जुरे ढुङ्गोलाई बगाउने छल्दीको छाल

(पहिलो संस्करणको भूमिका)

ताराकान्त पाण्डेय

‘ऊ मुण्डमालामा सजिएर 
मान्छेहरूको मृत्युमा हाँस्ने गर्थ्यो 
ऊ रगतले नुहाएर 
लासहरूको बिचमा घुम्ने गर्थ्यो ।

ऊ मान्छेहरूको क्रन्दन सुन्दा रमाउँथ्यो
ऊ मान्छेहरूको आँसु देख्दा मुस्काउँथ्यो 
उसले लासका खातहरूमा 
सुन्दर भविष्यको तस्बिर देख्थ्यो 
उसले लासको धुवाँभित्र मृत जीवनको खेती गर्थ्यो ।’ (जुरे ढुङ्गो र छल्दीको छाल)

गुल्मी जिल्लाको पश्चिममा बग्ने नदी छल्दी अनि छल्दी र रोदीको सङ्गममा मसानघाट । त्यही मसानघाटमा नदीसँगै जोडिएर बसेको जुरो आकारको ठुलो ढुङगो । एउटा बिम्ब–नदी, नदी सङ्गममा मसानघाट र मसानघाटसँगै जुरे ढुङ्गोको ।

यो बिम्ब यत्तिकैमा अनौठो वा काव्यात्मक छैन तर जब यसलाई कविले मसानघाटमा पोलिने लाससँग गाँसेर यसलाई मानवीय रूप प्रदान गर्दै त्यही छल्दी बग्ने देशको बुढो तर निरङ्कुश सामन्तवादका प्रतीकका रूपमा प्रस्तुत गर्छन् अनि छल्दीमा आएको असमेल बाढीले जुरे ढुङ्गोलाई बगाएर लगेको आह्लादक चित्र प्रस्तुत गर्छन् तब सिङ्गो कविताले एउटा अनौठो र सुन्दर काव्यबिम्बको रूप प्राप्त गर्छ र वर्तमानको विशिष्ट सामयिकतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्छ ।

कविलाई अनुभूत भयो– देश सदियौँदेखि मसानघाट बनाइएको छ । जुरे ढुङ्गोझैँ देशमा सामन्तवादले साढे दुईसय वर्षदेखि जरा गाढेर बसेको छ । कविलाई आफ्नो देशको तितो इतिहासले यस्तो पनि अनुभूत गरायो– छल्दीको जुरे ढुङ्गोरूपी निर्दयी सामन्तवादले मसानघाटमा जल्दै गरेका लासका धुवाँमा हराउँदै मृत्युको खेती ग¥यो र आफूलाई दीर्घायु बनाउने उपक्रम गरिरह्यो । नेपाली इतिहासमा आजसम्म निरङ्कुश सामन्तवाद अथवा राजतन्त्रका विरुद्ध, दासता एवं उत्पीडनका विरुद्ध तथा स्वतन्त्रताका निम्ति लड्दा त्यस ढुङ्गोले तिनलाई छल्दीको मसानघाटमा पोल्यो र त्यसको धुवाँमा आफूलाई दीर्घायु बनाउने सपना देख्यो ।

इतिहास नबुझ्नेहरू समयको गतिलाई बुझ्दैनन् र समयलाई उल्टो हिँडाउन खोज्छन् अथवा समयको गतिलाई छेकबार लगाएर रोक्न–थुन्न खोज्छन् । छल्दीको जुरे ढुङ्गो अर्थात् सामन्तवादले त्यही गर्ने प्रयत्न ग¥यो । तर असफल प्रयत्न ! छल्दीमा बाढी आउनु प्राकृतिक कुरा थियो, जुरे ढुङ्गोको इच्छा र लाख कोसिसका बावजुद पनि छल्दीमा बाढी आयो र त्यसपछिको दृश्यलाई कविले यसरी अनुभूत गर्योः

