हिरामणि दुःखी
१. आरम्भ
नेपालको प्रगतिवादी काव्यक्षेत्रमा एउटा नयाँ विषयवस्तु र नयाँ लेखन शैलीमा आधारित रहेको महाकाव्य थपिएको छ उत्सर्ग । महाकाव्य लेख्नु आफैमा जटिल प्रकृया हो । त्यसमा पनि प्रगतिवादी अवधारणामा रहेर काव्य लेखनका परम्परागत मापदण्डहरूलाई तोडेर नयाँ सीप र शैलीमा लेख्नु झनै चुनौतीपूर्ण कार्य हो । यतिखेर त्यही चुनौतीपूर्ण कार्य गरेका छन् विष्णु भण्डारीले । २०४० को दशकदेखि काव्य क्षेत्रमा आफ्नो लेखनी आरम्भ गरेका भण्डारीले पछिल्लो कृतिको रूपमा उत्सर्ग महाकाव्य लेखेर नेपाली क्रान्ति र प्रगतिवादी काव्यधाराका क्षेत्रमा एउटा ईंटा थप्न पुगेका छन् ।
महाकाव्य वृहत् कथावस्तुमा आधारित काव्य रचना हो । यसलाई प्रबन्धात्मक संरचनामा आधारित बृहत् काव्य पनि भनिन्छ । समग्र जीवनका काव्यात्मक अभिव्यक्ति हुने भएकाले यो गरिमामय पनि हुन्छ । एउटा निश्चित कथावस्तु र कालखण्डमा आधारित भएर महाकाव्य सिर्जना गरिन्छ । कविता, खण्डकाव्य र महाकाव्य लेख्नुमा कतिपय विधागत तत्वहरूको मेल भएता पनि यी छुट्टाछुट्टै प्रकृति र संरचनामा लेखिन्छन् ।
कविता तात्कालिक विषयवस्तुमा आधारित हुन्छ भने खण्डकाव्यले एउटा निश्चित कथात्मकताभित्र रहेर एउटा जीवनवृत्त समेटेको हुन्छ । यी दुबै भन्दा पृथक् रहेको हुन्छ महाकाव्य । भन्न त कतिपय विद्वानहरूले महाकाव्य लेख्न एउटा युग परिवर्तन हुनुपर्छ पनि भनेका छन् । त्यसो किन भनिएको होला भन्दा एउटा महाकाव्यभित्र आफ्नो समयको इतिहास, कला, सभ्यता, संस्कृति, सामाजिक विकासक्रम, मानिसको जीवनका विभिन्न सङ्घर्ष र आयामहरू आदि समेटिएको हुन्छ । ती सबै विषयवस्तु र प्राकृतिक परिवर्तनका कुराहरूलाई महाकाव्यले आफ्नो कथावस्तु बनाएको हुनुपर्छ र त्यो युगका निश्चित नायक नायिकाहरूलाई पात्र चयनका रूपमा समेट्नु पर्छ भन्ने बुझाई र अहिलेसम्मको शास्त्रीय मान्यता रही आएको छ । यसरी शास्त्रीय मान्यताका आधारमा हेर्दा उत्सर्ग महाकाव्यभित्र धेरै तत्वहरू नपाउन पनि सकिन्छ । त्यसरी हेर्दा अहिलेको युगलाई महाकाव्यको युग होइन भन्नेहरू पनि थुप्रै भेटिएलान् । तथापि प्रस्तुत महाकाव्य उत्सर्गका लेखक भण्डारी महाकाव्य लेखनका विषयमा भन्छन् : ‘म किन नलेखूँ जनयुद्धको महाकाव्य । मलाई थाहा छ यो युग महाकाव्यको युग होइन । धेरै साथीहरूले अव्यक्त आग्रह गर्नुभयो उपन्यास लेख्न । तर मलाई लाग्यो के महान् उत्सर्गलाई काव्यमा व्यक्त गर्नु पुरातन हुन्छ ? म लेख्छु । त्यो पनि महाकाव्य नै लेख्छु । जनयुद्धको महानता, यसले सिर्जना गरेको नयाँ संस्कृति र यसको जीवनसँगको निकटताबारेको महाकाव्य हामीले नलेखेर कसले लेख्ने त ?’
