ह्विलचेयरमै घाइते भएको वर्तमान

वनिता

कला साहित्य मानव मनका प्रतिभा प्रस्फुटन गर्ने शक्तिशाली हतियार हुन् । जीवनका भोगाइहरू कहिले कुचिका डोबहरूमा लत्पत्तिन्छन् त कहिले शब्दका गुच्छाहरूमा उनिएर सुन्दरता छर्छन् । जीवनका उकाली ओरालीहरू चढ्दै र झर्दै गर्ने क्रममा मानिसले धेरै अनुभव बटुल्छ । ती अनुभवलाई बटुल्ने क्रममा विष्णु भण्डारीले ‘घाइते ह्विलचेयर’ (कविता सङ्ग्रह, २०६९) का माध्यमबाट जीवनका आरोहअवरोह व्यक्त गरेका छन् ।

मझौला आयामका ४६ ओटा कविताको सङ्गालो ‘घाइते ह्विलचेयर’ कवितासङ्ग्रहले सिङ्गो राष्ट्रको समस्यालाई उत्खनन् गरेको छ । एकातिर रोग भोग र शोकले थिल्थिलाएको नेपाली समाज र अर्कोतिर राजनीतिक खिचातानीले ढल्न लागेको राष्ट्रिय धरोहरलाई लेखकले गम्भीर रूपले चित्रण गरेका छन् ।  देशका नायक, महानायक कठपुतली बनेर परचक्रीको इशारामा नाचिरहेको कुरालाई ‘कठपुतली’ कवितामा व्यङ्ग्य गरेका छन् ।

लोकतन्त्र र पजातन्त्र ल्याउनका लागि ज्यानको बाजी थापेर रणभूमिमा निस्केका वीर योद्धा युद्धको छर्राहरू छातीमाथि बोकेर घाइते जीवन बिताइरहेका छन् भने देशको संरचनालाई रूपान्तरण गर्छौं भन्नेहरू सत्ता र कुर्सीको मखन चाट्दै त्यसकै वरिपरि रङ्मगिएका छन् । त्यसैले वर्तमान घाइते भएर घस्रिरहेको छ भन्ने कुरालाई प्रतीकात्मक रूपमा ह्विलचेयरका माध्यमबाट व्यक्त गरिएको छ । साथै आजका धूर्त र स्वार्थी नेताका कुटिल एवम् कृतघ्न प्रवृत्तिका कारण राजनीतिप्रति जनतामा वितृष्णा पलाएको छ भन्ने कुरालाई देखाइएका छन् ।

नियतिले थिचिएको मान्छे नुनिला आँसु पिउँदै पीर र वेदनाका घाउ बोकेर ह्विलचेयरमा घर्सिदैँ छ भन्ने कुरालाई मार्मिक ढङ्गले यस सङ्ग्रहले व्यक्त गरेको छ । प्रस्तुत कृतिलाई शैलवी प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिको मूल्य रू १५० रहेको छ ।

(वनिताः २०७०, असोज– मङ्सिर, पूर्णाङ्क ५३, पृ. ५८)


  प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १०:०५