सङ्घर्ष र मुक्तिको आकाङ्क्षा राख्ने सुन्दर काव्यकृति

(पहिलो संस्करणको भूमिका)

गणेश भण्डारी

विष्णु भण्डारी नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा प्रखर प्रतिभाशाली युवा कवि हुन् । चालिसको दशकदेखि निरन्तर जनताको पक्षमा कलम चलाउँदै आएका कवि भण्डारीको कछिल्लो कविता सङ्ग्रह हो देश जागेको बेला ।

साहित्य र कला जीवनभन्दा असंपृक्त छैन । जीवन, सङ्घर्ष, प्रकृति र विचार सङ्घर्षका अनेकौँ आनुभूतिहरू यथार्थको कलात्मक पुर्नसिर्जनीकरण नै साहित्य हो । साहित्यमा तत्कालीन समयको सामाजिक अन्तरविरोध र वैचारिक सङ्घर्षको अभिव्यक्ति हुन्छ । साहित्य इतिहास र समयको सम्यक साक्षी हो, अर्थात् श्रम सङ्घर्ष, उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षको कलात्मक दर्पण नै साहित्य हो, जसको सवल दसी विष्णु भण्डारीको यो कविता सङ्ग्रह पनि हो ।

कुल तिसवटा कविता समाविष्ट यो कविता सङ्ग्रह सामन्ती तानाशाही निरङ्कुशताविरुद्ध जनआन्दोलन दुईका बेला मृत्युलाई चुनौती दिँदै मुक्ति र स्वतन्त्रताका लगि लड्ने इतिहासका निर्माता जनसमुदायको बहादुरीताका अनेकौँ उपक्रमहरूको काव्यिक वर्णन हो । यसो पनि भन्न सकिन्छ यो सङ्ग्रह १९ दिने महान् जनआन्दोलनलाई सचित्र वर्णन गरिएको काव्यिक अभिव्यक्ति हो । यसलाई काव्यिक दैनन्दिनी भन्न पनि सकिन्छ ।

जनआन्दोलनको मूल विषय र कथ्यमा विविध चरित्र र परिवेशको जीवन्त चित्रणले भरिएको यो कविता कृति परम्परामा नयाँ थालनीको प्रारूप हो । जतिखेर सिङ्गो देश तानाशाही यन्त्रणाले दुखेको थियो, जतिखेर देश हुकुमी फर्मान र आदेशभित्र कैद थियो, मौलिक स्वतन्त्रता, कानूनी राज र लोकतान्त्रिक मर्यादाहरूको उपहास भएको थियो, जतिखेर स्वेच्छाचारी बर्बरता सलह जस्तै मुलुकभरि फैलिएको थियो, जतिखेर देश व्यभिचार, अत्याचार, दुराचारका कर्तुतहरू खेल्ने घिनलाग्दो क्रीडास्थल बनेको थियो, सामन्ती बर्बरता र हैकमलाई परास्त गर्ने हाँक दिँदै देशमा विद्रोहको डढेलोमा सल्केको थियो । कुनै गाउँ, कुनै ठाउँ, कुनै गल्ली, चोक र सहरबजार यस्तो थिएन जहाँ जनआन्दोलनको ज्वाला नबलेको होस् ।

न्याय र कानुनका सिक्रीहरू चुँडाल्दै सिङ्गो मुलुक प्रतिरोध युद्धमा फेरिएको थियो । एकातिर महान् जनमुक्ति सेना र नयाँ नेपाल निर्माणको नेतृत्व गरिरहेको नेकपा (माओवादी) ले दुश्मनका छाउनीहरू ध्वस्त पार्दै विजय अभियान अगाडि बढाइरहेको थियो भने अर्कोतिर सहरमा जनआन्दोलन समुद्रको लहरझैँ फैलिँदै थियो । त्यो बेला गिरफ्तारी, धरपकड, लाठीचार्ज, गोलीप्रहार, हत्या र वेपत्ता दैनन्दिनी जस्तै बनेको थियो । उतिखेर को कहाँ मारिने हो, कतिखेर को कहाँ बेपत्ता पारिने हो, कतिखेर को कहाँ गोलीको सिकार हुने हो, कुनै टुङ्गो थिएन । फाँसीवादी तानाशाही बर्बरता वेलगाम थियो । तर, जनता दमन र आतङ्कका सम्पूर्ण विभीषिका निलेर सडकमा ओर्लिएका थिए । जुन जनआन्दोलन नेपाली इतिहासको सामान्य घटनाक्रम नभएर महान् परिघटना सिद्ध भएको छ । त्यसै महान् परिघटनाको शब्दचित्रात्मक र काव्यिक अभिव्यक्ति हो देश जागेको बेला ।