हो भण्डारी जी तपाइँ हामीले नै लेख्ने हो । हामीले जनयुद्ध मार्फत् नयाँ इतिहास रचेका छौँ । नयाँ सांस्कृतिक मूल्य, मान्यता र गाथाहरू निर्माण गरेका छौँ । राजनीतिक रूपमा एउटा युगको पनि अन्त्य गरेका छौँ । त्यो सबै काम हामीले त्यही महान् उत्सर्गको इतिहासद्वारा गरेका हौँ । जसलाई हामीले महान् जनयुद्ध भन्यौँ र जनयुद्धले नै त हो राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेको । किन नलेख्ने आफूले रचेको इतिहास, अर्थात् महान् नेपाली जनताले रचेको इतिहास । त्यसैले भण्डारीको काव्य चिन्तन र सोचबाट जन्मियो उत्सर्ग महाकाव्य ।
२. विषय उठान
उत्सर्ग महाकाव्य जनयुद्धको कथावस्तुमा आधारित कृति हो । यसले जनयुद्धका क्रममा भएको कैयौँ परिघटनाहरूलाई जस्ताको तस्तै उतारेको छ । साथै, यसले जनयुद्धको कथा मात्र होइन, विचारको प्रवाहलाई पनि समेटेको छ । यो गुल्मी, अर्घाखाँची र प्युठानका निश्चित भौगोलिक परिवेशभित्र घटित जनयुद्धको क्रियाकलाप र त्यहाँका प्राकृतिक छटा एवम् जनजीवनमा आधारित आञ्चलिक परिवेशमा आधारित छ । यसमा मुख्य नायक समीर र नायिका नीलिमा छन् भने अन्य पात्रहरूमा सिमरान, मनिष, आकाङ्क्षा, किरण, विशाल घर्तीमगर, सङ्ग्राम कुमाल, सवल कुवँर, सागर, सलिम, हिमाल, कवि वा पत्रकार आदि छन् । दुई खण्ड रहेको यो कृतिमा एक्काइसवटा कथाका उपशीर्षकहरू रहेका छन् ।
प्रस्तुत काव्यकृतिमा कवि पात्रबाट विषयको उठान गरिएको छ । ‘उद्बोधन’ शीर्षकको काव्यधाराबाट विषयको उठान गरिन्छ । यसमा कवि पात्रले नेपाली समाजको वर्गचरित्र, सामाजिक परिघटना, मानवीय सोच र चिन्तन, जीवनको परिभाषा र मूल्यबोध, वर्गसङ्घर्षको बाध्यता र अनिवार्यता, सङ्घर्षमा बलिदान, त्याग, र उत्सर्गका मूल्यबोध आदि विषयलाई ‘उद्बोधन’ शीर्षकले समेटेको छ । यसलाई परम्परागत शास्त्रीय मान्यतामा महाकाव्य लेख्दा अपनाउने विधि मङ्गलाचरणका रूपमा पनि लिन सकिन्छ । त्यसपछि महाकाव्यको कथावस्तु आरम्भ हुन्छ । काव्यको मूल कथा जनयुद्धकेन्द्रीत भावधारामा भएकाले यहाँ पात्र चयन पनि त्यसै अनुरूप भएको छ ।
कथावस्तुको विचरण क्षेत्र गुल्मी जिल्लाको छल्दीखोला, सिस्तुङ, पुर्काेट, अर्घाखाँचीको सन्धिखर्क र आसपासका क्षेत्रहरू, प्युठानका लिस्ने, स्याउलिवाङ, रजवारा हुँदै गुल्मीकै टक्सार, वडियार खोला आदि रहेका छन् ।
नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धका क्रममा घाइते भएकी नीलिमा आराम गर्ने क्रममा स्थानीय युवक समीरको घरमा पुग्छे । त्यहीँ उसले पूर्ण रूपले घाउ सञ्चो नहुँदासम्म आश्रय लिएर बसेकी हुन्छे । त्यही क्रममा जनयुद्धको औचित्यका बारेमा समीरसँग बहस चल्दाचल्दै नीलिमा र समीरबिच प्रेम बस्छ । पुरातन सोच, चिन्तन र व्यवहार अपनाएर हुर्किएको समीरलाई नीलिमाले जीवनको नयाँ परिभाषा बुझाउँछे । देश र समाजको अवस्थाका बारेमा राजनीतिक कारण स्पष्ट गर्छे । नीलिमा अग्रगामी विचार र मालेमावादले प्रशिक्षित भइसकेकी हुनाले समाज परिवर्तन गर्ने विषयमा उसले वर्गसङ्घर्षको अनिवार्यताको बोध गराउँछे समीरलाई । उसको आश्रयमा बसुन्जेल समीरसँग निकै बहस र छलफल भए तापनि अन्त्यमा समीर नीलिमाका कुराबाट प्रभावित हुन्छ र उसले पनि जनयुद्धमा लाग्ने अठोट गर्छ । जनयुद्धमा लाग्नु अघि समीरको प्रेम सिमरानसँग भएको हुन्छ । तर, सिमरानसँग उसको प्रेम प्रसङ्ग बिचैमा कतै टुट्छ । नीलिमासँग राजनीतिक वैचारिक बहसमा तानिँदातानिँदै नीलिमा र समीरबिच गहीरो वर्गीय प्रेमका माध्यमबाट जैविक प्रेममा गाँसिन पुग्दछन् ।
