नयाँ युगको नयाँ महाकाव्य

चैतन्य

(प्रथम संस्करणको भूमिका)

नेपाली प्रगतिवादी काव्य जगत्मा उत्सर्ग शीर्षकमा एउटा नयाँ महाकाव्य थपिएको छ । यो महाकाव्यका रचयिता प्रगतिवादी कवि विष्णु भण्डारी हुनुहुन्छ । भण्डारीको काव्ययात्रा २०४३ मा रचित विद्रोहको छाल गीति खण्डकाव्यबाट सुरु भयो । २०४५ मा वहाँले ब्वाँसोको अन्त्यको खेल शीर्षकमा अर्को खण्डकाव्य रच्नुभयो । यसैगरी वहाँका दुई ओटा कविता सङ्ग्रहहरू फेरि अर्को तारा खस्यो (२०६३) र देश जागेको बेला (२०६४) पनि प्रकाशित भइसकेका छन् । यसरी हेर्दा के स्पष्ट हुन्छ भने कवि भण्डारी कविताको क्षेत्रमा लामो समयदेखि साधनारत रहिआउनु भएको छ र यस साधनाको एक उत्कर्षका रूपमा उहाँको महाकाव्य उत्सर्ग जन्मिन पुगेको छ ।

हाल साङ्गठनिक रूपमा भण्डारी एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिको सचिवालयमा कार्यरत हुनुहुन्छ । प्रस्तुत महाकाव्यको कथावस्तु नेकपा माओवादीद्वारा सञ्चालित महान् जनयुद्धको भावधारमा आधारित छ । यस कृतिमा नीलिमा, समीर, कवि वा पत्रकार, सिमरान, विक्रम, मनीष, संग्राम, मेजर लगायतका पात्र रहेका छन् । यहाँ नायिकाको भूमिका नीलिमा र नायकको भूमिका समीरले खेलेको पाइन्छ । यो कृति एक्काइसओटा उपशीर्षक र दुई ओटा खण्डमा विभाजित रहेको छ ।

यो महाकाव्यको उठान कवि पात्रद्वारा गरिएको छ र शोषण उत्पीडनका विरोधमा जनयुद्धको थालनी भएको कुरा दर्शाइएको छ । कथावस्तुको क्रिडास्थल गुल्मी जिल्लाको छल्दी खोला, सिस्तुङ, धुर्कोट, अर्घाखाँची र प्युठानका केही ठाउँ रहेका छन् । छल्दी खोलाको सिस्तुङको कुनै ठाउँमा जनयुद्धको प्रक्रियामा घाइते भएकी छापामार युवती नीलिमा समीरको कोठामा आश्रय लिएर केही समय बसेकी हुन्छिन् । बसाइकै क्रममा जनयुद्धको प्रक्रियासँगै उनीहरूका बिच मायाप्रीति बढ्दै जान्छ । नीलिमाको उत्प्रेरणामा समीर घर छाडेर जनसेनामा प्रवेश गर्छ ।

धुर्कोट, टक्सार लगायतका ठाउँमा रहेका प्रहरी चौकीमाथि आक्रमण गर्ने काम हुन्छ र यिनमा नीलिमा तथा समीर सहभागी बनेका हुन्छन् । नीलिमाले कमान्डरको भूमिका निर्वाह गर्छे । यो प्रक्रियामा उनीहरू बिचको प्रेम चुलिदै जान्छ । यसै बिच अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा फौजी कारवाहीका लागि तयारीको प्रक्रिया अगाडि बढ्छ र उनीहरू त्यसमा सहभागी बन्छन् । यहीँ प्रस्तुत कृतिको पहिलो खण्ड समाप्त हुन्छ ।

महाकाव्यको दोस्रो खण्ड समीर, कवि वा पत्रकार आदिको जेल वा सेनाको व्यारेकमा बन्दी जीवन, कविको रिहाइ, उसको छल्दी खोला, सिस्तुङ, लोहोरी लगायतका भुभागमा भ्रमण, सिमरानसँगको संवाद हुँदै अगाडि बढ्छ । सिमरानले दिएको समीरको डायरी र अन्त्यमा नीलिमाद्वारा समीरबारे व्यक्त ऊ मर्ने छैन भन्ने भनाइसँगै महाकाव्य टुङ्गिन्छ । यो महाकाव्य आञ्चलिक परिवेशमा आधारित छ ।

विषयवस्तुका दृष्टिले प्रस्तुत महाकाव्यमा विविध प्रसङ्ग समेटिएका छन् । परन्तु तिनमा निम्न विषयहरू विशेष उल्लेखनीय रहेका छन् ।

पहिलो उत्पीडन र समाजिक अन्तरविरोधको प्रसङ्ग । प्रस्तुत महाकाव्यको थालनी मान्छेद्वारा मान्छेमाथि हुने उत्पीडन सामाजिक अन्तरविरोधको प्रस्तुतिका बिचबाट हुन्छ । जस्तै :

