ईश्वरचन्द्र ज्ञवाली (पहिलो संस्करणको भूमिका)
जीवनको वास्तविक अर्थबोध गरेर उज्यालोको उन्मादमा लठ्ठ पर्दै सत्यको खोजीद्वारा नयाँ यथार्थको निर्माण गर्न समर्पित बलिदान र त्यागका बिम्बहरूको गाथालाई काव्यिक आँखाले पर्यवेक्षण गरिएको जनयुद्धका केही विशिष्ट घटनाहरूको काव्यात्मक प्रस्तुति हो – उत्सर्ग महाकाव्य । कवि विष्णु भण्डारीले त्यसलाई महाकाव्यात्मक आयाममा बिस्तार गरेर कविताको बृहत् रूप दिएका छन् । यो महाकाव्य प्रकृति र परिवेशको वर्णनबाट मूल विषयमा प्रवेश गरेको छ । यो जनयुद्धका प्रारम्भिक घटनाहरूको सङ्केतबाट सुरु हुन्छ र समीर र नीलिमाका प्रमोद्गारबाट बिस्तार र विकसित हुँदै जान्छ ।
जनयुद्ध वर्गसङ्घर्षका युगान्तकारी इतिहासको सर्वोच्च अभिव्यक्ति थियो र यसले शताब्दीयौंदेखिको बर्बर सामन्ती सम्राज्यविरुद्ध प्रयाण गर्दै नयाँ यथार्थ स्थापना गरेको थियो । यही जनयुद्धको कारक तत्त्व वा आधारभूमि खोतल्दै कविले यस काव्यमा सामन्त, दलाल, पुँजीपति वर्गले गरिब वर्गमाथि गरेको थिचोमिचो, शोषण, अत्याचारबाट सिर्जित कहाली लाग्दो जीवनदशालाई त्यसको उठानको कारण देखाएका छन् ।
एकातिर रक्तपिपासु सामन्त वर्गको भोगी, विलासी, वैभवपूर्ण जीवनशैली र अर्कातिर जनताको विपन्नता, भोक र रोगग्रस्त कारुणिक जीवन । यही असङ्गति त्यो द्वन्द्वको कारण थियो । जुन जनयुद्धका आरम्भ, उत्कर्ष र अवतरणका विविध प्रसङ्गहरूमार्फत हाँसी हाँसी मृत्युवरण गर्ने क्रान्तिकारी योद्धाहरूको त्याग र वलिदानको महिमागायन गरिएको छ र त्यही मृत्युका दुई फरक परिभाषालाई उचित भाष्य प्रदान गरिएको छ । मरेर पनि युगयुग बाँचिरहने अमर मृत्यु वा बाँचेर पनि पलपल मरिरहने मृत जीवन के रोज्ने यसबारेमा काव्यका नायक नायिका समीर नीलिमाका बिच आरम्भमा द्वन्द्व देखिन्छ परन्तु नीलिमाका दृढ विचारले समीरको जीवनमा पटाक्षेप हुन्छ र उसको अन्तर्मनको द्वन्द्वात्मक संवादले अमर मृत्युको बाटो रोज्ने निष्कर्ष प्रदान गर्छ । यसैकारण रणमैदानमा फेरि ती दुबै वीर वीरङ्गानाको मिलन र सहकार्य हुन्छ । तर अन्तमा भने यो मिलन, विचार र आत्मिक प्रेमको स्मृतिका रूपमा मात्र अवशिष्ट बन्न पुग्छ । यो सत्य मोर्चामा जीवन आहुति गर्ने समीरको अन्तिम सन्देश बनेको डायरीबाट उद्घाटित हुन्छ । जसमा समीरका भावनात्मक सौन्दर्यको अनुपम शब्दचित्र कोरिएको पनि छ ।
