रमण घिमिरे
मान्छेलाई जतिसुकै चिरा पारेर बुझ्न खोजियो भने पनि ऊभित्रको रहस्य, रहस्य नै रहन्छ । मान्छेको प्रवृति र यसको विचारको शल्यक्रिया कुनै समालोचकले पनि गर्न सक्दैनन् । किनभने, मान्छे कुनै ‘मेसिनरी’ होइन, जसका पाटपुर्जा फुकालेर सुक्ष्मान्तरमा पुगेर व्याख्यान गर्न सकियोस् ।
यसैले मानिसलाई पेशाका हिसावले बिभिन्न रूपमा वर्गीकरण गर्न सकिएला, लिङ्ग र जातिका आधारमा उसको एउटा पाटोलाई अर्थ लगाउन सकिएला । तर, मान्छेभित्र रहेको विशालतालाई कुनै वाद र सिद्धान्तको धरातलमा टेकेर यसै हो भन्ने निर्णय गर्नु कठिन छ । यो मानवीय विशेषताको शाश्वत स्वरूप हो ।
माओवादी कार्यकर्तासमेत रहेका कवि विष्णु भण्डारीले चाहिं मानिसलाई दुई कित्तामा विभाजित गरी एउटा महाकाव्यकै रचना गरेका छन् र मान्छेलाई आफ्नै दृष्टिकोणभित्रको बुझाइका भरमा आफ्नै अर्थ निकालेका छन् । सामान्य रूपले शासक र शासितबीचको जुन कुरा यस काव्यमा कविले उठाएका छन्, विषयवस्तुका हिसावले यो कुनै नयाँ होइन । शताब्दियौँदेखि मानिस दुई चिरामा विभाजित छ, हुने खाने र हुँदा खाने । तर, उनको कलात्मक रचनाले उनको सफल काव्यकारिताको परिचय दिएको छ ।
'हो, त्यही नवीन जीवनको कथा हो यो जसले हाँसी हाँसी मृत्युलाई स्वीकार गरे ती महान् योद्धाको कविता हो यो जसले ढल्दाढल्दै पनि मुक्तिको आवाज बोले ।'(उत्सर्ग : १२)
शैली र अभिव्यक्ति क्षमतामा सारै तिख्खर देखिएका भण्डारीको काव्यात्मकता यति शक्तिशाली छ, कहीँकहीँ त साँच्चै पाठकको मनलाई सारै अनुभूतिपूर्ण स्पर्श गर्छ ।
दुई भागमा विभाजित नेपाली जनयुद्धको महागाथाः उत्सर्ग नामक २३ वटा लामालामा कवितालाई उनले महाकाव्य भनेका छन् । एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीको भनाइबाट यो पुस्तक माओवादी ‘जनयुद्ध’ का केही विशिष्ट घटनाहरूको काव्यात्मक प्रस्तुति हो भन्ने बुझ्नुपर्छ । यसैले यो एकतर्फी वकालत पनि हो । कुनै पार्टीको छातामुनि बसेर भएको सिर्जना स्वतन्त्र हुँदैन । तर, अक्सफोर्ड इन्टरनेशनल पब्लिकेसनद्वारा प्रकाशित उत्सर्गभित्रका समग्र कविताहरूलाई पढेर निष्कर्ष निकाल्ने हो भने भण्डारीको लेखनमा कलात्मकता छ, सौन्दर्यबोध छ र काव्यात्मक शैली छ । यस आधारमा यो निकै उत्कृष्ठ काव्यसङ्ग्रह हो । तर, यसलाई एकतर्फी दृष्टिकोणबाट हेरिएर आफ्नै मात्र डम्फु नबजाएको भए, यो महाकाव्य समग्र साहित्यकै लागि सङ्ग्रहणीय हुनेथियो ।
(नेपालः वर्ष ११, अङ्क ७, ३ असोज २०६७, पृ. ५४)