ भन्ने कुनै नियम छ ?
२. विषयवस्तुको चर्चा
पहेँलो घाम पढेपछि यसका लेखक माओवादी आन्दोलनप्रति गहिरो आस्था भएका व्यक्ति रहेछन् भन्ने थाहा हुन्छ । पार्टीप्रति पनि उनको लगाव उत्तिकै रहेछ । समयले ओरालोतिर लखेट्दै गरेको हरिण जस्तो, भताभुङ्ग घरको लथालिङ्ग चाला जस्तो, गुट, उपगुट र विभाजनको निरन्तरताले पतनको दिशातर्फ होमिदै गएकोए माओवादी पार्टीप्रति असाध्य माया जागेर नै यिनले यो उपन्यास लेख्न बाध्य भएका हुन भन्ने अनुमान गर्न गाह्रो छैन । यो उपन्यास उपन्यास भन्दा पनि बढ्ता शान्ति प्रक्रियामा आएपछिको माओवादी पार्टीको निर्मम समीक्षा गरिएको आख्यान जस्तो लाग्छ । फेरि पनि यो उपन्यासकी प्रशंसा किन गर्न मन लाग्छ भने लेखकले त्यसप्रकारको समीक्षा गर्ने क्रममा पार्टी नेतृत्व रिसाउलान् कि भनेर आम पाठकप्रति बेइमान गरेका छैनन् । छलकपट गरेका छैनन् । सत्यलाई बङ्याउने चेष्टा पनि गरेका छैनन् । त्यसैले भन्नुपर्छ यी इमान्दार लेखक हुन् ।
पहेलो घाम जनयुद्धोत्तरकालको कथावस्तु समेटिएको उपन्यास हो । माओवादी सेना समायोजनको क्रममा अयोग्य भनी क्यानटोनमेन्टबाट बाहिरिएका लडाकुहरूको जीविकासङ्घर्ष उपन्यासको मूल विषयवस्तु हो । यो उपन्यासले जनयुद्धले उठाएका मुद्दाहरूको सकारात्मक पुष्टि गर्ने र भ्रमहरूलाई चिने अधिकतम प्रयास गरेको छ । पहिचानको मुद्दादेखि पृथ्वीनारायण शाहालाई मुल्याङ्कन गर्नेसम्मका कुराहरू उपन्यासमा समेटिएका छन् । तर अति उप्ठ्यारो लागेको के हो भने यसो गर्ने क्रममा लेखकले आफ्नो भनाइहरू पात्रहरूलाई जबर्जस्त बोल्न लगाएका छन् । कही ठाउमा त पात्रलाई उसको स्तर अनुसारका संवाद बोलाउन पनि लेखक चुकेका छन ।
मावोबादी खुला राजनीतिमा आएपछि उक्त पार्टिभित्र के कस्ता विकृति विसंगतिहरू देखिए सोको यथार्थ एवं निमम चित्रण यस उपन्यासमा गरिएको छ । पार्टीमा लागेकासँगका साथी हेर्दाहेर्दै रातारात करोडपति बनेको कुरा छ । उपन्यासमा आफुसँगै रोडमा हिँडिरहेका साथी रातारात करोडपति बन्न कुन तरिकान संभव छ ? उपन्यासको पात्रले स्वीकार गर्छ, शान्तिप्रक्रियामा आएपछि पार्टी ठेक्कापट्टा, मुद्दामामिला र कमिसनमा डुब्यो । पार्टीका मान्छेहरू आर्थिक अनियमितता र गैरकानुनी धन्दामा सक्रिय हुन लागे, चन्दामा लुट गर्न थाले ।
जनयुद्धसँग मुक्तिको सपना थियो । सर्वहारा वर्गको मुक्तिको सपना थियो । बिडम्बना ! मुक्तिको सपना साकार पान लडेका योद्धाहरू आखिरमा आफै अयोग्यको बिल्ला भिरेर क्यानटोनमेन्टबाट निस्कन प¥यो । विपनामा अर्थात् यथार्थमा उनीहरूलाई भात खान पनि मुस्किल हुन गयो । हुन त उपन्यासको एउटा पात्रले भन्छ, ऊ भात खान नपाएर जनयुद्धमा आएको थिएनँ । फेरि पनि यथार्थ यही हुन गयो कि अयोग्य भनी निकालिएकाहरू भातखर्च पनि जुटाउन नसक्ने बिलकुल सर्वहारामा परिणत हँुदाभए । कोही रत्नपार्कमा मकै पोल्न थाले । कोही गिटि कटुन लागे । कोही ज्यामी कामतिर लागे, कोही खाडी देशतिर भासिए । कतिले त आत्महत्या समेत गरे । यही पीडा पोखिएको छ उपन्यासमा । उपन्यासको पात्र प्रश्न गर्दछ सहरका गल्लीमा शरीर बेच्न र अरब मलेसियामा पसिना बगाउन हो हिजो युद्ध लडेको ?