‘तर यो समय कति बलवान !
समयको गतिसँगै छल्दी बढेर आयो 
बर्सादको भेलसँगै छाल उर्लिएर आयो
र अर्को बिहान
जुरे ढुङ्गो बेपत्ता भयो  ।’(जुरे ढुङ्गो र छल्दीको छाल)

अहिले हाम्रो देशको सामन्तवाद छल्दी नदीको यही जुरे ढुङ्गोझैँ आन्दोलनको बाढीले बेपत्ता भएको छ तर यसको अन्त्य भइसकेको छैन । जुरे ढुङ्गोलाई समुद्रका गहिराइमा नपुर्याई शान्त र विश्वस्त हुन सकिने अवस्था पनि छैन । त्यसैले कवि अगाडि लेख्छन्ः

‘म घनघोर बर्सादको प्रतीक्षामा छु 
ऊ एकदिन पक्कै आउने छ र ढल्नेछ 
मान्छेको मृत्युमा मुस्कुराउने जुरे ढुङ्गो
म प्रचण्ड ज्वार–भाटालाई नियाल्दै छु
ऊ एकदिन अवश्य आउने छ र बढारिने छ
मान्छेको रगतमा बाँच्ने शासकहरूको भ्रष्ट संसार ।’ (जुरे ढुङ्गो र छल्दीको छाल)

कवि विष्णु भण्डारीको ‘जुरे ढुङ्गो र छल्दीको छाल’ शीर्षकको कविताको प्रसङ्ग प्रस्तुत गरेको हुँ मैले । भर्खर प्रकाशित हुन लागेको उनको फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहको एउटा कविता हो यो । मलाई विष्णु भाइले भूमिका लेख्न अनुरोध गरे । एक अर्थमा भूमिका समालोचना लेख्नुभन्दा गाह्रो काम लाग्छ मलाई । समालोचनामा आफू तटस्थ, स्वतन्त्र हुन सकिन्छ र विधासिद्धान्त तथा विचारश्रृङ्खलाका अखाडामा प्रवेश गरेर रचनासँग पौँठेजोरी खेल्न सकिन्छ तर भूमिकामा भूमिका लेखक त्यति पर पुग्न पाउँदैन । उसले त एक प्रकारको अभिभावकत्व समेत प्रदान गर्दै कृति वा रचनाप्रति पाठकलाई उत्प्रेरित गरी रचनामा प्रवेश गराउने साँघुसमेत बनिदिने काम गर्नुपर्छ । भूमिका लेखक रचनाप्रति कठोर हुन सक्दैन । त्यसैले भुमिका लेखनको काम अप्ठ्यारो ठान्छु म । तर आइलाग्छ कहिलेकाहीँ र अस्वीकार गर्न सकिने अवस्था रहँदैन । यस्तो भएको छ मलाई यतिबेला ।

मलाई समस्या परिरह्यो– कहाँबाट सुरु गरूँ ? कविताको त्यस्तो सन्दर्भबाट सुरु गर्न पाए हुन्थ्यो जो उद्धरणीय होस्, जो सामयिक महत्त्वको होस् र कलात्मक पनि होस् । यस्तो लागिरह्यो र म कविता पढ्दै गएँ । कतै सन्दर्भ सामयिक भए पनि विवरणात्मकताले थिचेको जस्तो, कतै भाव र संवेदनाको प्रस्तुति महत्त्वपूर्ण रहे पनि शब्दको ओज र कथनको कला रमणीय बनिनसकेको । पढ्दै जाँदा कवि विष्णुले मलाई मैले खोजिरहेकै वस्तु सङ्ग्रहमा दिन भ्याएका रहेछन् भन्ने अनुभव गर्न मलाई धेरै बेर लागेन ।