‘यो कस्तो चलन हो सभ्यताको
जसले माटोमा सिर्जना रोप्छ 
ऊ सधैँ जलेर मर्नुपर्ने
जसले महलको निर्माण गर्छ
ऊ सधै आकाश ओढेर बाँच्नुपर्ने ।

मान्छेले श्रमको विपुल खेतमा
जब पसिनाको मूल्य खोज्यो
उसका आँखामा झिर रोपियो
मान्छेले चेतनाको विकाससँगै
जब मान्छे हुनुको अधिकार खोज्यो
उसको शरीरमा भाला रोपियो । (उद्बोधन : ७)

शोषण, उत्पीडन तथा दमनकै कारण र त्यसको प्रतिरोधमा महाजनयुद्धको थालनी हुन्छ । त्यसै प्रसङ्गलाई महाकाव्यमा सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

दोस्रो सामाजिक तथा सौन्दर्यपरक आदर्श । महान् जनयुद्धको सामाजिक तथा सौंन्दर्यपरक आदर्शमाथि महाकाव्यमा राम्रो प्रकाश पारिएको छ । यस सन्दर्भमा निम्न कवितांशहरू विशेष ध्यान दिनयोग्य छन् :

नीलू ! हामी लडौँला हजार वर्षसम्म
दुश्मनविरुद्धका लडाइँहरू
हामी पछाडि हट्ने छैनौँ
सुन्दर युग जन्माउने यो महान् लक्ष्य
समानताको यो महान् युद्ध
हामी कदापि हार्ने छैनौँ ।
	
‘यो युग नयाँ मान्छेको नयाँ युग
हामीले सजाउने छौँ सपनाहरू
यो युग निरङ्कुशताको अन्त्यको युग
हामीले फुलाउने छौँ चाहनाहरू
हामीले गतिशील समयसँगै
नवीन यथार्थलाई पछ्याउँला
जहाँ हुने छैनन् पाशविक सोचहरू
जहाँ रहने छैनन् दासताका सिक्रीहरू
सबै चुडाइँने छन्
सबै जलाइने छन् ।’ (महान छलाङ : २८२)

निश्चय नै सुन्दर युग जन्माउने महान् लक्ष्य र नयाँ मान्छेको नयाँ गुग निर्माण गर्न चाहने यी सपना अत्यन्तै मूल्यवान रहेका छन् । महाकाव्यमा प्रस्तुत यो लक्ष्य र यी सपनालाई सामाजिक तथा सौंन्दर्यपरक आदर्शका रूपमा ग्रहण गर्न सकिन्छ । यहाँ उत्पीडित जनता र मानव जातिको मुक्ति प्रतिको प्रतिवद्धता राम्रोसँग मुखरित भएको छ ।

तेस्रो क्रान्ति र महान् जनयुद्धको भावधारा । प्रस्तुत कृति नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नका लागि सञ्चालित महान् जनयुद्धको भावधारामा आधारित रहेको छ । हेरौं, सन्धीखर्क कब्जा गर्दाको यो दृश्य :

“घननादमय माइनको गर्जनसँगै
लासका टुक्राहरू
माटो र ढुङ्गासँगै
अनन्त आकाशमा उड्न थाले
आगोको उद्दाम ज्वाला
धुवाँको मुस्लोसँगै धेरै टाढासम्म
पैmलिँदै गयो र झङ्कृत भयो
जनमुक्ति सेनाको कतारमा अर्को खुसी ।’ (महान् छलाङ : २६६)

……………………..

‘ऊ ढल्यो तर उसको आस्था ढलेन
महान् अभियान झुकेन
रातो रगतले रङ्गिएको झन्डा झनै उँचो भयो
उसको कमान रुकेन
उसको बन्दुक खसेन
ऊ ढल्दा नढल्दै
कम्पनी भिसीले बन्दुक उठायो र कासन गर्यो
बहादुर कमरेडहरू भित्र छिर्नुस्
दुश्मनले हार स्वीकार ग¥यो ।’ (महान् छलाङ : २६७)

यहाँ जनयुद्धको सजीव र चित्रमय वर्णन गरिएको छ । यहाँ त्याग, वीरता र बलिदानका भावहरू सशक्त रूपमा मुखरित भएका छन्

 चौथौ प्रेम प्रसङ्ग । प्रस्तुत  कृतिमा प्रेमप्रसङ्ग पनि छ । जस्तो :

‘जीवनका प्रत्येक उकालीहरू
हामी सँगसँगै चढ्दै जाऊँ
जीवनका प्रत्येक ओरालीहरू
हामी सँगसँगै हिँड्दै जाऊँ
जीवनका प्रत्येक अप्ठ्याराहरूमा
हामी सँगसँगै उभिउँला
सङ्घर्षका कठिन चुनौतीहरू
हामीले सँगसँगै निम्ट्याउँला ।’(प्रेमले भरिएको सुमधुर साँझ : १३८)

यहाँ नीलिमा र समीरबिच पारस्परिक प्रेम, निष्ठा, विश्वास र प्रतिवद्धताका भावनाहरू राम्रोसँग अभिव्यक्त भएका छन् । साथै, उनीहरू यहाँ जीवनसाथी बनेर अगाडि बढ्न तयार बन्न गएको देखिन्छ ।

