प्रश्नको क्याराभानमा बिम्बको जुलुस

मुक्तिनाथ घिमिरे

(क) प्रवेश : कविता लेखनको पक्ष र विपक्षमा जतिसुकै डिस्कोर्स गरिएको भए पनि सबैभन्दा बढी लेखिने विधाको रूपमा कविताले ओगटेको अग्रस्थान र यसको लोकप्रियता नेपालको सन्दर्भमा मुखर रहेको छ । पश्चिमी चिन्तक प्लेटो, स्टेफन गोसोन, टमस लभ पिकक, जेरेमी बेन्थम लगायतले कविता सामाजिक रूपमा हानिकारक मानेर गरेको दुत्कार्ने प्रयत्नलाई प्रतिवाद गर्दै होर्यास, सर फिलिप सिड्नी, अरस्तु, पि.बि.शेली, जे.एस. मिल, राल्फ वाल्डो इमर्सन, म्याथु आर्नोल्ड लगायतले कविताका पक्षमा आवाज बुलन्द मात्र गरेनन् कविता विधा नै सिर्जनाको सुन्दर माध्यम हो भन्ने तर्कसमेत राखे ।

कविताप्रतिको स्रष्टाको आकर्षण सर्बियाली कवि निकोला किटानोभिक, अमेरिकी अधुनातन कवि रबर्ट ल्याक्स मात्र होइन नेपाली सन्दर्भमा भूपि शेरचन, गोपाल प्रसाद रिमाल, पारिजात, पूर्णविराम र नयाँ पुस्ताका धेरै स्रष्टाहरूका सबल रचना कविता कृति हुनुले पनि प्रमाणित गर्दछ । साहित्यमा कविहरूको यो हस्तक्षेपकारी आगमन उत्साहजनक छ ।

नेपाली कवितालाई जनतासँग जोडेर जनपक्षीय आवाज कवितामा प्रस्तुत गर्ने कविहरूको जमात वि.सं. २०६/६३ को जनआन्दोलनपछि ह्वात्तै बढेको छ । आफ्नो प्रगतिवादी विचारधाराको आलोकमा नेपाली समाज, यसको विकास प्रक्रिया, सामाजिक असङ्गति र सामाजिक अवयवहरूको सम्बन्ध र भूमिका विमर्श गर्दै सोही विषयलाई पर्गेल्दै सिर्जनारत कविहरूको शक्तिशाली उपस्थिति वर्तमान समयमा देखा परेको छ ।

कवि, चिन्तक पि.बि.शेलीले भनेका थिए– ‘कविताले सामाजिक क्रान्तिको बिउ रोप्छ ।’ वास्तवमा स्रष्टाले लेखनका माध्यमबाट जीवनबोध मात्र गर्दैन जीवनबोधलाई सामाजिक रूपान्तरणका लागि उपयोग पनि गर्दछ । सर्जकको विश्व विशाल हुन्छ त्यसैले सांस्कृतिक विचलनलाई देख्न सक्ने सूक्ष्म दृष्टि पनि उसैसँग हुन्छ । तसर्थ प्रगतिवादी स्रष्टा र जनवादी चरित्रको कविताले शोषण, दमन र अन्याय तथा मानिसलाई पशुवत् र दासतामा पु¥याउने सामन्ती र पुँजीवादी उत्पादन सम्बन्धका विरुद्ध विद्रोहको उद्घोष पनि वाञ्छनीय हुन्छ । वर्गीय चिन्तनलाई केन्द्रीय चिन्तनका रूपमा राखेर समकालीन युग र समाजका विकृति तथा विसङ्गतिका विरुद्ध विद्रोह गर्नु आजका कविताको मूल स्वर हो । त्यही स्वर सन्निहित कविता कृति हो कवि विष्णु भण्डारीको ‘घाइते ह्विलचेयर’ ।

(ख) घाइते ह्विलचेयरमा बिम्ब विधान : बिम्ब र प्रतीक योजनाले अन्य रचनाभन्दा पृथक हुने कविता सोही कारणबाट दुरुह र सम्प्रेषणहीन बन्ने सम्भावना समेत रहन्छ । अमेरिकी कवि एज्रा पाउन्डको ‘मेट्रो’  कवितामा प्रयुक्त बिम्बले बिसौं शताब्दीका पछिल्लो पुस्ताका कविहरूलाई प्रभाव पारेजस्तै सशक्त बिम्बको प्रयोगले कवितालाई भाव र विचारको संयोजनका साथ पार्थक्य प्रदान गर्दछ । ‘घाइते ह्विलचेयर’ बिम्बप्रधान कविता सङ्ग्रह भएकाले यसमा प्रयुक्त बिम्ब विधान पर्गेल्नु आवश्यक छ ।

