उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू

प्रा. राजेन्द्र सुवेदी

१. विषय प्रवेश

नेपाली कविता काव्य परम्पराको शृङ्खलामा देखिएका प्राप्तिका बिचमा कवि विष्णु भण्डारी (२०२०) पछिल्लो चरणमा देखिएका नयाँ पुस्ताका कवि हुन् । विद्यार्थी जीवनकालदेखि नै सामाजिक, राजनीतिक र साहित्यिक कर्ममा जुटेका व्यक्तित्व हुन् ।

विद्रोहको छाल (२०४३) शीर्षकमा खण्डकाव्य लिएर सिर्जना क्षेत्रमा प्रवृत्त भएका भण्डारीको पहिलो खण्डकाव्य कृतिबाट सृजनाको यात्रा आरम्भ भएको हो । फुटकर कविता र मुक्तकहरूको लेखनमा क्रियाशील देखिएका भण्डारीको मुक्तक सङ्ग्रह आँधी तुफान    (२०४४), फुटकर कविताहरूको सङ्ग्रह फेरि अर्को तारा खस्यो (२०६३) आन्दोलनसँग सम्बद्ध कविताहरूको सङ्ग्रह देश जागेको बेला (२०६३) पनि प्रकाशमा आउनाले उनको लेखनमा निकै उर्जा विकास भएको कुराको पुष्टि मिल्दछ ।

कविता कृतिका पाँचवटा पुस्तक प्रकाशनमा आइसकेपछिको कृति उत्सर्ग महाकााव्य (२०६७) प्रकाशनमा आएको छ । सिर्जनाको यात्रा दुई दशक पार गरिसकेपछि महाकाव्य सिर्जनामा जुटेका भण्डारीको प्रस्तुत महाकाव्य नेपाली परिवेशको विगत एक दशकको युद्ध र त्यस युद्धले जन्माएका सङ्घातलाई महाकाव्यिक उदात्तता प्रदान गर्ने प्रयासमा तयार भएको छ । प्र्रस्तुत कृतिमा निहित सौन्दर्य र काव्यगत संवेदनाका महनीय गुण समायोजनका पक्षहरूको चयन र काव्य यात्राको प्रारम्भिक चरणको स्थिति निर्देश गर्ने यो कृति महाकाव्यात्मक यात्राको उचाइतिर उन्मुख भएको देखापर्दछ ।

२.उत्सर्ग महाकाव्यमा प्रबन्ध तत्त्वको व्यवस्थापनको आधार

२०५२ सालपछिको समयमा विकसित भएको अभिघात एकातिर सम्मोहन र अर्कातिर विकर्षणको केन्द्रीयतामा उपस्थापन भएको छ । मुलुकमा विकसित भएको सामाजिक, राजनीतिक तथा सांस्कृतिक जस्ता समग्र पर्यावरण र सामाजिक जीवन, त्यसभित्र पल्पिँदै गएका शोषण र उत्पीडनका कोणहरू, मानवीय मूल्यलाई निकृष्ट ठान्ने सत्तारोही र मान्छेका टाउकाको मूल्य तोक्ने त्यसै मूल्यलाई कमिसनको आधार बनाउने जस्ता संवेदनाशून्य मूल्यको प्रतिपादन गर्दै क्षय आमन्त्रण गर्ने शासक अनि त्यही क्षयित मूल्यहरूको उत्थान गर्ने र सातत्य प्रदान गर्ने सत्ता सञ्चालकहरूको कुकृत्य वरण गर्ने दुस्कृतिको नग्न प्रस्तुतिमा काव्यको वस्तु निर्माण भएको छ । माक्र्सवादी नवनव मूल्य चेतनाका अवस्थाहरूको सिर्जना र पुनव्र्याख्याको उपस्थापनमा यस काव्यको वस्तु विनियोजन भएको छ । प्रस्तुत महाकाव्यका सन्दर्भहरू यस काव्यको आयतनमा अनुकूल विषयवस्तु बनेर वितरित भएको अवस्था पनि प्रतिपादन भएको छ ।

