मुक्तिनाथ घिमिरे
प्रवेश :
प्रस्ट वैचारिक धरातल, सुललित भाषाशैली, संरचनागत विविधता र संवाद प्रधान आख्यानको अन्वितिमा उन्मुक्तिको महान् युद्धलाई अभिव्यक्त गरिएको ‘उत्सर्ग’ काव्य कृति स्थानीयता, सामयिकता, चेतनाको रापिलो आलोडनका साथै सामाजिक यथार्थको चिरफार र जनपक्षीय आवाजको सघन उपस्थितिले जीवनवादी काव्य बन्न पुगेको छ । नेपाली भूमिमा भएको सशस्त्र क्रान्तिअन्तर्गत दशवर्षे जनयुद्धको उत्कर्षकालको सेरोफेरोलाई आधार बनाएर संरचित काव्यमा कवि विष्णु भण्डारीले वैचारिक स्खलन, निराशावाद, शोषण, यथास्थितिवाद र जडसूत्रवादी प्रवृत्तिका विरुद्ध खबरदारी मात्र गरेका छैनन् प्रेममय जीवनका विविध आरोह–अवरोहलाई पनि गतिशील समय र रूपान्तरित परिवर्तनकामी सोच र उद्देश्यको बृहत् इयतामा समेटेका छन् ।
अग्रगामी सङ्घर्षको मोर्चा दृढ सङ्कल्प, ऐतिहासिक तथ्यको विहङ्गम विचरण र सामाजिक द्वन्द्वात्मक परिस्थिति आकलनको आत्मसात्बाट लडिने हुँदा विजय निश्चित हुने सन्दर्भ मुखरित भएको विवेचनार्थ प्रस्तुत ‘उत्सर्ग’ काव्यमा माक्र्सवादी चिन्तन र चेतना, जीवन दर्शनका आयामिक रूपहरू, मानव र प्रकृतिबिचको अन्योन्याश्रित सामञ्जस्य, राज्यसंयन्त्रको दुरुपयोगबाट सिर्जना गरिएका नारकीय पीडा र प्रताडना, शोषणका ऐतिहासिक प्रवृत्ति र रूप तथा तत्जन्य उहापोहबाट निसृतः प्रतिक्रियात्मक क्रान्तिगत सचेतनाको कारण अवलम्बन गरिने प्रतिरोध र विद्रोहले ल्याउने रूपान्तरणको महागाथालाई नूतन र सरल शील्पको कारिगरीले अभिव्यञ्जित गर्ने कवि विष्णु भण्डारीको सत्प्रयासले नवीन उचाइ प्राप्त गरेको छ ।
क्रान्ति, युद्ध, प्रेम, प्रकृति, नारी, जीवन र सहादतको महिमा प्लावित ‘उत्सर्ग’ काव्यले स्वाभिमान, आस्था, बलिदान र त्यागका सामुहिक संयोजन सपनाका नायकहरू वा राता मान्छेहरूको गतिशीत क्रिया र चट्टानी दृढतालाई एकसाथ मुखरित गरेको छ । काव्यचेत, माक्र्सवादी सौन्दर्य, शोषणका ऐतिहासिक रूप र वर्तमान अवस्थाको चित्रणसँगै क्रान्तिप्रेम र जीवन दर्शनका सयौँ कथन सामेल ‘उत्सर्ग’ महाकाव्यलाई विवेचनात्मक आलोकका दृष्टिमा केही पक्षहरूको समालोचनात्मक प्रस्तुति यहाँ व्यञ्जित गरिन्छ ।
(क) महाकाव्यिक लक्षण र विनिर्मिति :
ईसाको सातौँ शताब्दीबाट सुरु भएको पाश्चात्य महाकाव्य लेखनको परम्परा, पुगनपुग सत्तरी वर्ष पुरानो नेपाली महाकाव्य लेखनको इतिहास र पूर्वीय संस्कृत साहित्यमा विद्यमान महाकाव्यका लक्षण र विशेषता धैरै हदसम्म एकआपसमा मिलेको पाइन्छ । सम्पूर्ण संसारलाई नै काव्यभित्र एक परिवेशको रूपमा उपस्थापन गरी वीरोचित गुणले मण्डित धीरोदात्त नायकको महानता चित्रण गर्नु, खराब र असल पक्षको द्वन्द्व सिर्जना गरी असल पक्षको विजय र खराब पक्षको धुलिसात् अन्त्यको अवस्था अभिव्यक्त गर्नु, ऋतु, मौसम, प्राकृतिक चराचर, नदीनाला, आकाश, पर्वत, वनजङ्गल