डा. रामप्रसाद ज्ञवाली
१. विषयप्रवेश
नेपाली कवितालाई जनतासँग जोडेर अनि जनताका पक्षमा हुनेगरी प्रस्तुत गर्ने नेपाली युवा कविहरुको जमात यतिखेर ह्वात्तै बढेको छ । त्यसमा पनि प्रगतिवादी विचारधाराको आलोकमा नेपाली समाज, यसको विकासप्रक्रिया र यसमा देखा परेका असङ्गति अनि यसले लिनुपर्ने मार्गका बारेमा विमर्श गर्दै कविता लेख्ने कविहरुको शक्तिशाली उपस्थिति वर्तमान समयमा देखा परेको छ । यस्तै प्रवृत्ति बोकेका र कवितासिर्जनमा लागेका नेपाली कविहरुका बिचमा विष्णु भण्डारी पनि आफ्नो निजी व्यक्तित्व र पहिचान लिएर देखा परेका छन् ।
कवि विष्णु भण्डारीको औपचारिक कवितायात्राले करिब तिन दशक पुरा गर्दै छ । उनले चालिसको दशकदेखि कवितालेखनमा औपचारिक प्रवेश गरेको देखिन्छ भने हालसम्म आधा दर्जनभन्दा बढी कविताकाव्यका कृतिहरु प्रकाशित गराइसकेको पाइन्छ । हालसम्म उनका विद्रोहको छाल (खण्डकाव्य, २०४३), आँधी–तुफान (मुक्तकसङ्ग्रह, २०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५), फेरि अर्को तारा खस्यो (कवितासङ्ग्रह, २०६३), देश जागेको वेला (कवितासङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७) र अहिले प्रकाशित कवितासङ्ग्रह घाइते ह्विलचेयर (२०६९) कविताकाव्यहरु प्रकाशित छन् । यी कृतिहरुले उनको कवितायात्राको परिचय त दिन्छन् नै, साथमा उनी कुनकुन समयमा कवितासिर्जनमा बढी सक्रिय भए भन्ने कुराको जानकारी पनि दिन्छन् । उनको यस कवितायात्रामा दुई चरण देखिन्छन् जसमा पूर्वार्द्धमा चरण सिकारु कवित्वको अभिव्यक्तिका रुपमा देखिन्छ भने उत्तरार्ध चरण क्रमशः कविताको प्रौढतातिर आकर्षित र प्रयासरत कवित्वको अभिव्यक्तिका रुपमा देखिन्छ ।
कवि भण्डारी लेखनमा मात्र नभई साङ्गठनिक कार्यमा पनि सक्रिय तथा राजनीतिमा समेत समर्पित स्रष्टा हुन् । २०४५ सालदेखि २०६३ सम्मको लामो कालखण्डमा उनको एउटा पनि कृति प्रकाशित भएको देखिन्न यद्यपि यस अवधिमा पनि उनले केही रचनाहरु रचेको पाइन्छ ।
कवि विष्णु भण्डारीको पूर्वार्धको कवित्व कलामूल्यका र रसगत परिपाकका दृष्टिले सिकारु प्रकृतिको, भावका दृष्टिले मानवतावादी, रचनाधर्मिताका दृष्टिले स्वच्छन्द शैलीको तथा वैचारिकताका दृष्टिले प्रगतिशील प्रकृतिको देखिन्छ । त्यस समयमा पनि उनी नियतमा सफा देखिन्छन्, उद्देश्यमा जनताका पक्षधर पनि देखिन्छन् र वर्गीय दृष्टिले उत्पीडित वर्गीय मुक्तिका लागि कविताको आराधना गरिरहेका पनि देखिन्छन् तर त्यस अवधिका रचनामा उनी वैयक्तिक आवेश र आक्रोश अनि युवासुलभ भावुकताको प्रभावमा रचना गरिरहेका पनि देखिन्छन् । त्यसैले यथार्थ, कला र विचारका बिचको सन्तुलनको अभाव तिनमा पाइन्छ । उत्तरार्धका कविताहरुमा भने उनको कवित्व बिस्तारै परिपाकतिर उन्मुख हुन थालेको र उनी अन्तर्वस्तु र रुपका बिचमा सन्तुलन ल्याउने प्रयासमा लागेको भेटिन्छ ।
उत्तरार्धका विष्णु भण्डारीको कवित्वलाई प्रबन्धकाव्य र फुटकर कविताको कोणबाट हेर्न सकिन्छ । उनलाई कवितातर्फ बढी चर्चित गराउने काम उनको महाकाव्य उत्सर्गले गरेको छ तर श्रोता र पाठकबिच कवि भनेर उनलाई प्रत्यक्ष रुपमा परिचित गराउने काम भने उनका फुटकर कविताहरुले नै गरेको देखिन्छ ।
प्रबन्धकाव्यतर्फ उनको आजसम्मको कवित्वकोे उच्च प्राप्ति उत्सर्ग महाकाव्य हो भने फुटकर कवितातर्फको कवित्वको उच्च प्राप्ति पछिल्लो कवितासङ्ग्रह घाइते ह्विलचेयर देखिएको छ । उत्सर्ग महाकाव्यले नेपाली राजनीतिमा २०५२ सालदेखि सशस्त्र विद्रोहका माध्यमबाट राजनीतिक परिवर्तन ल्याउनका लागि उच्च बलिदान गर्ने क्रान्तिकारी माओवादीहरुको ऐतिहासिक यात्रालाई भावभूमि बनाई क्रान्ति र प्रेमका भिन्न भिन्न पाटाको अन्तर्सम्बन्ध समेत प्रस्तुत गरेको छ जसमा त्यस अवधिको नेपाली राजनीतिका विभिन्न पदचापहरुलाई काव्यात्मक वाणी दिने काम गरिएको छ ।
साहित्यकारहरु केवल शब्दसँग रत्तिएका भाषिक खेलाडीमात्र होइनन्, उनीहरु देशको स्थिति सपार्न र जनताको मुक्तिका लागि सहिद बन्न समेत तम्तयार र सक्रिय बनेका समाजसचेत तथा राजनीतिसचेत नागरिक पनि हुन् भन्ने कुरालाई नायकनायिकाका उत्सर्गका माध्यमबाट प्रस्तुत गरिएको छ । यस महाकाव्यमा भावको प्रबन्धीकरणका लागि अनुभूति र आख्यानको धागोका रुपमा जनयुद्धका अनुभूति र त्यसमा भाग लिने दुई पात्रबिचको प्रेम र कर्तव्यनिर्वाहको जटिल द्वन्द्वको आख्यानसूत्र तयार पारिएको छ तर यस महाकाव्यका सीमा पनि प्रशस्त छन् । यसले क्रान्तिकारी र प्रतिक्रान्तिकारीका बिचको सङ्घर्ष देखाउनमा केन्द्रित हुँदा समाजका अन्य ज्वलन्त समस्यामा दृष्टि दिन सकेको छैन । त्यसैले यस महाकाव्यमा समेट्न बाँकी अफ्ना अनुभूति र विभिन्न अन्य विषयक्षेत्र समेतलाई समेटेर एवं भावधारामा त्यसै महाकाव्यकै वरिपरि रहेर कविले अनेक कविता तयार पारे । यसरी तयार पारिएका तिनै पछिल्ला कविताहरुको सङ्कलनका रुपमा घाइते ह्विलचेयरका कविताहरु आएका छन् । प्रस्तुत समालोचना यही पछिल्लो कवितासङ्ग्रहका कविताहरुमाथि केन्द्रित रहेको छ ।
२. कविद्वारा भूमिकामा व्यक्त गरिएका विचारमाथि सामान्य विमर्श
घाइते ह्विलचेयरका कविताहरुको अध्ययन गर्नुपूर्व यस कवितासङ्ग्रहमा कवि विष्णु भण्डारीले व्यक्त गरेका विचारहरुमाथि छलफल गर्नु जरूरी देखिन्छ किनभने उनले कविताको आँखीझ्यालबाट कविता चियाउँदै शीर्षकको आफ्नो भनाइमा कवि र कविता तथा समालोचक र समालोचनाका बारेमा अत्यन्त विवादास्पद र विचारोत्तेजक धारणा प्रस्तुत गरेका छन् । यहाँ व्यक्त विचारले उनलाई भावुक कविका रुपमा मात्र नभई अध्ययनकर्ता कविका रुपमा एवं समालोचनाको चाहना गर्ने कविका रुपमा मात्र नभई समालोचकसँग अतिशय असन्तुष्ट कविका रुपमा समेत चिनाउँछन् । उनका विचारलाई आधार मानेर कवि र कविता अनि समालोचक र समालोचनाका बारेमा सिङ्गै लेख लेख्न वा अन्तक्र्रियाका रुपमा गम्भीर विमर्श गर्न सकिने देखिन्छ । त्यसैले यस समालोचनाका सन्दर्भमा उनका कविताहरुमाथि टिप्पणी गर्नुभन्दा पहिले उनको आत्मकथनका बारेमा विमर्श गर्नु आवश्यक ठानिएको छ ।