काव्यको विषय विनियोजन र प्रबन्ध निर्माण गर्ने क्रममा पहिले जम्मा दुई भागको व्यवस्था गरिएको छ । यी दुई भागलाई सर्वप्रथम खण्ड एक र खण्ड दुई भनेर वर्गीकृत गरिएको छ । खण्ड एकलाई जम्मा तेह्रवटा अलग-अलग शीर्षकका अध्याय अर्थात् सर्गमा विनियोजन गरिएको छ। अलग-अलग शीर्षकमा गरिएको अध्याय विभाजनका पाठहरूको व्यवस्थापन देहायअनुसार गरिएको छ :

१. उद्बोधन शीर्षकको पहिलो अध्यायमा चेतनाको समारम्भलाई विषय प्रवेशको काममा उपयोग गरिएको छ ।

२. सम्झौता जीवन होइन शीर्षकको दोस्रो अध्यायमा जीवनको परिभाषा र यसका मूल्यको पहिचान स्थापित गर्न प्रयत्न गरिएको छ ।

३. माटो भावनामा चम्कदैन शीर्षकको तेस्रो अध्याय काव्यको परिवेश तयार गर्दै काव्यिक वस्तुको महत्ता र गरिमाको पहुँच भावनामा होइन, वस्तुगत यथार्थमा हुनुपर्छ भन्ने अभिमत प्रस्तुत गरिएको छ ।

४. देश उत्सर्गको प्रतीक्षामा छ शीर्षकको चौथो अध्यायले मुलुक आन्दोलनको चपेटामा परिसकेको र त्यसका अभिलक्षणाहरू मान्छेले आफ्नै जीवनका पलपलमा बेहोर्नु परेको अवस्थाको सूचना प्रस्तुत गरेको छ ।

५. जीवन रङहरूको समष्टि हो शीर्षकको पाचौं अध्यायमा जीवनका आकाङ्क्षा र प्रतिफलहरू मूल्य र महत्ताको पाप्तिमा काव्यिक सन्दर्भ प्रकट हुन्छन् भन्ने कुरा प्रतिपादन गरिएको छ ।

६. जीवनको नवीन गोरेटोमा शीर्षकको छैटौं अध्यायमा यस काव्यको विषयवस्तु र स्थितिमा विपर्यय आरम्भ भएको र काव्यका प्रमुख पात्रहरूले तिनको प्रभाव, सद् वा दुष्परिणाम समेतको सूचक बनेर उपस्थित बनेको क्षण वर्णित छ ।

७. सम्झनाको तरेलीमा शीर्षकको सातौं अध्यायले काव्य नायक समीर र नायिका नीलिमाको चारित्रिक विकास तथा वैचारिक सुदृढता र प्रतिबद्धताको आरम्भ अनि वैचारिक निष्ठाप्रतिको समर्पण यात्रा आरम्भ गरेको छ ।

८. नीलिमाको प्रत्यागमन शीर्षकमा तयार भएको आठौं अध्यायमा जटिल परिस्थिति सामना गर्नु परेका कारण चरित्रमा आउन सक्ने मोडहरूको सूचना र अवस्थाको सपस्थापन गरेको छ ।

९. उदात्त जीवनको पथमा शीर्षकमा तयार भएको नवौं अध्यायमा मानव हितका निम्ति युद्धमा सरिक हुने चरित्रको आचरण र त्यसप्रतिको समर्पणको भाव प्रस्तुत गरिएको छ ।

१०. वीरतापूर्ण लडाई शीर्षकको दशौं अध्याय यस काव्यको विकासका निम्ति अपरिहार्य बनेको र सशस्त्र युद्धको औचित्य सिद्ध गर्ने प्रयत्नमा तयार भएको छ । विषयको विकासका दृष्टिले काव्य उत्कर्षोन्मुखतातर्फ मोडिएको यो प्रारम्भिक यात्रा हो ।

