केशव सिलवाल
महान् दश वर्षे जनयुद्ध नयाँ यथार्थ सिर्जनाको एउटा महत्वपूर्ण र अद्वितीय भण्डार हो । जनयुद्धको विषयमा कैयौँ कुरा लेखिँदैछ भने कैयौँ कुरा लेखिन बाँकी छ । यसैक्रममा कवि विष्णु भण्डारीले जनयुद्धलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने जमर्को गरेका छन् । हालै उनको जनयुद्धको महागाथा समेटिएको महाकाव्य प्रकाशित भएको छ – उत्सर्ग ।
महाकाव्य कवितामा भनिएको लामो कथानक, जीवनकथा, जीवनमूल्य र जीवनसौन्दर्यको उदात्त काव्यिक अभिव्यक्ति हो । शास्त्रीय परिभाषा र शैलीलाई एक ठाउँमा छोडेर कवि भण्डारीले नयाँ ढङ्गको नयाँ महाकाव्य सिर्जना गरेका छन् । कविताको यति लामो आयाममा कलम चलाउनु सामान्य कुरा होइन, त्यो पनि गद्य वा मुक्त लयमा । कवि भण्डारीले त्यो चुनौतीलाई सफलतापूर्वक सार्थक तुल्याएका छन् ।
लेखन कला अझ भनौँ कवितामा प्रतिबद्ध कवि विष्णु भण्डारीको हालसम्म पाँचवटा कृति प्रकाशित भइसकेका छन् । विद्रोहको छाल (खण्डकाव्य, २०४३), आँधी–तुफान (मुक्तक सङ्ग्रह, २०४४), ब्वाँसाको अन्त्यको खेल (खण्डकाव्य, २०४५), फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह, २०६३) यस अघि नै प्रकाशित छन् ।
दुइवटा खण्डकाव्य प्रकाशित भएबाट कवि भण्डारी काव्य लेखनमा अनुभवी छन् भन्ने सहजै बुझ्न सकिन्छ । कवि विष्णु भण्डारी लेखनमा मात्र होइन सांगठनिक कार्यमा पनि त्यतिकै सक्रिय रहेका छन् । उनी एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ र प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य छन् भने जनसाँस्कृतिक महासङ्घ, काठ्माडौँको अध्यक्षको रुपमा कार्यरत छन् ।
प्रस्तुत महाकाव्य ‘उत्सर्ग’ नेकपा (माओवादी)द्वारा सञ्चालित महान् दशवर्षे जनयुद्धको बलिदान र भावधारालाई समेटिएर लेखिएको छ । एक्काइसवटा उपशीर्षक र दुई खण्डमा विभाजित यस कृतिमा नीलिमा, समीर, कवि वा पत्रकार, सिमरान, विक्रम, संग्राम, मेजर लगायतका पात्र उपस्थित छन् जसमध्ये नायिकाको भूमिकामा नीलिमा र नायकको भूमिका समीर रहेका छन् । महाकाव्यको उठानमा कवि पात्रद्वारा शोषण–उत्पीडनको विरोधमा जनयुद्धको थालनी भएको कुरा व्यक्त गरिएको छ । भोक, रोग र शोषणविरुद्ध मानिसले विभिन्न कालखण्डमा संघर्ष गर्दै आएको कुरा उल्लेख गरिएको छ ।
