राजकुमार बानिया
दसवर्षे माओवादी सशस्त्र सङ्घर्षका क्रममा थुप्रै कवि÷लेखक उदाएका छन् । तर, अधिकांश आमपठनको सूचीमा आउन सकेका छैनन् । तीनका चर्का नारा, वाद र सिद्धान्तको फलाकोले पाठक नै वाक्कदिक्क भएको स्थिति छ । कसैको सत्तोसराप, कसैको पूजापाठका कारण तिनले कविताकै उचाइ घटाइरहेका हुन्छन् । माओवादीसँग जोडिए पनि विष्णु भण्डारी त्यस्तो कोटीमा पर्दैनन् । कविता पारखीका रूपमा उनको तेस्रो कवितासङ्ग्रह आएको छ, घाइते ह्विलचेयर । महाकाव्य, खण्डकाव्य र मुक्तक सङ्ग्रह गरी सात पुस्तकमार्फत उनले काव्यिक परीक्षा उत्तीर्ण गरेजस्तो लाग्छ ।
उनका लागि कविता भन्नु नै जीवन हो, जीवन भन्नु नै कविता । मान्छेसँगै जन्मिएको कविता मान्छसँगै मर्छ भन्ने लेखकीय पढ्दा पनि उनको छनोट थाहा हुन्छ । अझ उनी त कवितालाई आमाको ममता र प्रेमीको स्पर्शका रूपमा लिन्छन् । कवितालाई उनी बलवान् पनि देख्छन् । अफ्रिकी क्रान्तिकारी कवि बेन्जामिन मोलाइस, पन्जाबी कवि अवतारसिंह पास अनि नेपाली कवि कृष्णसेन इच्छुकलाई उनले आदर्शका रूपमा लिएका छन् ।
कविता कुनै सूत्र र सिद्धान्तमा लेखिदैन । यो विशुद्ध सुसंस्कृत मानवीय भाषा हो । जीवनको प्रतिबिम्ब र समाजको प्रतिच्छायाँ त हो नै । तैपनि, कवि भण्डारी ‘महान् जनयुद्ध’को राप र ताप बिर्सन सक्दैनन् । समयक्रमका आँधीतुफान, निराशा र कुण्ठाहरूले उनका कवितालाई छोएकै छन् ।
कविको आशामुखी हृदयलाई क्रान्तिकारी नेताहरूको स्खलनले सताएको छ । आफ्ना सपनाहरूको बलिवेदीमा उनले स्पष्ट रूपमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । आगोको रङ पढ्ने यी कवि चप्पल लगाएको मान्छेका पक्षमा छन् । खिया लागेका बन्दुक देख्दा झस्किन्छन् । यति हँुदाहुँदै पनि माओवादी कित्ताको एकतर्फी बयानमा सीमित छैनन् । कतिपय कवितामा त पार्टी कार्यकर्ताको ‘आईडी कार्ड’ बिर्सेजस्तो पनि लाग्छ ।
हामीजस्ता समीक्षकलाई माआवादीहरू ‘बुर्जुवा’ भन्छन् । बुर्जुवा आँखाबाट हेर्दा पनि विष्णु भण्डारी नारा र फलाको मात्र लेख्ने कवि लाग्दैनन् । कला र विचारको समन्वयमा उनको पकड छ । पुस्तकमा समेटिएका ४६ थान कवितालाई कमजोर भनिहाल्न मिल्दैन ।
(नेपाल : २१ माघ, २०६९, पृ. ४७)