कविताको आँखीझ्यालबाट कविता चियाउँदै शीर्षकको आत्मकथनको पहिलो अनुच्छेदमा कवि भण्डारी लेख्छन्— ‘समाजमा व्याप्त असङ्गतिलाई सबैभन्दा बढी कविताले नै उजागर गर्छ । जीवन खुल्छ त केवल कवितामै खुल्छ ।’ कवितालाई मूल्य प्रदान गरिरहँदा कविले साहित्यका अन्य सघन र सामाजिक यथार्थ तथा जीवनलाई व्यापक रुपमा प्रतिबिम्बित गर्ने कथा, उपन्यास वा अन्य भाषिक कलालाई बिर्सेको देखिन्छ । निश्चय नै कविताले जीवनका सूक्ष्मतम तन्तुहरुको कलात्मक प्रतिबिम्बन गर्छ तर जीवन खुल्छ त केवल कवितामै खुल्छ भन्नु वस्तुपरक हुँदैन । केवल कवितामै भन्नुले अन्य विधामा जीवन पूर्णतः खुल्न सक्दैन भन्ने अर्थ लाग्छ जुन सही होइन । यहाँ कविले जीवन कविताले मात्रै खुल्छ भन्नुको साटो यथार्थवादी र सशक्त साहित्यमा मात्र जीवन सही रुपमा खुल्छ भनेको भए बढी वस्तुपरक र न्यायमूलक अभिव्यक्ति हुने थियो । कवितालाई मात्र बढी महत्त्वपूर्ण मान्दा अन्य विधामाथि अन्याय हुन जान्छ, जुन उचित होइन ।
यसै अनुच्छेदमा उनी लेख्छन्— ‘कविता भन्नु नै जीवन, जीवन भन्नु नै कविता ।’ यसो भनेर कविले कवितालाई जीवनसँग अनन्य रुपमा गाँसेर हेर्ने काम गरेका छन् र उनी जीवनवादी कविताका पक्षधर भएर प्रकट भएका छन्, जुन उचित नै हो । कवितालाई जीवनभन्दा टाढा पु¥याएर कोरा कल्पना र केवल बाह्यसौन्दर्यका रुपमा मात्र व्याख्या गर्नु निश्चय नै गलत हो र यसै कुरालाई ख्याल गरेर कवि भण्डारीले उक्त अभिव्यक्ति दिएका छन् तर पनि यस अभिव्यक्तिमा पनि उनी भावनामा बढी नै बगेको स्थिति छ ।
कविता भन्नु नै जीवन भन्नेसम्मको धारणा ठिकै हो तर जीवन भन्नु नै कविता भन्नुचाहिँ भावुकता हो । समाजमा कवितासँग नजोडिएका तर सुन्दर जीवन बाँच्दै सुन्दर जीवनका लागि महान् कर्म गरिरहेका व्यक्तिहरुको पनि कमी छैन । जीवनलाई सार्थक र समाजलाई न्यायपूर्ण पार्नका लागि विभिन्न क्षेत्रबाट मानिसहरुले योगदान दिई नै रहेका छन् । कवितालाई मात्र सर्वोपरि राखेर अन्य क्षेत्रका र खास गरी कविता वा साहित्य वा जुनसुकै कलाभन्दा बाहिरका वास्तविक क्षेत्रलाई बेवास्ता गर्नु प्रगतिवादी र वस्तुवादी व्यक्तिका लागि उचित हुन्न । किनकि कविता पनि सापेक्षित रुपमा मात्र जीवनको नजिक र सुन्दर हुने गर्छ । माथिको भनाइले कविलाई कविताप्रति बढी नै भावुक र अतिशयतापूर्ण विचारवाहकका रुपमा चिनाउँछ जुन उनको वस्तुवादी वैचारिकतमाथि प्रश्नसमेत बनेको छ ।
आफूले कविता लेख्नका लागि क्रान्तिकारी अग्रज कविहरुबाट प्रेरणा प्राप्त गरेको स्वीकारोक्ति दिने क्रममा उनले इच्छुक, मोलाइ आदि जनपक्षीय कविहरुको नाम बडो आदरका साथ लिएका छन् र त्यस्ता क्रान्तिकारीका महान् कविताले निरङ्कुश सत्तालाई हल्लाउन र तानाशाहहरु ढलाउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा गर्वका साथ प्रस्तुत गरेका छन् । यसबाट उनी यस्ता कविहरुबाट प्रेरित छन् भन्ने कुरा बुझिन्छ । यहाँनिर मुख्य प्रश्न के हो भने के यो प्रभाव साँच्चै ती कविहरुका कविताको हो वा उनीहरुका साहसी र निर्भीक तथा बलिदानी जीवनपद्धतिको हो ? के देखिएको छ भने अनुसरणकर्ता कविहरुले यस्ता कविका कविताबाट भन्दा तिनका साहसी र क्रान्तिकारी कर्म र अनुकरणीय जीवनीबाट बढी प्रभावित मनोवैज्ञानिकता लिएर तिनको नाम लिने गरेका पाइन्छ । यद्यपि त्यस्ता व्यक्तिका व्यक्तित्वबाट प्रभाव ग्रहण गरे पनि वा तिनका कविताबाट प्रभाव ग्रहण गरे पनि प्रभाव निश्चय नै सकारात्मक प्रकृतिको हुन्छ तर यो सूक्ष्म विश्लेषण र आत्ममन्थनको विषय किन हो भने व्यक्तित्वको प्रभाव र कवित्वको प्रभाव भिन्न कुरा हुन् र तिनको प्रभावले पार्ने असरमा भिन्नता हुन्छ । मेरो अनुभव र बोध के भन्छ भने कवि विष्णु भण्डारी र उनीजस्ता क्रान्तिकारी कवि इच्छुक वा मोलाइका कविताले भन्दा पनि उनीहरुका साहसी र क्रान्तिकारी जीवनी र जनपक्षीय व्यक्तित्वले बढी प्रभावित बन्ने गरेका छन् ।
कविता के हो भन्ने विषयमा विचार व्यक्त गर्ने क्रममा एक ठाउँ लेखिएको छ- ‘कविता पागल मनोदशाको कोरा आलाप हो कि विचारद्वारा निर्देशित सामाजिक अन्तर्व्दन्द्वले जन्माएको संवेदनाको कलात्मक प्रस्तुति ।’ यस अभिव्यक्तिमा आशयको खोजी गर्दा कवि भण्डारी पागल मनोदशाको आलाप नभई विचारनिर्देशित संवेदनापूर्ण कलात्मक प्रस्तुतिलाई कविता मानिरहेका देखिन्छन् जुन सही देखिन्छ । उनको यस विचारले उनी कवितामा कस्तो अन्तर्वस्तुका पक्षमा छन् भन्ने कुरा बुझाउन सहयोग गर्छ ।
कवितामा विचार र कलालाई समान महत्त्व दिइरहेका कवि विष्णु भण्डारी अर्को अनुच्छेदमा लेख्छन्- ‘कविताले मान्छे बनायो कि मान्छेले कविता ?’ यो प्रश्न कविताप्रतिको उनको चर्को मोहलाई सङ्केत गर्न जति सहयोगी छ त्यत्तिकै मात्रामा उनी वस्तुपरकताबाट बारम्बार चिप्लिँदै कवितारचना गर्छन् भन्ने कुरा बुझाउन पनि सहयोगी छ । आफूलाई माक्र्सवादी विचारधारा र ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको पक्षधर मान्ने र तदनुकूल विचार प्रस्तुत गर्दै हिँड्ने व्यक्तिले उक्त प्रश्न गर्नु आफैमा विरोधाभासपूर्ण देखिन्छ । मान्छेको साध्य कविता होइन, यो त जीवनलाई सकारात्मक दिशामा लग्न संवेदनाको विस्तार, भावको प्रगाढता र विचारको प्रक्षेपणका लागि कलात्मक सम्प्रेषण गर्ने भाषिक साधन मात्र हो । कविताले मान्छे बनायो कि मान्छेले कविता ? यो प्रश्न नै अपरिपक्व छ । निश्चय नै पहिले मान्छे जन्म्यो र उसका संवेदना जन्मे अनि उसले कलाको आभास पायो र कलात्मकताको खोजी पनि ग¥यो भने कलासिर्जनमा संलग्न पनि भयो ।
कविता मानिसको जन्मभन्दा धेरैपछि सभ्यताको विकासक्रममा जन्मेको हो भने त्यसको पहिचान त झन् मान्छेले गरेको लामो सभ्यतायात्राका क्रममा पछि मात्र भएको हो । त्यसैले पहिले मान्छे नै जन्मेको हो र उसले नै कविता बनाएको हो । निश्चय नै के कुरा सत्य हो भने कविताको जन्म भएपछि मान्छेलाई असल मान्छे बनाउनका लागि कविताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले मान्छेलाई सच्चा मान्छे बन्नका लागि असल भावना र जीवनदायी विचारको कलात्मक सम्प्रेषण गरी सघाएको छ ।
आत्मकथनका क्रममा कवि विष्णु भण्डारीले सबैभन्दा बढी असन्तोष र आक्रोश समालोचक र समालाचनालाई लिएर व्यक्त गरेका छन् । उनी लेख्छन्— ‘कविले हजारौँ वर्षदेखि लेखेका कविताको सहारामा सिद्धान्त प्रतिपादन गर्नेहरुले जहाँकहीँ कवि र कवितालाई सत्तोेसराप गरेको भेटिन्छ । एउटा कविले बडो मिहिनेत र साधनाद्वारा तयार पारेको कविता सुनाउन पाएको हुन्न, बोक्रे समालोचकले भन्दिइहाल्छ यो कवितै भएन ! उससँग यो कविता किन भएन भन्ने र कविता हुनका लागि केके चाहिन्छ भन्नेबारे विश्वविद्यालयमा पढेको शास्त्रीय सिद्धान्तबाहेक अरु केही हुन्न ।’ यस आरोपमा एकातिर समालोचकप्रतिको आक्रोश र आफ्ना कविताको सही मूल्याङ्कन भएन भन्ने बोधको मानसिक पीडा छ भने अर्कातिर बोक्रे समालोचकप्रति व्यङ्ग्य पनि छ । तर समालोचकप्रतिको यस्तो वितृष्णा अलि बढी नै देखिन्छ । यस क्रममा समालोचकप्रति मात्र नभई कतै सिद्धान्तप्रति नै कविको वितृष्णा त छैन ? भन्ने प्रश्न उठ्छ ।