‘उत्सर्ग’ महाकाव्यको सार्वजनिकीकरणसँगै प्रतिबद्ध कविका रूपमा चिनिएका प्रगतिवादी कवि विष्णु भण्डारीको उत्कर्ष सिर्जना ‘घाइते ह्विलचेयर’ (२०६९) मा इतिहास, पुराण, प्रकृति र समाजबाट बिम्बहरू भित्र्याई समाजको चित्रण गरिएको छ । एकाध कविता बाहेक सबै रचनामा बिम्बको संयोजन सामाजिक विसङ्गति र दुरावस्थाको चित्रणको लागि भएको पाइन्छ । एक दृष्टान्त–

एउटा कवि काटिएको खुट्टा बोकी
गेटमा उभिएको धेरै भयो । (९५: एउटा कवि)

मृत्युबोध र जीवनबोधको विमर्श प्रतीत हुने सिकसिको लाग्ने गरी कवि भण्डारीले प्रयोगमा ल्याएको बिम्बको अर्को दृष्टान्त-

जल्दाजल्दै उछिट्टिएको लासजस्तो
बल्दा बल्दै टुक्रिएको हातजस्तो
शान्तिको बेवारिसे र निराकार प्रतिच्छाया
निस्पन्द र निस्फिक्री
सडक पेटीमा सुतेको छ । (४६ : शान्ति)

शान्तिको चाहमा बुभुक्षित जनमानसको अभीष्टलाई सङ्केत गर्दै रचित मुर्दा शान्तिको अवस्था चित्रित उद्धृतांशले कविको समुन्नत समाजको परिकल्पना र प्रगतिशील सोचलाई एकसाथ मुखरित गरेको छ । विचार प्रधान कविता सिर्जनामा दत्तचित्त कविको उद्देश्य यसरी प्रकट भएको छ-

हिँड्नु छैन मलाई
पुरातन रेशमी डहरहरू
पछ्याएर तेन्जिङका पदचापहरू
भेट्नु छैन मलाई
निर्जीव संवेदनाका शिखरहरू । (१३ : बाटो)

नयाँ मार्गको निर्माण गरी यात्रा गर्ने अभीष्ट र आस्थाको शिखरमा पुग्ने कवि चाहना कर्मवीर योद्धाको सपनाको रूपमा कवितामा अभिव्यक्त छ । पुरातन संस्कार, सामन्ती सोच र खण्डहर सहर अपनाउन अस्वीकार गर्ने कवि आवाज जनपक्षीय विचारको कथ्यको रूपमा दृष्टान्त हुन्छ ।

कोलम्बस, सिकन्दर, बोनापार्ट, गोन्जालो, पोलपोट, अभिमन्यू, नारद, जालन्धर, कुम्भकर्ण, रावण, मन्दोदरी, हनुमान, राम, हिटलर, पौवागढी, अनेकोट, डुडेझारी, ढुङ्ग्रेबास, वदिनी जस्ता विविध क्षेत्रका बिम्ब प्रतीकको आलम्बनले कथ्यलाई मूर्त, भावलाई सघन, विचारलाई तीक्ष्ण र सन्देशलाई सम्प्रेषणीय बनाएको छ । प्रयोगमा आधिक्य यी बिम्बहरू कविताको जुलुसका अभिन्न सहभागी बनेका छन् ‘घाइते ह्विलचेयर’का सन्दर्भमा ।

