माधव घिमिरे ‘अटल‘
‘यो महाकाव्य काव्य पण्डितहरूको आँखामा महाकाव्य नलाग्न सक्छ । यसमा न छन्दको मिठास छ न शब्दको चातुर्य ।’ एक स्थापित तथा धारिला प्रगतिवादी स्रष्टा तथा काव्यकार विष्णु भण्डारीको स्वीकारोक्ति हो यो । यो स्वीकारोक्तिले नै प्रष्ट पारेको छ उनले अत्यन्त मेहनतपूर्वक सिर्जना गरेको जनयुद्धको उदात्तताले भरिपूर्ण पहिलो महाकाव्य ‘उत्सर्ग’ ले शास्त्रीय संरचनालाई पूर्णरूपमा पछ्याएको छैन बरू ‘विविध छन्द र शैली’ भन्ने पक्षलाई लत्याइदिएको छ । यस अर्थमा यो नयाँ यथार्थमा आधारित सुन्दर सिर्जनाले महाकाव्यको परिभाषाको दायरा नै फराकिलो बन्नुपर्ने कुराको घुमाउरो माग गरेको छ ।
गरिबीले चपाइएका तर जीवनबाट निराश नबनी पसिनाको मूल्यबोध गर्दै मुक्तियुद्धमा बहादुरीपूर्वक होमिएका लडाकाहरूको जीवनगाथा र शौर्यलाई सरल र सहज रूपमा जीवन्त ढङ्गले उतारिएको छ काव्यिक क्यानभासमा । ती महान् मान्छेहरू जसले दानवीय दमनको रत्तिभर पर्वाह नगरी भावी सन्ततीका मुहारमा मुस्कानको लेपन लाउनका निम्ति रगतको इतिहास लेख्न तम्तयार भए, हो—तिनै सुन्दर सन्ततिहरूको निःस्वार्थ समर्पणको सटिक आख्यान हो ‘उत्सर्ग’ महाकाव्य । तिनले व्यावहारिक रूपम जीवन र समाजको यथार्थबोध गरे, प्रेमलाई वासना र तुच्छ स्वर्थबाट माथि उठाएर वर्गीय स्तर प्रदान गरे, त्याग र वीरताको असल नमूना पेश गरे, ज्यूँदै खाल्डोमा पुरिँदा वा जल्दासमेत अविचलित रहिरहे र रागात्मक प्रेमको परिभाषा नै फेरिदिए । महाकाव्यले त्यस्तै अजर अमर जनसमरका अथक् यात्रीहरूको चित्रपटको काम गरेको छ ।
काव्य लेखनका परम्परागत अवधारणा, मान्यता र प्रचलनलाई तोड्दै, कुल्चदै र भङ्ग गर्दै प्रगतिवादी अवधारणामा आधारित भई अघि बढ्नु निश्चय नै चानचुने कुरा होइन बरू बहादुरीपूर्ण र साहसिक काम हो । त्यही चुनौति मोल्न तत्पर भएर खरो उत्रिए कवि विष्णु भण्डारी । अझ जतिबेला महाकाव्य लेखनमा अत्यन्त मन्दी आइरहेछ किनकि युगान्त र युगारम्भ भइरहेको परिवेश छैन भलै परिवर्तनका निम्ति कठिन मेहनत नै गरिएको किन नहोस्,यस्तो प्रतिकूल परिस्थतिलाई समेत कविले सहज ढङ्गले लिएर जसरी काव्य तयार गरे यो नितान्त प्रशंसनीय काम भएको छ ।
समीर र नीलिमालाई क्रमशः मुख्य नायक र नायिकाको रूपमा प्रस्तुत गरिएको यस काव्यमा जनसमरकी घाइते नीलिमा सुस्ताउने क्रममा स्थानीय युवा समीरको घरमा पुग्छे र चोट निको नहुँदासम्म त्यहीँ आश्रय लिन्छे । मालेमावादबाट दीक्षित ऊ घाइते अवस्थामा समेत देश र जनताप्रति नै चिन्तित हुन्छे र सोही कुराको बहस चलाउँछे आश्रयस्थलमा समेत । प्रारम्भमा एउटा घाइते केटीको लहड मात्रै बुझे पनि अन्ततोगत्वा समीर समेत नीलिमाबाट प्रभावित हुन्छ र जनयुद्धमा होमिने प्रण गर्छ । ऊ सशरीर विभिन्न युद्धमोर्चामा भिड्छ र सन्धिखर्कको लडाईमा अकस्मात घाइते बन्छ । उपचारकै क्रममा उसलाई गिरफ्तार गरिन्छ, सैनिक हिरासतमा राखिन्छ र सोही मानव बधशालामा उसलाई हत्या गरिन्छ । तर ऊसँगै रहेको एउट स्रष्टा कारागारमुक्त हुन्छ र उसको बलिदानीपूर्ण शौर्यको मुक्तकण्ठले प्रशंसा गर्छ । अनि नीलिमाले समीरको उत्सर्गले गर्दा उसले अमरत्व प्राप्त गरेको घोषणा यसरी गर्छे-
‘ऊ दुखेका मनहरूको प्रतिबिम्ब हो ऊ हाम्रो जीवन ऊ हाम्रो आस्था ऊ मर्ने छैन मृत्युलाई जित्नेहरू कहीँ मरेका छैनन् ऊ विद्रोहको एउटा सिपाही ऊ आस्थाको सतिसाल हो ।’(उत्सर्गः २८८)
ठिक यहीँनेर समाप्त हुन्छ महाकाव्यको मूल विषय । भाषिकदेखि शिल्पसम्म महाकाव्य अत्यन्त सबल छ । प्रस्तुतिको सान्दर्भिकता र सहजता, कलात्मकता र एउटा नौलो आदर्शको स्थापना यसका उज्याला पक्षहरू हुन् । त्यति हुँदाहुँदै पनि एकाध उपशीर्षकमा उठान गर्न खोजेको कथाको मूलतत्व नै हराए जस्तो देखिनु तथा अलि बेसी भावनापक्ष हाबी देखिनुलाई यसको सीमाको रूपमा लिन सकिन्छ । यी सामान्य सीमाका बाबजुद महाकाव्यले जे उठान गर्न खोजेको छ त्यसमा काव्यकार सफल छन् । त्यसैले यसलाई उनको पहिलो पाइलाको रूपमा लिँदै आगामी दिनमा उनी अरू माझिने छन् भनेर कामना गर्न सकिन्छ ।
( श्रृङ्खलाः वर्ष ३२, अङ्क ८, पूर्णाङ्क ३७, चैत, २०६७, पृ. ३१)