कवि स्वयं निश्चित सिद्धान्तको निर्देशनमा जीवनयात्रा गरिरहेका व्यक्ति भएका र कवितादि अभिव्यक्तिमा पनि प्रगतिवादी वैचारिक सिद्धान्तको आलोकमा रचनाकर्म गरिरहेका देखिनाले उनले सिद्धान्तप्रति नै वितृष्णा भएको हो कि भन्ने लाग्ने गरी निष्कर्ष दिनु वस्तुपरक हुन सक्दैन । आफू पनि कुनै सिद्धान्तबाट निर्देशित भई जीवनयात्रा गरिरहेका कविले सिद्धान्तको विरोध गर्नु विरोधाभास हुन जान्छ । कमजोर कविताको कटु आलोचना गर्ने समालोचकका बारेमा यसरी झन्डै गालीको तहमा एकाङ्गी लाग्ने खालको आलोचना गरिरहँदा ती कविले आफू कतिको वस्तुपरक भएर व्यक्त हुँदै छु भन्ने कुरामा अवश्य सचेत हुनुपर्छ जो आफूलाई प्रगतिवादी कवि र वस्तुपरक विचारका पक्षधर ठान्छन् । यहाँनिर विचारणीय कुरा के छ भने निरपेक्ष रुपमा कवि पनि महान् हुँदैन र निरपेक्ष रुपमा समालोचक पनि दुर्बल हुँदैन । यस्तो अभिव्यक्ति दिने व्यक्तिले कविताका सम्बन्धमा विचार व्यक्त गर्ने किसिमका कार्यक्रमहरु गर्नुगराउनु वा कवितामाथि विमर्श गराउनु वा कवितामाथि समालोचना भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु पनि गलत हुन्छ । यस्तो अभिव्यक्ति दिँदा कतै आफ्नै वस्तुवादी चेतना धर्मरायो कि भनेर आत्मसमीक्षा गर्नु जरूरी हुन्छ र सही समालोचनाले कविलाई निराश पार्नेभन्दा सशक्त, वस्तुपरक, सौन्दर्यमुखी, जीवनवादी र उच्च कलात्मकसमेत बन्न मार्गदर्शन गर्छ भन्ने कुरा पनि बिर्सनु हुँदैन ।
अर्को अभिव्यक्तिमा कवि भण्डारी लेख्छन्- ‘कविले धूर्त नेताको कपटी मुस्कानमा कविता देख्दैन ।’ यो धारणा कविताले संवहन गर्ने उत्पीडित वर्गीय पक्षधरता, न्यायमुखी समाजव्यवस्था र चारित्रिक सज्जनताको पक्षमा आएको छ तर यहाँनिर विचारणीय कुरा के छ भने आज कविले जुन पात्रहरुलाई लिएर उनीहरुको कडा आलोचना र उनीहरुप्रति तीव्र व्यङ्ग्य गर्दै कविता लेखेका छन् तथा आजका कवितामा जसलाई खलनायकका रुपमा बिम्बित गरेका छन्, इतिहास साक्षी छ— इतिहासमा आज आलोचना गरिएका यिनै धूर्त नेतालाई उनी र उनीजस्ता अन्य कविहरुले देवत्व प्रदान गरी आफ्ना आदर्श बनाएर कविता लेख्ने काम व्यापक मात्रा गरेकै हुन् । यस्तो किन हुन्छ ? किनभने हामी प्रायः तात्क्षणिकताको भावुक मूल्याङ्कनमा समर्पित भइदिन्छौँ । भावुकतामा बगेर हामी बिर्सन्छौँ कि इतिहासको यात्रा अत्यन्त घुमाउरो किसिमको हुन्छ ।
हिजोका महादुष्ट परिवर्तित भई आज महासज्जनमा बदलिन सक्छन् र हिजो महान् देखिएका पात्रहरु इतिहासको विकासक्रममा दुर्जनमा परिणत हुन सक्छन् । हामी सबै यस्ता कुराका प्रत्यक्ष साक्षी हौँ । त्यसैले भावुकतामा बगेर निरपेक्ष रुपमा कसैको देवत्वकरण गर्नु वा दानवत्वकरण गर्नु वस्तुवादी स्रष्टालाई सुहाउने काम होइन । फेरि अर्को प्रश्न पनि छ- विष्णु भण्डारी र उनीजस्ता सयौँ रचनाकारहरु पार्टीप्रतिबद्ध साहित्यका पक्षमा लेख्दै आइरहेका छन् । मार्क्सवाद, लेनिनवाद र प्रगतिवादी साहित्यिक विचारधाराको सैद्धान्तिक निर्देशनलाई मानेर नै उनीहरु पार्टीप्रतिबद्ध साहित्यलेखनमा लागेका देखिन्छन् । यदि माथि आज खलपात्रमा रुपान्तरित हुँदै गएका पात्र र पार्टीहरुको यति चर्को विरोध गर्ने हो भने तिनैको नेतृत्वमा सञ्चालित पार्टीमा बस्न मिल्छ कि मिल्दैन ? वा तिनै खलपात्रहरु आफ्नो सामु आउँदा उनीहरुलाई सम्मान दिन वा नमस्कार गर्न मिल्छ कि मिल्दैन ? हामी धेरै कविहरुले यसबारेमा गम्भीर विमर्श गर्नुपर्छ जुन विमर्श अन्तर्पार्टी सङ्घर्षलाई हतियार बनाएर नगर्ने प्रचलन छ । सच्चा प्रगतिवादी सर्जकका लागि यो गम्भीर र अनिवार्य रुपमा विचारणीय प्रश्न हो ।
अगिल्ला अनुच्छेदहरुमा कवितामाथि कडा समालोचना गर्ने समालोचकमाथि सिद्धान्तलाई आधार बनाएर कवितालाई राम्ररी नबुझी आलोचना गर्ने खराब व्यक्तिको आरोप लगाउने कवि भण्डारीले तलको एक अनुच्छेदमा यस्तो लेखेका छन्- ‘एउटा कविले घटित घटना र वस्तुयथार्थलाई चित्र र बिम्बका माध्यमले पुनर्सृजन गर्छ र कविता बन्छ ।’ यो कुरा आजभन्दा झन्डै तिन हजार वर्षपहिले ग्रिसेली साहित्यचिन्तक एरिस्टोटलले अनुकरणसिद्धान्त प्रस्तुत गर्दा भनिसकेका छन् । यहाँ यसरी कविताको सृजनप्रक्रियाबारे एरिस्टोटलको धारणाको पुनरावृत्ति गर्ने कविले माथि समालोचकमाथि लगाएको आरोपका बारेमा पुनर्विचार गर्नु जरूरी छ ।
माथि कविताको मूल्याङ्कनका कुरा गर्दा समालोचकसँग कविताको मूल्याङ्कनका लागि शास्त्रीय आधारबाहेक केही नभएकाले तिनीहरुले गर्ने मूल्याङ्कन सही नभएको तर्क अगाडि सारेर आलोचना समेत गरिएको छ तर यहाँ तिनै समालोचकका कवितासृजनासम्बन्धी मान्यतालाई स्वीकार गरिएको छ । यसबाट भनाइमा विरोधाभास देखा पर्छ । माथिको अभिव्यक्तिमा कविले सायद सूचनाज्ञान मात्र कविताको मूल्याङ्कनका लागि पर्याप्त छैन भन्ने विचार व्यक्त गर्न खोजेका हुन्, भाषाको संयोजन सायद नमिलेको हो । कविता कुनै पनि विषयको पुनर्सृजन हो भन्ने कुराचाहिँ सत्य नै हो । हिमालका बारेमा लेखिएको कविता छ भने त्यो कविता हिमालका विशेषतामा मानवका गुण आरोपित गरी प्रस्तुत गरिने वा गरिएको वस्तु र विषयको पुनर्सृजन नै हो किनभने हिमाल छँदै छ, मान्छेको वीरता छँदै छ, तिनका निजी विशेषता छँदै छन्, तिनै कुरालाई कविले कवितामा प्रकारान्तरले पुनर्सृजना गर्छ र भन्छ— हिमालजस्तो अटल विश्वास, हिमाल जस्तो अग्लो मान्छे, मुस्कुराएर हिमालझैँ, नियालिरहेछ हिमालले माथिबाट आदि आदि ।
तात्पर्य के हो भने समालोचक हावामा बोल्ने व्यक्ति होइन । कोही त्यसरी बोल्छ भने त्यो समालोचक नै होइन । एक शब्दमा अडिएर कवि विष्णुमाथि न्याय गर्न सकिन्छ, त्यो शब्द हो— उनले प्रयोग गरेको शब्द ‘बोक्रे’ । उनी सबै समालोचकको नभई बोक्रे समालोचकको मात्र आलोचना गरिरहेका छन् । यसै तात्पर्यमा मात्र कवि भण्डारीलाई आलोचनाबाट अलग राख्न सकिएला ।
