फेरि अर्को तारा खस्यो कविता सङ्ग्रहबारे

हरिप्रसाद भण्डारी

वास्तविक नाम विष्णु भण्डारी भए पनि लामो समयसम्म एस. वि. विवेकका नामले परिचित विष्णु भण्डारीको चौथो पुस्तकका रूपमा फेरि अर्को तारा खस्यो कविता सङ्ग्रह हालै बजारमा आएको छ । चालिसओटा कविता समावेश भएको यो सङ्ग्रह प्रगतिशील साहित्यमा रुचि राख्ने जो कोहीले पनि पढ्नै पर्ने पुस्तकका रूपमा देखिएको छ । शैलवी प्रकाशनद्वारा प्रकाशित यो पुस्तक गद्य कविताहरूको सङ्गालो हो । गद्य कविता भए पनि आधुनिक कवितामा हुनुपर्ने सबै तङ्खवहरू आवश्यकतानुसार समावेश गरिएको छ ।

एस. वि. विवेक उपनामबाट यस अघि प्रकाशित भएका कृतिहरूमा विद्रोहको छाल (२०४३), आँधी–तुफान (२०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य–२०४५) र कालो नाटक (लघुकाव्य–२०४५) हुन् । २३ वटा साना कविताहरू संकलन गरिएको आँधी–तुफान पाकेट साइजको लघु कृति हो । यसमा पञ्चायती कालमा आँधी–तुफान ल्याउने खालका छोटाछोटा र चोटिला मुक्तकहरू समावेश भएका छन् ।

गीति छन्दमा लेखिएको विद्रोहको छालमा नेपालको तत्कालीन परिवेशको चर्चा र नेपालको मुहार फेर्न तम्सिएका एकजोडी युवा युवतीहरूको सङ्घर्षको गाथालाई विषयवस्तु बनाइएको छ । यो पुस्तकमा वर्णन गरिएको नेपालको तत्कालीन अवस्थाको दर्दनाक स्थिति पढ्दा एकातिर मनमा पीडावोध हुन्छ भने अर्कातिर निलम र उषाको साहस र बलिदान देख्दा जोश र जाँगर पलाएर आउँछ । उनको तेस्रो कृतिको रूपमा रहेको ब्वाँसोको अन्त्यको खेल प्रतिकात्मक शैलीमा लेखिएको लामो गद्य कविता हो । यसलाई कविले खण्डकाव्य नामाकरण गरेका छन् । यस पुस्तकमा तत्कालीन सामन्ती शासकहरूलाई ब्वाँसाको रूपमा चित्रण गरेर उनीहरूबाट दिनहुँ हुने कुकृत्यको प्रदाफास गरिएको छ । समष्टिमा भन्नुपर्दा तीनै कृतिको प्रस्तुति अत्यन्तै राम्रो र समयसापेक्ष छ । पञ्चायती कालमा त्यत्तिको लेख्नुलाई ठुलै साहस गरेको मान्नुपर्छ ।

यसरी पञ्चायती कालरात्रीमा पनि चोटिला कविता लेखेर प्रगतिशील साहित्यको क्षेत्रमा  चर्चा पाएका कवि विष्णु भण्डारी करिब डेढ दशकसम्म साहित्यको क्षेत्रमा कहीँ कतै पनि देखिएनन् । लामो समयछि उनको यो चौथो कृति प्रकाशित भएको छ । उनले यस पुस्तकमा २०५९ सालदेखि २०६३ सालसम्म लेखिएका कविताहरू समावेश गरेका छन् । तर २०६० सालको कविता भने एउटा पनि छैन । पहिलेका कृति जस्तै उनको यो पछिल्लो कृति पनि राम्रो छ । अब यहाँ उनको यही पछिल्लो कृतिका बारेमा झिनो मसिनो चर्चा गरिने छ ।

नेपालको वामपन्थी आन्दोलनमा क्रान्तिकारी कविका रूपमा आफ्नो पहिचान बनाइसकेका कवि कृष्ण सेन ‘इच्छुक’, जसलाई सत्तापक्षद्वारा बन्दीगृहमै कठोर यातना दिई हत्या गरिएको थियो, उनैको सम्झनामा लेखिएको पहिलो कविता हो आज फेरि अर्को तारा खस्यो कविता । यो कविता नै यस सङ्ग्रहको प्रतिनिधि कविता हो र यसै कविताका नामबाट  पुस्तकको  नामाकरण समेत गरिएको छ ।