नीलिमाको उत्प्रेरणाले जनमुक्ति सेनामा प्रवेश गरेको समीर र नीलिमा सँगससँगै धुर्कोट, टक्सार लगायतका फौजी कार्वाहीहरूमा सहभागी हुन्छन् । यहाँ लडाइँको प्रसङ्गसँगै पश्चिमबाट जनमुक्ति सेनाको एउटा फर्मेसन रोल्पाको थवाङ, गाम, लिस्ने, हुँदै प्युठानको स्याउलीवाङ र रजवारा भएर गुल्मी र अर्घाखाँचीमा प्रवेश गरेको प्रसङ्ग पनि उल्लेख भएको छ । त्यो सेनाको टोलीसँगै काव्यका पात्रहरूको पनि सहकार्य र निकटता रहेको हुन्छ । यसरी कथाको पहिलो खण्ड अर्घाको सन्धिखर्कमा आक्रमण र समीर घाइते हुने कुरासँगै समाप्त हुन्छ ।
कथाको दोस्रो खण्ड सन्धिखर्क आक्रमणपछि सुरु हुन्छ । सन्धिखर्क आक्रमणमा घाइते भएको समीर सेल्टरमा उपचार गराइरहेको अवस्थामा गिरफ्तारीमा पर्छ । त्यसपछि ऊ सैन्य हिरासतमा र जेलमा कवि तथा पत्रकारको रूपमा रहेको अर्काे व्यक्तिसँग भेट हुन्छन् र जेलमा सँगै बस्छन् । उता समीर युद्धमोर्चामा सामेल भएदेखि नै नीलिमा र समीर बिचको प्रेम बाक्लिँदै जान्छ र एक अर्कामा घनिष्ट सम्बन्ध गाँस्न पुग्छन् । नीलिमा सेनाको कमान्डार हुन्छे भने समीर सदस्य हुन्छ । राजनीतिक रूपले समीरले नीलिमालाई नेता वा कमान्डरको रूपमा स्वीकार गर्छ तापनि प्रेम प्रसङ्गमा भने उसले आफूलाई नै माथिल्लो तहको व्यवहार प्रस्तुत गर्दछ । महाकाव्यको कथानकतामा समीर र नीलिमाबिच वैवाहिक सम्बन्धमा बाँधिएको त देखाइएको छैन तथापि उनीहरूका बिचमा वैवाहिक बन्धनमा बाँधिएको रूपमा प्रेम सम्बन्ध देखाइएको छ ।
महाकाव्यको दोस्रो खण्डमा जनयुद्धका विविध मोर्चा र पार्टीको कार्यनीति अनुसार फौजी गतिविधि देखाइएको छ । साथै, यस समयमा समीर जेल वा सैन्य हिरासतमै मारिन्छ । ऊसँगै रहेको कवि÷पत्रकार जेल मुक्त भएर आएको हुन्छ । समीरले नीलिमालाई गरेको प्रेम, जनयुद्धप्रति उसको आस्था, निष्ठा, इमान्दारीता र विश्वास तथा पहिला सिमरानलाई गरेको प्रेम र जनयुद्धमा बलिदान दिन तयार भएको तर, दुश्मन सामु नझुक्ने व्यवहार प्रदर्थन गरेका सम्पूर्ण कुराहरू कविले नीलीमासँग घटनाक्रम सुनाउँछ । यही प्रसङ्गमा नीलिमाले समीरले जनयुद्धमा उदात्ततापूर्वक आफूलाई उत्सर्गको शिखरमा पर्याएकोले ऊ कहिल्यै नमर्ने उद्घोष गर्छे र कथावस्तु समाप्त हुन्छ ।
महाकाव्यको मूल विषय पनि यहीँ समापन हुन्छ । प्रस्तुत महाकाव्यको मुख्य सारवस्तु यही हो । यहीँनेर समीर दुश्मनको कब्जामा पर्नुभन्दा अगाडि घाइते अवस्थामा रहेका बेला जनयुद्धप्रतिको बुझाइ, नीलिमाले गरेको प्रेम र उत्प्रेरणा आदि विषयमा लेखेको डायरी सिमरानलाई राख्न दिएको हुन्छ । सिमरानसँग कवि वा पत्रकारकाबिच लामो संवाद हुँदा उसले त्यो डायरी नीलिमालाई दिन्छे र त्यस डायरीबाटै कथाको बिट मारिन्छ ।
३. काव्यमा अभिव्यक्त विद्रोहचेत
विगत साठी बर्ष यता चलेका विभिन्न प्रकारका वर्गसङ्घर्षहरूको उच्च रूप थियो जनयुद्ध । यसले सामन्तवादले थोपरेको दासता, निरङ्कुशता र शोषण उत्पीडनको अन्त्य गरेर नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्य लिएको थियो । जनयुद्धले नेपालको राजनीतिक र सांस्कृतिक रूपमा विकसित सामन्तवादी र दलाल नोकरशाही सोच, चिन्तन र दृष्टिकोणमा एउटा ठुलो धक्का दिएको थियो र क्रमभङ्ग गर्दै नयाँ यथार्थको स्थापना गरेको थियो । यही यथार्थमा आधारित विचार, दृष्टिकोण, संस्कार र सौन्दर्यबोधलाई काव्यका नायक नायिका र विभिन्न पात्र मार्फत् अभिव्यक्त गर्ने कार्य बिष्णु भण्डारीले प्रस्तुत महाकाव्य उत्सर्गमा गरेका छन् ।