कवि विष्णु भण्डारी मानवीय संवेदनाले संवेदित व्यक्ति हुन् भन्ने कुरा उनका कविताहरु पढ्दा पनि र उनको यो आत्मकथनबाट पनि थाहा पाइन्छ । उनी इतिहासका महान् पात्रहरुले बाटो बिराउँदै गएकोमा र आस्थाकेन्द्रको पतन हुँदै गएकोमा दुःखी देखिन्छन् । आत्मकथनमा यसै कुरालाई सङ्केत गर्दै उनी लेख्छन्— ‘म त्यतिखेर आहत भएँ जतिखेर आस्था र विश्वासका पात्रहरु काला पर्दाहरुले छोपिन थाले ।’
उनको यो कथन उनको आफ्नै पार्टी नेकपा माओवादीका नेताहरुको चारित्रिक पतन र आस्थाको ध्वंसीकरणमा तिनीहरुका गलत प्रवृत्तिको भूमिकामाथि केन्द्रित छ । हुन पनि व्यक्तिमान्छेको पतन र कुनै एकाध व्यक्तिको मृत्युभन्दा खतरनाक कुरा आस्थाको पतन र मृत्यु हुन्छ । मान्छे एउटा हुन्छ तर आस्था लाखौँकरोडौँ मान्छेमा हुन्छ । आस्थाको मृत्यु संस्कार, सांस्कृतिक रुपान्तरण, समाजपरिवर्तन आदिको बाटोमा सबैभन्दा ठुलो धक्का र बाधा हो । यतिखेर नेपाली राजनीति र समाजमा आदर्श चरित्र र आदर्श धारणाहरुको स्खलन र क्षयीकरण बढ्दै गएको र त्यसले आस्थावान् व्यक्तिहरुको मनमा मानसिक आघात परी सांस्कृतिक रुपान्तरणमा र मानिसको चेतनाको सकारात्मक विकासमा समेत बाधा परेको स्थिति छ ।
सायद वर्तमान अवधिमा नेपालको इतिहासमै आस्थाको पतन र मान्छेका विश्वासमाथिको आघात सबैभन्दा बढी भएको स्थिति छ । माओवादी पार्टी महान् जनयुद्धको जटिल र खतरनाक तर उत्साहपूर्ण र साहसी यात्राबाट आएको आस्थावान् कार्यकर्ताहरुको पार्टी थियो । यो पार्टी लक्ष्यप्राप्तिको ढोकानजिकै पुगेर पनि फेरि उल्टो दिशामा लागी गन्तव्यमा पुग्न नसकेको स्थिति आजको पीडादायी यथार्थ हो । यसबाट यस पार्टीका इमानदार कार्यकर्ताको मनमा ठुलो आघात पुगेको छ भने सर्वसाधारण जनताका आशा र सपनामा पनि तुसारापात भएको छ । नेपाली जनताले माओवादी नेतृत्वको यस्तो पतन र आस्थाभङ्गको यस्तो पीडा देख्नुभोग्नुपर्ला भन्ने त कल्पना पनि गरेका थिएनन् ।
कवि विष्णु भण्डारीको कवितासङ्ग्रह घाइते ह्विलचेयरभित्र पसी कृतिगत समीक्षा गर्नुभन्दा पहिले उनले प्रस्तुत गरेको आत्मकथनका बारेमा यो विमर्श गर्नुको अर्थ उनका कवितामा उनी कसरी व्यक्त भएका छन् भन्ने कुराको पूर्वानुमान पाठकलाई गराउनु पनि हो भने उनका काव्यिक प्रवृत्ति र वैचारिकताका बिचको अन्तर्सम्बन्धलाई सङ्केत गर्नु पनि हो । यस विमर्शबाट मात्रै पनि पाठकले कवि भण्डारीको विचारधारा र कविताप्रति उनमा रहेको अत्यधिक मोह तथा कवितालेखनको उनको उद्देश्यका बारेमा सामान्य अनुमान गर्न सक्छ ।
३. घाइते ह्विलचेयर (२०६९) को सामान्य परिचय
घाइते ह्विलचेयर प्रगतिशील कवि विष्णु भण्डारीको पछिल्लो कवितासङ्ग्रह हो । चार पृष्ठको लेखकीय मन्तव्य र दुई पृष्ठको विषयसूचीसहित कुल १३१ पृष्ठमा रचिएको यस कृतिमा कुल ४६ वटा कविताहरु सङ्कलित छन् । यी सबै कविताहरु मुक्त लयविधान गरी रचिएका छन् । मुक्त लय भए पनि कवितामा आवश्यक मानिने अन्तर्लयको आयोजनामा ध्यान दिइएकाले यी कविता विधागत मौलिकताको आधार प्राप्त गरेका र लयदार छन् । यी कविताहरु फुटकर आकारप्रकारका र भाषामा तत्सम तथा तद्भव शब्दको मिश्रण प्राप्त गरेका तर तत्सम शब्दप्रतिको मोहले बढी प्रभावित भई अर्थबोधमा जटिल प्रकृतिका बनेका छन् । यिनको रचनामा कविले शैलीनिर्माणको विशेष प्रयत्न गरेको देखिन्छ । यस क्रममा कविताको अन्तर्लयको आयोजनाका लागि गरिएको विशेष प्रयासका साथमा बिम्ब, प्रतीक र सादृश्यविधानमा पनि विशेष ध्यान दिइएको देखिन्छ । यी कविताहरु विषयचयन, अन्तर्वस्तु, भाषाशिल्प र सोद्देश्यताका आधारमा अध्ययन गर्न योग्य रहेका छन् ।
प्रगतिवादी कोणबाट कविता वा कलालाई हेर्ने र मूल्याङ्कन गर्ने काम तीनवटा पक्षहरुमा केन्द्रित भई गर्ने गरिन्छ- संज्ञानात्मक पक्ष, सौन्दर्यात्मक पक्ष र विचारधारात्मक पक्ष । यथार्थलाई कत्तिको सघन र कत्तिको सही रुपमा प्रस्तुत गरिएको छ भन्ने पक्ष संज्ञानात्मक पक्ष हो, यथार्थको प्रस्तुति विधागत मौलिकताका दृष्टिले कत्तिको शक्तिशाली छ र भाव तथा विचारलाई कत्तिको सुन्दर र कलात्मक बनाएर सम्प्रेषणीय पारिएको छ भन्ने पक्ष सौन्दर्यात्मक पक्ष हो भने यथार्थको प्रस्तुतिमा वर्गीय पक्षधरता कस्तो छ वा कुन विचारधारालाई कसरी अन्तर्भूत गरिएको छ भन्ने पक्ष विचारधारात्मक पक्ष हो । प्रगतिवादी समालोचनामा यी तिन कुरालाई समान महत्त्व दिएर विश्लेषण गरेपछि मात्र साहित्यकलाको समग्र मूल्याङ्कन गर्नु उचित मानिन्छ । यी तिन कुरा विषयचयन, भाषाशैली, दार्शनिकता, उद्देश्य आदिका रुपमा प्रतिबिम्बित भएका हुन्छन् ।
४. विषयचयन र अन्तर्वस्तुका दृष्टिले ‘घाइते ह्विलचेयर’
घाइते ह्विलचेयरका कविताहरु नेपाली समाज र नेपाली जीवनसँग घनिष्ठ रुपले गाँसिएका छन् र तिनमा पनि खासगरी नेपाली राजनीतिले उत्पन्न गरेका समसामयिक यथार्थसँग गाँसिएका छन् । नेपालमा २०५२ सालदेखि चलेको सशस्त्र सङ्घर्षको चाप र २०६२/०६३ सालमा भएको महान् जनआन्दोलनको परिणामपछि नेपाली राजनीतिमा देखा परेका विसङ्गत यथार्थ नै यी कविताको केन्द्रीय विषय बनेको देखिन्छ । क्रान्तिले ल्याएका सुन्दर सम्भावनाहरु तुहिँदै गएको दुखद अवस्था, आस्थाभङ्गको डरलाग्दो स्थिति, आदर्श स्वप्नहरु तुहिँदै गएको देखेर कार्यकर्ताहरुमा उत्पन्न भएको छटपटी, गौरवपूर्ण इतिहासको सम्झना र श्रीहीन वर्तमानको वेदना, राजनीतिक नेतृत्वको अदूरदर्शिता र आस्था गरिएका नायकहरुको चारित्रिक पतन, क्रान्तिमा घाइते भएकाहरुको दयनीय अवस्था र तिनको दुखेको मन, सहिदका सपनामाथि गरिएको चरम स्वार्थी राजनीति आदिलाई यी कविताले विषय बनाएका छन् ।
कविताको शीर्षकका रुपमा रहेको घाइते ह्विलचेयर कविताले इतिहासको बलिदान, वर्तमानको उपेक्षा र अपाङ्गपन बोकेर उपेक्षित जीवन बाँच्नुपर्दाको वेदना एकसाथ अभिव्यक्त गरेको छ भने जनयुद्धमा घाइते भएका र अहिले नारकीय जीवन बिताइरहेकाहरुको पीडादायी जीवन र जटिल मनोभावको उद्घाटन पनि गरेको छ । यथास्थितिवाद हावी भइरहेको अवस्था र उत्पीडित वर्गको नारकीय जीवनप्रतिको संवेदना, अमर त्यागी सहिदप्रतिको आस्था र सम्झना आदि यस कविताका विषय बनेका छन् र यसैको सेरोफेरोमा यस सङ्ग्रहका अधिकांश कविताहरु रचिएका छन् ।