(ग) सबाल्टर्न आवाज र वर्गीय पक्षधरता : माक्र्सवादी चिन्तकहरूका अनुसार समाजमा वर्गविभेद र वर्गसङ्घर्षका कारण समाज गतिशील रहन्छ । समाजमा व्याप्त शोषण र सङ्घर्षको एउटा कारण आर्थिक असमानता हो । आर्थिक क्रियाकलापमा प्रत्यक्ष संलग्न श्रमिकले उत्पादनमा दिएको देनका तुलनामा उसले प्राप्त गर्ने प्रतिफल नगण्य हुन्छ । उत्पादनको मूल हिस्सा भने ‘हुने  खाने’ वर्गको स्वामित्वमा पुग्छ र वर्गीय विभेदको खाडल फराकिलो बन्दै जान्छ । माक्र्सवादी दर्शन र सिद्धान्तलाई अवलम्बन गरी सिर्जनारत स्रष्टाले त्यही विभेद र सङ्घर्षलाई देखाउँदै ‘हुँदा खाने’ वर्गको पक्षमा कलम चलाउँछन् । कवि विष्णु भण्डारीका कवितामा पनि वर्गीय पक्षधरता टड्कारै देखिन्छ ।

समाजमा बहिष्कृत भएका, बञ्चितिको सिकारमा परेका, दमित, प्रताडित र आवाजविहीनहरूलाई सबाल्टर्न शब्दले समेट्ने कुरा चिन्तक तथा लेखक रञ्जित गुहाले लेखेका छन् । यस अर्थमा कर्णालीका बासिन्दा, चप्पल लगाएको मान्छे, जुठे कामी जसका बारे कविले लेखेका छन् ती सबै सबाल्टर्न हुन् । उनीहरू स्वयम् बोल्न नसक्ने भएकाले जिम्मेवार स्रष्टाले उनीहरूको आवाज सुनिने गरी बोलिदिनु न्यायोचित हुन्छ । कवि भण्डारीले सबाल्टर्न आवाजलाई यसरी स्पेस दिएका छन्–

हो, श्रीमान् ! म अछुत ! 
म गरिब !
म आतङ्कमा रमाउने छुद्र गवाँर !
मैले पसिनाको मूल्य मागेकै हो
लुटेरा विरुद्धमा बन्दुक उठाएकै हो । (६५ : स्वीकारोक्ति)

सामाजिक न्यायको स्वर सन्निहित उद्धृत कवितांशले कविको लेखनधार र कित्ता प्रष्ट छुट्याएको छ । असमानता र सामन्ती संस्कार विरुद्धको हुङ्कार र धावा एकसाथ अभिव्यक्त गरेको छ ।

किनारीकृत वदिनीको आत्मस्वीकारयुक्त रोदन र यथार्थलाई कविले उत्तिकै महत्ताका साथ अभिव्यक्त गर्दै सबाल्टर्न पक्षधरता प्रकट गरेका छन् । एक दृष्टान्त–

समाजद्वारा परित्यक्त 
सत्ताद्वारा परिदग्ध
धन र माटोविहीन 
रूप र स्वत्वविहीन
म मान्छेद्वारा लुटिएकी अभिशप्त वदिनी हुँ । (७० : वदिनी)

विशृङ्खलित समाज, प्रतिबद्धताच्यूत नायक र अधिकार खोजीको यात्रामा निस्किएको मानिसको सन्दर्भ सामेल कवितामा व्यक्त जनवादी स्वर बिम्बात्मक अनुशीलनका साथ यसरी व्यक्त भएको छ–

जब लुटिएका सपना खोज्दै
चप्पल लगाएको मान्छे सहरभित्रै पुग्यो 
सहर प्रकम्पित भयो । (२४ : चप्पल लगाएको मान्छे)

ननुहाएको, पसिनाले निथ्रुक्क भिजेको, दाह्री नकाटेको, चप्पल लगाएको, दाँत ब्रस नगरेको सीमान्तकृत व्यक्ति जब सफा, चिल्लो, सभ्य र सम्भ्रान्त नागर सभ्यतामा प्रवेश गर्छ ऊ आतङ्कको, सन्त्रासको पर्याय बन्छ । ऊ सुकिला मुकिलाको बेचैनी र अनिद्राको कारण बन्छ । ऊ ग्रामीण सभ्यताको प्रतीक हो र जनसाधारणको प्रतिनिधि हो अपितु ऊ झूट, बेइमानी र सामन्ती संस्कार विरुद्धको फिलिङ्गो हो र नै ऊ सहरलाई प्रकम्पित पार्ने सामथ्र्य राख्छ । कवि भण्डारीको वर्गीय पक्षधरतालाई यी कवितांशले पुष्टि गरेका छन् ।