यहाँ नायक-नायिकाको प्रेम भावना खुलेको र फुलेको छ । कवि शालीन, सौम्य र उदात्त प्रेमभाव अभिव्यक्त गर्न बढी सफल देखिएका छन् । यस काव्यमा वस्तुतः समीर र नीलिमाको औद्धत्य झल्किन्छ । जुन सामुहिक–प्रेम, वर्गमुक्ति–प्रेम र लगाव–प्रेमका विविध रूपहरूमा अभिव्यक्त हुन्छ ।
काव्यमा काव्यात्मक आरोह–अवरोह, घटनाहरूको श्रृङ्खलाबद्ध विन्यास, पात्रीय जीवन र उनको चारित्रिक विकास शास्त्रीय ढाँचामा पाइदैन तापनि परिवेश निर्धारणका लागि पात्रहरूको उचित उपयोग गरिएको छ । सोही अनुरूप काव्यको परिवेश निर्माण भएको छ र त्यसका नायक–नायिकाको मनस्थिति, अन्तरविरोध र चरित्रको विकास भएको देखिएको छ ।
युद्धमोर्चाका घटनाहरूको, भीषण द्वन्द्वको र सामाजिक सङ्घर्षको बयान यसमा एक तटस्थ द्रष्ठाका रूपमा गरिएको छ । यस काव्यमा गरिबी, अभाव, दरिद्रताका कारण भोक, रोग र शोकमा डुबेका जनताको कठोर जीवनको कहर र कष्टको सुक्ष्म अवलोकन गरिएको छ र त्यसले दुःखी, गरिब जनताका श्रम र पसिनामाथि ठग–ठालुहरूको रजाइँ, उनमाथि ठुलाबडाको अत्याचार र हैकम, सामन्त–शोषक वर्गले लादेको पीडा चरम अवस्थामा थियो भन्ने देखाउँछ जसले जनयुद्धको आवश्यकता, अनिवार्यता, औचित्य र औद्धत्यको पुष्टि गर्छ र त्यसैकारण जनताको सहयोग, समर्थन र सहभागिता भएको सङ्केत गर्छ ।
काव्यले जीवनको सङ्घर्षशीलता र सङ्घर्षमा नै जीवनको अस्तित्व रहेको द्वुन्द्वात्मक भौतिकवादी जीवनदर्शनलाई काव्यत्व प्रदान गर्छ । अत्यन्त कठिन परिस्थितिमा पनि सुख दिने केही कुरा हुन्छन् । आँधी र हुरीका बिच बलिरहने दीपशिखा जस्तो वा निस्सीम अन्धकारका बिच चम्किरहने उज्यालोको कण जस्तो जीवन नै सार्थक जीवन हो भन्ने सारतत्वप्रति सङ्केत गर्दै काव्यले जनयुद्धमा वीरयोद्धाहरूले देखाएको त्याग, वीरता, साहस, बलिदान, शौर्य र समर्पणको उदात्त संस्कृतिको प्रशंसा गायन र सम्मानभाव प्रकट गर्छ ।
काव्यको परिवेश जनयुद्धको समग्र परिवेशभन्दा भिन्न छ र यो आञ्चलिक सीमामा बाँधिएको प्रतीत हुन्छ । यसले अर्घाखाँची, गुल्मीको भौगोलिक सेरोफेरोमा नै आफूलाई सीमित गर्न चाहेको बोध हुन्छ । त्यसैले यसमा छल्दी, बडियार, आँखु आदि नदी वा खोलाहरू, वामीटक्सार, स्याउलीवाङ, सिस्तुङ, आदि स्थानहरू र तिनकै भौगोलिक सेरोफेरोमा रहेका फाँट, मैदान, डाँडा, भन्ज्याङहरूको वर्णन बढी छ । तिनलाई यथार्थभन्दा माथि पु¥याएर अतिसयोक्तिपूर्ण प्रशस्ति र सौन्दर्य गायन पनि गरिएको छ । यसले कविको आफ्नो जन्मस्थलप्रतिको मोहलाई देखाउँछ । त्यसैले होला काव्यमा गाम, पिली, बेनी, जस्ता विशिष्ट मोर्चाको भन्दा सन्धीखर्क, टक्सारजस्ता मोर्चाको स्मृतिबिम्ब खडा गरिएको छ ।