११. कोरा भावना चियाको उफान जस्तै हो शीर्षकमा तयार भएको एघारौं अध्याय भावुकताबाट सङ्घर्ष र उत्सर्गशील मानव चरित्र निर्माणको यात्रारम्भ हो र आफूमा निहित निष्ठाले मान्छेलाई चट्टान बनाइदिन्छ भन्ने कुरा यस सन्दर्भमा प्रस्तुत भएको छ ।

१२. प्रेमले भरिएको सुमधुर साँझ शीर्षकमा तयार गरिएको बाह्रौं अध्यायमा काव्यमा ललित र शृङ्गारिक संवेदनाका पक्षहरू पनि विषयका कोण बनेर रहन सक्छन् भन्ने कुरा काव्यको  अङ्गमा जोडिन आएका सन्दर्भहरू प्रस्तुत भएका छन् ।

१३. प्रत्याक्रमणको महान् अभियान शीर्षकमा तेह्रौं अध्याय तयार भएको छ । यस सर्गमा यथास्थितिका सम्वाहक शासकका विरुद्धमा आक्रमण र प्रत्याक्रमण अभियानका रणनीतिक कोणहरू संयोजन भएका छन् ।

खण्ड दुई उल्लेख भएको पछिल्लो भागमा जम्मा दसवटा अध्याय अर्थात् सर्गहरूको व्यवस्था भएको छ । तिनको विषयगत र संरचनागत विशेषता देहाय अनुसार प्रस्तुत भएको छ :

१. पहिलो अध्यायमा शीर्षकको व्यवस्था गरिएको छैन । यस अध्यायमा पनि जीवनलाई परिभाषित गर्ने प्रयत्न गरिएको छ ।

२.मृत्युको विरुद्धमा शीर्षकमा तयार गरिएको दोस्रो अध्यायमा भने सङ्घर्षमय यात्राको क्रममा मान्छेले आफूलाई उत्सर्ग गर्न तत्पर बनाउँछ । समाज र मानव मुक्तिका निम्ति मान्छे सधैँ तयार हुन्छ भन्ने कुरा अगि सारिएको छ ।

३. दुस्मन विरुद्धको गर्जन शीर्षकमा तयार गरिएको  यस तेस्रो अध्यायमा भयाक्रान्त बनेको देश बन्दुकको एउटा जर्जर पिंजडा बनिरहेको अवस्थामा अल्झेको छ । यस अध्यायमा विषय र स्थितिका विरुद्ध मान्छे सङ्घर्षशील बनेर जुटेको छ भन्ने कुरा प्रस्तुत गरिएको  छ ।

४. आत्मविश्वास भरिएको नयाँ मान्छे शीर्षक दिइएको यस अध्यायमा समीर र नीलिमको बिचमा भएको अन्तरालापका सन्दर्भमा जीवन र युद्ध तथा जीवन भोगको चित्रणमा यो अध्याय तयार भएको छ ।

५. समीरको खोजीमा शीर्षकको यस पाँचौँ अध्यायमा युद्धको बलिवेदीमा आत्मोत्सर्ग हुन होमिएको नायक समीरको खोजीमा व्यग्र बनेको नीलिमा र अन्य साथीहरूको अवस्था र विकास प्रतिपादन भएके छ ।

६. विद्रोह अधिकार हो शीर्षकको छैटौँ अँध्याय एक उत्सर्गशील र उदात्तपूर्ण काव्यिक महत्ताका पक्षहरू अन्वेषण र व्याख्या गर्ने क्रममा तयार भएको छ ।

७. साँचो प्रेम सिमलको भुवा होइन शीर्षकमा तयार गरिएको सातौँ अध्यायमा नेपाली समाजमा  फक्रिएको प्रणयको सस्तो महत्त्वलाई उपेक्षित सीमामा मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ ।