‘यो कस्तो चलन हो सभ्यताको जसले माटोमा सिर्जना रोप्छ ऊ सधैँ जलेर मर्नुपर्ने जसले महलको निर्माण गर्छ ऊ सधैँ आकाश ओढेर बाँच्नुपर्ने ।’ महाकाव्यको मूल कथा दोस्रो उपशीर्षक ‘सम्झौता जीवन हैन’बाट प्रारम्भ हुन्छ । गुल्मी जिल्लाको छल्दी खोला किनाराको सिस्तुङको कुनै ठाउँमा जनयुद्धको प्रक्रियामा घाइते भएकी छापामार युवती नीलिमा समीरको कोठामा आश्रय लिएर बसेकी हुन्छे । नायिका नीलिमा र नायक समीरको प्रथम भेट यहीँ हुन्छ । समीर यतिबेलासम्म जनयुद्धको वास्तविक जानकार रहेको हुँदैन वा जनयुद्धप्रति उदासिन रहेको हुन्छ । जीवनको यथार्थ तथा सार्थकताको बारेमा नीलिमाको समीरसँग संवाद हुन्छ । नीलिमाकै उत्प्रेरणाले समीर घर छोडेर जनसेनामा प्रवेश गर्छ । उनीहरूबिच आत्मीयता बढ्छ र प्रेमको अङ्कुरण हुन्छ । नीलिमाले अनेक ढङ्गबाट समीरलाई मानवमुक्तिका लागि समर्पित हुन सम्झाउँछे ।
‘यो त उत्सर्गको नवीन बिम्ब हो यो त उन्मुक्तिको अन्तिम अस्त्र हो हाम्रा जूनहरू लुकाइएका छन् हामी राक्षसका विरुद्धमा शिरमा कफन बाँधेर निस्किएका छौँ हाम्रा धूनहरू खोसिएका छन् हामी लुटेराको विरुद्धमा आयुध बनेर फैलिएका छौँ ।’
शोषण र उत्पीडनमा पिल्सिएको देश मुक्तिको लागि उत्सर्गको प्रतीक्षामा छ । बन्दुक पड्किँदै गरेको सुनिन्छ । सुनिन्छन् बमका धमाकाहरू । समीर पनि तेस्रो अध्यायबाट नीलिमासँगै जनयुद्धमा होमिन्छ । महाकाव्यकी मात्र नायिका नभएर समग्र जनयुद्धकी नायिका नीलिमा हाम्रा विरुद्धका पर्खालहरू नष्ट गर्न दृढ छे । ऊ हाम्रा आँसुका मूल्यहरू खोस्न दृढ छे । नीलिमाको चञ्चल र निडर बिम्बले समीरलाई प्रभावित तुल्याउँछ । ऊ पनि अब यसै चेतनाको पथमा हिँड्ने निर्णय गर्छ । जङ्गल–जङ्गल र फाँट–फाँट हिँड्छ, संघर्षको मैदानमा होमिन्छ । जब ऊ सङ्घर्षको क्रममा गाउँगाउँ पुग्छ उसले गरिबी र अभावले डामिएको समाजको यथार्थ भेट्छ ।
‘लामो समयपछि जब ऊ उठ्यो जब उसले हिउँको तन्ना फाल्यो उसले देख्यो क्लान्त र जर्जर गाउँ चिसा र उदास झुप्रा त्यहाँ न जीवनको गति थियो न उदात्त सपना थियो अन्धकार गुफाजस्तो गाउँ भोकले निलिएको थियो गाउँ गरिबीले डामिएको थियो ।’
प्रस्तुत महाकाव्यमा गुल्मी जिल्लाको प्राकृतिक सुन्दरताको प्रचुर वर्णन गरिएको छ । सिस्तुङ फाँट, समरान र पट्पटेउटी पहाड, छल्दी नदी र त्यस वरपरका गाउँहरू महाकाव्यमा आइरहन्छन् । दोहोरो भिडन्त पनि गुल्मी जिल्लाभित्र नै भएका छन् । नीलिमा समीरको नयाँ कमान्डर बन्छे । समीर पहिलोपल्ट ग्रिनेट फ्याँकेर युद्धमा सहभागी हुन्छ । कैयौँ सहयोद्धाहरूले सहादत प्राप्त गर्दछन् । घाइते पनि त्यतिकै हुन्छन् ।
युद्धमा सधैँ विजय मात्र हुँदैन । कहिले लड्दा लड्दै रिट्रिट पनि हुनुपर्छ । जनयुद्धको लङ्मार्चमा थवाङ, स्याउलीवाङ, बाङ्गेमरुट, सन्धीखर्कको घेरालेकसम्मको यात्रा विवरण महाकाव्यमा गरिएको छ । लड्दालड्दै युद्धमोर्चामा समीर घाइते हुन्छ र तत्कालीन शाही सेनाको गिरफ्तारीमा पर्छ । कारागारभित्र पनि समीर आस्थाको सुन्दर बिम्ब बन्छ । ऊ चट्टानी छाती बोकेर दुश्मनविरुद्ध जुध्ने गर्छ । अभिसप्त वस्तीहरूमा नयाँ जीवनको खाका कोर्छ । आफ्नो विचार र लक्ष्यमा समीर अडिग रहन्छ । मेजर उसलाई गलाउन चाहन्छ, तर ऊ गल्दैन । आततायी सत्ताले लादेको यातनाको पीडाले ऊ चल्न सक्दैन, उठ्न सक्दैन । हात टुक्राटुक्रा भएर भाँचिएको छ, शरीर छियाछिया भएर काटिएको छ । समीरले लेखकलाई भन्छ–