घाइते ह्विलचेयरभित्रका कविताहरु उत्साह र वेदनाको चापमा परेर आएका छन् भने भोगाइ र अनुभूतिका प्रगाढ संवेदना बोकेर प्रकट भएका छन् । कविभित्र असन्तुष्टिको आगो सल्किएको छ भने आक्रोशको धुवाँ पुत्पुताइरहेको छ । यही सल्किएको आगो र पुत्पुताइरहेको धुवाँ यहाँका धेरैजसो कविताहरुमा देख्न सकिन्छ । कविका आँखा पीडानुभूतिमय आगोको रापले लाललाल र असन्तुष्टिमय धुवाँको पोलाइले आँसुमय बनेको स्थितिमा यी कविता लेखिएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ । अर्थात् कविभित्रका अनेक असन्तुष्टिले यहाँका कविताको रूप पाएका छन् जसमा उनका र उनीजस्ता हजारौँलाखौँ नेपालीका सपना ध्वस्त हुँदै गएको दृश्य प्रत्यक्ष देखिरहेको मानिसका आतेस, आक्रोश, असन्तुष्टि र हुँकार एकसाथ प्रकट भएको देखिन्छ ।
माटोप्रतिको माया, देशप्रतिको भक्ति, राष्ट्रियताप्रतिको अनुराग र अस्तित्वप्रतिको सतर्कता यहाँका कविताका मुख्य विशेषता हुन् । स्वीकारोक्ति लगायतका केही कवितामा वर्गीय उत्पीडन र सामन्तवादविरोधी चेतना व्यक्त गर्दै तथा जात, धर्म र वर्ग आदिका नाममा भएका अत्याचार र वर्गीय उत्पीडन जस्ता कुराको उद्घाटन गर्दै त्यस्ता नकारात्मकताका विरोधमा सन्देश प्रवाह गरिएको छ । वदिनी जस्ता केही कवितामा उत्पीडनमा परेका जाति, समुदाय, दलित आदिको पक्षमा भाव व्यक्त गरिएको छ भने मृत जीवन जस्ता केही कविता लाछी जीवनको आलोचना गर्नमा पनि अघि सरेका छन् । साथसाथै यी कविताका माध्यमबाट कवि भण्डारी टेक्ने भुइँ भासिँदै गएकोमा अत्यास र विस्मय प्रकट गर्दै अझै पनि ती आस्थालाई जोगाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछन् ।
घाइते ह्विलचेयरका लेखक जनयुद्ध लडेर आएको राजनीतिक पार्टीका कार्यकर्ता पनि भएकाले होला, यहाँका कविताहरुमा जनयुद्धको रन्को जताततै पाइन्छ । यस क्रममा कविले जनयुद्धको अवधिमा कार्यकर्तामा देखा परेको अद्भुत जोस र अदम्य साहसको स्मरण सगर्व गरेका छन् । आगो जस्ता केही कविताहरुमा क्रान्तिमाथि धोका भए पनि सच्चा क्रान्तिकारीहरु अझै बाँकी रहेको विश्वास व्यक्त गर्दै आफूले गरेको सङ्र्घको इतिहासप्रति उनले गर्व गरेका छन् । यी कविताहरु वास्तवमा जनयुद्धका पदचाप र उमङ्ग अनि सहिदहरुको बलिदान र त्याग सम्झँदै र त्यस सम्झनामा आनन्दित हुँदै तथा वर्तमानमा जनयुद्धका नायकहरुको कुरुपान्तरण हुँदै गएको र त्यसबाट दुखद परिणामहरु प्रकट हुँदै गएको अवस्था देखेर छट्पटिँदै लेखिएका देखिन्छन् ।
यहाँका अनेक कवितामा एकातिर बलिदानको महान् इतिहास सम्झँदै आनन्दको अनुभूति गरिएको छ भने अर्कातिर सपना तुहिँदै गएको देखेर भरङ्ग भरङ्ग भएको मनोदशालाई वाणी दिइएको छ । यहाँका केही कविताहरु आफ्नै आँखाअगाडि आफैले समर्पण र बलिदान गरेर प्राप्त गरेका महान् उपलब्धिहरु एकएक गरेर समाप्त हुँदै जान लागेको दृश्य विवश भएर हेरिरहेका आक्रोशित आँखाहरुका काव्यिक प्रतिबिम्ब पनि हुन् । अर्थात् यी कविता आशाको सङ्गीत र निराशाको उत्ताप मिसिएका अभिव्यक्ति हुन् ।
हिजो आफ्नो नेतृत्व र नेतालाई देवत्व प्रदान गर्ने वा तिनमा देवत्व देख्ने क्रान्तिकारी कविहरु आज तिनैमा दानवत्व देखिरहेका र तिनलाई दानवीय चरित्रका रुपमा विश्लेषण गरिरहेका देखिन्छन् । यी कविताहरु यसै बदलिँदो कवित्वको पछिल्लो उदाहरण हो । युगीन परिवर्तनका साथमा आस्थाकेन्द्र मानिएका व्यक्तित्वमा देखिएको चारित्रिक पतनलाई बोध गरेर आस्थावान् कार्यकर्ता–कविहरुमा आउन थालेको नैराश्य र तिनमा भइरहेको पछिल्लो मानसिक परिवर्तनका उदाहरणका रुपमा पनि यी कवितालाई लिन सकिन्छ । अनुत्तरित प्रश्न जस्ता केही कविताहरु यस कुराका उदाहरण हुन् । कविले बारम्बार कृतघ्न नेतृत्वप्रतिको घृणा चर्को रुपमा प्रकट गर्दै विगतका बलिदान र सुन्दर सपनाको लासमाथि बसेर भोगविलासमा डुबेका आजका नेताहरुको चारित्रिक पतनप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । बन्दुक लगायतका केही कविताहरु यस कुराका उदाहरण देखिन्छन् ।
घाइते ह्विलचेयरका कविताहरुको अन्तर्वस्तुमा राष्ट्रियताको सबल उपस्थिति पाइन्छ । यस्ता कवितामा प्रस्तुत राष्ट्रिय स्वाभिमान वीररसका साथ व्यक्त भएको छ भने केही कवितामा विद्रोही भावको अभिव्यक्ति पाइन्छ जुन भाव रौद्ररसका साथ प्रकट भएको छ । यसै गरी कविले वेदनाका भावलाई करूण तथा रौद्र रसमा एकासाथ घोलेर प्रस्तुत गरेका छन् । यस क्रममा विस्तारवादी तथा क्षेत्रीय हैकमवादी राष्ट्र भारतले नेपाल र नेपाली राष्ट्रियतामाथि गरेको हस्तक्षेपप्रतिको आक्रोश व्यक्त गर्दै राष्ट्रिय स्वाधीनताको पक्षपोषण गरिएको छ । यस्ता कवितामा नेपाली शासकको निरीहता, भारतसँग लल्याकलुलुक भई सम्झौता गर्ने नेपाली शासकको चरित्र र दासमनोवृत्तिप्रति कविले चरम असन्तुष्टि व्यक्त गरेका छन् । स्वाभिमान, श्रीअन्तु, नटेक काला मनहरुले लगायतका केही कवितामा यस प्रकारको अभिव्यक्ति पाइन्छ ।
इतिहास बारम्बार दोहोरिने गर्छ भन्ने मान्यता राख्ने कवि भएकाले कवि विष्णु भण्डारीले आफ्ना असन्तुष्टि व्यक्त गर्दागर्दै पुनः क्रान्तियात्रा गर्नुपर्ने विचार पनि प्रस्तुत गरेका छन् । उनका केही कविता निराशालाई आशामा बदल्न पुनः क्रान्तिको आवश्यकता देख्छन् । त्यसैले परिवर्तनका लागि फेरि महान् क्रान्तिको आवश्यकता रहेको धारणा व्यक्त गर्नुका साथै त्यस्तो क्रान्ति भविष्यमा फेरि हुने कुरामा उनी विश्वास व्यक्त गर्छन् र जनविरोधी कार्य नगर्न उनी शासकलाई चेतावनी दिन्छन् । उनका यस्ता भावविचारलाई प्रस्तुत गर्ने कविताहरुमा विद्रोही मनहरु, पानी, नालिस, विखण्डित सपनाहरु लगायतका कविताहरु मुख्य हुन् ।
विषयवस्तुको प्रस्तुति र तिनमा देखिने अन्तर्वस्तुको अभिव्यक्तिका दृष्टिले घाइते ह्विलचेयरका कविताहरुलाई हेर्दा यिनमा भाव र विचारको बारम्बार पुनरावृत्ति भएको भेटिन्छ । पुनरावृत्तिका दुई रुप हुने गर्छन्- (१) असचेत रुपमा उनै कुरा बारम्बार व्यक्त गरिनु र (२) सचेत रुपमा उनै भावको नवनव रणनका साथ सूक्ष्म अनुभूतिको विस्तारित सरणिलाई व्यक्त गरिनु ।
पहिलो प्रकारको पुनरावृत्ति आलोच्य दोष हो जसले भावकले गर्ने काव्यास्वादनमा एकरुपता र एकरसता ल्याई साधारणीकरणमा बाधा पार्छ भने दोस्रो प्रकारको पुनरावृत्तिमा नित्यनवीनताको ध्वनन सुनिन्छ । यो एकप्रकारको पानीको भुल्को वा भुमरीको पानी जस्तो हो जो हेर्दा उही र उस्तै जस्तो लाग्छ तर प्रत्येक पलमा त्यसमा भुल्कने र भुमरी परेर घुम्ने पानी नयाँ हुन्छ । यस दृष्टिले प्रस्तुत कवितासङ्ग्रहमा पहिलो खालको पुनरावृत्तिको आधिक्य छ जसले गर्दा पाठकलाई वेलावेलामा एकरसताको अनुभूति हुन्छ र काव्यास्वादनमा केही बाधा पर्छ । केही कवितामा भने दोस्रो प्रकारको पुनरावृत्ति पनि रहेको छ । उही विषय बारम्बार आएकाले पनि भावको अत्यधिक पुनरावृत्ति देखा परेको हो । यस्तो पुनरावृत्तिले कवितासङ्ग्रहलाई सापेक्षतामा आलोच्य तुल्याएको छ । सामयिकताको सघन प्रस्तुति भने यी कविताको प्रशंस्य पक्ष हो । जनता, देश, नेपाली समाज, बहुसङ्ख्यक जनताको पक्षमा वर्गीय आवाज र उत्पीडनकारी व्यवस्थाविरूद्धको सचेत जागरूकता आदि यस कवितासङ्ग्रहका अन्तर्वस्तुगत उपलब्धि देखिन्छन् ।