८. जीवन तुफानको सङ्गीत रहेछ शीर्षककको यस आठौँ अध्यायमा जीवनको उत्सर्ग र बलिदानको गाथा केन्द्र बनेको तथ्य प्रवर्तित भएको छ ।

९. महान् छलाङ् शीर्षकमा तयार भएको यस अन्तिम अध्यायमा काव्यको उत्सर्गका आधारमा काव्यिक मूल्यका तथ्यहरूको उचाइ उपस्थापन गर्ने प्रयत्नमा र महाकाव्य संरचनागत निकर्ष तयार गर्ने क्रममा काव्यको गरिमा उपस्थापन भएको छ ।

१०.उपसंहार शीर्षकमा महाकाव्यको समग्र महत्ता र मूल्यलाई समेटेर काव्यिक गरिमाको सारांशीकरण गरिएको कुरा उपसंहार अध्यायमा निकर्ष बनेर आएको छ ।

३.अपेक्षित महाकाव्यीय परिधि र उत्सर्ग महाकाव्य :

महाकाव्यले काव्यका महत्तम गुणको वरण गर्ने क्रममा परिवेशको चयन गर्दछ । त्यसको सीमा स्थानीय हुँदाहुँदै पनि स्थानीयताका घेराहरू अतिक्रमण गरेर बाहिरसम्म विस्तारित भएको हुन्छ । त्यसो हुँदा कृतिले निर्माण गरेका र पुनः सिर्जन गरेका कार्यपीठिकाले महाकाव्यानुकूल परिवेशको परिवृत्त स्वयम् निर्माण गर्दछ । परिवेशका सन्दर्भमा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रका पहाडी भाग मूल रूपमा गुल्मी केन्द्र रहेको र त्यसका वरिपरिका क्षेत्रहरू अर्घाखाँची र प्युठानका केही मात्र भागका परिवृत्तभित्र आधारभूमि बनेर अडेको यो काव्य महाकाव्य विधानका पर्यावरणले काव्यिक मूल्यका न्यून सीमा र प्राप्तिबाट आफैँलाई माथि उठाउनु पर्ने कुरा काव्यशास्त्रका महाकाव्यिक मर्यादा वरण गर्न सक्षम रहन्छ भन्ने विश्वास गरिन्छ । यस दृष्टिले परिवेशगत उदात्तता र व्यापकता महाकाव्यको अपेक्षित मर्यादा पनि प्रमुख पक्ष हो भन्ने कुरालाई पुष्टि गर्दछ ।

पात्रगत बहुलता र चरित्रगत उदात्तता पनि महाकाव्यका अपेक्षित गुणहरू हुन् । विचार र व्यवहारका आधारमा चरित्र र क्रियाव्यापारहरू मूल्याङ्कित हुने गर्दछन् । काव्यमा आलङ्कारिक र रसानुभूतिगत सौन्दर्य, उक्ति र प्रयुक्तिगत सौन्दर्य, ध्वनि र रीतिगत सौन्दर्य काव्यका शोभादायक तत्व बनेर रहन्छन् । लय र तिनका ढाँचाहरू, प्रयुक्तिगत विचलनशील अर्थ र तात्पर्यका अनेक सन्दर्भहरू महाकाव्यका अपेक्षित मूल्यहरू हुन् । यस्ता क्षणहरूका आधारमा पनि प्रस्तुत महाकाव्यका प्राप्ति र सीमाको विवेचना गर्न सकिन्छ ।

