कृष्णप्रसाद भण्डारी
आकार आयामका दृष्टिले कविताको उच्च एवम् शिखर रूप हो महाकाव्य । पूर्वीय महाकाव्य सिद्धान्तमा महाकाव्यका विभिन्न लक्षण हुन्छन् भनिएको छ जस्तै धीरोदात्त नायक, सर्गबद्धता नायक नायिकाको जीवनी, प्रकृति चित्रण, छन्दबद्धता, सर्गान्तमा छन्द परिवर्तन र भावी सर्गको सङ्केत आदि । यी लक्षणमध्ये आंशिक रूपमा मात्र पालन गरिएको बेग्लै ढाँचानो आधुनिक शैलीको महाकाव्य साहित्यिक बजारमा आएको छ–‘उत्सर्ग’ ।
विष्णु भण्डारीद्वारा रचित यस काव्यलाई नेपाली जनयुद्धको महागाथा भनिएको छ । २०५२ सालदेखि नेपालमा सञ्चालित माओवादी जनयुद्धको सचित्र वर्णन यसमा गरिएको छ । दुई खण्डमा संरचित प्रस्तुत काव्यमा २१ वटा उपशीर्षक छन् । हरेक उपशीर्षकले सर्गको नामाकरण गरेको देखिने यस काव्यको परिवेश आञ्चलिक सीमामा बाँधिएको छ । किनभने यसको भौगोलिक सेरोफेरो अर्घाखाँची र गुल्मी जिल्लामा केन्द्रित छ ।
‘उत्सर्ग’ को अर्थ त्याग र वलिदान हो । लगभग १५ हजार नेपालीले सहादत प्राप्त गरको जनयुद्धमा राज्यपक्ष र माओवादीबाट हताहत भएका थिए । समीर र नीलिमा यस काव्यका नायक–नायिका हुन् । यी दुईको संवाद र प्रश्नोत्तरमा काव्यको कथानक अघि बढेको छ ।
घाइते छापामार युवती नीलिमा समीरको कोठामा आश्रय लिएर केही समय बसेकी हुन्छे । बसाइकै क्रममा उनीहरूको मायाप्रीति झाङ्गिई नीलिमाको प्रेरणाले समीर जनसेनामा प्रवेश गर्छ । कलम कापी लिएर विद्यालयमा पढ्ने युवाहरूले बन्दुक बोके, चकडस्टर लिने शिक्षक, कलम र कुची तथा मादल बोक्ने कलाकारहरूले हातमा ग्रिनेड बोके । यो समयको आवश्यकता थियो भन्दै यसको परिणाममा निरङ्कुश राजतन्त्रलाई झुक्न र अन्तिममा सत्ता छोड्न बाध्य बनाएको उल्लेख छ ।
यस काव्यमा अभिव्यक्त केही मार्मिक सन्दर्भ यस प्रकार छन्–‘जसले हाँसी हाँसी मृत्यलाई स्वीकारे, जसले ढल्दा ढल्दै पनि मुक्तिको आवाज बोले’, सहिदप्रतिको उच्च सम्मान हो यो । युद्धको मोर्चामा जान गरिएको प्रेरक प्रसङ्ग यस्तो छ– ‘म प्लास्टिकको बिरुवा जस्तो चेतनाहीन भएर बस्न सक्दिनँ म दासको जीवन जस्तो अर्थहीन भएर बाँच्न सक्दिनँ ।’
एक अर्को प्रसङ्गमा नीलिमा र समीरको संवाद यस्तो छ– ‘त्यहाँ त तरवारको धारमा हिँड्नुपर्छ, बारुदको धुवाँमा बाँच्नुपर्छ त्यहाँ त भोक भोकै हाँस्न सिक्नुपर्छ, खुसी खुसी मर्न सक्नुपर्छ ।’ युद्धको मैदानमा गरिएको वीरतापूर्ण अभिव्यक्ति यस्ता छन्– ‘म एक मुठी हाँसोको लागि बन्दुक बनेर पट्किन तयार छु ।’ ‘जीवन खेतमा मात्र हैन पहरामा पनि फुलेको हुन्छ ।’ बलीदानी मृत्युको वर्णन गर्दै नायक समीर भन्छन्– ‘नीलिमा ! मर्नु मराजय हैन भाग्नु पो पराजय हो, हामी भागेनौं लडयौं, हामी झुकेनौं ढल्यौं ।’
प्रस्तुत महाकाव्यमा कथानकलाई अघि बढाउन विभिन्न पात्रहरूको चयन गरिएको छ, जसमा सिमरान, पत्रकार, कवि, मनीष, किरण प्रमुख छन् तर काव्यको केन्द्रीय चरित्र समीर र नीलिमाको संवादात्मक प्रस्तुति नै यस महाकाव्यको मुख्य आधार बनेको छ, साँचो प्रेम सिमलको भुवा होइन भन्दै प्रेमको स्वरूप अटल र दृढ विश्वासी हुन्छ भन्ने शाश्वत मान्यता यहाँ अघि सारिएको छ । अन्त्यमा हजारौं आमाका रित्ता काख देख्छु, हजारौं चलीका खाली सिउँदा देख्छु भन्दै बलिदानी गाथाको निचोड निकालिएको छ ।
( मधुपर्कः असोज २०६७, वर्ष ४३, अङ्क ५, पूर्णाङ्क ४९६, पृ. २० )