(घ) त्याग र बलिदानको वैचारिकतामा प्रश्नको लर्को :    ‘घाइते ह्विलचेयर’का कविताहरू नेपाली समाज र नेपाली जीवनसँग जसरी घनिष्ठ रूपमा गाँसिएका छन् त्यसरी नै ती नेपाली राजनीतिले उत्पन्न गरेका समसामयिक यथार्थसँग जोडिएका पनि छन् । नेपालमा २०५२ सालदेखि चलेको सशस्त्र सङ्घर्षको चाप र २०६२/०६३ को जनआन्दोलनको परिणामपछि नेपाली राजनीतिमा देखा परेका विसङ्गत यथार्थ नै यी कविताका केन्द्रीय विषय हुन् । क्रान्तिले ल्याएका सुन्दर सम्भावनाहरू तुहिँदै गएको दुःखद् अवस्थाप्रति कवि जति चिन्तित र अचम्भित छन्, सहिदको सपनालाई तुक्र्याएर अत्तरले आफूलाई चोख्याउने प्रवृत्तिप्रति कवि उत्तिकै आक्रामक पनि छन् । आदर्श सपनाहरू स्खलित हुँदा उनी मर्माहत पनि भएका छन् र उनीसँग छन् असङ्ख्य नसुल्झिएका प्रश्नहरू । कविको प्रश्न छ-

रोपेर आशाको राजमार्गमा
विषका पोथ्राहरू 
खुइल्याएर आस्थाको सगरमाथा
यो यात्रा कहाँ पुग्ला ? (२८ : आस्थाको सगरमाथा)

एकताबद्ध भई राष्ट्रको आर्थिक विकासमा जुट्नुपर्ने अवस्थामा उत्पन्न आस्थाभङ्गको डरलाग्दो स्थिति र वैचारिक विचलनको अत्यासलाग्दो अवस्थालाई कविले उद्घाटन गरेका छन् । सपनाको सुन्दर बिहान प्राप्तिमा विचारको पहाडलाई अटल राख्नुपर्नेमा उल्टै ताछ्ने प्रवृत्तिप्रति कविको व्यापक आक्रोश छ ।

गुट उपगुटमा विभक्त नेपाली राजनीति र कित्ताकाटको मानसिकताले ग्रस्त वामपन्थी आन्दोलनमा देखिएका टुटफुट र त्यसले सिर्जना गरेको नकारात्मक परिस्थितिलाई नजिकबाट नियालेका कवि संवेदनशील हुँदै प्रश्न गर्छन्-

सल्काएर आशाको स्वप्न महलमा आगो
किन बाँडिरहेछ उसले
सुनाखरी फूलहरूको बस्तीमा
सपनाहरूको बिगुत । (१७ : दिग्भ्रमित बटुवा)

राजनीतिक नेतृत्वको अदूरदर्शिता र आस्था राखिएका नायकहरूको चारित्रिक पतनसँगै क्रान्तिमा घाइते भएकाहरूको दयनीय अवस्था र संवेदित मन, वर्तमानको उपेक्षाले अपाङ्गपन बोकेर जीवन बाँच्नुपर्दाको वेदना र जटिल मनोभावलाई कविले यसरी टपक्क टिपेका छन् र खामबन्दी गरेका छन्-

उस्तै छन् तिमीले हिँडेका धुलाम्मे डगरहरू
उस्तै छन् भोकले खिल्टिएका बच्चाहरू
मेरा बाउको बलिदानले रङ्गिएको रातो झन्डा
अझै पनि घरको छानोमा फहराउँदै छ
कमरेड ! के तिमीलाई सन्चै छ ? (१३१ : खामबन्दी)

सत्ता र शक्तिको रापले आलोकित क्रान्तिकारी नेतृत्व वर्गले समेत विगत बिर्सिएर यथास्थितिलाई बढावा दिँदै वैयक्तिक स्वार्थमै अल्मलिँदा ध्वस्त भएका नेपालीका सपना प्रत्यक्ष देखेका र भोगेका मानिसका आतेस, आक्रोश, असन्तुष्टि र हुङ्कार एकसाथ प्रकट भएको छ यस कवितांशमा । कविभित्रका अनेकन असन्तुष्टिले यहाँ कवितामा स्थान पाएका छन् । त्यसो त बलिदान र त्यागको गौरवपूर्ण इतिहासको स्मरणमा पुलकित मनोविज्ञान र तुहिँदै गएको सपनाको सादृश्यमा भरङ्ग भएको मनोदशालाई समेत उचित वाणी दिइएको छ । एक दृष्टान्त-