उत्सर्ग महाकाव्यको परिधिमा परिवेश सीमित छ—आञ्चालिकताको आभास दिने खालको । पकृतिका आकर्षक र मनमोहक छटा र त्यसै पकृतिका विषन्न तथा विषादयुक्त अवस्थाका स्वरूप तथा संवेदनाहरू यस काव्यमा प्रयुक्त छन् । प्रकृतिका मनोरम र मानव चेतनाका अनुकुल पक्षहरूको प्रयोग यस काव्यका आयतनमा भएको पाइन्छ । उद्वोधनमा काव्यका महत्ता र गरिमायुक्त कथनका पृष्ठभूमिमा वर्गीय र सामाजिक शोषणका सन्दर्भहरू, जगत् सिर्जनाको आरम्भदेखि नै प्रदूषणका रूपमा मौलाएको मानव, मानवमा शोषणको श्रृङ्खला समाजमा समाज निर्माणको आदिकालदेखि नै निरन्तर कायम रहेको र तिनको विकासको स्थिति काव्य अध्येताहरूबाट पुष्टि भइसकेको छ ।

मानव समाजको विकासका इतिहासमा मान्छेलाई विनिमय र क्रय विक्रयका शृङ्खलाहरू, दास मालिकका व्यवहार, श्रमिक र मालिकको सम्बन्ध, उद्योग र मालिकका सम्बन्ध, विभिन्न समय र काल खण्डमा स्वरूप र संरचनाका ढर्राहरू फेरिँदै गएका हुन्छन् । भोक र आवासको, श्रम र सीपको आवस्यकता थपिँदै गरेको, रोग र शत्रुताका विरुद्धका मूल्यहरूको स्वरूप र सन्दर्भ पनि फेरिँदै गएका प्रसङ्गहरू पनि प्रस्तुत भएका छन् । द्वन्द्व तथा ऐतिहासिक भौतिकवादका सन्दर्भलाई काव्यिक मूल्यसँग जोडेर आरम्भ गरिएको यस काव्यले वैचारिकताको आधारबाट आफूलाई सर्जन गति प्रदान गरेको कुरा काव्यात्मक मूल्यले नै प्रस्तुत गरेको छ । यसको साक्ष्य निम्न उद्धरणले गर्दछ :

उसले लडाइँ लड्यो- भोक विरुद्धमा
उसले सङ्घर्ष गर्यो- मृत्यु विरुद्धमा
रोगविरुद्धमा लड्दै गर्दा
मान्छेले नयाँ संसार रच्यो  
शत्रुविरुद्धमा लड्दै गर्दा 
मान्छेले नयाँ कला रच्यो (उत्सर्गः५)

इतिहास र सभ्यताको निर्माता मान्छे भएजस्तै पात्रताको निर्माता पनि मान्छे नै हो । पात्रतामा उपस्थापन भएको समीर उदात्तता र नीलिमाको सुदृढ तथा गम्भीर प्रयत्नले महाकाव्यिक लक्षणको उपस्थापन भएको छ । जीवनको गति र यसको सङ्घर्षमय निरन्तरताले मान्छेलाई खारेर धारिलो इस्पात बनाइदिन्छ भन्ने अठोट पनि यहाँ प्रस्तुत भएको छ । चरित्र निर्माणको कलागत संवेदनालाई काव्यले यसरी प्रस्तुत गरेको छ :

समयको गतिमान आयामसँगै 
जन्मिन्छन् मान्छेका इच्छाहरू
हामी इच्छाको परिपूर्तिमा
कहिले पहाड उक्लने गर्छौं
कहिले झर्छौं ओरालाहरू	
हामीले गतिमा जीवन बाँच्छौँ
गतिमै प्रज्ज्वलित दीपक भेट्छौँ । (उत्सर्गः १७)