जस्ता मानवसँग प्रत्यक्ष सम्बन्ध भएका विविध पक्षको खुलेर वर्णन गर्नु, शान्त, रौद्र, करुण, शृङ्गार, हास्य, वीर, भयानक, वीभत्स, र अद्भुत रसमध्ये कुनै एक प्रधान रूपमा र अन्य सहायक रसको रूपमा प्रयोग गर्नु, जीवनका अनेक पक्ष र रूपको कलात्मक चित्रण हुनु, विभिन्न सर्गमा काव्यलाई विभक्त गरी आठ सर्गभन्दा माथि काव्य संरचित हुनु साथै प्रारम्भमा वस्तुनिर्देश वा काव्य सफलताको आराधना रहनु, प्रत्येक सर्ग एउटै छन्दको रहनु र अन्तिम चरणमा छन्द बदलिनु, सज्जनको स्तुति र दुष्टको निन्दा गरिनुजस्ता गुणहरू प्राचीन महाकाव्यमा पाइन्छन् । ‘रघुवंश’, ‘नैषध’ जस्ता संस्कृत भाषाका महाकाव्य, ‘ओडिसी’, ‘प्याराडाइज लस्ट’ जस्ता पश्चिमेली महाकाव्य, ‘आदर्श राघव’, ‘शाकुन्तल’, ‘मृत्युञ्जय’ जस्ता नेपाली महाकाव्यमा माथि उल्लिखित लक्षणहरू अक्षरशः पालना गरिएका छन् ।
परिवर्तनशील समाज र समयको अपेक्षा र मागसँगै महाकाव्य लेखनमा पनि परिवर्तन आएको छ । सामाजिक दुर्नियति भोगेको गरिब पात्र पनि नायक हुने, कविको भावनालाई छन्दविधानको प्रविधिले नबाँध्ने र सामाजिक रूपान्तरणको प्रक्रिया महाकाव्यको कथानक बन्न सक्ने दृष्टान्त बालकृष्ण समको ‘चिसो चुल्हो’, मोदनाथ प्रश्रितको ‘मानव’ जस्ता महाकाव्यले प्रस्तुत गरेका छन् । विषयको अन्विति र आलम्बनका दृष्टिले सामाजिक–राजनैतिक अवस्थाको चित्रण तत्कालीन सामाजिक सन्दर्भको सापेक्षमा उल्लेख भएका महाकाव्यमा रामप्रसाद ज्ञवालीको ‘औँसीका फूलहरू’ र नवराज लम्सालको ‘कर्ण’ उल्लेख्य छन् । परम्परागत शील्पविधान, पात्र प्रविष्टि, छन्दविधान र कथ्य सिर्जनाका दृष्टिले भने कवि विष्णु भण्डारीको ‘उत्सर्ग’ सर्वथा नूतन र सामयिक प्रतीत हुन्छ । अझ नेपाली जनयुद्धको उत्कर्षकाल र स्थानीयताका हिसाबले उनको प्रस्तुत महाकाव्य बिछट्ट प्रभावकारी र परिवर्तनलाई केन्द्रमा राखेर सिर्जिएको हाम्रो कालखण्डको एक महत्त्वपूर्ण दस्तावेज हो । साठीको दशकको सेरोफेरोमा सङ्कथन (discourse) को डोरी बाटेर प्रत्येक नेपालीलाई बाँया किनाराका साक्षी बनाएझैँ देशपे्रमी र परिवर्तनप्रेमी मान्छेको कथा आविष्ट ‘उत्सर्र्ग’ महाकाव्यले परम्परागत महाकाव्यिक लक्षणलाई रूपमा भेदन गर्दै पृथक ढङ्गको महाकाव्यिक गुणलाई भने सारमा अवलम्बन गरेको छ ।
‘उत्सर्ग’ महाकाव्यका नीलिमा र समीर कुनै उदात्त नायकभन्दा बढी जिम्मेवार र गुणयुक्त छन् । ‘उद्बोधन’ बाट सुरु हुने काव्यले मंगलाचरणमा प्रयुक्त हुने वस्तुनिर्देश गरेको छ भने दुई खण्ड र बाइस शीर्षकमा विभक्त काव्य सर्गमा विभक्त भएझैँ छ । ऋतु वर्णन र युद्ध वर्णन त छ नै वीर रस, अद्भुत रस र रौद्र रसजस्ता रसप्लावित काव्यले जनताको श्रम र पसिनाको कथा भनेको छ । यसर्थ पनि ‘उत्सर्ग’ नवीन कथ्य र शैलीको महाकाव्य बन्न पुगेको छ । उद्बोधनमा प्रयुक्त कविस्वरले वस्तुनिर्देश दृष्टान्ततः यसरी गरेको छ-