बोकेर जल्लादहरूलाई कन्दनीले 
दुखाएर बेपत्ता जूनहरूको धड्कन
किन पुरस्कृत गरिरहेछ उसले ब्वाँसोलाई ? (५० : अनुत्तरित प्रश्न)

कविसँग यस्ता अनुत्तरित प्रश्न असङ्ख्य छन् । कृतघ्न नेतृत्वप्रतिको घृणा र सुन्दर सपनाको लासमाथि बसेर उग्राइरहेका नेताहरूको चारित्रिक पतनप्रति चर्को आक्रोश पोखिएका यस्ता सन्दर्भ कवितामा लाम लागेर आएका छन् । यी कवितांश आशाको सङ्गीत र निराशाको उत्ताप मिसिएका वैचारिक कथ्य सहितका अभिव्यक्ति हुन् ।

(ङ) भाषिक शिल्प र प्रभाव परिताप : ‘घाइते ह्विलचेयर’ कविता सङ्ग्रहलाई नूतन अभिव्यञ्जनाका पृथक शिल्प र शैलीले सिँगार्ने प्रयत्नका साथ कवि भण्डारीले लालित्ययुक्त र अन्त्यानुप्रास भएका शब्दावलीको चयन र प्रयोग विशेष सतर्कताका साथ गरेका छन् । रसियन रूपवादी चिन्तक भिक्टर स्लोभोस्की र जाँ मुकारोभ्स्किले कविताको भाषा स्तरीय भाषालाई विसामान्यीकरण गरी संरचनात्मक दृष्टिले मिलाएर भाषाको विशिष्ट संरचनामार्फत तयार गरिन्छ भने जस्तै स्रष्टाले यस कविता सङ्ग्रहमा काव्यिक शिल्प निर्माणको सचेष्ट प्रयत्न गरेका छन् । बिम्ब र प्रतीकको प्रयोगमा आधिक्यसँगै अन्तप्र्रवाही लयधाराको अवलम्बन, संरचनागत समानताका थालनी र बिसौनी, तत्सम, तत्भव र आगन्तुक शब्दको प्रयोगमा आलङ्कारिक शिल्पको सामेलीले पृथकता प्रदान गरेका छन् । नवीन शिल्प प्रयुक्त नमुनाको एक उदाहरण-

समयले कोल्टे फेर्दै गरेको बेला
कप्तान ! यो अन्तिम बन्दरगाह हो र के ?
मैले अन्तिम रातको कुरा गरेको छैन । (५७ : अन्तिम बन्दरगाह)

‘चप्पल लगाएको मान्छे’, ‘अन्तिम बन्दरगाह’, ‘बाटो’, ‘आगो’, ‘यहाँ नटेक काला मनहरूले’, ‘ओथारो बसेको समय’ जस्ता कविताहरूमा प्रयुक्त नूतन शिल्प र यात्रा संरचना  journey structure) ले ती कविताहरू अब्बल बनेका छन् । साथसाथै विद्रोही पात्र र स्वरलाई कवितामा प्रयोग गर्न माहिर कवि विलियम ब्लेकको ‘टाइगर’ कविताको स्मरण गराउने संरचनामा ती कविता संरचित छन् ।

चिन्तक ह्यारोल्ड ब्लुमले लेखन र प्रभावको सन्दर्भमा भनेका थिए – प्रत्येक कवि आफ्ना अग्रज कविबाट प्रभावित भएँकि भन्ने ‘प्रभाव परिताप’ (anxiety of influence) ले पिरोलिन्छ । उक्त प्रभाव परितापबाट मुक्त हुन अग्रज कविहरूका रचनाको ‘गलत पठन’ गरी उसले कविताको सिर्जना गर्छ । नेपाली कविहरू मूलतः अग्रज कवि गोपाल प्रसाद रिमाल र उनको ‘आमाको सपना’, भूपि शेरचन र उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, पारिजात र उनको ‘बैसालु वर्तमान’ जस्ता स्रष्टा र सिर्जनाको ‘प्रभाव परिताप’ बाट पूर्णत मुक्त हुन सकेका देखिँदैनन् । ‘घाइते ह्विलचेयर’ का कविताहरू पनि केही सीमासम्म ‘प्रभाव परिताप’ बाट अछुतो रहन सकेका भने छैनन् । एक उदाहरण-