माथि उद्धृत कविता पढेपछि मलाई लाग्यो र म विश्वस्त पनि भएँ– कवि विष्णु भाइ आफ्नो समयको यथार्थ र आफ्नो माटोको इतिहासप्रति साँच्चै सचेत छन् । र, त्यसलाई सुन्दर काव्यबिम्ब दिने क्षमता राख्दछन् । मैले माथि उद्धरण गरेको र चर्चा गरेको कविताले यस कुराको पुष्टि गर्छ ।

हाम्रो देश र देशका नागरिकले बर्षौंदेखि जुुरे ढुङ्गोको थिचोमिचो र अत्याचार सहँदै आएका हुन् र त्यसबाट मुक्तिका लागि सङ्घर्षमा होमिदै पनि आएका हुन् । जब्बर ढुङ्गो सजिलै पल्टिने र हुत्तिने कल्पना गर्न कसरी सकिन्थ्यो ? त्यसका लागि छल्दीमा असमेल बाढीको सिर्जना आवश्यक थियो । यस देशका महान् आमाहरूका असल सन्तानहरूले रैतीबाट नागरिक बन्न, न्यायपूर्ण समाजको निर्माण गर्न र जुरे ढुङ्गोको मृत्युउत्सवलाई सदाका लागि अन्त्य गर्न शस्त्र पनि उठाए र जुरे ढुङ्गोलाई हुत्याउन छल्दीमा असमेल बाढीको सृष्टि गर्ने प्रयत्न पनि गरे ।

यसो गर्दा सामन्तवादले एकपटक फेरि मृत्युउत्सवको आयोजना गरेर आफ्नो दीर्घायुको रेखा कोर्न प्रयास ग¥यो । परिणामतः देशले हजारौँ सुन्दर र महान् सन्तानहरू गुमायो । प्रत्यक्ष्य युद्धमा मारिने कुरा त अस्वाभाविक थिएन तर मुक्तिको चाहना राखेकै र सामन्तवादको दासत्व अस्वीकार गरेकै कारणबाट पनि सयौँलाई मृत्यु दिएर जुरे ढुङ्गोले तिनलाई पोलेर लासको धुवाँमा आफ्नो अमरता अनुभव गर्ने बीभत्सता प्रदर्शित ग¥यो । त्यसरी महान् मृत्युवरण गर्नेमध्येका एक थिए– कविभाइ विष्णुकै जातका एक मूर्धन्य कवि कृष्णसेन ‘इच्छुक’ । विष्णु यस घटनाबाट त्यसरी नै प्रभावित र संवेदित भए जसरी न्यायका पक्षपाती अन्य स्रष्टाहरू भए र उनले लेखे :

‘महान् यात्रामा अविरल बग्ने नदी जस्तो
निर्मल सपनाहरूको ज्योति–पुञ्ज
फेरि ढलेको थियो ।
मृदुल भाकाहरूको सुन्दर गीत
गाउँदा गाउँदै बिचमै टुटेको थियो ।

मैल नाप्न खोजेँ नीलिम आकाशगङ्गा
ऊ झनै गाढा बन्यो 
मैले चुम्न खोजेँ सिन्धुका छालहरूमा 
मुस्कुराउने जीवनको नयाँ बिम्ब
मात्र लालसा स्पर्शको
ऊ मबाट धेरै टाढा
मात्र कविता गुन्जिरह्यो ।’ (फेरि अर्को तारा खस्यो)

कविताको गुञ्जन मात्र बाँकी राखेर सधैँका लागि अभौतिक बन्न पुगेका कवि इच्छुकको मृत्यु र शहादत नेपाली कविता क्षेत्रकै लागि पनि अपूरणीय क्षति थियो । कान्छा कवि विष्णु आफ्ना अनुकरणीय अग्रज कविको राज्यद्वारा गरिएको हत्यामा यसरी संवेदित हुनु स्वभाविकै थियो । यस सङ्ग्रहको ‘आज फेरि अर्को तारा खस्यो’ शीर्षकको पहिलो कविता (जो यस सङ्ग्रहको नाउँ समेत हो) यसै संवेदनाको कलात्मक परिणति हो भन्ने भैले अनुभव गरेको छु । यसलाई पहिलो क्रममा राखेर तथा यसैलाई सङ्ग्रहको नाउँसमेत दिएर विष्णु भाइले आफ्ना अग्रजप्रति उचित सम्मान गरेको पनि म ठान्दछु ।