जनयुद्धमा थुप्रै वर्गसङ्घर्षहरू भए । गाउँका सामन्त, जाली, फटाहा, सुदखोर, भ्रष्टचारी, व्यभिचारीहरूमाथि भएका जनकार्वाहीबाट गाउँ मुक्त भएका थिए । सत्ताधारीवर्गको पक्षपोषण गरेर जनताको हत्या गर्ने, गायब पार्ने, गाउँमा आगजनी गरेर खरानी बनाउने, लुटपाट, बलात्कार गरेर ग्रामीण जनजीवन त्रसित बनाउँदै आएका पुलिसचौकीहरूमाथि छापामारहरूले हमला गरेर धुलो चटाउन सफल भएका थिए । यही प्रकृयामा लागेकी छापामार नायिका नीलिमाले समाजको यथार्थता प्रस्ट पार्ने र त्यसबाट मुक्त गर्न जनयुद्ध थालिएको कारण स्पस्ट गरेपछि समीर पनि प्रभावित हुन्छ भने गाउँका थुप्रै युवक–युवतीहरू जनयुुद्धमा सामेल हुन्छन् । यो वर्ग चेतनालाई काव्यमा सचेततापूर्वक प्रस्तुत गरिएको महाकाव्यको पहिलो उठानमै वर्ग चेतना यसरी दिइएको छ :
यो कस्तो चलन हो सभ्यताको जसले माटोमा सिर्जना रोप्छ ऊ सधैँ जलेर मर्नुपर्ने जसले महल निर्माण गर्छ ऊ सधैँ आकाश ओडेर बाँच्नुपर्ने ।
मान्छेले श्रमको विपुल खेतमा जब पसिनाको मूल्य खोज्यो उसका चक्षुमा झिर रोपियो मान्छेले चेतनाको विकाससँगै जब मान्छे हुनुको अधिकार खोज्यो उसका शरीरमा भाला रोपियो । (उत्सर्गः ७)
यसरी काव्यमा अत्यन्तै सरल र सुक्ष्म ढङ्गबाट सामाजिक अन्तर्विरोधलाई उजागर गर्ने कार्य गरेर भण्डारीले जनयुद्ध थालनीको औचित्य सावित गर्ने प्रयास गरेका छन् । कविले जनयुद्धरूपी जनविद्रोह उठानमा सदियौँदेखि शोषण र उत्पीडनको जाँतोमा पिसिएका कुमालटारी, चौरासी जस्ता श्रमजीवीहरूका बस्तीहरूका भूमिकालाई प्रारुपिकरण गरेका छन् । ती बस्तीहरू नेपाली समाजको प्रतिनिधि उदाहरण मात्र हुन् । गरिब र उत्पीडित वर्गका विरुद्ध सामन्तहरू र सत्ता कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा यसरी प्रष्ट गर्छन् :
हाम्रा इच्छाका विरुद्धमा सत्ता बन्दुक बनेर पड्किने गर्छ हाम्रो पसिनामा झुल्दा नझुल्दै जमिन्दार भोको हुँडार झैँ झम्टिने गर्छ । (उत्सर्ग : ८७)
जब जनयुद्धले आफ्ना वर्गबैरीहरूका कर्तुतहरूलाई नष्ट गर्न र जनतालाई मुक्त गर्न थाल्यो तब गाउँका गाउँ जनता संगठित हुन थाले । जनमुक्ति सेनालाई जनताले आफ्नो मुक्तिदाता देख्न थाले र उनीहरूसँग वर्गीय माया गास्न थाले । त्यतिबेला उनीहरूलाई बलिदान पनि प्यारो लाग्यो । ‘मुक्ति या मृत्यु’लाई आफ्नो जीवनसूत्र बनाए । जनताले जनमुक्ति सेनालाई कसरी बुझेका थिए त ? हेरौँ एउटा कवितांश :
उनको भविष्य अन्धकार थियो वर्तमान धुवाँ बनेर उड्दै थियो उनले राता सिपाहीका बन्दुकहरूमा सुनौला सपना देखे बन्दुक मुक्तिको सहारा उनले बन्दुकको मोहरीभित्र दुश्मन ढल्दै गरेको देखे । (उत्सर्ग : १४७)
४. जनयुद्धभित्र प्रेम प्रसङ्ग
जनयुद्ध वर्गीय लडाइँ मात्र थिएन । सत्ताका विरुद्धमा जनताले गरेको विद्रोह मात्र थिएन । यहाँ बर्गीय प्रेम पनि थियो । नयाँ संस्कार र संस्कृतिको निर्माण पनि थियो । युवक–युवती बिचको लैङ्गिक प्रेम (जैविक प्रेम) को पुरातन मान्यतामा क्रमभङ्ग थियो । प्रेमलाई केवल यौनिक आनन्दमा हेर्ने र महिलाहरूलाई सन्तान उत्पादनका साधनका रूपमा लिएर उपभोग गर्ने पुरातन पुँजीवादी–सामन्तवादी संस्कृतिलाई भत्काएर यसलाई वर्गप्रेम, उदात्तप्रेम र महिला–पुरुषबिचको समान अधिकार प्राप्तिको प्रेमका रूपमा विकसित भएको थियो । यस काव्यका नायक समीर र नायिका नीलिमाका बिचमा पनि त्यही वर्गीयप्रेम गाँसिएको छ । उनीहरूले एक अर्कामा गहिरो प्रेम गर्छन्, त्यो कुनै क्षणिक आनन्द र रोमान्समा आधारित हुँदैन । उनीहरू पहिला समाजलाई बुझ्ने र बदल्ने विचारमा सहमत हुन्छन्, तब मात्र साँचो अर्थको जैविकप्रेम सुमधुर र चिरस्थायी हुन्छ भन्ने कुरामा विश्वस्त हुन्छन् । यसै प्रसङ्गमा नीलिमाले समीरलाई प्रेमको अर्थबोध यसरी गराउँछे :