जसले हाँसीहाँसी मृत्युलाई स्वीकार गरे ती महान् योद्धाको कविता हो यो जसले ढल्दाढल्दै पनि मुक्तिको आवाज बोले । (उत्सर्गः१२)
(ख) सङ्कथनको प्रारूपमा उत्सर्गः
कवि विष्णु भण्डारीद्वारा रचित ‘उत्सर्ग’ महाकाव्यको कथानक प्रेम र युद्धको सेरोफेरोमा संरचित छ । नेपाली जनयुद्धको पृष्ठभूमि बोकेको प्रस्तुत कृतिमा त्यही जनयुद्धका सच्चा सिपाहीको देशप्रेम, मानवप्रेम र क्रान्तिप्रेमलाई केन्द्रमा राखेर पात्रविधान र सङ्कथन (discourse) निर्माण गरिएको छ ।
काव्यकी नायिका नीलिमा छापामार युवती हो र ऊ जनयुद्धको प्रक्रियामा घाइते भएर नायक समीरको कोठामा आश्रय लिएर बस्तछे । सोही क्रममा उनीहरूबीच अङ्कुराएको प्रेम बिस्तारै झाङ्गिन्छ र अन्ततः अभिव्यक्त हुन्छ । युवती नीलिमाको उत्प्रेरणाले समीर पनि घर छाडेर जनसेनामा प्रवेश गर्छ । फलतः युद्धमोर्चाका किल्लाहरू र आक्रमणका शृङ्खलाहरूमा उनीहरू एकसाथ सहभागी बन्दछन् । कमान्डर बनेकी नीलिमाको नेतृत्वमा भएको फौजी कारबाहीकै सिलसिलामा समीर घाइते बन्दछ र सुरक्षाफौजको ज्यादतीस्थल ब्यारेकमा बन्दी बनाइन्छ ।
कवि तथा पत्रकार पनि समीरसँगै त्यही ब्यारेकमा बन्दी बनेको छ । आततायी ब्बाँसा र भोका हुँडारजस्ता बर्दीधारीले समीरलाई विचलित तुल्याउन, गलाउन र योजना उधिन्न अनेक प्रलोभन देखाउँछन्, नाटक गर्छन् र मारिदिने धम्कीसमेत दिन्छन् । तर ऊ आस्था त्यागेर बिचलित बन्दैन । इस्पातले बनेको मान्छेझैँ ऊ सतिसाल बनेर उभिन्छ । पछि कवि तथा पत्रकार बन्दीगृहबाट रिहा हुन्छ तर समीरबारे जानकारी राख्ने कार्य रोक्दैन । उक्त कवि तथा पत्रकारले सिमरान नामक युवतीलाई भेट्छ र समीरबारे जानकारी प्राप्त गर्छ । सिमरानले कवि र पत्रकारलाई समीरको डायरीमात्र हस्तान्तरण गर्दिन आफूले समीरसँग अलग भएर एक्लो जीवन व्यतीत गर्दाको दुःखान्त अनुभूतिसमेत सुनाउँछे । समीर र सिमरानको प्रेमसम्बन्धबारे यहाँ सङ्केत पाइन्छ । अन्ततः सिमरान नीलिमाकै दिदी भएको तथ्य अवगत हुन्छ । तर समीरको अवस्थितिबारे काव्यमा जानकारी पाइँदैन । ऊ मर्ने छैन भन्ने नीलिमाको विश्वाससँगै काव्यको कथानक टुङ्गिन्छ ।
उत्सर्गको आख्यानलाई नीलिमा–समीर–सिमरानको सम्बन्धसँग मात्र जोडेर हेर्ने हो भने यो एकाङ्गी र अपूर्ण हुनेछ । बरु प्रस्तुत कृतिको कथानक त विद्रोहका सिपाही/समरपथका वटुवा/जनयोद्धाको साहस, धैर्य, आवेग र योजनाको आवृतमा अडेको छ । रमा, आकाश, निर्मल, मनिष र ज्वारको सहादत तथा सगर, सलिम, सबल कुँवर, सङ्ग्राम कुमाल, विशाल घर्तीमगर, किरण, आकाङ्क्षा, परवेश, अरुण, विक्रम कुँवर र शङ्करजस्ता साहसिक राता मान्छेहरूले विजय अभियानका खातिर मोलेको जोखिम र बगरेविरुद्ध गरेको आक्रमणको इतिवृति उत्सर्गमा सन्निहित छ । पुँजीवादी राज्यसत्ता र विभेदकारी सामाजिक संरचनाको विरोधमा जनसेनाले बोलेको धावा र सिर्जना गरेको जनताको शासनलाई नै कवि भण्डारीले कथानक बनाएका छन् ।