यस सङ्ग्रहको सबै कविता पढिसकेपछि एउटा निष्कर्षमा म सजिलै पुगेँ । कवि विष्णु आगो र उज्यालो मन पराउने कवि हुन् । र, आगोका माध्यमबाट उज्यालो खोज्ने वा प्राप्त गर्ने महान् यात्रामा उनी कविताको टेको लिएर हिँडिरहेका छन् । पुराकथात्मक सन्दर्भलाई आड लिएर भन्ने हो भने प्रमिथसदेखि आरम्भ भएको र स्पार्टाकसहरू हुँदै अघि बढेको यो स्वतन्त्रता तथा मुक्तिको उज्यालो खोज्ने मानवयात्रा टुङ्गिएको छैन । त्यसका लागि आगो बालिरहनुपर्ने, बालिएको आगो निभ्ने र फेरि बाल्नुपर्ने निरन्तरको प्रयास, निरन्तरको महाअनुष्ठान आवश्यक पर्ने रहेछ ।

हाम्रै देशको कुरा गर्दा विगत दश वर्षदेखि जनसमरका माध्यमबाट नेपाली जनताले त्यही आगो बाल्ने र त्यसलाई हुनहुनाउँदो मुस्लोको रूप दिने प्रयास गर्दै आएका हुन् । यसपटकको जनआन्दोलनमा त्यस प्रयासले एउटा बेग्लै आयाममा उत्कर्ष रूप प्राप्त ग¥यो । आन्दोलनमा कति पार्टी आयोजक थिए भन्ने कुरा मेरा विचारमा गौण पक्ष हो, महत्त्वपूर्ण पक्ष भनेको सामन्तवादको जब्बर र बडेमानको जुरे ढुङ्गोको भार बोक्न जनता असहमत र अधीर भइसकेका थिए ।

जनसमरका माध्यमबाट प्रकट भइसकेको त्यस अधीरता र त्यसको शस्त्रमय प्रतिक्रिया अर्को रूपमा प्रकट हुने मौका पायो । सम्प्रभुता प्राप्तिको चाहना राख्ने यो वा त्यो पार्टी, यो वा त्यो पेशा, यो वा त्यो समुदाय सबै सबै उठे र समवेत् स्वरमा जुरे ढुङ्गो फाल्न होस्टेमा हैँसे गरे । ढुङ्गोको फेदीमा आगो बालेर त्यसलाई फुटाउने, पगाल्ने र छल्दीमा बगाउने चेष्टा गरे । आगोको मुुस्लो उठ्यो र जुरे ढुङ्गोलाई फुटायो ।

छल्दीको छालले फुटेर सानो भएको ढुङ्गो किनारामा त आयो तर बगिसकेन । सामन्तवादरूपी जुरे ढुङ्गो फुटाउन र बगाउन आगो बाल्ने अनुष्ठान अझै बाँकी छ । उत्पीडन र निरङ्कुशताको त्यो ढुङ्गो बगरबाट कतै देउरालीमा राखिने खतरा पनि विद्यमान नै छ । दासता, उत्पीडन र अन्यायबाट सधैँका लागि मुक्ति चाहनेहरूले हेक्का राख्नुपर्ने कुरा यही हो । कवि विष्णुको कवितामा मैले त्यो हेक्का पाएको छु । यही कारण हो, उनी आफ्ना कवितामा आह्वान गर्छन् आगोलाई :