प्रस्तुत काव्यको कार्य सम्पन्न गर्ने भोक्ताहरूमा समीर, नीलिमा, कञ्चन, किरण, सलिम, रमा, आकाश, सविना, अरुण, कवि, पत्रकार लगायतका पात्रहरूको उपस्थितिमा युद्ध सम्पन्न हुने सन्दर्भसँग जोडिएका काव्यिक कार्यहरू कृतिमा समाहित भएका छन् । वैचारिक दृष्टिले काव्यमा उपस्थित हुन आउने शोषणका सन्दर्भहरू काव्यका विभिन्न क्षण र सन्दर्भहरूमा संयोजित हुन सक्ने नकारात्मक असरहरू प्रशस्त उपलब्ध छन् तर तिनलाई आवश्यकता अनुसार उपयोग गर्न मिल्ने अवसरहरू काव्यभित्र धेरै गुमेका पनि छन् । काव्यकारले चरित्र निर्माणमा भन्दा निर्मित चरित्रको उपयोगमा बढी जोड दिएका छन् । काव्यको पहिलो द्वितृतीयांश भाग नीलिमा र समीरको द्विपात्रालापमा खर्च भएको छ र पछिल्लो एक तृतीयांश भाग भने समीरको अज्ञात प्रस्थानपछिको अवस्थामा खर्च भएको छ । काव्यमा रहन सक्ने कथोपकथनको योजना भने एकरसताको सीमामा निकै सङ्कुचित समेत बन्न पुगेको छः

समीरले उच्छ्वास छोड्दै भन्यो
साथी गइसके जाऊ नीलू !
म तृष्णा साँचेर पर्खिबसुँला ।

समीर ! म जीवनको नयाँ गोरेटोमा
नयाँ छहारीको चित्र हेरूँला
तपाईं रङ भर्दैभर्दै
स्वयम् साकार बन्नुहोला । (उत्सर्गः७०) 

समीरको अभावबाट चिन्तित नीलिमाको धेरैजसो एकालापीय चिन्तापूर्ण तर त्याग र सङ्घर्षको स्वगत कथनमा बितेको छ । थोरै भाग कवि र नीलिमाका बिचको संवादमा खर्च हुनुले काव्यको संलाप सन्दर्भमा सानो मोड ल्याएको छ, अन्यथा संलापको पात्रगत सीमिततामा काव्य निकै एकरसात्मक बनेर अल्मलिएको छ । कवि, नीलिमा र पत्रकार तिन पात्रका बिचमा भएका संलापका सन्दर्भहरू समीरको उदात्तताको, उत्सर्ग र प्रतिबद्धताको विश्वास र दृढ निश्चयको वैचारिक चट्टाने अठोटको गुण बखानमा काव्यले नायकको महत्ता गाएको छ । चारित्रिक उदात्तता गाएको छ । लामो सङ्घर्षको यात्रा समीरले आफ्नो डायरीमा अङ्कित गरेको सन्दर्भ काव्यको उपसंहार बनेर प्रस्तुत भएको छ । यसै सन्दर्भको उपास्थापन गरेपछि काव्य समाप्त भएको छ ।

सीमित पात्रको प्रत्यक्ष प्रस्तुतिमा सिर्जित यस काव्यमा प्रतिपक्षका सेना र स्वपक्षका सेनाका असङ्ख्येय पात्रको उपस्थितिले परोक्ष पात्रताको सहभागितामा प्रत्यक्ष कार्यको विकास भएको देखाइएको छ । प्रत्यक्षा वर्णन कम र परोक्ष कार्य बढी प्रस्तुत हुँदै गएर काव्यान्त भएको छ ।