५. भाषाशैलीका दृष्टिले ‘घाइते ह्विलचेयर’
कवि विष्णु भण्डारीले यस कवितासङ्ग्रहका कविता रचना गर्दा आफ्नो मौलिक पहिचान बनोस् भन्ने उद्देश्यले शैलीनिर्माणको विशेष प्रयत्न गरेको देखिन्छ । यस क्रममा उनी बिम्बप्रतीकको उपयोग विशेष रुपमा गर्न सकिन्छ कि भनेर लागिपरेका छन् । शैलीनिर्माणका लागि गरिएको प्रयत्न बाटो, आगोको रङ, अन्तिम बन्दरगाह, सडकपेटीको एकान्तमा, विखण्डित सपनाहरु. जस्ता अनेक कवितामा गरिएको पाइन्छ । यी कवितामा कवि भण्डारीले अन्र्तप्रवाही लयधाराको विशेष योजना गरेका छन् भने अनुच्छेदहरुको अन्त्यमा समान शिल्पको बिसौनी तयार पार्ने प्रयास पनि गरेका छन् । गद्यलयात्मक कविता भएकाले अन्तर्लयको आरोह–अवरोहमा एक मौलिक निनाद होस् भन्ने आशयले शैलीगत नवीनताको निर्वाह गर्न खोजिएको छ र यसका लागि कविले प्रशस्त परिश्रम गरेको देखिन्छ ।
भाषामा पनि कविले तत्सम शब्दद्वारा लालित्य ल्याउने सप्रयासिक योजना गरेको पाइन्छ । यस क्रममा प्रचलित तत्सम शब्दहरुकै हाराहारीमा अप्रचलित तत्सम शब्दभण्डारको उपयोग गरिएको पाइन्छ जसले गर्दा भाव तथा विचारको सम्प्रेषणमा केही असहजता उत्पन्न हुन गएको छ । भाषाको कुरा गर्दा व्याकरणिक मानक भाषाको कुरा पनि गर्नुपर्ने हुन्छ । भाषा निरन्तर परिवर्तनशील कुरा हो । वक्ताहरुको प्रयोगगत नवीनता र मानकीकरणको प्रयत्नगत नियन्त्रणका बिचमा बारम्बार द्वन्द्व हुने गर्छ भने समय र वक्ताको माग र आवश्यकताअनुसार वेलावेलामा भाषाको मानकीकरणका नयाँ आयामहरु आउने गर्छन् । नेपाली भाषाको कुरा गर्दा यस्तो स्थिति बारम्बार आइरहेको पाइन्छ । त्यसैले नेपाली भाषाको प्रयोक्ता र त्यसमा पनि सचेत प्रयोक्ताले यसबारेमा सदैव सचेतता अँगाली अद्यावधिक भइरहनुपर्छ । यस दृष्टिले प्रस्तुत कवितासङ्ग्रहका कवि सतर्क नभएको पाइन्छ । आगन्तुक शब्दमा संस्कृतको पञ्चम वर्णको नियम नलाग्ने कुरा, नेपाली क्रियामा २९ वटा वर्णको मात्र प्रयोग हुने कुरा आदिमा उनको ध्यान जान नसकेको पाइन्छ । त्यसैले अनेक कवितामा गुञ्जँदै छ, झण्डा, झुण्डिएर जस्ता अशुद्ध भाषिक रुपको प्रयोग गरिएको छ ।
कविताको शैलीका कुरा गर्दा आलङ्कारिक भाषाशैलीको कुरा नै मुख्य भएर आउँछ । आलङ्कारिक भाषाशैलीका लागि बिम्ब–प्रतीकको वा उपमा–रुपक आदिको सादृश्यविधान महत्त्वपूर्ण हुन्छ । यस दृष्टिले हेर्दा घाइते ह्विलचेयरका कविताहरु बिम्बमय र प्रतीकमय नै छन् । कविमा बढीभन्दा बढी बिम्बप्रतीक प्रयोग गर्ने रहर देखिन्छ । कुनै कुनै कवितामा त हरफैपिच्छे बिम्बप्रतीक वा सादृश्यविधान गर्ने प्रयास गरिएको छ । कविता एकप्रकारले बिम्बात्मक भाषामा प्रस्तुत गरिने अभिव्यक्ति पनि भएकाले यसप्रकारको प्रयोग उचित नै मानिन्छ । यस सङ्ग्रहका प्रायः सबैजसो कविताहरुमा बिम्ब र प्रतीक अथवा सादृश्यताको विधान पाइन्छ । तलका एकाध उदाहरणबाट पनि यी कवितामा प्रयोग गरिएका बिम्बप्रतीक र सादृश्यताको स्वरुपलाई बुझ्न सकिन्छ
रजस्वलापछिकी यौवनाझैँ फक्रिएको मृत्तिकामा (दिग्भ्रमित बटुवा, पृ. १६)
सायद पसिनाको तिखो गन्ध
चिल्ला कारहरुको झ्याल छेडेर भित्र पस्यो (चप्पल लगाएको मान्छे, पृ. २३)
जल्दाजल्दै उछिट्टिएको लासजस्तो (शान्ति पृ .४६)
शीतलहर बोकेको सुनसान रात
ओतहीन बच्चाका कलेटी परेका ओठहरूमा (डुडेझारीको कर्मवीर, पृ. ५३)
कवि विष्णु भण्डारीले यहाँका कवितामा विभिन्न क्षेत्रसँग सम्बन्धित बिम्बहरुको उपयोग गरी आफ्नो कथ्यलाई जीवन्त बनाउने उद्योग गरेका छन् । भाव र विचारसँग मेल खाने खालका बिम्ब खोज्ने क्रममा यिनले इतिहास, पुराण, प्रकृति, समाज आदिबाट प्रायः प्रचलित बिम्बहरु लिएको पाइन्छ । निर्दयी तानाशाह हिटलर, महत्त्वाकाङ्क्षी सम्राट सिकन्दर, देशभक्त प्रशासक दामोदर पाण्डे, विलासी राजा जयप्रकाश मल्ल, महत्त्वाकाङ्क्षी तानाशाह जङ्गबहादुर, धोकेबाज देशद्रोही रामदास लगायत किनलक, बसु गुरूङ आदि अनेक बिम्बहरु इतिहासबाट लिइएका पाइन्छन् भने पहाड, नदी, हिमाल, चट्टान, फुल, समुद्र, वृक्ष आदि बिम्बहरु प्रकृतिबाट लिइएका पाइन्छन् । यस्तै संस्कृति, जाति, धर्म, लिङ्ग, सडक, महल, सडकपेटी, बन्दुक, नोकर, मालिक, श्रमजीवी, नगरबधू, जुलुस आदि बिम्बहरु समाजबाट लिइएका देखिन्छन् भने नारद, रावण, यदुवंशी, राम, कुम्भकर्ण, देव, विष्णु, हनुमान, अभिमन्यु, आदि बिम्बहरु पुराणबाट लिइएका देखिन्छन् ।
यसरी कथ्यलाई मूर्तता दिन, भावलाई सघन पार्न, विचारलाई तीक्ष्ण तुल्याउन र सन्देशलाई सम्प्रेषणीय बनाउन कविले समाज, प्रकृति, इतिहास, पुराण आदिबाट सदृश बिम्बप्रतीक र सादृश्यताको सहारा लिएको देखिन्छ । यस्तो प्रयोगको आधिक्य भएकाले यी कविता बिम्बमय बनेका छन् । तर यी बिम्बहरुमा नवीनताभन्दा प्रचलितताको पुनरावृत्ति बढी छ भने बिम्बप्रतिको अत्यधिक मोहले कतिपय ठाउँमा भाव र विचारले अमूर्तताको सिकार हुनुपरेको स्थिति पनि पाइन्छ ।
६. थप टिप्पणी
प्रायः हामी के देख्छौँ भने कविहरु आफ्नो कविताको प्रशंसा आफै गरिरहेका हुन्छन् र अरुबाट प्रशंसा खोजिरहेका हुन्छन् । तर कविले आफै आफ्नो कविता राम्रो वा सुन्दर ठानेर पुग्दैन । कविताको सार्थकता भावकलाई राम्रो र सुन्दर लाग्नुमा र त्यसले दिने सकारात्मक सन्देश पाठकले ग्रहण गरी उत्प्रेरित हुनुमा हुन्छ । कविता पढ्दा वा सुन्दा भावकलाई एक अनौठो अनुभूतिले छोएर झङ्कृत पारोस्, सम्भव भए त्यसले पाठकको मनमा भावबिम्बको रुप धारण गरोस्, अनिमात्र कविता सफल हुन्छ । तात्पर्य के हो भने कविताको मूल्य आफूलाई राम्रो लाग्नुमा मात्र सीमित हुँदैन यद्यपि आफूलाई राम्रो लाग्नु कविताको पहिलो सर्त अवश्य हो । धेरैजसो व्यक्तिहरु समालोचकको प्रशंसामा आफ्नो वा अर्काको कविताको मूल्य खोजिरहेका हुन्छन् भने कतिपय कविहरु कवितासिद्धान्तसँग कत्तिको मेल खान्छ वा खाँदैन भनेर कविताको मूल्य खोजिरहेका हुन्छन् तर कविताको वास्तविक मूल्य कविताबाट भावकमा पर्ने प्रभावमा निर्भर हुन्छ ।