जनयुद्ध जारी रहँदासम्म नेतृत्वको नजरमा युद्धको मोर्चा सम्हाल्ने लडाकुहरू सबका सब योग्य हुँदा भए । महान् हुँदा भए, अदम्य सहासी र वीर पराक्रमी हुँदा भए । तिनै वीर पराक्रमीहरूको काँधमाथि चढेर, युद्धमा मर्ने सहिदहरूको लाशमाथि टेकर माओवादी नेतृत्व सत्तासीन हुन सफल पनि भयो । सत्तासीन नेतृत्वले सुनको थालमा बासमती चामलको मगमगाउँदो भात खाँदै गर्दा तिनै वीर भनिएका लडाकुहरूचैँ कसरी छानीछानी अयोग्य भए पहेँलो घाम उपन्यासले गरेको तातो प्रश्न हो यो ।
यो उपन्यासले निराशा मात्रै दर्शाएको छैन । अयोग्य भनिएका पात्रहरू उपन्यासैभरी दुःख र विलौना गरेर मात्रै बस्तनन् । उनीहरू उत्पादनसँग जोडिन्छन् । कृषि फारम सञ्चालन गर्दछन् । उनीहरूको सामूहिक कृषि उत्पादन कर्मको सफल उदाहरण उपन्यासले प्रस्तुत गरेको छ । यहानेर उपन्यासकारले माओवादी पार्टीमा लागेर विरक्तिएकाहरूलाई आशा जगाउने कोशिस गरेका छन् । आर्थिक उपार्जनका निम्ति प्रेरित गरेका छन् ।
उपन्यास उत्तरार्धतर्फ बढ्दै जाँदा पाठकले मूलपात्रहरू शिवा र सोहनबीच मौलाउदै गएको आकर्षण र प्रेमको गन्ध थाहा पाउन सक्दछन् । जसले उपन्यासलाई पुरै बेरसिलो हुनबाट जोगाएको छ ।
उपन्यासको भाषा सरल छ । हाम्रो समकालीन पुस्ताले जानेका देखेका र भोगेका कुराहरू नै उपन्यासमा प्रतिबिम्बित छन् । त्यसैले आजको मितिमा यो उपन्यास हामीलाई सामान्य लाग्न सक्छ तथापि यो नेपाली राजनीतिक इतिहासको एउटा कालखण्डको महत्वपूर्ण कथा भएकाले भोलिका दिनहरूमा यसको महत्व बढ्दै जाने निश्चित छ
३. को अयोग्य ?
शान्ति प्रक्रियामा आएपछि एमाओवादी नेतृत्व आफ्ना कार्यकर्ताहरूको उचित व्यवस्थापन गर्न असफल भयो । यो माओवादी नेतृत्वको असफलता हो । यदि अयोग्य भनेर कसैलाई तक्मा दिनु छ भने त्यो एमाओवादी नेतृत्वलाई दिए हुन्छ उनीहरूले यसका हकदार हुन् । जनमुक्ति सेनाको कुनै एउटा लडाकु पनि आयोग्य थिएनन् । गणतन्त्र लगायतका उपलब्धी हासिल गर्ने काममा लडाकुले पूरै साथ दिएका हुन् । आफ्नो जिम्मेबारी पूरा गरेकै हुन् । जिम्मेबारी पूरा गर्नेलाई अयोग्य भन्न मिल्दैन । आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने एमाओवादी नेतृत्व नै वास्तवमा अयोग्य हो ।
४. अन्त्यमा
उपन्यासको अर्थ हो, छुनु । मेरो मान्यता हो, उपन्यासको कथावस्तुले हृदय छुनुपर्छ । छोएर मात्र पुग्दैन हृदय हल्लाउने किसिमको भए अझ काइदा । पहेँलो घाम पढ्न सुरु गर्दा कतै यो जण्डिस उपन्यास त हैन भन्ने शङ्काले घेरिराख्यो । उपन्यासका पारखी पाठकहरुलाई यो उपन्यासको तेज पहेँलो घामझैँ मधुर नलाग्ला भन्न सकिन्न । तर यसको निष्कर्ष यो कृतिको गुरुत्व कम छ भन्ने होइन । यो कृतिको गुरुत्व घामजत्तिकै गह्रुङ्गो छ । किनभने यो उपन्यास संक्रमणकालीन नेपाली राजनीतिक इतिहासको सङ्ग्रहयोग्य दस्तावेज हो ।
पात्रहरूका भोगाइ, भनाइ अनि आरोह अवरोहयुक्त घटनाक्रमहरूको बिस्तार मात्र हो त उपन्यास ? किन अखबारीय फिचरभन्दा पनि कमजोर बन्दैछ नेपाली आख्यान ? यो प्रश्न पहेलो घामलाई मात्र होइन, पछिल्लो समय (पल्पसा क्याफेपछि) लेखिएका नेपाली आख्यानहरुलाई पनि हो । आख्यान, चुनौतीको व्याख्या मात्र हुनुहुँदैन बरु आफैमा एउटा वैचारिक चुनौती बन्न सक्नुपर्छ । जस्तो त्यत्रो ठुलो महाभारत ग्रन्थलाई पनि विपीको मसिनो आख्यान मोदीआइनले एकप्रकारको चुनौती दिई नै राखेको छ । चुनौती दिने भनेको दृष्टिले हो । उपन्यासमा उद्घाटित हुने आयामले हो । समकालीन नेपाली आख्यानहरूमा यिनै चुनौती दिने आयाम र दृष्टिको समस्या टड्कारो हुँदै आएको देखिन्छ । यही समस्याको निरन्तरतामा उभिएको छ पहेँलो घाम ।
र अन्तिममा फेरि एउटा कविता सुनौ :
भावना जकडिएको छु म अन्यहीन सङ्घर्षमा अन्त्यहीन उत्तेजनामा, अन्त्यहीन स्वप्नमा म जीवनको दास हुन सक्तिनँ धारसँगै म बगेर जाने छैन । ईश्वरका वरदान सारा हासिल गर्न म प्रयास गर्नेछु भित्रसम्मको सारा ज्ञान हासिल गर्नेछु गीत र कलाको गहिराइसम्म पुग्नेछ ।
(साभार : काल माक्र्स, अनु : कृष्णदास श्रेष्ठ, कार्ल माक्स व्यक्तित्व र कृतित्व २०६४)
(र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले २०७२ माघ २३ पुस्तक परिचर्चा कार्यक्रममा दीपक पराजुलीद्वारा प्रस्तुत गरेको परिचय–पत्र)