(पहिलो संस्करणको भूमिका)
प्रा.डा. जगदीशचन्द्र भण्डारी
कविताको उच्च शिखर रूप महाकाव्य हो र यसमा जीवन जगत्का विराट् अनुभूतिले आख्यानीकृत स्वरूप ग्रहण गर्दछ । कविको तरल, चलायमान, गतिशील, चञ्चल अनुभूतिलाई मूर्त, ठोस, सजीव र स्थूल बनाउन आख्यानीकरणको आवश्यकता पर्दछ र त्यस्कै सहयोगमा अनुभूति मुर्तिन सक्छ । कविको जीवनको दीर्घ अनुभवजन्य अनुभूति र राशि वा अनुभूतिपुञ्ज महाकाव्यको आरम्भदेखि अन्त्यसम्म गडगडाउँदै बगेको हुन्छ । कथानक, पात्र र परिवेश वा परिस्थितिको संयोजन, सङ्घटनमा आख्यान निर्मित हुन्छ र त्यसकै अन्तः बाह्य स्वरूपमा कविका अनुभूतिपुञ्ज समाहित हुन्छन् ।
समग्र जिन्दगानीका महाभेललाई महाकाव्यले आफ्नो अन्तर्य बनाउँछ र अनुभूतिको महासागर प्रवाहित हुन्छ । कविलाई यहाँनेर बाह्य संसारबाट अनुभूतिको संसारलाई हेर्ने वा अनुभूतिको विराटताका माध्यमबाट वस्तुजगतलाई अवलोकन गर्ने विकल्प रहेका छन् । जीवन जगत्को विशालता र विस्तृतता एवम् तज्जन्य अनुभूतिका अनेकन समाल्नै, थुन्ने कठिन हुने प्रवाहलाइ मिलाउँदै लैजानुपर्ने आवश्यकता छँदै छ । कविताको दीर्घ साधना र तपस्याको उपज हुने र कविता विधाको बृहत् रूपको रूपमा चिनिने महाकाव्यको संरचना पनि विशिष्ट र उत्कर्षयुक्त नै हुन्छ । व्यापक जीवनको सङ्कथन हुने महाकाव्यमा लयगत विविधता एवम् साङ्गीतिक प्रवाहको पनि अपेक्षा गरिन्छ । यस परिप्रेक्षमा महाकवित्व अर्थात् विशाल अनुभूति राशिको अपेक्षा गर्ने कविता विधाको एक भेद महाकाव्य रचना गर्न साहस गर्ने कवि विष्णु भण्डारीको उत्सर्ग कृतिले महान् जनयुद्धलाई केन्द्रीकृत गरी महाकाव्यिक आख्यान बुनेको छ ।
नीलिमा, समीर, सिमरान, पत्रकार, आदि चरित्रको माध्यमबाट जनयुद्धका उत्सर्गपूर्ण र शौर्ययुक्त घटनालाई महाकाव्यले आफ्नो अन्तर्यमा आवेष्टित गरेको छ । यसले युद्ध, प्रेम र जीवनबारेका चिन्तनलाई महत्वका साथ उठाएको छ । वैज्ञानिक दर्शन, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रियवादिता, सर्वहारा मानवतावादी चिन्तन, जनयुद्ध, क्रान्ति र मुक्तिका अप्रतिम चेत र स्वरका दृष्टिमा उत्सर्ग महाकाव्यमा प्रखरता र उत्कर्षता रहेको छ । बृहत् कविता रूपकै आयाममा प्रबन्धित रहेको भए पनि कथानक सङ्घटनमा विच्छिन्नता र कवित्व ज्वार तथा प्रवाहको न्यूनता देखिन्छ । तापनि विषयवस्तु र भावविचारका दृष्टिमा काव्य सफल हुनुका साथै माथि उचालिएको छ ।
महाकाव्यमा कविता र आख्यानीकृत संरचनाका बिच प्रभावी, सम्मोही एवम् जादुमयी अन्तर्क्रिया गर्ने चेष्टा गरेको आभास पाइन्छ भने प्रगतिवादी क्रान्तिकारी विश्वचेतलाई साङ्गीतिक ढाँचा दिइएको छ । सामाजिकता, युद्ध, क्रान्ति र परिवर्तनका महान् उत्सर्ग, त्याग, बलिदनाको समीकरणमा विष्णु भण्डारीको महाकवित्व चलवलाएको छ । महान् जनयुद्ध केन्द्रीत क्रान्तिकारी अनुभूति, क्रान्तिकारी भाव चिन्तन र शैली शिल्पको आड लिई नवीन विषयवस्तु एवम् भाषिक सङ्कथन संरचनाका नवीनपनका पक्षमा महाकाव्यकार विष्णु भण्डारी उभिएका छन् । जनयुद्धको गाथालाई महाकाव्यिक ढाँचामा प्रस्तुतिको प्रयोजनमै पनि उत्सर्ग काव्यको महत्ता रहेको मान्नै पर्दछ ।
विशेषत उत्सर्ग महाकाव्यको आख्यान जनयुद्धसिर्जित परिवेश, घटना र पात्र विधानद्वारा निर्मित छ । जनयुद्ध आफैंमा एउटा आख्यान हो । यसकै संस्पर्श उत्सर्गमा रहेको छ । नेपाली जीवनमा आएका उथलपुथल नवनव चेत, मुक्तिको निम्ति भएका अकल्पनीय सङ्घर्ष, वर्गयुद्धका विशिष्ट तरिका, पुराना तथा मृत्युन्मुख तत्वकाविरुद्ध भएका उद्दाम समरक्रिया उत्पीडित, दलित, जातिजनजातिका अनैतिहासिक विद्रोहचेत, सार्वभौमिक र कालिक विशेषतायुक्त क्रान्तिरूपजन्य जीवनको अनुभूतिधारका विविधतालाई समेट्ने चेष्टा गर्दै काव्यकारले काव्यको आख्यान सामाग्री बनाएका छन् । यसमा यौद्धिक जीवनजन्य अनुभूतिलाई प्रबन्धन गरिएको छ र तिनै अनुभूतिलाई आख्यानका माध्यमबाट संयोजन/व्यवस्थापन गर्न आख्यानात्मक स्वरूपको शिल्प–प्रविधिको सहयोग लिइएको छ ।
महाकाव्यमा प्रत्येक सर्गलाई छुट्टाछुट्टै नाउँ दिई आख्यानलाई अगाडि बढाएर सर्गबन्धनमा नवीनता ल्याइएको छ । मूल आख्यानलाई ठोस र प्रभावपूर्ण बनाउन आंशिक उपाख्यानको उपयोग समेत गरिएको छ । यो यौद्धिक तथा समरीय जीवनको लय चेतनाद्वारा समृद्ध र कवितात्मक अनुभूतिको भावप्रवाहद्वारा सम्पन्न रहेको छ र वर्गीय समाजमा उद्बुद्ध वर्गयुद्धको आख्यान आएको छ । यसमा द्वन्द्वरत नेपाली समाज, युद्ध, सर्वहारा मानवता, आमूल रूपान्तरण एवम् मुक्तिको भाव विन्यास/प्रबन्धन एवम् सङ्ग्रन्थन गरिएको छ । आख्यानको विस्तृतता/व्यापकता र कवित्वको अधिनायकत्वको अपेक्षालाई पूर्ण गर्न नसके पनि विषयवस्तु र शैलीशिल्पमा नवपथ कोर्ने काम उत्सर्ग महाकाव्यले गरेको छ ।
(चैत, २०६६)