वन्दना ढकाल
नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षलाई साहित्यमा प्रतिबिम्बित गर्ने स्रष्टामध्ये एक हुन् कवि विष्णु भण्डारी । भण्डारीको उत्सर्ग जनयुद्धलाई विषय बनाएर लेखिएको नेपाली साहित्यकै पहिलो महाकाव्य हो ।
भनिन्छ, अहिलेको साम्राज्यवादी युगको सामाजिक जटिलतालाई परम्परागत महाकाव्यमा व्यक्त गर्न सजिलो छैन । तर, विष्णु भण्डारीले जनयुद्धको महाख्यानलाई महाकाव्यमै बुन्ने साहस गरेका छन् । महाकाव्यमा भण्डारीले उत्पीडनविरोधी युद्ध र वर्गीय प्रेमको फ्युजन गरेका छन् ।
जनयुद्धजस्तो सजीव महाख्यानमा आधारित भएर नेपाली इतिहासको विशिष्ट सांस्कृतिक मूल्यलाई स्थापित गर्न भण्डारीले गरेको प्रयत्न प्रशंसनीय छ । सौन्दर्यचिन्तक चैतन्यको शब्दमा उत्सर्ग मा ‘देश, जनता एवम् महान् जनयुद्धप्रतिको पक्षधरता मुखरित भएको छ र यो समाजवादी यथार्थवादमा आधारित रहेको छ ।’ यसले नेपाली महान् जनयुद्धको मूल्यलाई साहित्य मार्फत् समाजमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने नै छ ।
(रातो झिल्को : वर्ष २ संयुक्ताङ्क ४-५, अप्रिल-सेप्टेम्बर, सन २०१०, पृ. १४६)