माक्र्सवादी सौन्दर्यचिन्तनले सर्जक, समाज र साहित्यको अन्तरसम्बन्धलाई अन्योन्याश्रित ढङ्गले परिभाषित गरेको छ । त्यसैले विष्णु भण्डारीले भोगेको त्यो वर्तमान उनी आफै पनि सटिक इतिहासको महागाथात्मक त्यो गौरवपूर्ण आन्दोलन र अनुभूतिको साक्षी बनेको प्रस्तुत कविता सङ्ग्रहले नेपाली प्रगतिवादी साहित्यमा एउटा गहन कृतिको स्थान ओगट्नेमा कुनै शङ्का रहन्न भन्ने मलाई विश्वास छ । समाजको अग्रगामी रूपान्तरणको यात्रामा बारम्बार जनता उठेर पनि इतिहासमा बारम्बार हारेको संस्मरण गर्दै उक्त जनआन्दोलनले प्रगति, स्वतन्त्रता र अग्रगमनलाई सुनिश्चित गर्नुपर्ने कुरामा कवि सचेत छन् भन्ने कुरा यी पङ्तिबाट स्पष्ट हुन्छ :

‘हामी फुलाउँछौँ सुन्दर वसन्तहरू
हामी जन्माउँछौँ जीवनका ढुकढुकीहरू
सिर्जनाका अथाह समुद्र उर्लन्छन्
हाम्रा दरिला हातहरूमा
कलाका अविरल झरना बर्सन्छन्
हाम्रा भरिला मनहरूमा
र पनि सधँै जर्जर बनेर बाँच्ने गर्छौं
र पनि सधैँ बाँझो बनेर रुने गर्छौं
हामी नदी जन्माउँदै बगर बनेका मान्छेहरू ।’ (कीर्तिपुरको पीडा)

समाजका सीमित हुनेखाने अभिजात्य वर्ग, श्रमचोर र लुटेराहरूले जनताको रगत पसिना पिएर रत्तिदै आएका भए पनि कवि त्यसलाई जनताको नियति मान्न तयार छैनन् । उनी जनतामा विश्वास र भर गर्छन् र इतिहासको निर्माण महान् बलिदानबाट, महान् सङ्घर्षबाट र संसार थर्काउने वर्गसङ्घर्षबाट हुन्छ भन्ने विश्वास गर्छन् । उनी जनताको त्याग र समर्पणका रगत पसिनाका विन्दु विन्दुले सामन्ती शासनको स्वर्गीय र स्वप्निल सिन्धु सुकाउने कुरामा पूरै दृढ छन् । उनी जनताले लडेको महान् लडाइँ र सङ्घर्षहरूबाट जीत र विजयको सपनाहरू सुनिश्चित भएको यसरी देखिरहेछन् :

‘पोखरा ! सहिदको रगतका प्रत्येक थोपा थोपाबाट
जन्मिनेछन् हजारौँ रक्तबीजहरू
सहिदको निष्ठाका प्रत्येक पदचापबाट
फैलिने छन् आस्थाका कर्मवीरहरू ।’ (बलिदानको कविता हो पोखरा)

सामाजिक क्रान्ति र सङ्घर्षको कष्टसाध्य सङ्क्रमण ठुलठुला उथलपुथल, क्रमभङ्ग र छलाङ्गबाट गुज्रने कुरालाई कवितामा सुन्दर ढङ्गले व्यक्त गरिएको छ । महान् वर्गद्वन्द्व सामान्य, एनकेन र सनातन निरन्तरताबाट होइन ठुलठुला विपत्ति र भुँवरीहरूबाट गुज्रने कुरा उनका कविताका भावमा व्यक्तिएका छन् । उनीभित्रको संवेदनशील कविले सामाजिक क्रान्तिका प्रसव दुःखलाई नयाँ इतिहास निर्माणको वस्तुगत, स्वाभाविक र निर्मम सच्चाइ ठानेको छ :

आमा ! छाती  घोच्दै छ र पोल्दै छ भित्र कतै
यो पीडा हो वा खुसी हो !
यो अन्तिम बेला हो वा सुरुवात हो ! (परासी र विष्णुका पदचाप)