(ग) द्वन्द्व विधानको आलम्बनः
उत्सर्ग महाकाव्यलाई द्वन्द्व विधानका दृष्टिले पर्गेल्ने प्रशस्त आधार छ । प्रस्तुत काव्यको उत्कर्ष नै द्वन्द्वात्मक परिवेश र ऐतिहासिक सन्दर्भले आविष्ट छ । बाह्य द्वन्द्व र आन्तरिक द्वन्द्वको सामेलीले काव्यको कथानक डो¥याइएको छ । राज्य पक्ष र विद्रोही पक्षबिच भएका युद्ध-आक्रमण, गोली हानाहान, चिच्याहट र निर्मम यातनाको सिकार बनाउने विधि र योजना काव्यमा बाह्य द्वन्द्वका रूपमा दृष्टान्त छन् । एक उदाहरण–
ठोक भाग्न नदेऊ दानवी जल्लादहरू सङ्ग्रामले चिच्याउँदै ग्रिनेट फाल्यो उसको ग्रिनेट सुसाउँदै तल खस्यो र ठहरै भयो निरङ्कुश सत्ताको कायर रक्षक । (उत्सर्गः१०६)
बाह्य द्वन्द्व सामाजिक रूपान्तरण र जनताको मुक्तिको लागि विद्यमान छ भने काव्यमा आन्तरिक द्वन्द्व व्यक्तिको जीवन परिवर्तनको लागि छ । मानसिक द्वन्द्व र विचारमन्थनका साथै काव्यमा प्रविष्ट पात्रहरूको सोचाइको बृहत् पटाङ्गिनीमा द्वन्द्वात्मक स्थिति अभिव्यक्त भएको छ । काव्यको नायक समीर आन्तरिक द्वन्द्वको गहिराइमा यसरी प्रकट भएको छ-
मैले धेरै यत्न गरेर सँगालेको स्वाभिमान मैले धेरै कष्ट गरेर बनाएको आस्था कसरी यिनको फोहोर खुट्टामा चढाऊँ ? तिमी नै भन ए ! जीवनका नवप्रभात ! के म समर्पण गरूँ हाम्रा आस्था र बलिदानहरू ? हाम्रा त्याग र स्वाभिमानहरू ? (उत्सर्गः१८९)
आन्तरिक द्वन्द्व वैचारिक अडानको आधारभूमि र प्रेमसम्बन्धका सन्दर्भमा काव्यमा मुखरित छ । काव्यको नायक समीरका अलावा अन्य पात्रहरूसमेत आन्तरिक द्वन्द्वकै माध्यमबाट जीवनलाई अगाडि बनाउन सक्षम देखिएका छन् । अझ विवेच्य तथ्य त के छ भने यो आन्तरिक द्वन्द्व बाह्य द्वन्द्वकै सामञ्जस्य शृङ्खलामा प्रक्षेपित छ ।
द्वन्द्वात्मक भौतिकवादको दर्शनले पुष्टि गरेको सामाजिक संरचनामा विद्यमान द्वन्द्वात्मक घटकको सङ्घर्षबाटै समाज अगाडि बढ्ने तथ्यलाई कवि भण्डारीले यस ‘उत्सर्ग’ महाकाव्यमा राम्ररी आत्मसात् गरेका छन् । चाहे त्यो बाह्य द्वन्द्वात्मक अवस्था होस् वा आन्तरिक द्वन्द्वात्मक अवस्था होस् जीवन र समाजलाई गतिशील राख्न र अग्रगामी बनाउन द्वन्द्वात्मक अवस्था आवश्यक छ । माक्र्सवादी दर्शनको यो सत्यले काव्यमा यथोचित स्थान पाएको छ ।
(घ) वर्गीय चेतनाको आधारमा उत्सर्ग :
उत्सर्ग महाकाव्यमा वर्गीय चेतना (class consciousness) र चिनारी सबल रूपमा चित्रित छ । काव्यका पात्रहरू निम्न वर्गीय, शोषित, प्रताडित र समाजको तल्लो तह (lower strata) का प्रतिनिधिका रूपमा वर्णित छन् । सामन्तवाद, पुँजीवाद र विस्तारवादका नाइकेमात्र होइन मानवजीवनका विरोधी खलपात्रका विरुद्धसमेत हुङ्कार गर्ने पात्रहरू भएको प्रस्तुत काव्यले वर्गीय पहिचान र सम्बन्धलाई मुक्ति अभियान र क्रान्तिसँग जोडेर उल्लेख गरेको छ । वर्गीय चिनारी झल्काउने प्रस्तुत उधृतांशले यही पुष्टी गर्दछ-
