छायादत्त न्यौपाने ‘बगर’
१. छोटै समयमा आफ्नो उपस्थितिलाई दरो बनाइसकेको नाम हो विष्णु भण्डारी । नेपाली काव्यिक जगतमा आफ्नो प्रवेश ‘विद्रोहको छाल’ (२०४३) बाट गरेका भण्डारी निरन्तर साधकका रूपमा देखा पर्छन् । हँसिलो अनुहार, सहयोगी मिजास, फुर्तिलो व्यवहारका सतचालिस वर्षीय भण्डारी स्रष्टा एवं राजनीतिकर्मीका रूपमा समेत आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा देखिन्छन् । खण्डकाव्य, मुक्तक सङ्ग्रह, कविता सङ्ग्रहहरू नेपाली साहित्यलाई दिएर समृद्ध बनाउन समर्पित स्रष्टा भण्डारीको भरखरै मात्र ‘उत्सर्ग’ शीर्षकको महाकाव्य प्रकाशित भएको छ ।
२. ‘उत्सर्ग’ नवीन शिल्प शैली, सोच, विचार र दृष्टिकोण लिएर आएको महाकाव्य हो । पुरानो परम्पराले थिचिएको समाजलाई परिवर्तन गर्ने, र न्यायिक समाज स्थापना गर्ने उद्देश्यबाट प्रेरित भण्डारीले वि.सं.२०५० को दशकबाट सुरु भएको एक दशक लामो जनयुद्धलाई आफ्नो महाकाव्यको कथानक बनाएका छन् । भण्डारी ऐतिहासिक महत्वको जनयुद्धको यथार्थलाई कविताको माध्यमबाट सर्वसाधारण जनतामा सम्प्रेषण हुने गरी प्रस्तुत गर्न आतुर देखिन्छन् ।
३. उद्वोधन उपशीर्षकबाट सुरु भएको यस महाकाव्यमा जम्मा एक्काइसवटा उपशीर्षक छन् । उपसंहार पनि छ । यसको उपसंहार बिट मार्ने खालको छैन । जनयुद्धले सिर्जना गरेका थुप्रै परिघटनाहरू छन् । तिनलाई लिएर अरू प्रसस्त सिर्जनाको सम्भावना छँदै छ । परम्परित महाकाव्यहरूमा झैँ यसमा मङ्गलाचरण, सर्ग, अध्याय जस्तो विभाजन प्रक्रिया छैन । लेखकीय उद्देश्य अनुकूलको भाव व्यक्त गर्नका लागि साङ्केतिक रूपले उपशीर्षकहरूको प्रयोग भएको छ । डिमाई साइजमा प्रकाशित यस कहाकाव्यमा जम्मा ३२० र मुख्य २८८ पेजको आयाम छ । यो महाकाव्य नेपाली महाकाव्य परम्पराका नायक, नायिका, छन्द प्रयोग, सर्ग वितरण, घटनावस्तु जस्ता परिधिलाई चुनौती दिंदै फरक मान्यता बोकेर आएको छ । आवधिक जीवन व्याख्या गर्ने शास्त्रीय मूल्यको पनि यसले वास्ता गरेको देखिंदैन । यसले पुरानो परम्परा उछिनेर नयाँ मूल्य स्थापित गर्ने जमर्को गरेको छ ।
४. उत्सर्ग महाकाव्यलाई काव्यिक दृष्टिले सफल महाकाव्य मान्नुपर्छ । कवित्व शक्ति, जीवनबोध, आख्यानात्मकता, समाजप्रतिको दृष्टिकोण जस्ता गुणहरूको परिपाक प्रस्तुतिले प्रस्तुत काव्यलाई सफलता दिएको अनुभूत हुन्छ । काव्यकार आफ्नो जीवनाभूतिलाई निर्धक्कसित प्रस्तुत गर्छन् । उनी आफूले महाकाव्यमार्फत दिन चाहेको कथनप्रति स्पष्ट र दृढ देखिन्छन् ।
५. भण्डारी अरूलाई दुःख दिएर आफूले मोज गर्ने सामन्ती प्रवृत्तिका नायक–नायिका होइन जनताका पक्षमा आफूलाई समर्पित गर्ने सङ्घर्षशील नायक–नायिका स्थापित गर्ने प्रयत्नमा जुटेका छन् । भण्डारी आफ्नो जीवनलाई सङ्घर्ष हो, त्याग हो, बलिदान हो, स्वार्थरहित व्यवहारबाट सामूहिक कल्याण पहिल्याउने चिन्तन पारखीका रूपमा देखाउँछन् र यही आग्रह गर्छन् ।
६. साहित्य विचार सम्प्रेषणको माध्यम हो । व्यवहार बनाउने आधार हो । न्याय सिकाउने स्रोत हो । समयको माग र जीवनको आवस्यकतानुसार मानिसलाई कर्म क्षेत्रमा समर्पित गराउने रमाइलो साधन पनि साहित्य नै हो । मान्छेमा जोस, होस र जाँगर भरिदिएर न्यायिक समाज स्थापना गर्ने र स्वतन्त्र रूपले स्वाधीन जीवन जिउने उत्साह वितरणमा पनि साहित्यको प्रभावकारी भूमिका रहन्छ । स्रष्टाका अनुभूतिबाट लछप्प भिजेर गतिशील उत्प्रेरणा प्रदान गर्ने साहित्यले जीवनलाई विभिन्न भ्रमहरूबाट जोगाई गति दिन्छ । साहित्य श्रमजीवी जनताका पीरमर्का, दुःखपीडा, मर्म र खुसी बोल्छ, जीवनप्रति आशावादी बनाउँछ, श्रमशील बन्ने चेतना प्रवाह गर्छ, नैतिक मूल्यमा अडिन सिकाउँछ । विष्णु भण्डारीको उत्सर्ग महाकाव्य यसै दिशातर्फ उन्मुख छ । सशक्त ढङ्गले जीवनजगतको पक्षमा उभिएको छ ।
७. उत्सर्ग महाकाव्य नेपाली राजनीतिमा ऐतिहासिक गरिमा ओढेको जनयुद्धको सजीव चित्रण पनि हो । जनयुद्धले आर्जेको यथार्थ र जनजीवनमा पारेको सकारात्मक प्रभाव जुन परिवर्तनको संवाहक हो त्यसैलाई समेटेको छ । जनयुद्ध कालका चुनौतीहरू खेप्दै जनसेनाले प्राप्त गरेको सफलताप्रति लेखक आशावादी देखिन्छन् । महाकाव्य त्यस समयको यथार्थ एवं भावनात्मक पक्षको सम्प्रेषणतर्फ पनि ढल्केको अनुभव हुन्छ । यस्तो विषयवस्तुमा रचिएको प्रथम काव्य भएकोले विषयवस्तु र भाषाशैलीमा परिष्कारको कमीलाई आउँदो संस्करणमा हटाउन सके नेपाली महाकाव्य परम्पराको नयाँ मोड कायम गर्ने महाकाव्यका रूपमा उत्सर्गले स्थान लिने सम्भावनालाई नकार्न सकिंदैन । ‘अस्तु’
(हाम्रो नौलो बिहानी, वर्ष ३, अङ्क १, बैशाख,२०६८,पृ. ३१)