महाकाव्यको दोर्णाचल बोक्दै कवि विष्णु भण्डारी

प्रा. डा. ताराकान्त पाण्डेय

(प्रथम संस्करणको भूमिका)

महाकाव्य कवितामा भनिएको लामो कथानक, जीवनकथा, जीवनमूल्य र जीवनसौन्दर्यको उदात्त काव्यिक अभिव्यक्ति हो । सामूहिक आवेगको उदात्त काव्यात्मक प्रस्तुतिबाट जन्मिने महाकाव्य आजको जटिल, वैयक्तिक आवेगले खण्डीकृत बनेको समाजमा आफ्नो पूर्ण आकार, ओज र सौन्दर्यमा व्यक्तिन गाह्रो छ भन्छन् मीमांसकहरू । त्यसैले यो युग उपन्यासको युग कहलिएको छ । जीवनका पत्रपत्रमा पस्नु र जटिल अन्तर्विरोधहरूको भेदन गर्नु गद्यमा र उपन्यासमा अपेक्षाकृत अनुकूल र उपयुक्त ठान्छन् सौन्दर्यशास्त्रीहरू र बजार अनि पाठक पनि उपन्यासकै बिस्तारित छन् । यस्तोमा पहिलोपटक र त्यो पनि गद्यलयमा महाकाव्य रचनाको दोर्णाचल बोक्ने आँट गर्नु ठुलो साहस र चुनौतीको अनुष्ठान हो भन्ने ठान्छु म । कवि विष्णु भण्डारीले त्यही अनुष्ठान गरेका छन्- उत्सर्ग गद्य महाकाव्य लेखेर ।

माहाकाव्यका शास्त्रीय परिभाषा आफ्ना ठाउँमा छन् र तिनका अभिलक्षणमा टेकेर यसले महाकाव्यिक उचाइ र गरिमा कति प्राप्त ग¥यो त्यो त समीक्षा हुँदै गर्ला, तर पनि एउटा कुरा स्पष्ट भन्नै पर्छ कवितामा यति लामो आयमको सिर्जना र त्यो पनि गद्य वा मुक्त लयमा, सामान्य प्रयास होइन, यो कवि भण्डारीमा निहित कविता सामथ्र्यको राम्रो परिचय हो– यो पहिलो कुरा ।

दोस्रो कुरा– यो परम्परागत महाकाव्य होइन र महाकाव्यको शास्त्रीय परिभाषाका आधारमा आजका नयाँ महाकाव्यात्मक रचनाको मूल्याङकन पूर्ण पनि हुँदैन । पराम्पराभित्र नयाँ ढाँचाको महाकाव्य लेखनको परम्परा नेपाली साहित्यमा यस अघि नै सुरु भइसकेको हो र कवि भण्डारीको यो महाकाव्य पनि त्यस्तै परम्पराभिन्न महाकाव्यात्मक रचना हो । वर्तमानको अन्तर्विरोधपूर्ण एवं द्वन्द्वरत युगले निर्माण गरेको नवीन यथार्थ, संवेदना र सञ्चेतनाको विस्तारित अभिव्यक्ति गरिएको यो कृति आजको युगलाई बोक्न खोज्ने महाकाव्य बन्न पुगेको छ र यसभित्र कविताकै उपस्थिति पनि सबल प्रकारको रहेको छ । हो, कतिपय ठाउँमा भाषिक परिमार्जनको आवश्यकता अपेक्षित देखिन्छ र संवादै संवादमा लेखिएको यस काव्यमा संवाद संयोजनको कलामा पनि परिष्कारको आवश्यकता बोध हुन्छ तथापि काव्यलाई त्यही संवादात्मकता र कवितात्मकताले सबल बनाएका छन् । यसअघि दुईटा खण्डकाव्य, एउटा फुटकर कवितासङ्ग्रह र एउटा कविता श्रृङ्खला (सङ्ग्रह) प्रकाशित गरेर कविता लेखनको राम्रो अभ्यास गरिसकेका भण्डारी यस काव्यमा कविता–कलाप्रति सचेत रहेको र त्यसको गरिमालाई धान्न सकेको अनुभव मैले गरेको छु र पाठकले पनि त्यो अनुभव गर्ने छन् भन्ने मेरो विश्वास छ ।

तेस्रो कुरा- कहाकाव्यमा प्रस्तुत कथ्थवस्तुलाई कवि भण्डारीले जसरी रागात्मक र ओजपूर्ण बनाउने प्रयास गरेका छन्, त्यो सबभन्दा महत्वपूर्ण र प्रशंसनीय रहेको मेरो ठम्याइ छ । यसमा जनयुद्ध/विद्रोहको आवश्यकता वा औचित्यलाई तार्किक ढङ्गले सिद्ध गरिएको छ र नेपाली महान् जनयुद्धको सन्दर्भलाई वण्र्य विषयका रूपमा प्रस्तुत गरिएको छ । त्यस क्रममा जनमुक्ति सेनाको फैजी आक्रमण/प्रत्याक्रमण (विशेषतः अर्घाखाँची आक्रमण) को वर्र्णन कविताका माध्यमबाट जुन किसिमले गरिएको छ, त्यो कुनै राम्रो उपन्यासको वर्णनभन्दा कम आकर्षक र कम आह्लादक छैन । कवितामा युद्धको यति सुन्दर वर्णनले कवि भण्डारीको काव्य सामथ्र्यलाई राम्रैसँग उद्घाटित गरेको मैले अनुभव गरेको छु ।