सुन्दर युगनिमित्त लडाइँ लड्ने लम्बे अभियानका यात्री हामी हाम्रो वर्ग एउटै छ वर्गीयताले भरिएर उड्दै गर्ने सीमाहीन हृदयका पन्छी हामी हाम्रो आस्था एउटै छ । (उत्सर्गः१६९)
वर्गीय नाता अटुट रहने र रगतको नाता जस्तै निकट हुने सन्दर्भसमेत काव्यमा मुखरित छ । वास्तवमा नेपाली जनयुद्ध त्यही वर्गीय हितका लागि लडिएको युद्ध थियो । सामन्त, जमिन्दार, शोषक र जल्लादका विरुद्ध छेडिएको क्रान्तिले सामाजिक रूपान्तरणसँगै वर्गविहीन समाजको परिकल्पना र जनताको शासनसत्ताको स्थापनालाई प्रमुखता दिएको थियो ।
‘उत्सर्ग’ महाकाव्यमा प्रेमलाई समेत वर्गीय आधारमा परिभाषित गरिएको छ । काव्यकी नायिका नीलिमामा सन्निहित वर्गीय चेतना काव्यमा यसरी अभिव्यञ्जित भएको छ-
प्रेम न निरपेक्ष हुन्छ समीर न निवर्गीय हुन्छ प्रेम ........ ........ ........ ....... कोही महलका प्रिय हुन्छन् कोही झुप्राका प्रिय हुन्छन् छाप्राहरूका प्यारा प्रतीक दरबारहरूमा वर्जित हुन्छन् । ( उत्सर्गः ४१ )
महल र झुप्राको वर्गीय पहिचान जसरी अन्तरबिरोधयुक्त छ छाप्रा र दरबारको वर्गीय चिनारी पनि त्यसरी नै परस्पर बिरोधी छ । कार्ल माक्र्सले भनेका थिए– मानवीय चेतनाले भौतिक सत्य निर्धारण गर्दैन बरु मानवीय चेतनालाई भौतिक यथार्थले निर्धारण गर्दछ । (It is not human consciousness that determines material reality but it is material reality that determines human consciousness.) यथार्थत झुप्रा र छाप्रामा बस्ने मानिसको चेतना सुकुल, तसला र भोकले निर्धारण गर्दछ । वर्गीयताले विचारलाई प्रभाव पार्दछ किनकि गरिबले भोकबारे सोच्छ र शोषितले शोषकको अन्त्य । माक्र्सवादी यो परिभाषाको सीमामा कवि भण्डारीको वर्गीय विश्लेषण अभिव्यक्त छ । काव्यकी नायिका नीलिमाको यो अभिव्यक्तिले काव्यमा प्रयुक्त वर्गीय चेतनालाई उजागर गरेको छ-
खुसी दयाको भीख होइन उदात्त यात्राको सङ्कल्प हो प्रेम सुन्दरताको रसपान हैन वर्गीयताको पहिचान हो । ( उत्सर्गः ५५ )
(ङ) आञ्चलिक परिवेश र यथार्थः
मरञ्च्याँसे उत्तेजना र उडन्ते कल्पनालाई काव्यमा स्थान नदिने वस्तुवादी स्रष्टाले आफू बाँचेको समाज र समयलाई चित्रण गर्छ । यथार्थ प्रस्तुतिमा तत्कालीन समाजको तस्बिर खिच्नु प्रगतिवादी सर्जकको चिनारी हो । यस ‘उत्सर्ग’ महाकाव्यमा कवि विष्णु भण्डारीले नेपालका पश्चिमी क्षेत्र गुल्मी र अर्घाखाँचीका साथै त्यस वरपरका स्थानलाई नै काव्यको परिवेश बनाएका छन् । कुमालटारी, चौरासी, हिले, पुर्कोट, नेटा, डिही, सिस्तुङ, मुसीकोट, नारीकोट, घेरालेक, बाङ्गेमरुट, वामीटक्सार, थवाङ, जलजला, स्याउलीवाङ, प्युठान, रजबारा, लोरी, खगेठाँटी, घुम्टे, मदाने, इस्माकोट, चुनवाङ, मिरुल, रुकुम र रोल्पाजस्ता स्थानीय परिवेशलाई काव्यमा उल्लेख गरेर स्रष्टाले आञ्चलिक अवस्थितिलाई प्रस्तुत गरेका छन् । छल्दी, रोदी, वडियार, दरम, आँखु, पना, वाइँ जस्ता नदीको उल्लेखले काव्य यथार्थपरक र स्थानीयबोधका दसीले युक्त भएको छ ।
