युग चेतनाका कविता

चेतनाथ धमला

प्रगतिशील धारका कवि विष्णु भण्डारी रचित तथा शैलवी प्रकाशनद्वारा प्रकाशित घाइते ह्विलचेयर भर्खरै बजारमा आएको छ । यो उनको सातौँ काव्यकृति हो । यसमा जम्मा ४६ वटा कविता संग्रहीत छन् ।

घाइते ह्विलचेयर युगीन तस्वीरहरूको समर्पण हो । प्राय कविताहरूमा ध्वन्यात्मकता पाइन्छ । संवेदनाको सुक्ष्मता र चेतनाको शीर्षस्थान कवितापनको अग्रता हो । उनले कवितामा आफ्नै भावुकता र व्यंग्यतालाई यथार्थमा उतारेका छन् । कवितामा हुने संस्कृति, इतिहास, विचार र कलाको शास्वतपक्षलाई अभिव्यक्त गरेका छन् । आम कविहरूमा पाइने प्रकृतिको अनुपम प्रभाव उनमा पनि रहेको छ । त्यसो त उनी माक्र्सवादी विचार बोकेका प्रगतिवादी कवि हुन् । मूर्त भाषा, शैली  र निर्मम प्रहार उनका कवितामा देखा परेको छ । सामयिक विकृति, विसंगति र अत्याचार विरुद्ध कवि उभिएका छन् ।

प्रस्तुत घाइते ह्विलचेयरमाथि विद्रोह र सांस्कृतिक रूपान्तरणको क्रान्तिकारी अभिव्यक्ति सजिलै व्यक्त भएको छ । कवितामा वर्ग सङ्घर्षको मर्मबोध हृदयस्पर्शी ढङ्गले चित्रित गरिएको पाइन्छ । युग सापेक्षविहीन यात्री र विचलनले निम्त्याउने विध्वंशप्रति कवि सजग र सचेत छन् । अर्थहीन कुण्ठाग्रस्त सपनाहरूको पीडा र आक्रोशप्रति भण्डारीले व्यङ्ग्य पनि गरेका छन् । मुक्तिको लक्ष्य र क्रान्तिको निरन्तरताले मात्रै  आमूल परिवर्तन सम्भव भएको कवि देख्छन् ।

घाइते ह्विलचेयरमा संग्रहित कविता दिग्भ्रमित बटुवा, अनेकोट, समय र घोडाहरू, इस्पातले बनेका मान्छेहरू, डुढेझारीको कर्मवीर, आगो, बदिनी, बन्दुक, कठपुतली र नायक लगायत कविताहरू स्तरीय रहेका छन् । साथै कवि विष्णु भण्डारीको कवितामा कालचेतना, सौन्दर्यचेतना र जीवनचेतनाका आरोह अवरोहहरू गुञ्जित छन् । उनको काव्ययात्रा अझै सुन्दर र समृद्ध बन्दै जाओस्  यही कामना छ । जम्मा १३१ पृष्ठको कवितासङ्ग्रहको मूल्य १५० रूपियाँ राखिएको छ ।

(मधुपर्क : वर्षः ४६, अङ्कः २, पूर्णाङ्कः ५२९, असार २०७०, पृ. ५८)


  प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १०:१६