‘समीर ! मलाई थाहा छ अरूको श्रममा रम्नेहरू न पसिनाको मूल्यबोध गर्छन् न श्रमलाई स्वीकार्दछन् श्रमशील हातहरूमा जीवन फुल्छ कर्मशील मझेरीमा खुसी झुल्छ पसिनाले भिजेका खेतहरूमा जीवन खुलेर मुस्कुराउँछ । मसँग प्रेमको परिभाषा छैन मसँग मायाको प्रस्तावना छैन बन्द कोठीको कामुक प्रेम पराधीन जीवनको कोरा प्रेम जहाँ न सद्भाव हुन्छ न जीवन्त आशा हुन्छ राप र तापविहीन खुसी र हाँसोविहीन जीवन दुखेर मुर्झाउँछ ।’(उत्सर्ग : ५४ )
पुरातन संस्कार र संस्कृतिमा आधारित प्रेमलाई नक्कली र ढोँगी प्रेम भएको कुरा भण्डारीले यस काव्यमा नीलिमा मार्फत् यसरी व्यक्त गर्छन् :
कति खोक्रा छन् हाम्रा आस्थाहरू कति कमजोर छन् हाम्रा आदर्शहरू हामी विवाह गर्छौं, प्रेम गर्दैनौँ हामी प्रेम गर्छौं, विवाह गर्दैनौँ यो पुरातन ढोँगी संसार व्ययभिचारीलाई ढोग्न सिकाउँछ भ्रष्टचारीलाई पुज्न सिकाउँछ । (उत्सर्ग : ५८)
कविले यहीँनेर पुरातन संस्कार, संस्कृति र विचारमा आधारित समाज, राष्ट्र र व्यवस्थाबाट मानिसले जीवनको कुनै भरोसा नपाएर निराशामा छट्पटिएकाहरूप्रति इङ्गित गर्दै जीवनलाई आशावादी बनाउन सुन्दर सपना देख्नुपर्ने विचार नीलिमा मार्फत्् बताउँछन् :
समीर ! आशा जीवन हो निराशाको गठरीमा कुण्ठित भएर जीवन जिउनु जीवनको परिभाषा होइन सपना जीवन हो सपनाहरूको मृत्युशैरूयामा विक्षिप्त बनेर भौँतारिनु जीवनको महत्ता होइन । (उत्सर्ग : १९)
उनी अगाडि थप्छन् :
समीर ! सपना देख्न भुल्नु पतनको सुरुवात हो वर्तमानदेखि भाग्नु समयदेखि भाग्नु जीवनको अवसान हो घृणा विरुद्धको सङ्घर्ष कुरूपता विरुद्धको सङ्घर्ष बस्, सङ्घर्षले नै जीवन सुन्दर हुन्छ सङ्घर्षले नै त चेतना अभिमुख हुन्छ । (उत्सर्ग : ४१)
वास्तवमा जनयुद्धले प्रेमको नयाँ परिभाषा स्थापना गरेको छ । जनयुद्धमा लाग्नेहरू विभिन्न किसिमले आकर्षित भएर लागेका थिए । विचार, वर्ग दृष्टिकोण र वर्ग अन्तर्विरोधका बारेमा सचेत भएर सचेतन प्रयत्नबाट वस्तुको रूपान्तरण गर्ने उद्धेश्यले युद्धमा सामेल हुनेहरू थोरै नै हुन्छन् । यो त माक्र्सवादको नियम नै हो । धेरैजसो जनता दैनदिनको आर्थिक, सामाजिक अन्तर्विरोधको हल नयाँ सत्ताबाट हुन्छ भन्ने कुरामा सहमत भएपछि लाग्नेहरूको सङ्ख्या ठुलो हुन्छ र त्यो जनयुद्धमा पनि थियो । त्यसैगरी कैयौँ युवक–युवतीहरू एक अर्काको बिचको प्रेम बन्धनबाट बाँधिएर पनि युद्धमा सामेल भएका थिए । किनकि त्यहाँ साँचो अर्थको प्रेम प्राप्त हुन्थ्यो । विचारमा आधारित एकनिष्ठ प्रेम हुन्थ्यो । त्यहाँ कुनै जातीय पर्खाल थिएन । त्यहाँ धार्मिक अन्धता थिएन । साथै, त्यहाँ कुनै धोकाधडी पनि हुँदैनथ्यो भने महिला पुरुषबिच पनि समान अधिकार र व्यवहार हुने गर्दथ्यो र सम्मानभाव पनि बराबरीका आधारमा हुने गर्दथ्यो । यसको उत्कृष्ट नमूना प्रस्तुत महाकाव्यमा नीलिमा र समीर बिचको प्रेम सम्बन्ध हो ।
५. महाकाव्यमा व्यक्त आख्यानीकरण
महाकाव्यमा आख्यान तत्व अनिवार्य नै हुन्छ । यसले एउटा कालक्रमिक घटना विशेषलाई कथानकतामा प्रस्तुत गरेको हुनुपर्छ । त्यसैले कथावस्तु अनिवार्य तत्व बन्न गएको हो । महाकाव्यमा प्रस्तुत कथानकताभित्र आदर्श नायकहरूको जीवनवृत्त समेटिएको हुनुपर्छ । त्यसैले पनि महाकाव्यले एउटा निश्चित कालक्रमको प्रतिनिधित्व गरेको हुनुपर्छ । विष्णु भण्डारी रचित उत्सर्ग महाकाव्यले जनयुद्धको क्रममा निर्माण भएका नायक नायिकाहरूको जीवनवृत्तलाई प्रतिनिधि पात्र चयन गरेको रूपमा नीलिमा र समीरलाई लिइएको छ । उनीहरू जनयुद्धको एउटा चरणमा पैदा हुन्छन् । उनीहरूका बिचमा वर्गीय प्रेमसँगै वैयक्तिक प्रेम जीवनमा बाँधिन्छन् । दुवैले एक अर्काबाट प्रेरणा लिन्छन् । प्रेम निकै गाढा, सुमधुर र विश्वासिलो बन्दै जान्छ र उदात्ततापूर्वक समरभूमिमा बलिदान दिन पनि किञ्चित हिच्किचाउँदैनन् । यस प्रसङ्गमा महाकाव्यले समेटेको ग्रामीण जनजीवन, प्राकृतिक मनोरम, वर्गीय विचार आदि सबै कुराहरू जीवनसँग अन्तरघुलित भएर महाकाव्यको कथानकता विकसित हुन्छ ।
