महाकाव्यमा जनयुद्धको गाथा

ऋद्धिरमण घिमिरे

संस्कृतिकर्मी विष्णु भण्डारीको सातौँ कृति ‘उत्सर्ग’ महाकाव्यले कवि भण्डारीको वैचारिक चिन्तनको उन्नत अवस्था जनयुद्धको उत्कर्षकालको परिवेश सोही घटनाक्रमको आधारमा अभिव्यक्त गरेको छ । जनयुद्धको विषयवस्तुलाई सामाजिक यथार्थवादी चिन्तनका साथ काव्यमा अन्वित गर्दै परम्पराभन्दा पृथक संरचना, शिल्प र शैलीमा लेखिएको प्रस्तुत उत्सर्ग’ महाकाव्यले एक नवीन क्षितिजको घुम्टो खोलेको छ ।

संरचनात्मक रूपमा दुई खण्ड र एक्काइस ओटा उपशीर्षकमा विभक्त ‘उत्सर्ग’  स्वच्छन्द शैलीमा लेखिएको काव्यकृति हो । तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालित जनयुद्धको महानता, युद्धमा सामेल लडाकुको शौर्य, पराक्रम र चातुर्य, विपरीत कित्ताको कायरता र वर्गीय प्रेमको वर्णन सामेल यो कृतिले प्रगतिवादी चिन्तन र चेतना एकसाथ  मुखरित गरेको पाइन्छ । परम्परागत महाकाव्यमा पाइने धीरोदात्त नायकको  सट्टा जनयुद्धको मोर्चामा सामेल नीलिमा र उनीद्वारा जनयुद्धमा सामेल हुन पे्ररित समीरको उदात्त चरित्र र कार्य स्थापित यस पुस्तकले परिवेशको रूपमा गुल्मी, अर्घाखाँची र प्युठानका विभिन्न स्थानलाई आधार बनाइएको छ । निम्न वर्गीय पात्रको प्रयोग गरी हरेक प्रकारका प्रताडना, शोषण, विभेद र अत्याचारको विरोध गरिएको समीक्षार्थ पुस्तकले विद्रोही अग्नीगर्भी चेतना यसरी उजागर गरेको छ–

मान्छे बम बन्ने छन्
मान्छे तरबार बन्ने छन्
र नष्ट गर्नेछन् मान्छेविरुद्धका सत्ताहरू (उत्सर्गः५३)

मान्छेद्वारा मान्छेमाथि नै हुने उत्पीडन र सामाजिक अन्तर्विरोधको प्रसङ्गबाट महाकाव्यको उठान गरी त्यसैको प्रतिरोधस्वरूप सुरु भएको जनयुद्धको महानता पुष्टि गर्दै उज्यालोको कामनाका साथ अन्त्य गरिएको प्रस्तुत काव्यले क्रान्तिको सौन्दर्य र आदर्शलाई आत्मसात गरेको छ ।

 ‘उत्सर्ग’ कृति द्वन्द्वात्मक भौतिकवादको विचारधारालाई टेकेर वर्गीय चिन्तनको जगमा उभिएको भए पनि पारस्परिक प्रेम, निष्ठा, विश्वास र प्रतिबद्धताका भावनात्मक कडीबाट पूर्णतः विमुख भने छैन ।

प्रगतिवादी कवि विष्णु भण्डारीको ‘उत्सर्ग’ महाकाव्यले देश, जनता र जनयुद्धप्रतिको पक्षधरता मुखरित गर्दै विवेक र साहसका अनुपम सङ्गम लालझन्डाबाहक क्रान्तिकारी मान्छेहरूको बलिदानीपूर्ण जीवनगाथा पर्गेलेको छ । नयाँ विचार, नयाँ संस्कृति र नयाँ मूल्यको स्थापनाको अभीष्ट सन्निहित यो काव्य जनयुद्धको विषयवस्तुमा पूर्णतः केन्द्रित पहिलो महाकाव्य भएकाले पनि विवेच्य र पठनीय छ । 

जीवन दर्शनका आयामहरूको सटिक उठान र मुखर प्रस्तुतिका अलावा संवेगात्मक आख्यानको काव्यात्मक अनुशीलनले विरोधी कित्ताका कलमधारीहरूले एकपक्षीय रूपमा जनयुद्धको प्रशंसा गरेको पुस्तक भन्ने आरोप लगाउन सक्ने सम्भावना भए पनि ‘उत्सर्ग’ महाकाव्य प्रगतिवादी लेखनको इयत्तामा एक नवीन प्राप्ति हो भन्नुमा अतिशयोक्ति हुँदैन ।

(गरिमा : माघ, २०६८, वर्ष ३०, अङ्क २, पूर्णाङ्क ३५०, पृ. १३५ )


  प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १५:१४