कविताको पूर्ण मूल्याङ्कन शास्त्रका सूत्रका आधारमा मात्र गरेर मात्र पनि पुग्दैन र समालोचकले गरेको टिप्पणीले मात्र पनि पुग्दैन । यद्यपि वाद वा सिद्धान्त धेरै गम्भीर अध्ययन, मनन, परीक्षण गरी साक्ष्यद्वारा सिद्ध गरिएका मान्यता हुन् त्यसैले तिनका आधारमा नै कविताको मूल्याङ्न हुनु उचित हुन्छ तर कुन वादले के भन्छ भन्ने कुरा बौद्धिक विमर्शको विषय हो, त्यसले मात्र कविताको सम्पूर्ण बोध गर्न सकिन्न । अर्को महत्त्वको कुरा के हो भने कविताको मूल्य पाठकको ग्रहणशक्तिमा समेत निर्भर गर्छ । पाठकले पनि कवितालाई आफ्ना संस्कार, अध्ययन, अनुभव, रूचि र उपयोगिताका सापेक्षतामा ग्रहण गर्छ र त्यसै सापेक्षतामा उसका लागि कविताको मूल्य निर्भर हुन्छ । यसको अर्थ के पनि हो भने कुनै पनि कविता सबैका लागि समान मूल्यको हुँदैन; पाठकपिच्छे फरक मूल्यको हुन्छ । मुख्य कुरा कुन वादले के भन्छ भन्ने होइन । कविताले पाठकलाई कुन दिशामा तान्छ र कत्तिको गहिरो प्रभाव पार्छ अनि त्यस प्रभावको परिणाम के हुन्छ वा कस्तो हुन सक्छ भन्ने कुरा नै मुख्य कुरा हो ।
तर यहाँनिर कवि विष्णु भण्डारीले आत्मकथनका रुपमा गरेको समालोचकको आलोचनालाई पुनः सम्झेर विमर्श गर्नु पनि आवश्यक छ । असल र जिम्मेवार कविले समालोचकको आलोचनामा समय खेर फाल्नु उचित हुँदैन । उसले आफ्नो सृजनकर्ममै आफूलाई समर्पित गर्नु उचित हुन्छ । फेरि समालोचक कविताका दुस्मन नभएर मित्र नै हुन् । समालोचना कविका निम्ति झन् सशक्त कवि बन्ने मार्गदर्शन हो । असल लोहारले फलामलाई तताएर पिटीपिटी सुन्दर र लक्ष्यित आकृतिमा ल्याउन भूमिका खेलेजस्तै समालोचनाले कविलाई सुन्दर कृति रच्न मार्गदर्शन गराउँछ । फलामलाई तताउँदै, ठोक्दै, पिट्दै र औजारको आकृतिमा ल्याउँदै गर्ने लोहारले जस्तै असल समालोचकले कवि र उसका सिर्जनालाई आवश्यकताअनुरुप आलोचना, प्रशंसा र सुझावका माध्यमबाट सुन्दर र धारिलो तथा जीवनोपयोगी बन्नका लागि आधार प्रदान गर्छ । त्यसैले कविले समालोचकसँग डराउनु पनि पर्दैन, आत्तिनु पनि हुँदैन । निश्चय नै ठोक्दा वा पिट्दा फलाम कुच्चिएझैँ कलिलो वा कच्चा कविको मानसिकतामा केही असर पर्छ तर त्यस असरलाई कलामा ढाल्न सकियो भने त्यही कला धारिलो औजार बनी लक्ष्यसम्म पुग्नका लागि बलियो सहयोगी बन्न सक्छ ।
भूमिकामा कविले जसरी समालोचकप्रति बढी नै आक्रोश व्यक्त गरेका छन् त्यो एकाध समालोचकका कुरासँग मात्र सम्बन्ध राख्छ, त्यसले सच्चा र असल समालोचकलाई सम्बोधन गर्दैन । कविले सम्बोधन गर्नै छ भने असल समालोचकलाई सम्बोधन गर्नु उचित हुन्छ । वस्तुपरक आलोचना सहन नसक्ने कविले सुन्दर कलाको लामो यात्रा गर्नै सक्दैन भन्ने कुरामा स्पष्ट हुनु कविका लागि आवश्यक छ ।
कवि विष्णु भण्डारीको यस कवितासङ्ग्रहको भूमिकामा उनीबाट समालोचकप्रति व्यक्त गरिएका विचारलाई लिएर यसरी विमर्श गरिरहँदा एउटा अर्को कुरामा पनि ध्यान दिनु जरूरी छ । त्यो के हो भने समालोचनाशास्त्रका आधारमा मात्र कविताको मूल्याङ्कन गर्ने तर बोधको प्रक्रियाबाट नगुज्रेका समालोचकहरुले कविताको सही समालोचना गर्न सक्दैनन् भन्ने कुरा पनि निश्चित छ । जुन समालोचकसँग सृजनप्रक्रियाका क्षणमा कविभित्र उत्पन्न हुने भावको रणन र मानसिक सङ्घर्ष अथवा कविताको प्रसवावस्थाका क्षणको उल्लास र पीडाको बोध हुँदैन ती समालोचकले कवितालाई सही मानेमा आत्मसात् गर्दैनन् । तिनीहरुको सामथ्र्य शास्त्रज्ञानमा मात्र सीमित हुन्छ; बोधको तहमा हुँदैन । जसले बोधको तहमा गएर कवितालाई आत्मसात् गर्न सक्दैन त्यसले सूचना र शास्त्रज्ञानको तहबाट मात्र कविताको मूल्याङ्कन गर्छ । यस्तो स्थितिमा ऊ विष्णु ज्ञवालीले भनेझैँ बोक्रे समालोचक पनि बन्न सक्छ ।
शास्त्रज्ञानका साथै सृजनप्रक्रियाको प्रत्यक्ष बोधसमेत गर्ने समालोचक र बोधविना शास्त्रज्ञानका आधारमा मात्र समालोचना गर्ने समालोचकका बिचको भिन्नता बुझ्न सुत्केरी हुँदा नारीले गर्ने पीडानुभूति र मूल्याङ्न तथा ती नारीलाई देखेर पीडाबोध गर्ने पुरूषलाई उदाहरण बनाउन सकिन्छ । पत्नी सुत्केरी हुन लाग्दा उसको शरीरका नसानसा तन्किएर अनि मांसपेसीहरु च्यातिएझैँ भएर उसले सहनुपर्ने असह्य पीडा अनि सन्तान जन्मिँदै छ भन्ने खुसी र जन्मिएपछि प्राप्त गर्दाको राहतको अनौठो र अद्भुत अनुभूतिसँग पुरूष परिचित हुन सक्दैन किनकि उसले सुत्केरी हुन लागेकी पत्नीको शारीरिक पीडा र छटपटी देखेर पीडानुभूति गर्छ र उसका आँखामा पनि आँसु त आउँछन् तर उसको पीडा मानसिक मात्र हुन्छ, पत्नीले गरेको शारीरिक पीडानुभूति उसले गर्नै पाउन्न । ठिक यही कुरा सृजनाबोध नगरेको तर शास्त्रज्ञान भएको समालोचकको समालोचनामा लागु हुन्छ ।
विष्णु भण्डारीको आलोचना यस्ता समालोचकका सन्दर्भमा केही हदसम्म सही देखिन्छ । वास्तवमा कविताको गर्भाधानदेखि, मानसिक बिम्बको निर्माणसम्मको यात्रा कविको नितान्त निजी वैयक्तिक कवितायात्रा हुने गर्छ । मानसिक बिम्बको स्थापनादेखि कविताको जन्मसम्मको यात्रा बोधको तहमा बढी बुझिन्छ भने जन्मिसकेको कवितारुपी सिर्जनालाई चाहिँ बाहिरी शास्त्रीय शास्त्रज्ञान र सूचनाज्ञानबाट राम्ररी नै बुझ्न सकिन्छ । त्यसपछि कविताले पाठकमनमा पस्नेसम्मको यात्रा गर्छ र त्यहाँ पुगेर मात्र कविताको मूल्य उच्च वा निम्न, सकारात्मक वा नकारात्मक हुन्छ, त्यो पनि सापेक्षित रुपमा मात्र ।
७. निष्कर्ष
वास्तवमा घाइते ह्विलचेयरमा रहेका कवि विष्णु भण्डारीका यी पछिल्ला कविता त्याग, स्वाभिमान र अभिमानलाई विषय बनाइएका कविता हुन् । यी बलिदान र अपमानका कविता हुन्, निराशा र आशाका कविता हुन्, चेतावनी र वेदनाका कविता हुन् । यी कविता साम्राज्यवाद तथा विस्तारवादको विरूद्धमा तथा उत्पीडित वर्गीय जीवनको मुक्तिका पक्षमा लेखिएका आस्थाका कविता पनि हुन् भने आस्थाकेन्द्रहरु भत्केको देखी कविमनमा उत्पन्न भएका नैराश्य, कुण्ठा, विद्रोह, असन्तुष्टि र आक्रोशका कविता पनि हुन् ।
जनयुद्धका क्रममा आफ्नै अगाडि मृत्युको भयावह नाच देखेका र मृत्यु अट्टहास गर्दै आफूतिर आइरहेको र उसले योद्धाहरुलाई वीभत्स तरिकाले खाइरहेको देखेका कविका यी कविता सारतः आशाले गरिएको बलिदान र निराशाले भरिएको वर्तमानको अभिव्यक्ति दिने कविता हुन् । यिनले समसामयिक चेतनालाई संवहन गरेका छन् र विजयी क्रान्तिपुरूषका घाइते अनुभूतिलाई वाणी दिएका छन् ।