यहाँ आख्यानीकरण गर्दा घटना परिवेश, पात्रहरूको जीवनवृत्त र युद्धजन्य परिघटनाहरूलाई एउटा लामो कालक्रममा समेट्न सकिएको छैन । यसले महाकाव्य लेख्न एउटा युग बदलिनु पर्छ भनेर शास्त्रीय डण्डा वर्षाउनेहरूलाई अलिकति बल मिल्न जान्छ कि भन्ने देखिन्छ । कम्तीमा जनयुद्धका अन्य पाटापक्षहरूलाई पनि समेटेको भए र त्यसका थुपै्र थुपै्र उपलब्धि, समस्या र चुनौतीहरूसँगै पात्रहरूलाई डोर्याउन सकेको भए अझ राम्रो बन्न जाने थियो । तथापि महाकाव्यलाई आख्यानीकरण गर्ने प्रयास भने भएकै छ ।
६. विचारधारा र कलापक्ष
प्रस्तुत महाकाव्यमा प्रयुक्त विचार भनेको मालेमावाद हो । अर्थात् मालेमावादी विचारका आधारमा निर्माण भएको नयाँ यथार्थलाई यसले आफ्नो वैचारिक मानदण्ड बनाएको छ । काव्यमा उपस्थित पात्रहरूद्वारा जनयुद्धको औचित्य, सामाजिक वर्ग अन्तर्विरोध र युवक र युवतीबिचको प्रेम प्रसङ्गलाई अत्यन्तै कलात्मक ढङ्गबाट वैचारिकरण गर्ने काम भएको छ । यहाँ नीलिमा र समीरबिचको पारस्परिक प्रेम, निष्ठा, विश्वास, आस्था र वैचारिक प्रतिवद्धताहरूलाई अत्यन्तै सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रेम र जीवन, प्रेम र यौन, वैयक्तिक प्रेम र वर्गीय प्रेम सँगको सम्बन्धलाई कलात्मक ढङ्गबाट प्रस्ट्याउने काम भएको छ । पहिला नितान्त व्यक्तिगत ढङ्गबाट बाँचेको समीरलाई नीलिमाले सामूहिक स्वार्थ, वर्गीय स्वार्थका निम्ति जीवनलाई उत्सर्ग गर्न सिकाउने विचार हालिदिन्छे भने त्यही विचारले दीक्षित भएर युद्धमा जनसेना बनेर होमिएको समीरले आफ्नो डायरीमा जीवनको असली परिभाषा उल्लेख गर्छ र हाँसीहाँसी मृत्युवरण गर्न पनि ऊ किञ्चित डराउन्न । किनकि उसले मृत्युलाई जितिसकेको हुन्छ । जीवनको परिभाषाबारे व्यक्त कविताको एउटा पङ्क्ति यस्तो छ :
सिमरान ! प्रेम बच्चाको खेल होइन संवेद्य जीवनको घनिष्टता हो प्रेम तासको महल होइन नयाँ जीवनको प्रस्तावना हो जहाँ आग्रहको ताप हुँदैन जहाँ पूर्वाग्रहको राप हुँदैन यहाँ त परस्पर रुचिसँगै वैचारिक आस्थाका दीपक बल्छन् यहाँ त सामाजिक बन्धनसँगै हृदयका पाटन खुल्छन् । (उत्सर्ग : २३७)
यस महाकाव्यमा जनयुद्धको सजिव र चित्रमय ढङ्गबाट वर्णन गरिएको छ । त्यसैगरी महाकाव्यले विचरण गरेको क्षेत्रको भूगोल, पहाड, नदी, खोला, गाउँबस्ती आदि प्राकृतिक सम्पदाहरूको चित्रमय वर्णन गरेर तिनलाई मानवीकरण गरिएको छ । तिनले यसको गरिमा र महत्तालाई उचो बनाउन मद्दत पु¥याएका छन् । त्यसका साथसाथै महाकाव्यमा उपस्थित गराइएका विभिन्न पात्रहरू जस्तो नीलिमा, समीर, कवि÷पत्रकार आदिले जनयुद्धको विचारधारात्मक पक्षलाई प्रष्ट्याएका छन् भने अन्य पात्रहरूले उत्सर्गको भावलाई जीवन्तता दिएका छन् । यसरी समग्रमा भन्नुपर्दा महाकाव्यमा प्रयुक्त विचारधारा र कला निकै ओज र गरिमापूर्ण बन्न गएको छ ।
७. सौन्दर्यबोध
यस महाकाव्य सौन्दर्यबोधका हिसाबले पनि राम्रो रहेको छ । यसले दासताको जीवनभन्दा वर्गयुद्धमा प्राप्त गरिने मृत्युवरण कति सुन्दर हुन्छ भन्ने कुरालाई उदात्ततापूर्वक प्रस्तुत गरेको छ । उत्पीडित वर्ग, जाति, समुदाय, क्षेत्रका जनता आफ्नो मुक्तिका लागि हाँसीहाँसी मर्न तयार भएका जनयुद्धका दृष्टान्तहरूलाई सुन्दर र कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । बलिदान र जीवनको अन्तरसम्बन्धबारे काव्यमा व्यक्त एउटा अंश हेरौँ :
नीलु, बलिदान जति घनिभूत हुन्छ त्यति नै नजिक हुन्छन् विजयहरू भावना जति उदात्त हुन्छन् त्यत्ति नै टाढा हुन्छन् निराशाहरू । (उत्सर्ग : १५६)