चिन्तक जर्मेन नेकर डे स्टेइल (Germaine Necker de Stael) ले लेखेकी थिइन्- ‘नयाँ राजनैतिक ढाँचा सुहाउँदो नवीन कला अपरिहार्य छ ।’ साथै लेखक सामाजिक यथार्थ र परिस्थिति विमुख भएर कल्पना गर्न सक्तैन । यो उक्ति प्रस्तुत काव्यमा मिलेको छ । यसका अलावा कविले धुर्कोट र टक्सार चौकी आक्रमण र दगाँस भिडन्त जस्ता वि.सं. २०५८ र २०५९ सालमा भएका सत्य घटनालाई काव्यमा वर्णन गरेका छन् । साथै नेपाली जनताको जनयुद्धविरुद्ध राज्यले चलाएको ‘रोमियो’ र ‘किलो सेरा टु’ अपरेसनबारे समेत काव्यमा उल्लेख भएकाले कवि यथार्थपरक रचनाशिल्पीका रूपमा देखिएका छन् । जनयुद्ध उत्कर्षतिर लम्किँदै गर्दा राज्यमा कानुनविहीन अवस्थामात्र विद्यमान रहेन बरु मुर्दाशान्ति व्याप्त रह्यो । राज्यमा सत्ताले मच्चाएको वितण्डा, सङ्कटकालको नाममा जनताले भोगेको प्रताडना र सन्त्रस्त अवस्थाका साक्षी मानिसको आवाजलाई कवि भण्डारीले सर्लक्कै टिपेका छन् । कल्पनाभन्दा यथार्थ प्रधान रहेको काव्यमा सन्त्रासमय अवस्थालाई यसरी प्रस्तुत गरिएको छ-
समाज मूक बनेर उभिइरह्यो सत्ता नृशंस बनेर गर्जिरह्यो उसको हत्याको विरुद्धमा न मान्छे बोल्यो न मान्छेको कानुन बोल्यो । (उत्सर्गः ४५)
यसरी तत्कालीन समाजको यथार्थ चित्रसँगै स्थानीय (locale) परिवेशको प्रविष्टिले काव्य सामयिक बनेको छ ।
(च) क्रान्ति, प्रेम, प्रकृति, नारी र जीवन सौन्दर्यः
महाकाव्यिक लक्षणहरूमा पाइने प्रकृति वर्णनजस्तै ‘उत्सर्ग’ महाकाव्यमा युद्ध, बन्दुक, नारी, जीवन, प्रेम जस्ता विविध सामाजिक सवालबारे उच्च चासोका साथ वर्णन गरिएको छ । कतिपय सन्दर्भमा दर्शनको प्रयोगले विचारै विचारको पहाड खडा भएको छ । कथानकलाई द्वन्द्वमय बनाउन प्रयुक्त संवाद र विचारको अधिकताले यो काव्य वैचारिक दस्तावेजको रूपमा समेत देखिन्छ । त्यसो त लेनिनले गरेको तर्कअनुसार– ‘साहित्य पार्टीको हतियार बन्नुपर्छ ।’ (Literature must become the instruments of the party.) सन् १९०५ मा लेनिनले लेखेको यही सिद्धान्तद्वारा कवि निर्देशित छन् । उनको काव्यले जनयुद्धको नेतृत्वदायी पार्टीको पक्षपोषण गर्दै बन्दुकको महिमा गाएको छ । सिद्धान्तनिष्ठ लेखक आवाज यहाँ मुखरित छ ।
दुर्भिक्षले क्रान्ति निम्त्याउँछ र क्रान्तिले बन्दुक बोक्न प्रेरित मात्र गर्दैन युद्धमा सामेलसमेत गराउँछ । पराधीन जीवन बाँच्नुभन्दा स्वतन्त्रताको सुसेली हाल्नु ठिक ठान्नेहरू अन्ततः बन्दुक उठाउँछन् । एक दृष्टान्तः
प्रतिरोध आवश्यकता हो विद्रोह अधिकार हो हामी अधिकारको लागि युद्ध गर्दै छौँ हामी शान्तिको लागि युद्ध लड्दै छौँ । ( उत्सर्गः २२२)
