जि.के. पोखरेल
(१) पूर्वप्रसङ्ग : परिचय र कविता कर्म
विष्णु भण्डारीको जन्म धुर्कोट–बस्तु, गुल्मीमा वि.सं. २०२० सालमा भएको हो । ‘विद्रोहको छाल’ खण्डकाव्य कृतिबाट काव्ययात्राको आरम्भ गरेका भण्डारी सक्रिय राजनीतिक कार्यकर्ता र संस्कृतिकर्मीका साथै प्रतिभाशाली कवि पनि हुन् । उनका हाल सम्ममा ‘विद्रोहको छाल’ (खण्डकाव्य, २०४३), ‘आँधी तुफान’ (मुक्तक सङ्ग्रह, २०४४), ‘ब्वाँसाको अन्त्यको खेल’ (खण्डकाव्य, २०४५) ‘फेरि अर्को तारा खस्यो’ (कविता सङ्ग्रह २०६३), ‘देश जागेको बेला’ (आन्दोलनका कविता, २०६३) काव्यकृति प्रकाशित भइसकेका छन् । काव्यका बहुविधा भेदमा उत्तिकै प्रभाव छाड्न सक्ने भण्डारी मुक्तकदेखि महाकाव्यसम्मको यात्रा गर्ने काव्य सर्जक हुन् ।
२०६३ देखि २०६७ सम्म गुप्तवास बसेका भण्डारीले २०६७ मा आएर नेपली जनयुद्धको महाख्यानमा आधारित ‘उत्सर्ग’ (२०६७) महागाथा तयार पारेका छन् । उत्पीडित जनतामाथिको शोषण, उनीहरूले खेप्नुपरेको कष्ट, त्यसका विरुद्ध उनीहरूले गरेको सङ्घर्ष र उनीहरूका नयाँ स्वप्नलाई सुन्दर काव्यात्मक अभिव्यक्ति दिँदै आएका भण्डारीले समीर, नीलिमा, सिमरान जस्ता नायक मूर्तिहरू स्थापित गरेर खासगरी २०५६–२०६२ को नेपाली समाजको सूक्ष्मावलोकन गरेका छन् ।
(२) महाकाव्यमा प्रतिबिम्बित विद्रोहात्मकता र क्रान्तिचेत :
वर्गीय चेतना, सामन्तीको थिचोमिचो, प्रशासनिक अत्याचार क्रान्ति र विद्रोहको उद्गम स्थल हो । मानव सभ्यताको उषाकालमा देखिएको मानवतावादी भावलाई कार्ल माक्र्सले आदिम साम्यवाद मानेका छन् । त्यसपछिका दासयुग र सामन्ती युगमा निम्नवर्गीय मानव समुदाय र सम्प्रदाय अमानवीय थिचोमिचो र शोषणको शिकार बन्न पुग्यो । (त्रिपाठी, वासुदेव, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा पृष्ठ, १६४, साझा प्रकाशन ।)
कालान्तरमा युग त परिवर्तन भयो तर फेरि मानव सभ्यता पूँजीवादी युगको जञ्जालमा यसरी जकडियो कि गरिबहरू जन्तुबाट मानव बन्न सकेनन् । जर्मनी, फ्रान्स, रूस चिन जस्ता देशहरूमा अनागरिक ठहरिएका मानिसहरूमा क्रमशः विद्रोहको चेतना भरिन थाल्यो र शोषक र सामन्तीहरूका विरुद्ध जीवन उत्सर्ग गर्नुपर्दछ भन्ने चेनाको विकास भयो । पूर्वयुगको निम्सारो विद्रोही भावना त्यही विद्रोहको प्रतिफल क्रान्तिचेतनाले नेपालका तत्कालीन शाषकहरूको अत्याचार र अर्धसामन्ती संस्कृतिका विरुद्ध माओवादीले वि.सं. २०५२ सालमा जनयुद्धको शङ्खघोष ग¥यो । उक्त शङ्खघोषको मधुर ध्वनि काव्यिक कृतिभित्र समेटिएको छ ।
(३) माक्र्सवादी सौन्दर्य शास्त्रको कसीमा उत्सर्ग महाकाव्यको महागाथा :