यस महाकाव्यमा केवल विशुद्ध आक्रमण/प्रत्याक्रमणको प्रसङ्ग मात्र छैन, जनयुद्धले निर्माण र विकास गरेको महान् र उदात्त नायकत्वलाई काव्यमा स्थापित गर्ने र त्यसलाई काव्यिक मूल्यले अभिषिक्त गरेर अन्ततः उदात्त महाख्यानको रचना गर्ने प्रयास पनि छ । जीवनप्रति निराशाभाव बोकेर बाँचिरहेको एउटा पात्र जीवन र समाजको यथार्थबोध गरेपछि कसरी क्रान्तिको महान् नायकमा रूपान्तरित, विकसित हुन्छ र क्रान्तिमै जीवन उत्सर्ग गर्दछ भन्ने कुरा यस काव्यले प्रस्तुत गरेको छ । यहीँनेर उल्लेखनीय के छ भने उदात्त पात्रताका त्यस महान् निर्माण र विकासमा प्रेमको कस्तो भूमिका हुन्छ भन्ने जिज्ञासाको काव्यिक उत्तर पनि कवि भण्डारीले खोजेका छन् । यस काव्यमा र यस सन्दर्भले काव्यलाई नितान्त नयाँ र मौलिक रूप पनि दिएको छ । प्रायः प्रगतिवादी रचनामा उपेक्षा गरिने प्रेमको सन्दर्भ नै यस काव्यका केन्द्रमा छ । प्रेमले क्रान्तिनायकका निर्माणमा र क्रान्तिका विकासमा कस्तो महान् प्रेरकको भूमिका निर्वाह गर्दछ भन्ने जिज्ञासाको उत्तर नै यो उत्सर्ग महाकाव्य हो । प्रेममा घात बेहोरेर निराशामा बाँचिरहेको एउटा पात्र कसरी क्रान्तिनायक बन्न पुग्छ ? नायिकाकै शब्दमा :

त्यो निर्मल र सुन्दर मान्छे
एकमुठी खुसीको लागि विक्षिप्त होइन
क्रान्तिवीर बनोस्
मैले एकमुठी खुसी दिएँ
बस्, त्यही खुसीको शक्तिले ऊ महान् बन्यो ।
...........................
सपना जीवनको सर्वस्व हो
मैले उसको हृदयमा
मर्दै गरेका सपना जगाएँ
बस्, त्यही सपनाको शक्तिले
ऊ क्रान्तिको नायक बन्यो ।(समीरको खोजीमा : २०८)

प्रेमले मान्छेलाई भीरु र स्वार्थी होइन, महान् क्रान्तिनायक बनाउन सक्छ- यही केन्द्रीय कथ्यसूत्रका काव्यिक उद्घाटनमा यस काव्यमहलको निर्माण भएको छ । यसो पनि भन्न सकिन्छ- क्रान्ति र प्रेमको फ्युजन छ यसमा र फ्युजनको कला कवि भण्डारीमा रहेको कुरा काव्यले सिद्ध गरेको छ । प्रेमलाई वासना र स्वार्थबाट माथि उठाएर उदात्त एवं वर्गीय स्तर प्रदान गरिएको छ र त्यही प्रेमबाट ऊर्जा प्राप्त गरेर समीर (काव्यनायक) क्रान्तिनायक बन्न पुगेको छ । दुश्मनका बधशालाभित्र कठोरतम र क्रूरतम यातना झेल्दै ऊ मृत्यु वरण गर्छ तर आत्मसमर्पण गर्दैन । त्याग, समर्पण र बलिदानको महाख्यान सिर्जना गर्छ ऊ । यो जनयुद्धले निर्माण गरेको उदात्त जीवनमूल्य हो र यसकै अभिव्यक्ति- सौष्ठव छ यस महाकाव्यमा ।

पूर्व प्रेमिकाबाट परित्यक्त नायक समीर अन्ततः जनयुद्धका परिवेशमा जनयुद्धकी सिपाही (तिनै प्रेमिकाकी बहिनी) नीलिमाबाट प्रेम प्राप्त गर्छ र त्यही प्रेमका उर्जाबाट ऊ उत्सर्गको महाख्यान रचना गर्छ । यसरी थोरै नाटकीयता र थोरै आकस्मिकताका माध्यमबाट यस काव्यमा कवि भण्डारीले अलिकता प्रयोग पनि गरेको देखिन्छ । समग्रतः स्वार्थ र वासनादेखि मुक्त उदात्त प्रेम र वर्गीय युद्धको फ्युजनबाट बनेको यो महाकाव्य कविता, विचार र उदात्त जीवनकथाको संश्लेषण पनि हो । यस काव्यमा महान् जनयुद्धद्वारा निर्मित नवीन जीवनमूल्यको काव्यिक अभिव्यक्ति दिने जुन प्रयास कवि विष्णु भण्डारीले गरेका छन्, त्यो पठनीय छ र प्रशंसनीय पनि । नेपालको समाजवादी यथार्थवादी काव्यधारामा थपिन आइपुगेको एउटा महत्वपूर्ण सिर्जनाका लागि कवि भण्डारीलाई साधुवाद !

(चैत, २०६६)


  प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०७:०१