प्रेम र जीवनका बारे काव्यमा पात्रहरूका आ-आफ्नै परिभाषा छन् । काव्यकी नायिका नीलिमाको यो परिभाषा हेरौँ-
मानव सत्ताको आधारशीला प्रेम हो म प्रेममा जीवन देख्छु प्रेममा जीवन जसको सुन्दरताले इन्द्रेणीलाई फिका पार्छ ऊ रङहरूमा अटाउँदैन ऊ शब्दहरूमा भेटिँदैन । (उत्सर्गः ५४)
काव्यमा प्रयुक्त जीवनका सयौँ परिभाषामध्ये कवि तथा पत्रकारको यो परिभाषा उल्लेख्य छ:
जीवन घात हैन जीवन प्रतिघात हैन .......... ....... ....... .. जीवन हिंसा हैन जीवन प्रतिहिंसा हैन जीवन त सङ्घर्षका कहानीभित्र भेटिने उदात्त सञ्चेतना हो । (उत्सर्गः २२०)
नारी आवाजमा नारीको परिभाषा काव्यमा यसरी अभिव्यक्त छ-
हामी न गुलाम हौं न हौं गणिका समाजका कसले रोप्यो यो सुन्दर सृष्टि ? नारी मझेरीकी अबला हैन नारी बजारकी रखैल हैन कसले छेक्यो यो महान् दृष्टि ? (उत्सर्गः ८७)
जीवन र श्रमको महत्ता गाउँदै शरद, बसन्त र गृष्म ऋतुको वर्णनसँगै कविले मानव जीवनसँग सरोकार भएका अनेकन पक्षहरूको विशद वर्णन पात्रका मुखबाट गराएका छन् । नारीलाई बढी भावुक र आदर्शवान् बनाउँदै जीवनवादी गीत सुसेलिएको प्रस्तुत काव्य मानव जीवनलाई केन्द्रमा राखेर संरचित मानवमुक्तिको महागाथा हो ।
(छ) भाषा शील्प र बिम्ब–प्रतीक आरोपण :
‘उत्सर्ग’ महाकाव्यमा प्रयुक्त भाषाले क्षेत्रीय सीमालाई तोडेको पाइन्छ । ग्रामीण ठेट नेपाली भाषा, संस्कृत तत्सम शब्द र खाँटी अङ्ग्रेजी शब्दको सम्मिश्रणले भाषिक खिचडी तयार भएजस्तो देखिए पनि प्राविधिक शब्दको वाञ्छित प्रयोग, काव्यिक गुणको सम्मान र परिस्थितिजन्य आवश्यकताले कथ्य शैलीको भाषा काव्यमा प्रयुक्त छ । कासन, कमान्डर, प्लेग, एलर्ट, एम्बुस, फायर, रिट्रिट, ट्रेन्च, बङ्कर, टनेल, एसाल्ट ग्रुप, प्लाटुन भिसी, स्प्रिट, आर्क–बुबीजस्ता अङ्ग्रेजी शब्दको प्रयोगसँगै अश्रुगङ्गा, दीपिका, मन्जुल, आबरु जस्ता संस्कृत शब्दको प्रयोगसमेत काव्यमा छ ।
रूपक र प्रतीकको लोभलाग्दो सामेलीले काव्यलाई प्राण दिएको छ । सेनालाई मसान, ब्यारेकलाई घाट, सुरक्षाफौजलाई व्याधा/बगरे/भोका हुँडार/जल्लाद/ब्वासा र लालसेनालाई सपनाका नायकसँग तुलना गरी रूपकको अन्विति भएको पाइन्छ । राता मान्छेहरू विद्रोहका प्रतीक बनेका छन् भने युद्धभुमि स्वतन्त्रताको विगुल फुक्ने मञ्च बनेको छ । स्पार्टकस, लखन, नरसिंह, अभिमन्यू, कौरव, पिनोसे, सुहार्तो र कंसजस्ता पूराकथा (allusion) को प्रतीकात्मक प्रयोगले ‘उत्सर्ग’लाई काव्यिक गति र महत्ता प्रदान गरेको छ ।
भोकलाई बिम्ब बनाएर माक्र्सवादी चेतना अभिमुख ग्रामीण चित्र खिचेका कवि भण्डारीले वैचारिक अडानलाई समेत काव्यगत शील्पमा अभिव्यञ्जित गरेका छन् । एक उदाहरण-
क्लान्त र जर्जर गाउँ चिसा र उदास झुप्रा ......................... अन्धकार गुफाजस्तो गाउँ भोकले निलिएको थियो गाउँ गरिबीले डामिएको थियो । ( उत्सर्गः ७६ )