व्यापक जीवनको सङ्कथन र विशाल अनुभूतिको राशिको रूपमा रहेको महाकाव्यले वृहदाख्यानभित्र नेपाली जनक्रान्तिको सन्दर्भको बुनोटका रूपमा सिर्जित उत्सर्ग काव्यले नीलिमा, समीर, सिमरान पत्रकार आदि चरित्रका माध्यमबाट उत्सर्ग र शौर्यको नमूना पेश गरेको छ । युद्ध, प्रेम र जीवनबारेको चिन्तन, समाजविकासको सूक्ष्माङ्कन, वैज्ञानिक दर्शन, सर्वहारा वर्गको मुक्तिको कामना, मानवतावादी जीवनदर्शन, वैज्ञानिक दर्शन, सर्वहारा वर्गको मुक्तिको कामना, मुक्तिको लागि क्रान्तिको अपरिहार्यत जस्ता क्षेत्रमा माक्र्सवादी सौन्दर्य शास्त्रको टेकोलाई सहाराको रूपमा लिएको देखिन्छ ।
प्रथमतः भण्डारी क्रान्तिको निरन्तरतामा विश्वास गर्ने प्रतिभा हुन् । महाकाव्यको उद्बोधन सर्गमा उनले क्रान्तिको अपराजेय निरन्तरतालाई शताब्दी शताब्दीऔं दबिँदै आएका शोषित पीडितहरूको उत्सर्गको रूपमा यसरी व्यक्त गरेका छन्–
मान्छे सदियौँ जोतिइरह्यो मान्छे सदियौँ पिटिइरह्यो र पनि उन्मुक्तिको सुन्दर आशा कहिल्यै हराएन मान्छे शताब्दियौँ पिसिँदै रह्यो मान्छे शताब्दियौँ दबिँदै रह्यो र पनि शोषणविरुद्धको महान् लडाईँ कहिल्यै अस्ताएन । (उत्सर्गः ७)
‘उत्सर्ग’ वैज्ञानिक दर्शनको महत्तम सम्प्राप्ति हो । कवि खोक्रो र आडम्बरी ईश्वरीय सत्ता स्वीकार गर्दैनन् । मानव सभ्यताको उदयसँग मान्छे ईश्वर थियो, ईश्वर मान्छे थियो तर विकासको क्रमसँगै खासगरी दास युगमा मालिकहरूले आफूलाई ईश्वर र नोकरलाई अनार्य वा राक्षसको रूपमा परिभाषित गर्न थाले । परिणामतः मूलत दुई वर्गको सृष्टि भयो । मालिक र नोकर, उच्च र निम्न । सही वर्गीय द्वन्द्व नै अन्नतः कार्ल माक्सको दर्शनको सार बन्यो र सौन्दर्य शास्त्रीय साहित्य सिर्जनाको परम्परा बस्यो । त्यही परम्पराको निरन्तरता र नवीन व्याख्यान छ ‘उत्सर्ग’ महाकाव्यमा ।
क्रान्तिको अपराजेय यात्रा र क्रान्तिपुरूषको जन्मपछिको उज्वल भविष्यको कामनामा युग युगान्तर युद्धमा होमिने वीर वीरङ्गनाको चित्रण गरिएको छ । प्रतीकात्मक काव्यचेतको सहारा समीर र नीलिमाको आदर्श प्रेमको सम्मिलनको रूपमा परिवर्तन र जनधिकारको आह्वान यसरी गरिएको छ :
विशाल तुफान आउने छ र हटाउने छ छेक्ने कालो घनघटालाई विशाल सागर बग्ने छ र भत्काउने छ हाम्रा विरुद्धका पर्खाललाई । (पूर्ववत् पृ. १०४)
वर्गीय युद्ध र रूसी जनक्रान्तिको प्रत्यक्ष प्रभाव प्रगतिवादी साहित्य यात्राको पछिल्लो उपलब्धि हो । गोर्की भन्छन्– “आदर्श क्रान्तिपुरूषको विचार जस्तै जीवन पनि आदर्श हुनुपर्दछ र त्यही आदर्शले जारहरूको पर्खाल ढाल्न सक्दछ ।” (मास्के, राजेन्द्र अनु. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, प्रगति प्रकाशन) यस महाकाव्यका प्रमुख पात्रहरू समीर निलिमा दुवै आचरणले विचारले, कर्मले, दृढताले तथा उदात्तताले आदर्श छन् र क्रान्ति पुरूष÷नारीका ज्वलन्त उदाहरण बन्न सकेका छन् । तथा जनक्रान्तिको महायुद्धमा दिलोज्यान अर्पेर समाहित भएका छन् । वर्गीय युद्ध नै दासतापूर्ण जञ्जिरबाट मुक्तिको अचुक उपाय हो भन्ने कुरा यसरी व्यक्त गरिएको छ ।