‘आगो ! तिमी कति महान् ! 
आफू जलेर अरूलाई तातो दिन्छौ 
आफू धुवाँ बनेर उडे पनि 
अरूलाई न्यानो स्पर्शले सुमसुम्याउँछौ ।’(आगो)

‘सुत्नु पूर्व म हेर्छु उही शिखा
गिरीशको वरिपरि, बस्तीको चारैतिर 
निरन्तर बलिरहेको हुन्छ 
मानौँ जीवनको नयाँ दृष्टि हो त्यो
जुन बढ्दै बढ्दै जानेछ र जलाउने छ
तिम्रो निरङ्कुश सत्ता
तिम्रो लुटको संसार ।’ (अग्निशिखा)

यो आगो क्रान्तिको आगो हो । क्रान्तिको आगो नवाली देश कसरी हाँस्न सक्छ ? देश कसरी उज्यालिन सक्छ ? मनहरू कसरी हाँस्न सक्छन् ? मनहरू कसरी उज्यालिन सक्छन् ? कवि विष्णु भण्डारी कवितामा यी प्रश्नको उत्तर दिन खोज्छन् र फेरि आह्वान गर्छन् :

‘मेरा आफन्तहरू, रोएर बस्ने बेला हैन यो
उठौँ, गाउँ र बस्ती उठौँ
उठौँ, टोल र गल्ली उठौँ
मेरो देश रगतको आहालमा तैरिदै गर्दा
मेरो अनुहार, मेरो प्रतिबिम्ब
रगतको नदीमा बग्दै गर्दा
म कसरी रोएर बस्न सक्छु ?’ (देश)

दुखाइ र दासताबाट मुक्तिको उत्कट आकाङ्क्षा राख्नु र त्यसका लागि आगो बाल्ने अनुष्ठानको आवश्यकता बोध गरी आगोलाई अह्वान र आमन्त्रण गर्नु विष्णुका कविताको केन्द्रीय मर्म हो । मैले भनेँ– कवि विष्णु आगो मन पराउँछन्, किनभने उनी बाँचेको देश र संसारमा अझै अँध्यारो रातको रजाइँ छ  र अन्धकार उनलाई मन पर्दैन । अन्धकारको सत्ता उनलाई अप्रिय र अस्वीकार्य दुबै छ  । रात यस कारण उनलाई मन पर्दैन :

‘रात अघाउँदैन रातभर
सुन्दर र स्वप्निल संसारमा 
विचरण गर्नेे बचेराको हत्या गर्छ
सपनाको सुन्दर वगैंचामा आगो झोस्छ ।’ (रात)

अर्काको सपना र सुन्दर संसारलाई भताभुङ्ग पारी उजाड बनाउने भएकैले कवि रात र रातको अँध्यारोलाई अस्वीकार गर्छन् र त्यसका विरुद्ध घृणा पोख्छन् । यस्तो रात र रातको अँध्यारोलाई फाल्ने क्षमता केवल आगोमा छ । त्यसैले विष्णु आगोको उपासनामा लागेका छन् र कवितामा आगोलाई, उज्यालोलाई अमन्त्रण गरेका छन् ।

आगो बाल्नु र आगोलाई हुर्हुराउँदो बनाउनु सजिलो अवश्यै थिएन, छैन । विगत १०–१२ वर्षको जनसमरले पुष्टि गरेको कुरा हो यो । पहाडका काखहरू र तराईका खेतहरूमा रगतको आहाल जमाउनु र बस्तीहरूलाई निर्जन बनाउँदै उज्यालो मन पराउनेहरूको हत्याश्रृङ्खलाबाट मृत्युउत्सव आयोजना गर्नु त्यस अँध्यारो रातको दिनचर्या जस्तै बन्यो ।