स्वच्छन्दवादी कवि तथा विचारक स्यामुअल टेलर कलरिज (S.T. Coleridge) ले कविहरूलाई असाधारण कल्पना-(Secondary Imagination) का वाहकका रूपमा लिएका थिए । कवि विष्णु भण्डारीमा पनि त्यो असाधारण कल्पनाशक्ति भएको प्रमाण तलको अंशले व्यक्त गर्दछ-
मकैको रङ्गीन जुँगामा ........................... जहाँ मकैका बोटहरूमा घोगा मस्किँदै साउती गर्थे जुँगा जीवनको सन्देश दिन्थे । (उत्सर्गः१२१:)
युवा शक्ति र सामर्थ्यलाई जुँगाको बिम्बबाट सङ्केत गरिएको उधृतांशजस्तै बिम्ब अनुशीलन गरिएका काव्यांशले कविको भाषिक शील्पविधानमा रहेको सचेततालाई अभिव्यक्त गरेको छ । मुक्तकीय तीव्रता र सरल भाषिक शील्पको अनुशीलनले काव्यलाई बोधगम्य बनाएको पाइन्छ ।
(ज) निष्कर्षः
कवि विष्णु भण्डारीको ‘उत्सर्ग’ महाकाव्य जीवनका नवीन गीत गाउने महान् गायकहरूको उत्सर्गको कथा हो । माटोलाई छातीमा राखेर माटोकै गीत गाउने तथा आफ्नै टाउकोमा आगो सल्काएर नौलो बिहानीको आराधना गर्नेहरूको गाथा हो यो ‘उत्सर्ग’ । नवीन चेतनाको प्रक्षेपणबाट सुन्दर सपनाको प्रादुर्भाव गर्ने उत्सर्गको इतिहास हो यो । वैचारिक रूपान्तरणबाट मान्छे नयाँ बन्ने यथार्थको दोहा हो यो ।
‘उत्सर्ग’ महाकाव्यले मानव जातिको कथा भनेको छ । शोषणका ऐतिहासिक रूपलाई स्थापना गरी शोषणका प्रारूपमा आउने परिवर्तनलाई चित्रित गरिएको काव्यमा द्वन्द्वात्मक समग्रता (dialactic totality) र सङ्घर्षलाई प्रधानता दिइएको छ । दास, मालिक, श्रमिक, लुटेरा, राजा, रैतीमा विभक्त मानवजातिमा भएको चेतनाको विकाससँगै अधिकार खोजीले प्रताडना र ज्यादतीको शृङ्खला आविर्भाव भएको सत्य मुखर प्रस्तुत काव्यले क्रान्तिको निरन्तरताको आव्हानसमेत गरेको छ ।
परम्परागत महाकाव्यका तत्वहरूलाई भेदन गरी सर्वथा नवीन र मानवजातिको पक्षमा वकालत गर्ने काव्यको रूपमा आएको ‘उत्सर्ग’ महाकाव्यले कवि विष्णु भण्डारीलाई जनताका गाथा गायकका रूपमा उभ्याएको छ । जीवनै जीवनको दिग्विजय सन्निहित यस काव्यले हाम्रो समाजको एक कालखण्डको अवस्थितिलाई मार्मिक ढङ्गले उद्घाटन गरेको छ । उन्मुक्ति र उन्मोचनाको स्वर बुलन्द ‘उत्सर्ग’ महाकाव्य काव्य लेखनका क्षेत्रमा समेत नवीन प्राप्ति भएको छ ।
सन्दर्भसामाग्रीः
भण्डारी, विष्णु । २०६७ । उत्सर्ग । काठमाडौः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा.लि.
Adams, Hazard. Ed. Critical Theory Since Plato. Rev. ed. Fort Worth : HBJC Publishers, 1992
Paudel, H.S. Ed. Theory for Beginners. Kathmandu: Students’ Books Publishers and Distributors, 2004
पराजुली, कृष्णप्रसाद । २०४८ । राम्रो रचना मीठो नेपाली । काठमाण्ठौ : सहयोगी पे्रस
भण्डारी, कृष्णप्रसाद । २०६७ । दशवर्षे जनयुद्धको कथाव्यथा । मधुपर्क, ५ (४९६) : २०
(चन्द्रागिरि : वर्ष १, अङ्क १, पूर्णाङ्क १, साउन–असोज, २०६७, पृ. ६५)