‘बलवान धमाकासँगै पन्छी उडेर टाढा गए धुवाँले आकाश छोप्यो मानौँ सदियौँ पुरानो घाउ दासताको जर्जर छाती आज फुट्यो उसले लाभा ओकल्यो विचारको लाभा उसले आक्रोश ओकल्यो विद्रोहको आक्रोश ।’ (पूर्ववत : पृष्ठ १०५)
पुरातन सामन्तवादी सोचको जञ्जालभित्र कुष्ठित बनेर जकडिएका, सामन्त र सामन्ती सत्ताका दलालहरूको पञ्जाबाट सर्वहार वर्गको मुक्तिको खोजीमा दत्तचित देखिने भण्डारीले तत्कालीन राज्य सत्तासँग जनाधिकार र सर्वहारा वर्गको खुसी खोसेर लिनुपर्ने दृढता व्यक्त गरेका छन् । वर्गीय दृष्टिले सर्वहारावर्गमाथि गरिने षड्यन्त्र, जालसाजी, विभेद, अन्याय अत्यचार, शोषण र दूराचारको विरोध गर्दै सर्वहारा वर्गको स्वभिमान र आस्था दुस्मनको पाउमा नचढाउन तथा आफ्नो अधिकारको रक्षार्थ जागरूक बन्न अनुरोध गरेका छन् ।
भर्खरै नवयौवनमा प्रवेश गरेका युवायुवतीले जीवनका तमाम चाहना र वयगत आकङ्क्षालाई बली चढाएर जनचेतनाको अभियानमा हाम फालेका छन् । समीर, सिमरान, नीलिमा जस्ता युवा पुस्ताका नरनारीको उत्सर्ग, जनताप्रतिको वफादारी, आफू र आफ्ना वर्गप्रतकिो कर्तव्य चेत तथा मानवीय मूल्य मान्यताको कामनाले नै युद्ध सफल बन्ने धारणा व्यक्त गरिएको छ । आफू नमरी स्वर्ग देखिन्न भन्ने र स्वर्ग देख्न मर्नुभन्दा स्वर्ग नै देख्न नचाहने यथास्थितिवादीहरूको सोचविरुद्ध जीवन र मृत्युलाई नयाँ परिभाषाभित्र समेट्दै आफू मरेर अरूलाई स्वर्ग देखाउने नयाँ युगको नयाँ आध्यात्मिक दृष्टिको सुरूवात गरिएको छ । जीवन, प्रेम, मृत्युलाई नयाँ ढङ्गले नियाल्दै सर्वहारा वर्गप्रतिको प्रेम, स्वाभिमानपूर्ण जीवन र बलिदानीपूर्ण मृत्युलाई नै महाकाव्यको मुख्य सार बनाएका छन् । कविले बलिदानीपूर्ण जीवनमा नै वास्तविक जीवनको अर्थ यसरी पहिल्याएका छन्–
उनीहरू आगो विरूद्ध आगो बनेर लडे नौलो बिहानका लागि उदात्त जीवनका लागि उनीहरू लड्दालड्दै ढले उनीहरू हाँस्दा हाँस्दै ढले ।(पूर्ववत् पृ. २७२)
‘वैज्ञानिक विचारले दीक्षित हुँदा मानिस एउटा आम मानिसबाट उठेर युगकै बाहन बन्न सक्छ ।’(प्रचण्ड, पूर्ववत् : पृष्ठ क) कवि भण्डारीको विचार पनि क्रान्तिकारी मानवतावादतिर ढल्किएको छ र उनको मानवतावादको लक्षित विन्दु समतामूलक समाज र अग्रगामी नयाँ राष्ट्रिय धरोहर बन्न पुगेको छ । अरूको लागि बाँचेर आफ्नो लागि बलिदानीपूर्ण सहादत प्राप्त गर्ने मानवतावादी भावाभिव्यक्तिको महागाथाको रूपमा देखापरेको यस महाकाव्यले मध्यपश्चिम क्षेत्रका केही पहाडी जिल्लाको आञ्चलिक परिवृत्तलाई समाज विश्लेषणको आधार बनाएको छ । प्रथम (उदबोदन) सर्गमा जनयुद्धको उदयको प्रसङ्ग कोट्याउँदै एउटा वीर र जनयुद्धमा होमिएको क्रान्तिनायकको सहादतसँगै महाकव्यको समापन यसरी गरेका छन्–
यो उत्सर्गको नयाँ बिम्ब ऊ दुखेका मनहरूको प्रतिबिम्ब हो ऊ हाम्रो जीवन ऊ हाम्रो आस्था ऊ मर्ने छैन मृत्युलाई जित्नेहरू कहीँ मरेका छैनन् ऊ विद्रोहको एउटा सिपाही ऊ आस्थाको सतिसाल हो ।
(लालरक्षकः वर्ष २, अङ्क १०, साउन—भदो , २०६७, पृ. ५०)