४. महाकाव्यले आफूमा अभिव्यञ्जित हुने विभिन्न पक्षको महत्ता अपेक्षा गर्दछ

महाकाव्य महान् उद्देश्य र महत्, उदात्त शैली र आदर्श चरित्र विन्यासमा आधारित हुनुपर्दछ भन्नेमा विश्वास गरिन्छ (नेपाली.सा.कोश ५९५) त्यस्तै महत्ता विषय चयनमा पनि हुनुपर्दछ । पात्र योजनामा महत् चरित्र विन्यासको प्रयत्न हुनुपर्दछ । महत् भाषामा पनि हुनुपर्दछ । परिवेश विधानका सन्दभमा पनि महत् पक्षको उपस्थापन गरिनुपर्दछ । कला संयोजनमा पनि महत् पक्ष संयाजित रहनुपर्दछ । सौन्दर्यानुभूतिमा पनि महत् हुनुपर्दछ । विचारको स्थापना र सन्देशको सम्प्रेषणमा पनि हुनुपर्दछ । भाषामा आलङ्कारिता, कथनपद्धतिमा ध्वन्यात्मकता र रसानुभूतिका पक्षहरूमा, सन्देश सम्बाहक तत्त्वका पक्षमा समेत महत् (मम्मट४९) प्राप्ति सन्दर्भित भएर आउनुपर्छ । संरचना विधानमा पनि महत् हुनुपर्दछ । विषयवस्तु वितरण र प्रबन्ध विधानको कलामा र त्यस किसिमको सौन्दर्यको सन्तुलित संयोजन महत् तत्वको अपेक्षा  रहन्छ । महाकाव्य यिनै मूल्यहरूको विन्यासका दृष्टिले महत् पक्षको गरिमा प्राप्त गर्न सकेनसकेको अवस्था उद्घोष गर्न सकिन्छ ।

उत्सर्ग काव्यको विषय सिङ्गै नेपाली  समाजलाई प्रभावित तुल्याउने सन्दर्भको स्थितिबाट चयन गरिएको छ । २०५२ सालपछिको अवस्थामा नेपाली जीवनले भोग्नुपरेका पीडालाई क्रान्ति समर्थनको कोणबाट स्थापना गरिएको छ र नेपालमा भएको माओवादी जनआन्दोलनको क्रान्तिलाई सकारात्मक कोणबाट ग्रहण गरिएको छ । विषयलाई उदात्तिकरण गरेर महत् गरिमा प्रदान गर्न प्रयत्न गरिएको छ । पात्रमा चारित्रिक योजनामा उदात्तताको निर्माणको प्रयत्न भएको छ । यो उदात्तता महत् अर्थमा ग्रहण गर्नाले काव्यको गरिमा प्राप्त गर्न पुग्दछ । देश र जनताको मुक्तिका सन्दर्भमा समग्र जीवन मूल्य उत्सर्ग गरिने भावको ग्रहण गर्ने र यस बलिदानी सन्दार्भलाई उदात्तताको परिधिमा समाहित गरिदिने हो भने त्यस मूल्यले पनि महत् अर्थ ग्रहण गर्न पुग्दछ ।

भाषामा अभिव्यञ्जित हुने कलागत सौन्दर्यले पनि महत् मूल्य प्रप्त गर्नुपर्दछ । यस काव्यको भाषामा मुक्त तर लयात्मक सौन्दर्य, आलङ्कारिक, अन्त्य, मध्य, र आद्य आनुप्रासिक सौन्दर्य, भाव ध्वनिको, व्यङ्ग्याभिव्यञ्जनका सन्दर्भका अर्थिन सक्ने भाषाका कला पक्षहरू यस काव्यका काव्यकारले निकै सतर्कतापूण ढङ्गले प्रस्तुत गरेका छनृ । काव्यले निम्नानुसार साक्ष्य गरेको छः

म माटोको सेवक न हुँ
मलाई स्वर्गको चाह छैन 
म जनताको नोकर न हुँ
मलाई महलको लालच छैन । (उत्सर्गः१७८) 

उनीहरू आगोविरुद्ध आगो बनेर लडे 
नौलो बिहानको लागि
उदात्त जीवनो लागि
उनीहरू लड्दा लड्दै ढले 
उनीहरू हाँस्दा हाँस्दै ढले(उत्सर्ग : २७२)

