सङ्गीत स्रोता
ठिक सात वर्षअघि साहित्यकार आहुतिले ‘गुमा’ गीति नाटकको भूमिकामा लेखेका थिए, ‘एउटा लेखकको विषय भण्डारमा जब समाजका तिखा समस्यामय विषयहरू र ती विषयसँग सम्बन्धित अनुभव र अनुभूतिहरू रित्तिन थाल्छन्, त्यसपछि उसको लेखनमा तर्क र शब्दजालको भरमार भद्दा लेपन हुन थाल्छ । नेपाली प्रगतिशील लेखकहरूको एउटा झुण्ड यस्तो विडम्बनापूर्ण भासमा जाकिइरहेको यथार्थ हाम्रासामु छ ।’
समय सात वर्ष वर आइसक्यो । तर आहुतिले सङ्केत गरेको ‘लेखकहरूको झुण्ड’ अहिले पनि तर्क र शब्दजालको लेपनले आजको समाज र निकट विगतको आँधीमय समयलाई ढाकछोप गर्ने प्रयत्न गरिरहेको छ । उनीहरू सहरमा बसेर सिकेको शब्द खेलाउने कलाद्वारा यथार्थलाई गलत बिम्बमा उतारिरहेका छन् । सबैलाई थाहा छ—जनयुद्धको एक दशकले नेपाली राजनीतिलाई उलटपुलट पारिदियो, जातीय पहिचानको पुनव्र्याख्या गरिदियो, उत्पीडित समुदायलाई आँतैदेखि जगाइदियो, युवाजगत्मा नौलो चेतना फैलाइदियो र समग्रमा नेपाली समाजमा नयाँ सांस्कृतिक मूल्यको दियो सल्कायोे । जनताको आन्दोलनको पल्लो किनारमा बस्नेहरूले त्यो मूल्यलाई जानाजान विकृत पार्न खोज्नु स्वभाविकै हो । तर, आफूलाई प्रगतिशील र वामपन्थी दाबी गरिरहेका लेखकहरू पनि घुमाउरो शैली प्रयोग गरेर जनयुद्धको महत्वलाई अवमूल्यन गर्न सक्रिय छन् ।
नेपाली साहित्यमा यथार्थको माथि उल्लिखित नकारात्मक प्रवृति मात्रै हावी छ्र्रैन । यसको ठिक विपरीत समाज, सङ्घर्ष र समयको पदचाप छामेर कलम चलाउने सचेत र प्रतिबद्ध साहित्यकारहरू पनि आफ्नो जाँगरमा जाँगर थपिरहेका छन् । जनताको त्याग, बलिदान र सङ्घर्षलाई ससम्मान आफ्ना रचना मार्फत् सलाम गर्ने स्रष्टाहरू पनि क्रियाशील छन् । ती मध्ये एक हुन्– कवि विष्णु भण्डारी । उनको महाकाव्य ‘उत्सर्ग’ भर्खरै प्रकाशित भएको छ, जुन भण्डारीको मात्रै होइन जनयुद्धलाई विषय बनाएर लेखिएको नेपाली साहित्यकै पहिलो महाकाव्य हो । यसले जनयुद्धको मूल्यलाई स्थापित गर्न महत्वपूर्ण भूमिका त खेल्ने नै छ, साथसाथै स्रष्टाहरूलाई विधागत विविधताबारे विमर्श गर्ने अवसर पनि दिएको छ ।
पुजीवादी युगको प्रतिनिधि साहित्यिक विधा उपन्यासलाई मानिन्छ । अहिलेको साम्राज्यवादी युगको संरचना बुझिनसक्नु गरी जेलिएको छ । समाजका जटिलता निकै सघन छन्, मान्छे समस्याका चौतर्फी झाडीहरूबिच अल्झँदै अघि बढिरहेको छ । र, राजनीतिले पनि अनेक चुनौतिसहितका अफ्ठ्यारा गौँडाहरू उक्लँदै नयाँ बाटो खनिरहेको छ । यस्तो युगको कुनै पनि दृश्यलाई परम्परागत महाकाव्यमा व्यक्त गर्न पक्कै सजिलो छैन । तर, विष्णु भण्डारीले जनयुद्धको महाकाव्यलाई उपन्यासमा हैन, महाकाव्यमा बुन्ने हिम्मत गरेका छन् । जनयुद्धको सेरोफेरोलाई आधार बनाएर लेखिएका दर्जनौं दर्जन साहित्यिक—गैरसाहित्यिक पुस्तक धमाधम प्रकाशित भइरहेकै थिए । कविता, संस्मरण, निबन्ध, कथा, उपन्यास र नाटक जनयुद्ध पक्षधर वा विरोधी दुबै खेमाबाट लेखिइरहेकै छ । चलचित्रमा पनि जनयुद्धको कथा आउने क्रम बढ्दो छ । तर, पहिलोचोटि जनयुद्धको उदात्तलाई पुरानो युगको साहित्यिक विधा मानिने महाकाव्यमा भण्डारीले नै उतारेका हुन् ।
