वर्तमानका विवश आवाजहरू

छविरमण सिलवाल

नेपाली साहित्यमा विष्णु भण्डारीलाई परिचय गराइरहनु पर्दैन । नेपाली साहित्यको काव्य जगतमा चालिसको दशकमा उदीयमान कवि भण्डारीको २०४३ सालमै विद्रोहको छाल खण्डकाव्य प्रकाशित भएको थियो । २०६९ सम्म आइपुग्दा उनका खण्डकाव्य २, महाकाव्य १, मुक्तक सङ्ग्रह १, कविता सङ्ग्रह ३, लगायत सातवटा पुस्तक प्रकाशनमा आइसकेका छन् ।

उनको पछिल्लो कविता सङ्ग्रह घाइते ह्विलचेयरभित्रका कविताहरूको केही परिचर्चा गर्ने जमर्को गरिरहेको छु । एउटा घाइते व्यक्तिले नै ह्विलचेयर चढ्छ, तर ह्विलचेयर नै घाइते भएपछि कसको के लाग्छ ? उसलाई विजय र पराजयको के अर्थ हुन्छ र ? आफ्नै पीडाले छटपटाएको बेला अरूले दिएको स्वार्थी आस्वासनले पेट भर्दैन । हो, आजको दैनिकी यस्तै छ । देश र जनताकालागि केही गर्छु भनेर लागेका व्यक्तिले नै जनतालाई घाइते बनाएर रन्थन्याइरहेका बेलामा कसको आशा र भरोसा लिने ? विष्णु भण्डारीका कविताका विषयवस्तु यस्तै नै छन् ।

पीडाको पहाडले थिचिरहेको बेलामा फोस्रा आश्वासन बाँड्नेहरूको लर्को देख्दा दुःखित भएका मानव हृदयका कारुणिक चित्रण कवितामा पोखिएका देखिन्छन् । द्वन्द्वमा बेपत्ता भएका आफन्तहरूको पर्खाइका पीडा पनि कवितामा प्रस्तुत भएका छन् । उनी कवितामार्फत् मान्छेका मनका पीडालाई पोखिरहेका छन् । उनी कविता मार्फत् प्रश्न गर्छन्,

“नदी किनारामा गाडिएको चिहानतिर हेर्दै 
मेरी आमा 
राति अबेरसम्म 
टोलाउँदै बस्नुहुन्छ, 
के तिमीलाई थाहा छ कति गहिरो हुन्छ 
मनको पीडा ?
के तिमीले कहिल्यै पढेका छौ 
प्रतीक्षाको आलो घाऊ ?’ 

भण्डारी कवितामा यात्राको मोडैमा बाटो सकियो भने नयाँ बाटो कोरेर अगाडि बढ्नुपर्ने सोच राख्छन् । आशावादी सोच भएका कविताहरूको बाहुल्यता बढी नै देखिएका छन् । कवि बाटो बिराएका बटुवा जस्तै नेपाली राजनीतिक अगुवाहरूले बाटो बिराएको देख्दा अचम्मित हुन्छन् । र, उनीहरूलाई सुधार्ने प्रयास गर्छन् कविता मार्फत । कवि आफैँ पनि यही समाजमा हुर्केका हुनाले आफ्नो समाजको विकृतिलाई टुलुटुलु हेरेर बस्दैनन् । समाजप्रति आफ्नो दायित्वबोधले पोलिरहन्छ र कवितामार्फत सबैलाई सजग गराइरहन्छन् ।

उनलाई लाग्छ, “कविता भन्नु नै जीवन, जीवन भन्नु नै कविता । जसरी जीवन अनन्त, अभेद्य छ कविता पनि त्यस्तै छ । कविता जीवनको प्रतिबिम्ब, समाजको प्रतिच्छाया । कवितामा जीवन बोल्छ । समाजमा व्याप्त असंगतिलाई सबैभन्दा बढी कविताले नै उजागर गर्छ । कविता मानवीय सत्ता र संस्कृतिसँग, संवेदना र उदात्त विचारसँग पनि एकाकार हुन्छ । कविताले निरङ्कुश सत्तालाई हल्लाउन सक्छ । तानाशाहलाई ढलाउन सक्छ ।”

विष्णु आफ्ना कवितामार्फत लामो समय द्वन्द्वको पीडामा छटपटाइरहेका असङ्ख्य मान्छेहरूका चित्कार लेखिरहेका छन् । कलिलै उमेरमा सिन्दुर पुछिएका चेलीहरूका कथा लेखेका छन्, युद्धले बनाएका घाइते मनका कथा लेखेका छन् । बाबु आमा गुमाएका टुहुराको व्यथा समेटेका छन् । आफ्ना सन्तान गुमाएका बाबु आमाका रित्ता कोखका कहानी लेखेका छन् । निमुखाका लागि, ती शक्तिशाली तर निरीह बनाइएका महान् मान्छेहरूका लागि, उनी कविता लेखिरहेका छन् । निरीह आवाजका आग्रहलाई, उनीहरूको मूल्य र आवाज बोलिरहेका छन् कवितामार्फत । उनीहरूको आँसु, पीडा, रोदन र अभाव देखीदेखी सामन्त वर्ग तथा आधुनिकता भोगिरहेका मान्छेहरूको, शासकहरूको कविता लेख्न कसरी सक्छ एउटा कविले ?

आँखै अगाडि सामाजिक अन्याय, राजनीतिक विकृति तथा विसङ्गति, सामाजिक विभेदले उत्पन्न गरेका डरलाग्दा पर्खाल र खाडल छन् । त्यसैले कवि डरलाग्दा पर्खाल र खाडललाई पुर्नका लागि कविता लेखिरहेका छन्, र यसैक्रममा नवीनतम् कविता कृति घाइते ह्विलचेयर लिएर आएका छन् । आशावादमा पहिरो जाँदै गरेको वर्तमानमा विवश नियति भोगिरहेका हाम्रा प्रतिनिधि कविता हुन् घाइते ह्विलचेयर भित्रका कविताहरू ।

२०६३ सालदेखि हालसम्म घटेका घटनाक्रमका प्रतिच्छाया हुन् यी कविताहरू, कविको स्वीकारोक्ति छ । समयलाई कलाको माध्यमद्वारा पूर्णतः प्रतिबिम्बित गरेका छन् कविले । यति हुँदाहुँदै पनि उनका कविताामा आक्रोशको आवाज बढी देखिन्छन् । मलाई लाग्छ कवि  स्वतन्त्र हुनुपर्छ एकतर्फी होइन । स्वतन्त्रताको तराजुले जोखेका कविताले सधैँ न्याय पाउने गर्छन् । उनका केही कविताहरूले यही बोलिरहेका छन् ।

(हिमालय टाइम्स : शनिवार, ५ साउन, २०७०, पृ. ६)


  प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ११:२६