अकथित कथनमा आउने र नेपथ्यपटमा आउने परिवेशलाई नलिने हो भने यस काव्यको मञ्चीय परिवेश निकै साँगुरो छ । गुल्मी, अर्घाखाँची र प्युठानको पर्यापरणबाट स्पर्श र दृष्टिमा समेटिने परिवेश पनि मूल्यगत सन्दर्भमा महत् प्राप्तिको स्थापनाका  निम्ति प्रयत्न गरेका छन् । परिवेशको समायोनमा पनि कलात्मक मूल्य चयन गर्न प्रयत्न भएको छ । सौन्दर्यानुभूति अभिव्यञ्जना गर्ने कला ठुलो साधनाबाट मात्र साध्य हुने विषय हो । यस महाकाव्यले त्यसतर्फको यात्रा आरम्भ गरेको छ । लक्षित ग्राहक अथात् पाठकहरूका निम्ति अभिप्सित विचार सन्देशका पक्षहरू पनि विनाआग्रह स्वीकार्य होउन् भन्नेतर्फको यात्रा पनि महत् ढङ्गले तय गर्नुपर्ने दिशामा उन्मुख गराउन पनि काव्यले निकै प्रयत्न गरेको छ । एउटा महत् यज्ञमा समर्पित हुन सक्ने त्याग र बलिदानका समर्पण भावहरू यस काव्यमा महत् अर्थमा प्रतिपादित हुन प्रयुुुत्न गरेका छन् । महत् अभिप्सातर्फ उन्मुख भएको यस यात्राले काव्यिक गरिमा वरण गर्न भने राम्ररी नै प्रयत्न गरेको छ ।

५. समापन

भण्डारीको प्रस्तुत काव्य महाकाव्य यात्राको प्रथम सोपान हो । यसले विषयको र आकृतिको आयतन निकै बृहदाकारमा ग्रहण गर्न प्रयास गरेको छ । भाषा र भावको सौन्दर्यभाव महाकाव्यिक गरिमाले मृत्यु पनि वरण गर्नुपर्दा मान्छे निर्भीकतापूर्वक  तयार हुन्छ भन्ने अर्थ संयोजन गरेको छ । समाज र देशको निम्ति, घातक शासकका क्रूर पञ्जामा फँसेका मूल्यहरूलाई बचाउन सिङ्गै जीवन लगानी गर्नुपर्ने अवस्था आएको छ । समग्र स्थितिलाई मुक्त गर्नुपरेमा उदात्त भावनायुक्त धीर नायक हाँसीहाँसी मृत्युवरण गर्न तयार हुन्छ भन्ने कुरा यस काव्यले सबलतापूर्वक स्थापना गरेको छ । नेपालको इतिहासको यस पछिल्लो चरणमा मौलाएका विकृतियुक्त यथार्थको कुरूपताका विरुद्ध विकसित बनेका जनआन्दोलनले जन्माएका समरगाथालाई महाकाव्यिक रूप प्रदान गरेको साक्ष्य प्रस्तुत महाकाव्यले आत्मसात् गरेको छ ।

महाकाव्य सृजनाको यस कठिन यात्रामा प्रस्थान गरिसकेका भण्डारीको सृजना अभियानप्रति पाठकको उत्सुकता निकै तीव्र बनेको छ । जनयुद्धको महान् गाथालाई महाकाव्यात्मक गरिमा प्रदान गर्ने भण्डारीको यो प्रयत्न निकै स्तुत्य रहेको छ । पाठकहरूबाट भण्डारीको महाकाव्य यात्राको सफलताको कामना गरिनु सान्दर्भिक सिद्ध भएको छ ।

सन्दर्भसामग्री सूची

१. त्रिपाठी, वासुदेव,  (२०६६), साहित्य सिद्धान्तः सोध तथा सृजन विधि, काठमाडौं, पाठ्यसामग्री प्रकाशन ।

२.बराल, ईस्वर र अन्य  (२०५५), नेपाली साहित्यकोश, काठमाडौं , नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।

३. भण्डारी, विष्णु, (२०६७),उत्सर्ग, काठमाडौं, अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन, प्रा.लि. ।

४. मम्मटाचार्य,  (सन् २००५), काव्यप्रकाश (व्याख्याकार सत्यव्रत सिंह), वाराणसी, चौखम्बा विद्याभवन ।

(अन्वेषण : वर्ष : १,  अङ्क: १,  भदौ, २०६७, पृ.१ )


  प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०७:५१