डा.लक्ष्मण गौतम
प्रगतिवादी नेपाली काव्यकवितामा विष्णु भण्डारी परिचय बनाएको नाम हो । ‘विद्रोहको छाल’ (खण्डकाव्य-२०४३), ‘आँधी तुफान’ (मुक्तक सङ्ग्रह-२०४४), ‘ब्वाँसोको अन्त्यको खेल’ (खण्डकाव्य-२०४५), ‘फेरि अर्को तारा खस्यो’ (कविता सङ्ग्रह-२०६३), ‘देश जागेको बेला’ (आन्दोलन कविता-२०६३) जस्ता काव्य कविता प्रकाशित गरेर कविका रूपमा पहिचान बनाएका विष्णु भण्डारीको ‘उत्सर्ग’ शीर्षकको महाकाव्य दस बर्षे माओवादी जनयुद्धलाई भावभूमि बनाएर लेखिएको कृति हो ।
महाकाव्यको शीर्षक ‘उत्सर्ग’ ले त्यागलाई जनाउँछ र यस युद्धमा जीवन उत्सर्ग व्यक्तिहरूप्रति महाकाव्यको अन्तर्वस्तु र अख्यानले परिक्रमा गरेको देखिन्छ । यस महाकाव्यमा सर्गलाई सङ्ख्याङ्कन गरिएको छैन तापनि दुई खण्ड र तेइसवटा सर्गहरूको आयाममा यो विस्तारित छ । प्रत्येक सर्गलाई सम्बन्धित सर्गको अन्तर्वस्तुसँग सम्बद्ध शीर्षक पनि दिइएको छ ।
‘उत्सर्ग’ महाकाव्य मूलतः दसवर्षे माओवादी सशस्त्र द्वन्द्वका अन्तर्वस्तु र त्यसैको समाख्यानमा लेखिएकाले महाकाव्यकारले महाकाव्यको शीर्षकको मथि नै ‘नेपाली जनयुद्धको महागाथा’ लेखेका छन् र महाकाव्यको आख्यानीकरण र अन्तर्वस्तु यो छ भन्ने सङ्केत गरेका छन् । क्रान्ति र प्रेम जस्ता दुई भिन्न बिषयवस्तुलाई एकै ठाउँमा ल्याएर कविले यी दुई बिषयका बिचको अन्तर्सम्बन्धका माध्यमबाट नायक नायिकाको चरित्रलाई स्पष्ट पार्न खोजेका छन् । शोषण, दमन र सामाजिक अन्तर्विरोध, सामाजिक यथार्थ र आदर्शको प्रकटीकरण, क्रान्ति र सशस्त्रद्वन्द्व एवम् प्रणयसन्दर्भका अन्तर्वस्तुका चतुुस्कोणबाट ‘उत्सर्ग’ महाकाव्यले विस्तार प्राप्त गरेको छ । यी चार किसिमका आख्यान गुम्फनका कारण यस कृतिको कथानक सरल नभई केही जटिल बन्न पुगेको छ ।
यो महाकाव्य नायक समीर र नायिका नीलिमा केन्द्र वरिपरि घुमे पनि सिमरान, पत्रकारजस्ता विशेषभूमिकामूलक पात्रहरूको उपस्थितिले यसको अवान्तर कथावस्तुलाई पनि परिपुष्टता प्रदान गरेको छ । वर्गद्वन्द्व यस कृतिको मूल चुरो कुरो हो । शोषित र शोषक वर्गको द्वन्द्वबाट जनयुद्धको थालनी भएको भन्ने दृष्टिकोणलाई कृतिकारले प्रस्तुत गरेका छन् तापनि यी दुई भिन्न विचार र प्रवृतिका पात्रका बिचको द्वन्द्व तथा पात्रको चारित्रिक विकास त्यति सशक्त रूपमा भएको देखिदैन । प्रेमलाई उदात्तीकरण गर्न त खोजिएको छ तर माक्र्सवादी वैचारिक चेतना र सशस्त्र द्वन्द्व अर्थात् कृतिकारका भषामा जनयुद्धको निर्दिष्ट अन्तर्वस्तु तथा समाख्यानले गर्दा त्यो सचेत आग्रहका कारण प्रणयसन्दर्भ त्यति उदात्तीकरण हुन सकेको छैन ।