उही के जुठे कामी 
मेरो जीवनको आशापुञ्ज
जो उन्मुक्तिको आराधना गर्दागर्दै 
तिम्रै खलिआनमा मारिएथ्यो । (२० : माटो)

पारिजातको लेखन शिल्पको झझल्को दिने उद्धृतांश जस्तै अग्रज कविका लेखनशिल्पबाट कवि सुपरिचित रहेको तथ्य उजागर गर्ने अन्य सन्दर्भहरू पनि कविता सङ्ग्रहमा बाक्लै छन् । यद्यपि ती कविताको केन्द्रमा रहेको जनपक्षीय आवाज र विद्रोहको रमरम झल्कोको सामथ्र्यका दृष्टिले भने कविको स्तुत्य प्रयत्नको प्रशंसा नै श्रेयष्कर ठहर्छ ।

कवि विष्णु भण्डारीका धेरै कवितामा आगो ओकल्ने शैली छ तर सामान्य कविताका पाठकहरूले चाहिँ भाव सम्प्रेषणको सहजता महसुस नगर्न सक्छन् । क्लिष्ट शब्दको प्रयोग, सरल नेपाली शब्द प्रयोगको विकल्प हुँदाहुँदै प्रयोग भएका हिन्दी र संस्कृत शब्दले कविताको वहावलाई पुर्याएको अवरोध र अन्ततः अमूर्त बनेका कविताको उपस्थितिलाई भने आँखा चिम्लिन मिल्दैन ।

(च) अभिघात अभिव्यक्ति र संस्थापनको खबरदारी : बढ्दो सन्त्रास, युद्ध र प्रताडनाले चेपुवामा परेका मानिस अभिघातको सिकार बन्दै जाने क्रम विश्वमै जसरी बढेको छ तत्जनित साहित्य सिर्जना र सिद्धान्तको प्रयोग पनि बढ्दो क्रममा छ । भोक्ता स्वयम्, साक्षी वा दर्शक जो भए पनि मानसिक यन्त्रणाका कारणले आघात हुने र आघातजन्य अभिव्यक्ति दिने दृष्टान्त संसारभरि नै पाइन्छ । मानसिक विक्षिप्तता, मानसिक असन्तुलन र पागलपनसम्म आघातको असर हुन सक्छ । यस्तो विक्षिप्त अवस्थाको सिर्जना आकस्मिक वा प्रायोजित परिघटनाले गर्दछ । नेपालको सन्दर्भमा पनि आर्थिक दुरावस्था, उत्पादित वस्तुमाथिको अधिकारविहीनता, युद्धको असर, सामाजिक वञ्चितीकरण, राज्यले बारम्बार गर्ने विभेद जस्ता कारणहरूबाट आघात बनेका वर्ग, लिङ्ग र क्षेत्र थुप्रै छन् । ‘घाइते ह्विलचेयर’ मा पनि अभिघातको सिकार बनेका मानिसको अभिव्यक्ति मुखर रहेको छ । एक दृष्टान्त-

घरानियाँ ! सडकमा निस्किएर हेर
दरवारिया ! बजारमा निस्किएर हेर
तिम्री सदा सदाकी रखैल
तिम्री क्षुधा ! 
तिम्री तिर्खा ! 
नाङ्गै निस्किएकी छु
आऊ मलाई भोग गर
म आगो जलेर बलेकी छु 
आऊ मलाई ताप  । (७० : वदिनी)

आफ्नो इज्जत र संवेदना दाउमा राखेर आफ्नो शरीरलाई बिटुल्याउन निर्धक्क आह्वान गर्ने वदिनीको यो विचार अभिघात अभिव्यक्तिको क्रूर नमुना हो ।