जुलियस फ्युचिकले भनेझैँ वास्तविक जीवनका कोही दर्शक नहुने सच्चाइलाई कवि भण्डारीले बढी जीवन्त ढङ्गले प्रस्तुत गरेका छन् । उनी जनआन्दोलन दुईलाई सामन्तवादसँगको अन्तिम लडाइँको संज्ञा दिन्छन् । त्यतिमात्र होइन, यो लडाइँ हार्न नहुने र जित्नै पर्ने लडाइँ भएको कुरा उनका कविताहरूले बोलेका छन् । कवि जनसमुदायभन्दा पर, सङघर्ष र आन्दोलनभन्दा पर, बौद्धिक चिन्तन र काल्पनिक तपस्यामा विश्वास गर्दैनन् । उनी जनताले उठाएका सङ्घर्षका पदचापहरूलाई हातमा हात र साथमा साथ दिई जनसमरमा सँगै लड्ने कुरा व्यक्त गर्दछन् :

‘गुल्मी ! स्वतन्त्रताको यो अन्तिम लडाइँ 
हामीले कदापी हार्नुहुन्न
हाम्रो यात्राको यो अन्तिम मन्जिल 
हामीले नचुमी छोड्नुहुन्न
तिम्रा हजारौँ पछ्यौरीहरू 
पताका बन्दै गरेको बेला
तिम्रा हजारौँ हातहरू 
बन्दुक बन्दै गरेको बेला
म पनि तिमीसँगैको मोर्चामा छु
म पनि क्रुद्ध बनी तिमीसँगै दौडिएको छु ।’ (मेरो पियारो गुल्मी जिल्ला)

विष्णु भण्डारीका कविताहरू पढ्दै गर्दा अनुभूतिका अथाह सागरहरूमा कविताका माध्यमबाट महान् सहिदहरू, घाइते, अपाङ्ग र गिरफ्तारहरू साक्षात्कार गर्न आइपुग्छन् । उनीहरू पाठकहरूमाझ प्रस्तुत हुन्छन् र नयाँ नेपाल निर्माणका खातिर आफ्नो सङ्कल्प जाहेर गर्छन्  । पुरानो, रुग्ण र जर्जर सामन्ती शासन व्यवस्थाविरुद्ध असीम घृणा जाहेर गर्छन् । यी कविताहरूमा शैतानी कालरात्रीविरुद्ध द्वन्द्वरत मनोदशा स्पष्टताका साथ कविले व्यक्त गरेका छन् :

‘तिमीले नदेखेको मात्र हो
नमिठो अतीतलाई छातीभित्रै लुकाएर
मभित्र कसरी ज्वाराभाटा सिर्जना हुने गर्छन् ?
मेरो देश उठेर निरङ्कुश सत्ताविरुद्धमा लडिरहँदा
म कसरी सुत्न सक्छु ?
मेरो देश उठेर स्वतन्त्रताका लागि जुधिरहँदा 
म कसरी हात नउठाई बस्न सक्छु ?’ (मेरो मन उद्वेलित छ)

विष्णु भण्डारी कलालाई जीवन, जगत र यथार्थबाट छट्याउने उल्टो धारप्रति सहमत छैनन् । जनआन्दोलनका बेला सारा देशमा बलेको आगो जस्तै उनको मनमा विद्रोहको आगो बलेको छ । महान् विद्रोहात्मक र अशान्त देशको सम्यक्, कलात्मक र संवेदनात्मक चित्रण गर्नमा उनका कविताहरू सफल रहेका छन् ।

कविता साहित्यको सबैभन्दा पुरानो विधा हो । यसमा भाषाको ओजपूर्ण प्रवाह हुन्छ । कवितालाई ओजपूर्ण र लयात्मक भाषाले सिंगार्छ । भाषा गतिशील हुन्छ र हुनुपर्छ । लय निर्धारक हुन्छ । सुर, मात्रा र अनुप्रासको रीतिबद्ध विन्यासले कवितालाई मोहक बनाउँछ ।

शब्दहरूको भरथेग र थुप्रोमात्र कदापी सुन्दर कविता हुन सक्दैन । कविता ध्वन्यात्मक, लयात्मक, गेयात्मक र सिर्जनात्मकका साथै विशिष्ट र कसिलो हुनुपर्दछ । यसले सामाजिक र आर्थिक विकास तथा समाजको गतिशील चरित्रका कैयौँ मौलिक आयामहरू उद्घाटन गरेको हुनुपर्छ । समकालीन विश्वमा छन्दवद्ध कविताभन्दा मुक्तलयका कविताहरू नै बढी लेखिन्छ । मुक्त लयका कविताका अनेकौँ परिष्कृत स्वरूपहरू अगाडि आएका छन् । मुक्त लयका कवितामा पनि गेयात्मकता र लयात्मकता अन्तर्निहित हुन्छ । यसो नभई कविता कविता हुनै सक्दैन ।