काव्यको अर्को पक्ष हो, जनयुद्धका क्रममा गरिएको दानवीय दमन, सैनिक अपरेसनका ज्यादती, पक्राउ परेका युद्धबन्दी माथिका अमानवीय यातना फेरि पनि क्रान्तिकारीहरूको नझुक्ने, नगल्ने अपराजेय मनोविज्ञानको बयान । इस्पातका धातुले बनेका मान्छेको त्यो शब्दचित्रको प्रस्तुति गहन र गम्भीर छ । युद्धमा भएका सहादतको उचाइ, योद्धाहरूको मृत्युको गुरत्व, वलिदानको मुल्य, त्यागको उदात्तता र भव्यतामाथि यसमा विशिष्ट प्रकाश पारिएको छ । यसले माओवादी योद्धाहरूको चारित्रिक दृढता, अविचल निष्ठा, आदर्शप्रति लगाव र भीष्मप्रतिज्ञ व्यक्तित्व काव्यमा उद्घाटन भएको छ । यसरी काव्यले जनयुद्धको औचित्य पुष्टि गर्छ, सशस्त्र क्रान्तिबिना सर्वहाराको मुक्ति असम्भव देखाउँछ र जनयुद्धको रक्तिम हिंसाको आदर्शीकरण गर्छ । यसले वैरीहरूले लगाएको आतङ्कवाद, हत्या, हिंसा जस्ता आग्रहपूर्ण, प्रायोजित आरोपलाई नकार्छ । परिवर्तन, क्रान्ति र मुक्तिका निम्ति जनताले बल प्रयोग गर्नै पर्ने सिद्धान्तको सत्यलाई प्रारूपित गर्छ ।
जनयुद्धमा जनताका सर्वोत्तम छोराछोरीले अर्थात् देशका उदात्त नायक–नायिकाले इतिहासको लगाम आफ्नो हातमा लिन हाँसीहाँसी मृत्युलाई अङ्कमाल गरे । उनीहरूले आफ्ना रगतले इतिहास लेखे । आफ्ना आँसुले इतिहासका कलङ्क धोए । आफ्ना जीवनका स्पन्दन अर्पण गरेर देश र जनताका जीवन स्पन्दन भरे र आफ्नो प्राण न्यौछ्वर गरेर युगलाई जीवन दिने सांस्कृतिक मूल्य स्थापना गरे । हाँस्दा–हाँस्दै रुने र रुँदा–रुँदै हाँस्ने जनयुद्धको नयाँ सांस्कृतिक मूल्यलाई आत्मसात् गरेको यस काव्यले जनयुद्धको त्यो जीवित यथार्थको काव्यात्मक प्रतिबिम्बनकै मूल अन्तरवस्तु समेटेको मैले पाएको छु । उत्सर्गकै गाथा हो– उत्सर्ग महकाव्य ।
अन्तमा, कविताको विराट् रूप चयन गरेर जनयुद्धको विराट् बिम्बलाई उतार्ने कवि विष्णु भण्डारीको प्रयासलाई म प्रशंसा गर्छु । अन्तत : सर्वहारावर्गले विजयको क्षितिज चुम्नेछ, अन्तिम मुक्ति प्राप्त गर्नेछ र संसार स्वतन्त्र भइछाड्नेछ भन्ने स्वप्नदृष्टि पोख्ने काव्यका निम्न पङ्तिका साथ मेरो भनाइ अन्त गर्छु-
‘नीलू ! हामी सँगै लडौँला हजार वर्षसम्म दुश्मनविरुद्धका लडाइँहरू हामी पछाडि हट्ने छैनौँ सुन्दर युग जन्माउने यो महान् लक्ष्य समानताको यो महान् युद्ध हामी कदापी हार्ने छैनौँ ।’ (महान् छलाङ : २८२)
(ईश्वरचन्द्र ज्ञवाली : अध्यक्ष–एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, चैत २०६६)