राज्य व्यवस्थाले जब जनताका जायज माग सम्बोधन गर्न सक्दैन, जब जनताको आशा र भरोसाको केन्द्र नै धमिलो बन्दै जान्छ त्यतिबेला संस्थापनको खबरदारी कुनै न कुनै माध्यमबाट आवश्यक हुन्छ । म्याथु आर्नोल्डले तर्क गरेका थिए- उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छन् । अराजकताविरुद्धको आवाज कवि विष्णु भण्डारीका धेरै कवितामा अन्तर्निहित छ । वर्ग वैरी, जनता पिराहा, पश्चगामी, सामन्ती विचार र संस्कारको बुख्याचालाई क्रान्तिकारी नायकले जब दोसल्ला ओढाउँछ प्रगतिवादी कविले त्यसको विरोध गर्नैपर्छ । कवि विष्णु भण्डारीले त्यही कविधर्म निर्वाह निसन्देह गरेका छन् संस्थापनको खबरदारीसँगै यसरी-

ठोकेर मुर्दाहरूलाई सलाम
किन मखलेल बनेको छ ऊ ? (५० : अनुत्तरित प्रश्न)

संस्थापनको खबरदारी सामाजिक रूपान्तरणका लागि हुनुपर्छ । श्रमजीवी जनताको अधिकार प्रत्यायोजनका लागि हुनुपर्छ । अग्रगामी सांस्कृतिक संस्कारका लागि हुनुपर्छ । कवि सोध्छन्-

किन विस्मृत बन्दै छ
त्यो उत्साहले भरिएको कथा ?
किन निभ्दै छ छातीमा बल्दै गर्ने 
विद्रोहको राँको ?
र किन फर्किँदै छ मरिसकेको मसान ? (१२७ : दुःस्वप्न)

यथास्थितिवाद, पश्चगामी सोच, सामन्तवाद, विस्तारवाद, साम्राज्यवाद र आत्मरतिवादका विरुद्ध निरन्तर उभिनु र संस्थापनलाई बारम्बार खबरदारी गर्नु कवि विष्णु भण्डारीको कथ्यगत वैशिष्ट्य रहेको छ । एक उदाहरण –

देख्दादेख्दै मृत्युको दोछाया
किन मौन उभिएको छ स्पार्टाकस
नउठाएर अविजित गाण्डिव धनुष
किन शान्त बसेको छ अर्जुन ?
नायक ! म सोधिरहेछु तिमीलाई
किन शीताङ्ग बनेको छ समय ? (११४ : नायक)

कवि सबैखाले विभेद, विसङ्गति र विकृतिको विरोध गर्दै विद्रोहको उद्घोष गर्छन् । प्रगतिवादी चिन्तन उनको दर्शन हो । सामाजिक न्याय उनको अभीष्ट हो । वर्गहीन समाज उनको सपना हो । सामन्तवादको विरोध उनको लेखकीय चरित्र हो र नै कवि भन्छन्-

म निरन्तर विद्रोहको गीत गाउने छु
मृत्युपर्यन्त र अविराम
तिमीविरुद्धको नालिस
विद्रोह हो
म निरन्तर विद्रोहको आवाज बोल्ने छु । (१०५ : नालिस)

प्रगतिवादी कविताले अन्तर्यमा निराशाको दुष्कर बादलका विरुद्ध घनीभूत स्वरले आशाको सञ्चार गर्ने सामथ्र्य राख्छन् र एकाएक सुस्त, शुष्क र गतिहीन स्थितिमाथि धावा बोल्छन् । आक्रामक अभिव्यक्ति र गतिशीलता बहन गर्ने त्यस्ता कविता आँधीको गीतझैँ वेगवान हुन्छन् र तरङ्गित बनाउँछन् जुम्सा मनहरू समेत । प्रतिगामी कित्ताका अवयवहरूलाई तोडेर ध्वंस र नवीन निर्माणको परिकल्पना प्लावित समयको मुखर प्रवाह बोकेका त्यस्ता सामयिक दोहाको सञ्चेतना कवि भण्डारीका कवितामा यसरी अभिव्यक्त छ-

यो दुन्दुभि बज्दै गरेको बेला
अशान्त सडकहरूमा आलो चिहान
मान्छे मदहोस सुत्ने छैनन् । (८१ : विद्रोही मनहरू)