स्रष्टाले समाजको विद्यमान सामाजिक स्थिति र त्यसलाई अग्रगामी परिवर्तन गर्न द्वन्द्वरत र सङ्घर्षरत मान्छेलाई नै कविताको केन्द्र बनाइनु पर्दछ । कविता आम जनताका लागि सुबोध र सम्प्रेष्य हुनु जरुरी छ । जनताको यथार्थबोधलाई जागृत गराउन नसक्ने, तीनको चेतना र मुक्तिसङ्ग्रामप्रति निरपेक्ष रहने कविता जनताका निम्ति बोझमात्र बन्ने गर्दछन् । कविता सरल र स्तरीय हुनु जरुरी  छ  । स्तरीयताको अर्थ अमूर्त शब्दहरूको थुप्रो कदापी होइन । सरलता र स्तरीयताको द्वन्द्वात्मक संयोजन नै सुन्दर कविता बन्दछ ।

यस विषयमा कवि भण्डारीका कविताहरू सचेत छन् । प्रस्तुत सङ्ग्रहका कविता लयात्मक र गेयात्मक छन् । सरल शब्दभित्र गम्भीर अर्थबोध उनको कविताको वैशिष्ट्य हो । सुन्दर विषय, सुन्दर विचार र सुन्दर लयमा कविताहरूको सौन्दर्यात्मक पक्ष निरन्तर व्यक्तिएको छ । यी कविताहरूको शैलीले महान् अजरामर स्रष्टा इच्छुकका पाइलाहरूलाई पछ्याएका छन् ।

सिङ्गै सङ्ग्रहको विषयवस्तु एउटै भएको र साना शीर्षकहरूले भिन्न आयामहरूलाई व्यक्त गरेको हुनाले खण्डकाव्यात्मक छनक यसको अर्को विशेषता हो । यी कविताहरूलाई लामा कविता भनिदिए पनि हुन्छ । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा जनआन्दोलनको विषयको काव्यात्मक थालनी सम्भवत नेपाली काव्य इतिहासको नयाँ परम्परा पनि हो । यो प्रयोग पनि हो र प्राप्ति पनि हो ।

महान् समाजवादी अक्टुवर क्रान्ति सम्पन्न गर्ने ती दश दिनहरू, जसमा आधारित अमेरिकी पत्रकार जोन रीडको रिपोर्ताजहरूको औपन्यासिक प्रस्तुति ती दश दिन जब दुनियाँ डग्मगायो जस्तै यो सङ्ग्रहले पनि नेपाली समाज र इतिहासलाई नयाँ ठाउँमा पुर्याउने दशवर्षे जनयुद्धको जगमा १९ दिने जनआन्दोलनको यथार्थको काव्यात्मक प्रस्तुति गरेको छ । यो आम नेपाली जनतालाई सचेत गर्ने संगठित गर्ने र सङ्घर्ष प्रति ऐक्यवद्धता प्रकट गर्ने जनतालाई सपना देखाउने असाध्यै सुन्दर मिहिनेत हो भन्दा अतिशयोक्ति नहोला ।

यति हुँदाहुँदै पनि संरचनात्मक पुनरावृत्ति, भावको पुनरावृत्ति, सङ्गठनात्मक सुगठनमा  एकरूपता, गतिशील प्रतीक र बिम्बहरूको प्रयोगको सङ्गतिको मेल आदि कुराहरूमा आगामी दिनहरूमा अझै मिहिनेत गरेर जान जरुरी छ । समग्रमा यी कविताहरूले एउटा सिङ्गो कालखण्डको काव्यात्मक र घनीभूत चित्रण गरेका छन् । जनताको मुक्ति आन्दोलनका सङ्घर्ष र विजयको साक्षी बनेका छन् । यी काँडाहरूभित्र फुलेका गुलाव हुन् र यिनले त्यही गुलावको सौन्दर्यलाई बोकेका छन् । यी आगोभित्र हाँसेका फूलहरू हुन् । यी महान् सङ्घर्षका विभीषिकाबिच जन्मेका सुन्दर सिर्जनाहरू हुन् । त्यसैले प्रस्तुत कृति महान् सङघर्षको काव्यकृतिका रूपमा नेपाली साहित्यमा स्थापित बन्नेछ ।

गणेश भण्डारी (असोज, २०६३)


  प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १३:२२