यस्तो बीभत्सताले निर्माण गरेको परिदृश्यबाट कविहरू प्रभावित हुनु अस्वाभाविक थिएन । विष्णुका कवितामा पनि यस्तो प्रभाव पाइन्छ । उनले विगत दशकको गौरवमय विद्रोह र त्यसका माध्यमबाट प्रकट मानवमुक्तिका साथै पीडाजन्य परिस्थिति र परिदृश्यलाई पनि कविताभित्र स्थान दिएका छन् ।

समष्टिमा अनुभूतिको सहजता र अकृत्रिमता यहाँ प्रकट रहेको मैले पाएको छु । तर सहजताका साथसाथै कवितामा विष्णुले आफूलाई उत्पीडित र दासताका विरुद्धको सङ्ग्राममा सङ्ग्रामी जनताका पक्षमा उभ्याएका छन् र मुक्तिको गीत गाएका छन् । विष्णुलाई हेक्का छ– क्रान्तिको ।

गीत पनि कविता हो– सुन्दर र ओजपूर्ण शब्दहरूको सुन्दर विन्यासबाट लेखिने कविता । उनले यो पनि घोषणा गरेका छन्– देश दुखिरहेको बेला, छल्दी खोलाका तीरमा रगत बगिरहेको बेला फूलका कोमल कविता लेख्न सकिन्न, लेखिए पनि त्यसको औचित्य हुन्न । यस्तो बेला लेखिने कविता कठोर हुन्छ र जनताको कविले जनताकै कविता लेख्छ  । त्यस्तो कवितामा सभाकेन्द्रकी विरूप सुन्दरीको तस्वीर खोज्नु निरर्थक हुन्छ । आफ्नो समयको कठोर यथार्थसँग नजोडिएको कविताबारे उनी भन्छन्ः

‘सुगन्धबिनाका तिम्रा कविताहरू
सभाकेन्द्रका बिरूप सुन्दरी जस्ता !
सोकेशमा सजिएका पुतली जस्ता !
मलाई पटक्कै मन परेनन् 
सायद मैले बुझ्न सकिनँ सुन्दरताको गहन अर्थ !’ (कवि र कविताहरू)

कवितामा सुन्दरता आफ्नो माटोको छाप र जीवनको चापबाट आउँछ । विष्णुले यी दुवै कुरासँग आफ्ना कवितालाई जोड्ने भरमग्दुर प्रयत्न गरेका छन् । यस अर्थमा यस सङ्ग्रहका कवितामा यस समयको जीवन र जीवन सङ्घर्षको चाप र छाप राम्रैसँग देख्न सकिन्छ । तर यति हुँदाहुँदै पनि कविलाई प्रभावकारी कविता बनाउन शब्द चयन र संयोजनको थोरै जादुको अपेक्षा गर्छ कविताले । विवरण कम र बिम्बात्मक सूत्रकथन कवितामा जति हुन सक्यो, कविता त्यति बलशाली हुन्छ ।

विष्णुसँग विषयबोधको सुक्ष्मता र गाम्भीर्य छ, संवेदनाको साहचर्य पनि छ, मैलै माथि उद्धरित गरेझैँ बिम्बको सौन्दर्य पनि छ तर परिष्कार र शब्दको जादुमय संयोजन तथा सूत्रकथनको अपेक्षा अझै पनि बाँकी रहन्छ कविता पढ्दै जाँदा । कवितालाई जीवनसँग जोड्ने र त्यसलाई जीवनभोगाइ तथा सांस्कृतिक रूपान्तरणको सहचारी बनाउने महत् अभियानमा कवि विष्णु भाइको साधनाले आफ्नो सामथ्र्य देखाउने छ भन्ने विश्वास र सुभेच्छा पनि यतिबेला प्रकट गर्दछु । भावी दिनमा उनलाई अझ सफलनता मिलोस् र सुन्दर कविताहरूको रचना  होस् उनका कलमबाट, अस्तु ।

ताराकान्त पाण्डेय (वैशाख, २०६३)


  प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १२:२६