जब अधिकार प्राप्तिका लागि सङ्घर्षमा होमिएका जनताको विशाल पङ्क्तिलाई राज्यसत्ताले आफ्नो उपकरणहरूको माध्यमबाट कुल्चिने चेष्टा गर्छ र हतियार चलाउँछ तब जनताले पनि तिनै उपकरणहरूको सहारा लिन बाध्य हुन्छन् । त्यतिबेला जनताका वर्गवैरीहरू ढल्दै गर्दा जनताले कसरी आनन्दानुभूति गर्छन् भन्ने कुरालाई यसरी व्यक्त गरिएको छ :
उनको भविष्य अन्धकार थियो वर्तमान धुवाँ बनेर उड्दै थियो उनले राता सिपाहीका बन्दुकहरूमा सुनौला सपना देखे बन्दुकको मुक्तिको सहारा उनले बन्दुकको मोहरीभित्र दुश्मन ढल्दै गरेको देखे । (उत्सर्ग : १४७)
यसरी सत्ता र त्यसका वर्गका मानिसहरूको कुरूपतालाई भोका नाङ्गा श्रमिक वर्गका जनताको श्रम पसिना लुटेर बाँच्ने गरेको एउटा दृष्टान्तबाट प्रष्ट्याउने प्रयत्न गरिएको छ :
साहु हामीलाई हेरेर नमिठो हाँसो हाँस्छ उसले पसिनाको महलभित्र हाम्रा सपनाको हत्या गर्छ हाम्रो भोको पेटका पीडाहरू न साहुले सुन्छ न सत्ताले सुन्छ न महलले सुन्छ न सहरले सुन्छ महल हाम्रो मृत्युमा झन् हर्षित् बन्छ सत्ता हाम्रै विरुद्धमा नाच्ने गर्छ । (उत्सर्ग : ८५)
सत्ताका सञ्चालकहरू र तिनका पृष्ठपोसक वर्गले जनतालाई सदियौँदेखि गरेको शोषण, उत्पीडन र श्रमको मूल्य लुट्ने कार्यका विरुद्ध जनयुद्ध सञ्चालन भएको कुरा र त्यसमा उदात्तभावले समर्पित गरेको आह्वानलाई कविताको यस पङ्क्तिले प्रष्ट गर्छ :
हामी रोएको धेरै भयो रुँदारुँदै सुकिसकेछन् आँसुहरू हामी मरेको धेरै भयो मर्दामर्दै मरिसकेछन् आशाहरू अब दबेर बस्ने छैन सिर्जनाको यो भव्य जीवन समीर ! आउ यो नयाँ संसार तिम्रो स्वागतमा उभिएको छ हामीले जन्माएका छौँ विद्रोहको नयाँ मशाल आउ समाऔँ यो ज्योतिपुञ्ज । (उत्सर्ग : ८१)
यस पङ्क्तिमा विद्रोहको सौन्दर्य, श्रम र पसिनाको सौन्दर्यलाई सिर्जनाको भव्य जीवनको संज्ञा दिइएको छ । यो सुन्दरताको माक्र्सवादी परिभाषा हो ।
८. काव्यमा अभिव्यक्त फौजीविज्ञान
जनयुद्धको मुख्य पक्ष भनेको फौजीयुद्ध हो । जनयुद्धमा दुश्मन सत्ताको फौजी क्याम्प कब्जा गर्नु र आफ्नो प्रभाव विस्तार गर्दै सत्ता कब्जा गर्नु युद्धकर्ताहरूको प्रमुख लक्ष्य हुन्छ । त्यसैले विभिन्न क्षेत्रमा रहेका प्रहरीचौकीहरू, जिल्ला सदरमुकाम, सैन्य मुख्यालयहरूमा आक्रमण गरी जनमुक्ति सेनाले आफ्नो विजय अभियानलाई अघि बढाएका थिए । यसरी फौजी लडाइँहरूमा कहिले हार हुनु र कहिले जित हुनु यौद्धिक नियमभित्रको कुरा हो । यो कुरालाई यस काव्यका रचनाकारले अत्यन्तै कुशलतापूर्वक प्रकाश पारेका छन् । यहाँ काव्यको विचरणस्थल गुल्मीको एक स्थानमा नेपाली सेना र जनमुक्ति सेनाबिच भएको बाटोको भिडन्तमा आफ्नो पक्षको बढी क्षति हुने स्थिति भएपछि कमान्डरले टोलीलाई पछि हट्न दिएको आदेशबाट उत्पन्न परिस्थितिबारे प्रष्ट गर्दै कमान्डरले नीलिमालाई बताएको कुरा यसरी व्यक्त गरिएको छ :
नीलिमा ! भावनाले युद्धमा घात गर्छ हामी मर्नुपथ्र्यो त्यो भावना हो युद्ध मर्नु हो युद्ध मार्नु हो अगाडि बढ्नु मात्र विजय हैन पछाडि हट्नु पनि त विजय हो सकिनु मात्र आदर्श हैन सत्रुको घेराबाट सकुशल फुत्कनु पनि त आदर्श हो भावनामा सुन्दर विचारले प्रवेश गरे सिर्जना महान् बन्छ । (उत्सर्ग : १३२)