'म मर्ने छु कुनै दिन, मर्नैपर्छ विश्वासघात ! अहँ त्यो स्वीकार्दिनँ बरु फुट्ने छु चकनाचुर भै आफैभित्र समर्पण ! कहिल्यै गर्ने छैन मरे देशको लागि, म मर्ने छु खुसी–खुसी बाँचे माटोको लागि, म बाँच्ने छु हाँसी–हाँसी यही शपथ खाएथेँ मैले यही विश्वास लिएथेँ मैले ।'
जेलभित्रका समीरको साहसपूर्ण वीरताको वर्णन एक कविले हुवहु नीलिमालाई सुनाउँछ । आस्थाको अविचल प्रतिबिम्ब समीर कैदबाट छुट्दैन । उसलाई गायब पारिन्छ अर्थात चरम यातनाबाट उसले सहादत प्राप्त गर्छ । अन्त्यमा नीलिमालाई समीरको डायरीसहितको झोला प्राप्त हुन्छ । उपसंहारअघिको अन्तिम अध्यायमा यही डायरीको कुरा उल्लेख गरिएको छ ।
डायरीमा नीलिमालाई सम्बोधन गर्दै विभिन्न मोर्चाको वर्णन गर्नुका साथै कैयौँ योद्धाहरूको बलिदानको कुरा उल्लेख गरिएको हुन्छ । डायरीमा समीरको वैचारिक उचाइ उत्कर्षमा पुगेको छ । डायरी पढेर नीलिमा भावुक बन्छे र दुश्मनविरुद्ध अझ आक्रोशित हुन पुग्छे । समीर विद्रोहको एउटा सिपाही, आस्थाको सतिसाल बन्छ । महाकाव्यले आँधी र हुरीका बिच बलिरहने दीपशिखा जस्तो वा निस्सीम अन्धकारका बिच चम्किरहने उज्यालोको कण जस्तो जीवन नै सार्थक जीवन हो भन्ने सारतत्वप्रति सङ्केत गर्दैे जनयुद्धमा वीरयोद्धाहरूले देखाएको त्याग, वीरता, साहस, बलिदान, सौर्य र समर्पणको उदात्त संस्कृतिको प्रशंसा गायन र सम्मान भाव प्रकट गरेको छ ।
सरल र सरस भाषामा सलल बग्ने गरी गद्यमा यो महाकाव्य लेखिएको छ । महाकाव्यमा चाहिने भाषा शैली र शब्द चयनमा कवि भण्डारी सक्षम देखिन्छन् । नाटकीयता र चित्रात्मक प्रस्तुतीकरणले महाकाव्य रोचक भएको छ । महाकाव्य कुनै राम्रो उपन्यासको वर्णनभन्दा कम आकर्षक र कम आह्लादक छैन । स्वार्थ र वासनादेखि मुक्त उदात्त प्रेम र वर्गीय युद्धको फ्युजनबाट बनेको यो महाकाव्य कविता, विचार र उदात्त जीवनकथाको संश्लेषण हो । कतिपय समीक्षकले केही ठाउँमा कविता बढी र कथात्मकता कम तथा केही ठाउँमा वर्णन बढी भएको कुरा बताएपनि महाकाव्यको शास्त्रीय मान्यतालाई भत्काउँदै जनयुद्धको महागाथालाई महाकाव्यमा उतार्न खोज्नु आफैँमा एउटा नवीन कार्य हो ।
(कलम : पूणाङ्क : ५४, वैशाख–असार, २०६७, पृ. १२५)
(हाम्रो जलजला : पूर्णाङ्क : ४७, साउन, २०६७, पृ. ४४)