आजभोलि कविताकै पाठक पनि निकै कम छन् । बजारमा सबैभन्दा धेरै परिमाणमा कविताका पुस्तक आउँछन् तर सबैभन्दा कम परिमाणमा पनि कविताकै पुस्तक बिक्री हुन्छन् । साहित्यिक विधाहरूमा आख्यान (उपन्यास र कथा) र त्यसपछि गैर आख्यान पुस्तक बढी चर्चामा हुन्छन् । प्रविधिले मान्छेको ध्यान उपन्यासबाट पनि क्रमश डकुमेन्ट्री र चलचित्रतिर खिचिरहेको छ । अहिलेको सहरी पुस्ता टेलिभिजन, मोबाइल, कम्युटर, आइपोड र इन्टरनेट संस्कृतिमा हुर्कदै छ । अबका स्रष्टाले सिर्जनालाई प्रविधिको पहुँचसँग पनि जोडेर लैजानु जरुरी भइसकेको छ । जनयुद्धको महाख्यानलाई पनि अब कविता वा महाकाव्यमा मात्रै सीमित गरेर व्यक्त गर्न असम्भव छ । भण्डारीको महाकाव्य आगमनले यसतर्फ पनि विमर्शको माग गरेको छ । महाकाव्यमा जनयुद्धद्वारा सिर्जित नयाँ यथार्थ स्थापित गर्ने भण्डारीको प्रयत्न एउटा ‘साहस’ नै हो । अब अरू स्रष्टाहरूद्वारा कथा, उपन्यास, चलचित्र, आदिमार्फत् नयाँ युग अनुकूलको सिर्जना गर्न ‘साहस’ गर्नु जरुरी छ ।
महाख्यानको अन्त्य, नायकको अन्त्य, इतिहासको अन्त्य भनेर पश्चिमाहरूले उहिल्यै उचालेको निरर्थक हल्लालाई अँगालो हाल्नेहरू नेपालमा पनि चुरीफुरी गरिरहेका छन् । यस्तो बेला जनयुद्धजस्तो सजीव महाख्यानमा आधारित भएर नेपाली इतिहासको विशिष्ट सांस्कृतिक मूल्यलाई स्थापित गर्न विष्णु भण्डारीले गरेको प्रयत्न प्रशंसनीय छ । सौन्दर्य चिन्तक चैतन्यको शब्दमा ‘उत्सर्ग’ मा ‘जनयुद्धको पक्षधरता मुखरित भएको छ र यो समाजवादी यथार्थवादमा आधारित छ ।’
दशवर्षे जनयुद्ध नेपाली राजनीतिक—सामाजिक इतिहासमा एउटा त्यस्तो परिघटना हो, जसले विश्वराजनीतिमा पनि खास सन्देश छोडेको छ । जनयुद्ध अवधिको नेपाली समाज एउटा त्यस्तो फराकिलो अध्ययन क्षेत्र हो, जसको गर्भमा कला—साहित्य (चलचित्र निर्माणसमेत ) का लागि असीमित कच्चा पदार्थ छ । जनयुद्धको मूल्यलाई कला—साहित्य र चलचित्रमार्फत् समाजमा स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी समयले अहिलेका सच्चा स्रष्टाहरूको काँधमा सुम्पेको छ । अअिलेका युग अनुकूलका कलाविधातिर अलि बढी ध्यान जानु अहिलेको आवश्यकता हो । स्रष्टाको रुचि, सीप र क्षमताअनुुसार सबै विधामा जनयुद्ध प्रतिबिम्बित हुनु जरुरी हुन्छ, जसका कारण पाठक—दर्शकले पनि आफ्नो रुचिअनुसार छनौट गरेर अध्ययन गर्न पाउने छन् ।
हावर्ड फास्टले आफ्नो कृति ‘साहित्य र यथार्थ ’ मा भनेका थिए, ‘पृथ्विमा मानिसको सारा जीवनकालमा गाउनका लागि यस्ता गीतहरू पहिले कहिल्यै रहेका थिएनन् । साहित्य सिर्जनाका लागि पहिले यस्ता सामग्रीहरू कहिल्यै रहेका थिएनन् । हामी विशेष रूपले भाग्यमानी छौं, किनभने हाम्रो सामु यस्तो चुनौती र उपलब्धिको यस्तो सम्भावना छ, जुन पहिले कसैका सामु थिएन ।’ नेपाली समाज र नेपाली जनयुद्धले दिएका खजाना पनि यसअघि कहिल्यै उपलब्ध थिएनन्, जसलाई सबै कलाविधामा उतार्न धेरै अझै गर्नु बाँकी छ ।
‘उत्सर्ग’ महाकाव्य कुनै पूर्णविराम होइन, विष्णु भण्डारीको यात्रा पनि जारी रहोस् ।
(जनदिशा : २०६७, असार १९, शनिवार )