शिल्प साधनाका दृष्टिले हेर्दा यो महाकाव्य केही बेग्लै ढङ्गले प्रस्तुत भएको छ । कथावस्तुको चयन वर्गयुद्धको सामाजिक परिवेशका बिचबाट भएको छ । कथावस्तुको गुम्फन केही जटिल र घुमाउरो बनेको देखिन्छ । जनयुद्धका सहभागिताका दृष्टिले र त्याग, वीरता तथा क्रान्तिप्रतिको निष्ठाका दृष्टिले छापामार योद्धाहरू प्रशंसनीय देखिन्छन् । यहाँ प्राकृति चित्रण भरपुर मात्रामा गरिएको छ । यहाँ क्रान्तिकारी स्वच्छन्दतावाद राम्रोसँग अभिव्यक्त भएको पाइन्छ । जस्तै :

यो आँसुले सिञ्चिएको तिम्रो धरती
रङ्गीन फूलहरूले सजिने छ
यो रगतले रङ्गिएको तिम्रो काख
सुन्दर बिहानमा चम्किने छ
तिमीले फूलका गुच्छाहरूमा
देख्ने छौ यिनकै छाया
तिमीले शीतका थोपाहरूमा
भेट्ने छौ यिनकै माया ।’ (महान छलाङ : २७५)

यो वर्णन सन्धीखर्कको फौजी कारवाहीमा सहादत प्राप्त छोरा प्रति संवेदनशील तथा विह्वल बन्न गएकी आमाप्रति समीरद्वारा गरिएको सम्बोधनमा आधारित छ । यहाँ धर्ती, फूल सहित सिङ्गो प्रकृतिको मानवीकरण गरिएको छ ।

महाकाव्यको ओज, गरिमा र भव्यता, नाटकीयता, द्वन्द्वको प्रस्तुति र चित्रमय वर्णनमा आधारित रहेको हुन्छ । यसरी हेर्दा प्रस्तुत महाकाव्य सफल देखिन्छ । यस सन्दर्भमा निम्न कवितांशहरू उल्लेखनीय रहेका छन् :

‘ओहो ! कति वीरतापूर्ण !
कति त्रासदीपूर्ण !
वीरता र त्रासदीको अन्धकारभित्र
पर्खाल भत्किने गर्थे
छत खस्ने गर्थे
जब दन्कन्थ्यो अग्निज्वाला
वामीटक्सारको सुन्दर फाँट
एकपटक जागा हुन्थ्यो र आत्मसात् गथ्र्यो
वीरता र शौर्यको इतिहासलाई ।’ (वीरतापूर्ण लडाइँ : ११७ )

यो गुल्मीको वामीटक्सारमा गरिएको फौजी कारवाहीमा आधारित रहेको छ । यो वर्णन निकै सजीव र चित्रमय देखिन्छ । यहाँ वीरता र त्रासदीको द्वन्द्ववाद राम्रोसँग अभिव्यक्त भएको पाइन्छ ।

प्रस्तुत कृतिका केही सीमा पनि छन् । कथावस्तु आवश्यकता अनुरूप द्वन्द्वमय बन्न सकेको छैन । दोस्रो भागको कथा गम्फन केही जटिल बन्न गएको देखिन्छ । यहाँ शब्दविन्यासका दृष्टिले कतिपय ठाउँमा शास्त्रीयवादको छनक पनि पाइन्छ । तर पनि समग्रमा यो कृति सफल रहेको छ ।

यद्यपी महाकाव्य मूलत सामन्तवादी युगको साहित्यिक विधा हो । परन्तु वर्तमान साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा पनि नयाँ रूप र शैलीमा महाकाव्य लेख्ने गरिएका छन् । प्रस्तत विचारधारा, चरित्रचित्रण, शिल्पसाधनाका दृष्टिले नयाँ युगको नयाँ महाकाव्य बन्न गएको छ  । यहाँ देश जनता एवम् महान् जनयुद्धप्रतिको पक्षधरता सशक्त रूपमा मुखरित भएको छ र यो सामाजवादी यथार्थवादमा आधारित रहेको छ ।

नेकपा (माओवादी)द्वारा सञ्चालित  महान् जनयुद्ध बिसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको प्रथम प्रहरमा घटित विश्वव्यापी महत्वको एउटा विशेष ऐतिहासिक परिघटना हो । यस महान् जनयुद्धको ओज, गरिमा र उदात्त भावधारालाई आधार बनाई यसप्रकारको महाकाव्य रच्न सफल भएकोमा म प्रगतिवादी कवि विष्णु भण्डारीप्रति विशेष धन्यवाद दिन चाहन्छु । साथै म भूमिका लेखनको यो अवसरमा काव्यसाधनाको क्षेत्रमा वहाँको उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु ।

चैतन्य : अध्यक्ष, इच्छुक साँस्कृतिक प्रतिष्ठान (मितिः २० चैत, २०६६)                               


  प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०८:२५