प्रतिनिधिमूलकताका दृष्टिले हेर्दा यी कविताले अँध्यारा पक्षहरुमाथि बढी प्रकाश पारेका छन् र आशालाई भन्दा निराशालाई नै बढी मात्रामा प्रस्तुत गरेका छन् । यिनले समसामयिक यथार्थका सकारात्मक तथा नकारात्मक पाटामध्ये नकारात्मक पाटालाई बढी महत्त्वका साथ प्रस्तुत गरेका छन् । वर्तमान समयमा आशालाग्ने किसिमका भन्दा निराशाजनक दृश्यपरिदृश्य बढी भएकाले, यथार्थका पाटाहरुमा पनि नैराश्यका पक्षहरु नै बढी भएकाले, नेतृत्वको चरित्रमा पनि निराशाजनक पक्षहरु बढी पाइएकाले तथा सामाजिक यथार्थका अधिक पाटाहरु निराशामय हुनाले नै सायद कविले तिनै पक्षको अभिव्यक्ति बढी मात्रामा दिएका हुनन् ।
तर के कुरा पनि उत्तिकै सत्य हो भने समाज सदैव सम्भावनाहरुले युक्त हुन्छ र समाजमा आशालाग्दा कुरा पनि प्रशस्त हुने गर्छन्, जस्तो कि स्वयं कवि भण्डारी देश र जनताप्रति चिन्तित छन्, नेपाली युवावर्ग समाजको रुपान्तरण हुन नसकेकोमा चिन्तित छ र नेपाली समाज सकारात्मक परिवर्तनका लागि छट्पटिएको छ । यद्यपि केही कविताले आशाका, भावी क्रान्तिका र सुनौलो भविष्यको कामनाका अभिव्यक्ति पनि दिएका छन् तर नकारात्मक अनुभूतिका तुलनामा तिनको उपस्थिति त्यति सबल र तिनको परिमाणमा पनि आधिक्य छैन ।
कवि विष्णु भण्डारीका यी कवितामा भावको मात्रा प्रशस्त छ तर परिपाकको अभाव पनि उत्तिकै छ किनभने जुन भावलाई उनी पक्रन्छन् त्यसलाई विस्तारित गर्दै त जान्छन् तर टुङ्ग्याउनी त्यही मात्रामा सशक्त बन्दैन । विचारका कुरा गर्दा पनि जुन विचारलाई उनी उठाउँछन् त्यसलाई उत्कर्षमा पु¥याउन नपाउँदै तिनको समापन भइसक्छ । यसबाट अभिव्यक्तिले परिपाक पाउन पाउन खोजेको स्थिति बनेको त छ तर परिपाक पाइसकेको स्थिति बन्न सकेको छैन । यस्तै वैचारिकताका कुरा गर्दा धेरै कवितामा विरोधाभास पाइन्छ । खास गरी प्रगतिवादी कवितायात्रा गरिरहेका कविले व्यष्टिलाई भन्दा समष्टिलाई महत्त्व दिई कलासौन्दर्यको सृजना गर्छन् ।
यस कोणबाट हेर्दा यहाँका कविताहरुले व्यष्टि र समष्टि दुवैको अभिव्यक्ति दिएका छन् तर समष्टिका तुलनामा व्यष्टिको मात्रा अधिक छ । यस सन्दर्भमा के कुरा बढी महत्त्वको हुन्छ भने व्यक्तिका लागि व्यक्ति धेरै ठुलो हो तर समाजरुपान्तरणका सन्दर्भमा व्यक्ति ठुलो होइन, बरू विचार ठुलो हो । विचारले समष्टिलाई सकारात्मक रुपान्तरणतर्फ उत्प्रेरित गर्न सहयोग पु¥याउँछ । व्यक्ति आउँछन् र जान्छन् तर विचार रहिरहन्छ र यसले एक सशक्त प्रवाहका रुपमा यात्रा गरिरहन्छ । यस कृतिमा प्रस्तुत गरिएका विचार जुन स्पष्ट पनि छन् तिनको जीवन पनि कुनै एक व्यक्तिको जीवनभन्दा धेरै लामो रहने निश्चित छ ।
घाइते ह्विलचेयरभित्रका कविताले भन्न खोजेका कुरा राम्रा छन् र कविले तिनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न उपकरणहरु प्रयोग गरेका छन् जसमा बिम्बप्रतीकहरुको गतिलो उपस्थिति छ तर बिम्ब आफैमा कविताको साध्य नभई साधन हो । बिम्ब अमूर्त भावको मूर्तीकरणका लागि हो, बिम्बका लागि होइन । यस कुराको हेक्का भएका कवि भएर पनि विष्णु भण्डारी यहाँका कवितामा आवश्यकताभन्दा बढी बिम्बाकर्षित भएका देखिन्छन् । तिनले कवितालाई कलात्मक बनाउँदाबनाउँदै साथमा अलि अमूर्त अमूर्त पनि बनाएका छन् । बिम्बको उपस्थिति भावको अमूर्तताबाट बच्ने गरी हुनुपर्छ नत्र कथ्यले सही तात्पर्यमा सम्प्रेषण पाउन्न । केहीकेही बिम्बहरु स्वतः आएका नभई जबर्जस्ती ल्याइएका जस्ता छन् जसले कवितालाई केही कृत्रिम बनाएको स्थिति छ भने स्पष्ट सन्देश दिनमा कहीँकहीँ चुकेको पनि छ ।
वैचारिकताका कोणबाट हेर्दा यी कविता अनुभवको नकारात्मकता, विचारको अग्रगामिता र आदर्शको पतनका त्रिकोणात्मक चेपाइमा परेर सङ्क्रमणको स्थिति भोगिरहेका कविका अभिव्यक्ति हुन् । एकातिर नेतृत्वको निराशाजनक पतन देखेर आहत कवि ती नेतृत्वप्रति वितृष्णाका भाव व्यक्त गर्छ, अर्कातिर अर्को गन्तव्यको मियो नभेटेर त्यही पतित नेतृत्वसँग बस्न विवश देखिन्छ । यसरी नेतृत्वप्रतिको वितृष्णा र त्यस नेतृत्वलाई त्याग्न नसकेको अवस्थाबिचको कविमानसिकताले यी कवितामा वैचारिक स्थान पाएको देखिन्छ । यसले गर्दा वैचारिकतामा पनि केही अलमलको स्थिति छ । पार्टीसाहित्यका कोणबाट हेर्ने हो भने यी कवितामा एकप्रकारको अराजकता पनि छ भन्न सकिन्छ ।
तर एउटा कुरा स्पष्ट छ- यी कवितामा पनि कवि विष्णु भण्डारीको नियत भने सफा र स्पष्ट छ । उनी कुरुपताविरूद्धको सिर्जनयात्रामै छन् र समाजको सकारात्मक परिवर्तनका लागि जिम्मेवारीबोध गरेरै कविता लेखिरहेका छन् । उनी यो समाजलाई प्रगतिशील दिशामा डो¥याउन चाहन्छन् र आफ्ना कवितालाई त्यसनिम्ति सहयोगी बनाउन चाहन्छन् । उनी कर्मको क्रान्तिकारितालाई शब्दको क्रान्तिकारिताबाट पुष्टि गर्न चाहन्छन् भने शब्दको क्रान्तिकारितालाई कर्मको क्रान्तिकारिताले पुष्टि गर्न चाहन्छन् । कवितालाई कविताकै रुपमा प्रस्तुत गर्नुपर्छ भन्ने सही सोच उनको देखिन्छ । यसै सोचका कारण नै उनी कथ्यलाई बढीभन्दा बढी बिम्ब र प्रतीकका माध्यमले प्रस्तुत गर्ने प्रयत्न गर्छन् ।
उनको विगतको कवित्वलाई हेर्ने हो र वर्तमानका सन्दर्भमा भन्ने हो भने उनलाई सबैभन्दा बढी चर्चामा ल्याउने कृति उत्सर्ग हो । तर यस महाकाव्यको कवित्वलाई घाइते ह्विलचेयरका कवितासँग दाँजी हेर्ने हो भने उत्सर्ग महाकाव्यको भन्दा यस कवितासङ्ग्रहका कविताहरुको कवित्व उच्च छ । यस अर्थमा उनी कविताको विधागत मौलिकताप्रति सचेत हुन थालेका छन् भन्न सकिन्छ । कविताको उच्चताका लागि यो राम्रो कुरा हो तर कविताको कला पनि कविताका लागि नभई जीवनका लागि भएकाले विचारको प्रक्षेपण गर्दा तीक्ष्णताको आवश्यकता र दिशागत स्पष्टताको मागलाई बिर्सनु भने अनुचित नै हुने छ ।
अन्त्यमा, नेपाली कविताको प्रगतिवादी फाँटमा विमर्शका लागि समेत आधार दिने कवितासङ्ग्रह प्रस्तुत गर्न सकेकोमा कविलाई साधुवाद दिन सकिन्छ । यस कवितामाथि भए गरिएका विमर्शलाई गम्भीरतापूर्वक लिएर कविले आगामी कवितालेखनमा सतर्कता अँगाल्नु उचित हुने छ । सतर्कता विचारको विरोधाभास नहोओस् र बिम्बका लागि बिम्बादिको प्रयोग नगरी कथ्यको मूर्तताका लागि सहज र नवीन बिम्बको प्रयोग हुन सकोस् भन्ने कुरामा ध्यान जान सकेमा कवि भण्डारीको कवित्वले अझ उच्चता र अझ सार्थकता प्राप्त गर्न सक्ने निश्चित छ ।
(अभिव्यक्ति : वर्षः ४३, पूर्णाङ्कः १६४, फागुन–चैत, २०६९, पृ. ३३)