(छ) निर्गमन र निष्कर्ष : छयालिसवटा मध्य आयामका सिर्जना सामेल पुस्तकाकार रचनाका हिसाबले सातौं कृति ‘घाइते ह्विलचेयर’ले कवि विष्णु भण्डारीको कवि व्यक्तित्व, काव्यात्मक लक्षणा र लेखनधार एकसाथ उजागर गरेको छ । त्याग, स्वाभिमान, राष्ट्रियता र अभिमानलाई विषय बनाइएका यी पछिल्ला कविता बलिदान र अपमानका कविता हुन्, आशा र निराशाका कविता हुन्, वेदना र चेतावनीका कविता हुन् । यी आस्थाका कविता पनि हुन् । आस्थाकेन्द्रको गिर्दो साख देखेर कविमनमा उत्पन्न भएका नैराश्य, असन्तुष्टि, विद्रोह र आक्रोशका कविता पनि हुन् यी । यी कविताले समसामयिक चेतनालाई संवहन गरेका छन् र विजयी क्रान्तिपुरुषका घाइते अनुभूतिलाई वाणी दिएका छन् ।

समग्रमा ‘घाइते ह्लिचेयर’ सशस्त्र क्रान्तिपछिको यथार्थ चित्र हो र यस अवधिमा जनताले गरेको अनुभूतिको कलात्मक अभिलेखन हो । कुरूपताविरुद्धको सिर्जनायात्रामा समाजको सकारात्मक परिवर्तनका लागि जिम्मेवारीबोधका साथ कलम चलाइरहेका स्रष्टा भण्डारीबाट विरोधाभाषमुक्त, नवीन बिम्बको सामेलीमा अझ सम्प्रेषणयुक्त, परिष्कृत, परिमार्जित र विचार तथा शिल्पको संयोजनले अब्बल बनेका कविता अपेक्षित छ । विषय उठान, त्यसको पुष्टि र समापनको सन्तुलन कायम राख्दै क्रान्तिकारी विचारलाई सोही कोणबाट प्रक्षेपण गरिएका सुन्दर सिर्जना मूर्त महाकाव्य ‘उत्सर्ग’ लेखिसकेका प्रगतिवादी कविबाट अपेक्षा गर्नु वाञ्छनीय छ । विषयवस्तुको आवृत्ति र विचारको पुनरावृत्तिभन्दा कथ्यगत नवीनता र शिल्पगत परिपाकले कविताको सौन्दर्य र कविको वैयक्तिक लेखनको उन्नयन पाइने कुरामा सचेत हुन आवश्यक छ ।

कवि विष्णु भण्डारीको ‘घाइते ह्विलचेयर’ नेपाली कविताको प्रगतिवादी फाँटमा विचार विमर्शका लागि आधार दिने कृतिका रूपमा आएको तथ्यलाई स्विकार्नै पर्छ । कवितायात्रामा निरन्तर सक्रिय कविको ‘घाइते ह्विलचेयर’ कविता सङ्ग्रह प्रश्नहरूको क्याराभानमा बिम्बहरूको जुलुस सहितको कविको उत्कर्ष रचना भएकाले पनि यस सङ्ग्रहको मूल्यवत्ता रहेको छ ।

सन्दर्भ सामग्रीः

उप्रेती, सञ्जीव (वि.सं.२०६८), सिद्धान्तका कुरा, काठमाडौं : अक्षर क्रियसन्स ।

पारिजात,(वि.सं.२०५४), पारिजातका सङ्कलित रचनाहरू, ग्रन्थ ५, दक्षिण सिक्किमः   निर्माण प्रकाशन ।  

भण्डारी, विष्णु (वि.सं.२०६९), घाइते ह्विलचेयर, काठमाडौं : शैलवी प्रकाशन ।

श्रेष्ठ, तारालाल (वि.सं.२०६८), शक्ति,स्रष्टा र सबाल्र्टन, काठमाडौं : डिस्कोर्स पब्लिकेसन ।

Abrams, M.H. (2005 AD), A Glossary of Literary Terms, 8th ed. Thomson: Boston .

Adams, Hazard, Ed (1992AD), Critical Theory Since Plato, Florida: Harcourt Brace Jovanovich College        Publications.

Poudel, H.S. (2004 BS), Theory for Beginners, Kathmandu: Student’s Books Piblications and           Distributors.

Tyson, Lois (2008AD), Critical Theory Today, Special Nepal ed. New York: Routledge.

 (कलम– वर्षः २१, अङ्कः ३, पूर्णाङ्कः ५८, माघ–चैत २०६९, पृ. ५३)


  प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार ०१:१९