विष्णु भण्डारीको पहिलो उपन्यास वि.सं. २०७२ सालमा प्रकाशित भएको हो । अहिलेसम्म उनका ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ गरी दुई उपन्यास प्रकाशित छन् ।
पहेँलो घाम माओवादी जनयुद्धमा लागेका तर शान्तिप्रक्रियापछि क्यान्टोनमेन्टबाट अयोग्य बनाइ निकालिएका पात्रको कथा हो । उपन्यासमा अयोग्य लडाकुहरूले भोग्नुपरेको मानसिक पीडा र भौतिक दुःखले सिर्जना गरेको दुष्परिणामको मिहिन ढङ्गले चित्रण गरिएको छ । उपन्यासमा अयोग्य बनाइएका छापामारको मात्र कथा नभएर जनयुद्धपूर्व र त्यसपछि समाजमा व्याप्त विसंगति, विकृति र सामाजिक उत्पीडनको पनि चित्रण छ ।
सुनको पहाड (२०७६) समकालीन नेपाली राजनीतिको पृष्ठकथालाई सन्दर्भमा लिएर आजको यथार्थप्रति सचेष्ट गराउने आख्यान हो । वर्तमानको बिडम्बनाबोध गराउन उपन्यासले लोककथात्मक अधिकल्पनालाई शैलीका रूपमा अँगालेको छ । आफन्तजन बेपत्ता हुँदा उत्पन्न हुने मनोदशालाई उपन्यासमा मिहिन ढङ्गले चित्रण गरिएको छ । बेपत्ताको खोजी, पहिचानको मुद्दा, समुन्नत समाजको परिकल्पना र माओवादी आन्दोलनलाई उपन्यासमा बहुरेखीय कथा वाचनमार्फत् सँगसँगै आगाडि बढाइएको छ ।