यहाँ युद्धमा पछि हटाई र अघि बढाईको अर्थबोध गराइएको छ । यसले कृतिकारमा काव्य रचना गर्दा भावना र वैचारिक पक्षको मात्र नभई लडाइँमा फौजीकलाको ज्ञान पनि भएको देखाउँछ । कृतिकार भण्डारीले द्वन्द्वको नियमलाई काव्यमा सजीव रूपले उतार्न सफल भएका छन् । प्रस्तुत काव्यमा उल्लेखित ‘वीरतापूर्ण लडाइँ’ उपशीर्षकमा फौजीकलाको प्रशस्त चर्चा गरिएको छ । त्यसैगरी ‘महान् छलाङ’ उपशीर्षकभित्र पनि लडाइँको कला र विज्ञानलाई अत्यन्तै सचेततापूर्वक उल्लेख गरिएको छ । जहाँ काव्यनायक समीरले अर्घाखाँचीको सदरमुकाम आक्रमणको सजीव वर्णन आफ्नो डायरीमा गरेको छ । यहाँ काव्यनायकका माध्यमबाट कवि भण्डारीले लडाइँको शब्दचित्रलाई दुरुस्त उतार्न सफल भएका छन् । यसले उनी प्रत्यक्ष लडाइँको मोर्चामा सामेल नभए पनि उनमा फौजी ज्ञानको मात्रा प्रचुर रहेको देखाउँछ ।
९. सफलता र सीमाहरू
प्रस्तुत महाकाव्य उत्सर्गले जनयुद्धको विषयलाई सविस्तार वर्णन गरेको छ । यसले जीवनको नयाँ परिभाषा गरेको छ । काव्यमा आँसु–हाँसो, खुसी–रोदन, जीवन–मृत्यु, उदात्त–त्रासदी, सुन्दर–कुरूप, महान्–तुच्छ आदि भाव र विचारलाई सन्तुलित र कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । काव्यमा जनयुद्धको समग्र पाटापक्षहरूलाई आख्यानीकरण गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामाजिक उत्पीडन र अन्तर्विरोधहरू, सौन्दर्यपरक आदर्श, द्वन्द्वविधान, सामूहिक प्रेम , वर्ग प्रेम , आदर्श र वैयक्तिक प्रेम प्रसङ्गहरूलाई कलात्मक र विचारधारात्मक रूपले प्रस्तुत गर्नु जस्ता कुराहरू यो काव्यका सफल पक्षहरू हुन् । काव्यमा भव्यता, उदात्तता, गरिमा, नाटकीयता र द्वन्द्वको प्रस्तुतीलाई सजीवढङ्गले चित्रमय वर्णन गरिएको छ । समग्रमा हेर्दा प्रस्तुत महाकाव्य अहिलेसम्म लेखिएका जनयुद्धकेन्द्री भावमा आधारित महाकाव्यहरूमा अग्रथानमा छ । त्यो विचार, कला र प्रस्तुती, भाषाशैली, सिल्प, लयविधान आदिका हिसाबले पनि सबल रहेको छ । तथापि यसका केही सीमा रहेका छन्, जसलाई मेट्न सकेको भए यो महाकाव्य समकालीन यथार्थको उत्तम कृति बन्न पुग्थ्यो । ती सीमाहरूलाई निम्न बुँदामा व्यक्त गर्न सकिन्छ ।
० महाकाव्य विशिष्ट संरचनायुक्त साहित्य भएकाले यसले एउटा निश्चित कालखण्डको आख्यानलाई समेट्न सक्नुपर्छ । त्यो यहाँ कमी छ ।
० जनयुद्धमा आधारित महाकाव्य भएर पनि यसले जनयुद्धको एउटा पाटोलाई मात्र समेटेको छ । जस्तो प्रेम प्रसङ्ग, फौजी लडाइँ, ग्रामीण उत्पीडन र सत्ताको शोषणको कारण जनयुद्धको उठान भएको चर्चा ।
० महाकाव्यमा रहेका उपशीर्षकहरूले काव्यको मुख्य कथानकतालाई डो¥याएता पनि पढ्दा त्यस्तो लाग्दैन । यो कता कता बरालिन थाले जस्तो भान हुँदै जान्छ । बरू यो त छुट्टाछुट्टै शीर्षकमा लेखिएको लामा कविताहरूको सङ्ग्रह पो हो कि भन्ने जस्तो हुन्छ ।
० काव्यमा विचार र आख्यान तत्वभन्दा भावना बढी देखिएको छ ।
० समीर र नीलिमाबिचको प्रेम प्रसङ्गमा एकापसमा आदरार्थी शब्द प्रयोग गर्दा समीरले नीलिमालाई तिमी सम्बोधन गर्छ भने नीलिमाले समीरलाई तपाइँ शब्दले सम्बोधन गर्दछे । यहाँ सामन्तवादी पुरुषप्रधान संस्कृति देखिन्छ । वास्तवमा जनयुद्धमा त्यस्तो थिएन । त्यतिबेला नवजोडीहरूकाबिच दुवैले एकापसमा सम्बोधन गर्दा तपाइँ शब्द प्रयोग गर्दथे ।
० काव्यको मुख्य कथावस्तु गुल्मी र अर्घाखाँचीको सेरोफेरोमा रहेको छ तापनि प्युठान र रोल्पाका केही स्थानहरूको चर्चा अनावश्यक रुपमा कथामा समेटिएको छ ।
उपर्युक्त सीमा र कमजोरीका बाबजुद पनि महाकाव्य लेखनको परम्परागत शैलीमा क्रमभङ्गता भएको छ । भण्डारीले नयाँ शैली र शिल्पको उद्घाटन गरेका छन् । महाकाव्यका तत्वहरूमा नयाँपन आएको छ । लेखन शैली र विषय उठानमा नयाँपन ल्याएर पुरातन ढर्राबाट महाकाव्य लेख्ने कार्यमा चुनौती दिएर विष्णु भण्डारीले आफ्नो मौलिकता प्रदर्शन गरेका छन् । उत्सर्ग महाकाव्य जनयुद्धको सजीव शब्दसाक्षी बनेर पाठक सामु उभिएको छ ।
(कौसिकीः वर्षः १०, अङ्कः २, पूर्णाङ्कः ४४, साउन-भदौ २०६७, पृ. ३८४)