कृतिकारले यस महाकाव्यलाई पूरै दसबर्षे द्वन्द्वको केन्द्र र परिधिमा परिक्रमा गराएकाले तदनुरूपको अन्तर्वस्तु र समाख्यान आउनु स्वभाविक हो, तर त्यसबाट महाकाव्यको लालित्य र कलात्मक मूल्य ओझेलमा परेको छ र कहीँकहीँ त त्यो दुर्घटितसमेत बन्न पुगेको छ । यो महाकाव्य वर्णनात्मक शैलीमा अगाडि बढेको छ र परिवेश चित्रणका दृष्टिले सबल छ । खास गरेर गुल्मी र अर्घाखाँचीको भौगोलिक परिवेस र त्यसमा पनि गुल्मीको छल्दी खोला, वामी टक्सार, बडियारखोला, स्याउलीवाङ आदिको स्थानिक परिवेश यहाँ बढी खुलेको देखिन्छ ।
कालिक परिवेशका रूपमा दसवर्से युद्ध र पारिस्थितिक परिवेशका रूपमा दोहोरो बन्दुकका बिचको नेपाली जीवन र समाजको चित्रण यहाँ देखिन्छ । अझ त्यसमा पनि दोहोरो बन्दुकको मारमा परेको नेपाली जीवन र समाजलाईभन्दा माओवादी द्वन्द्व र माओवादी सैन्य परिवेशकै परिवृतका साथै ‘जनयुद्ध’ कै समग्र विवरण, महिमागान र प्रसस्तीको अभिव्यक्ति दिइएकाले यो महाकाव्य माओवादी पार्टीको जनयुद्धको विवरणत्मक दस्तावेज हुन पुगेको छ । यस किसिमको अन्तर्वस्तु र आख्यानीकरणलाई भाषा, कला, र सौन्दर्यको जलप अलि बढी लगाएको भए महाकाव्य अझ थप प्रभावकारी हुने थियो भन्ने कुरा पाठकले सअजै अनुमान लगाउन सक्छन् ।
महाकाव्यका नायकनायिका, अन्तर्वस्तु आदिका परम्परित मान्यताहरू भत्केका छन् र यस महाकाव्यमा पनि ती मान्यतालाई भत्काइएको छ । यस महमाकाव्यले विवरणात्मक समाख्यान त राम्ररी प्रस्तुत गरेको छ तर काव्यत्व चाहिँ यसमा दुर्बल देखिन्छ । अन्तर्वस्तु र समाख्यान जे भए पनि त्यसलाई सादृश्यविधानका माध्यमबाट भन्न सक्नु कविको शक्ति हो । त्यस शक्तिलाई कृतिकारले समाउनु जरुरी छ । समग्रमा दसवर्षे माओवादी ‘जनयुद्ध’ माओवादी कोणकै विश्लेषणका दृष्टिले कृति सबल छ र यो एउटा त्यस सन्दर्भको ऐतिहासिक दस्तावेज पनि हो । पूरै गद्य कवितात्मक ढाँचामा लेखिएको यो कृति साँचो अर्थमा प्रगतिवादी कित्ताको सशक्त कृति हो ।
लेनिनले भनेझैँ यो महाकाव्य ‘दलीय साहित्य’ को कसीमा खरो उत्रन्छ । वर्गद्वन्द्वको प्रभावपूर्ण प्रस्तुतिका दृष्टिले कृति सबल छ । समकालीन चेतनाका दृष्टिले महाकाव्यमा युगबोध राम्ररी आएको छ । भाव र भाषाका बिचको सन्तुलन महाकाव्यको अपेक्षा हो ।
(मिर्मिरे,फागुन, २०६७, पर्ष ३९, अङ्क ११, पूर्णाङ्कः ३०६, पृ. ७८ )