इच्छुक क्रान्तिकारी कवि थिए । कवि विष्णुले भनेजस्तै उनका कलमबाट बम बन्दै शब्दहरू खस्थे । उनका शब्दको शक्तिबाट ह्वारह्वार आगो बल्थ्यो । उनका कविताहरू तरबार जस्तै धारिला हुन्थे । उनका भावनाहरू वीरता र बलिदानी भावनाले ओतप्रोत भएका हुन्थे । उनको भौतिक शरीर अहिले हाम्रा सामु छैन । तर कविले भनेजस्तै उनी पटक्कै मरेका छैनन् । उनका तरबार बनेर हाँस्ने कविताहरू मरेका छैनन् र उनी क्षितिजनेरि महान् सहीदहरूको लामसँगै लामबद्ध भई हाँसिरहेका छन् । कवि विष्णु भण्डारीले यस्ता वीर सहीदहरूको सम्झनामा कविता लेखेर वीर योद्धा र महान् सहीदहरूको सम्मान गरेका छन् र सबै क्रान्तिका पक्षधर र परिवर्तनका सम्वाहक जनताका धन्यवादका पात्र बनेका छन् ।

सङ्ग्रहको अर्को कविता हो आगो । आगोलाई विकास र क्रान्तिको प्रतीकका  रूपमा प्रयोग गरिएको छ । यस कवितामा कविले आफू आगोसँगै बेरिएर बाँच्न मन लागेको, आगोको उज्ज्वलता र चञ्चलता असाध्यै मन परेको र त्यसै कारण आफू आगोकै वरिपरि घुम्ने गरेको बताएका छन् । सहरले आगोलाई मन नपराएको र भान्साघरको चुल्होभित्र कैद गरेको प्रति उनी असन्तुष्टी व्यक्त गर्छन् । कवि देशको चिसो परिवेशलाई हटाउने माध्यम आगो मात्र भएको कुरामा विश्वस्त छन् र आह्वान गर्छन् आगोलाई ‘आगो तिमी आऊ र हटाऊ मेर वरिपरि फैलिएका चिसा र अँध्यारा रातहरू ।’

आन्दोलनको प्रसङ्गलाई विषयवस्तु बनाएर लेखिएको ‘ख्रै हामीले कहाँ जित्यौँ’ शीर्षकको कवितामा आन्दोलनले पूर्णरूप नलिँदै बिचमा रोकिएको अर्थात आन्दोलन आगो बनी फैलिँदै गर्दा अग्रजहरूले छिटै हार मानेको र जनताको सागरलाई बिचमै रोकेकोमा कवि असन्तुष्ट छन् । उनी भन्छन्–

‘आकास गर्जिंदै थियो 
चट्याङ चम्किदै थियो 
तिमी कति छिटो डरायौ त्यो गर्जनदेखि ?
तिमी कति छिटो अत्तालियौ त्यो तुफानदेखि ?
जसले तुफानको सङ्गीत सुन्न सक्दैन
उसले आँधीको गीत किन गाउनु ?
जसले आकाशको गर्जन सुन्न सक्दैन
उसले चट्याङको कविता किन लेख्नु ?’ (खै हामीले कहाँ जित्यौँ ?)

हामीले अझ पनि जितिनसकेको, हार्ने हाम्रै शिरमा बसेको र हरूवाहरू निस्फिक्री डुक्रदै हिँडेको बताउँदै यस कवितामा जनताले नेताहरूलाई सडकबाट सत्ताको ढोकानिर पुर्याइदिएको प्रसङ्गसँगै कवि लेख्छन्–

जनताले पुर्याइदिए सत्ताको ढोकैनेरि
जाऊ र स्वार्थका लागि लड
जनताले उठाएर सडकदेखि 
सत्ताकेन्द्रमा पुर्याइदिए
जाऊ र सहिदको बलिदान भुल ! (पूर्ववत्)

जनताले प्राणको आहुनि दिएर आन्दोलनमा उत्रिएपछि जबसम्म जनताले जितको अनुभूति गर्ने वातावरण सिर्जना हुँदैन तवसम्म युद्ध जितेको मानिदैन भन्ने विचार छ कविको । यसै प्रसङ्गमा कवि लेख्छन्–

हाम्रा जित र विजयका भाकाहरू 
जनताले अनुभूत गर्नुपर्छ 
हाम्रा लडाइँ र सङ्घर्षका बिसौनीहरू 
जनताले स्वीकार गर्नुपर्छ । (पूर्ववत्)

शान्ति र सुरक्षाको नाममा हेलिकोप्टर चढेर गाउँ गाउँ पुग्ने र सिधासादा गाउँलेहरूलाई थर्काउने, तर्साउने र गिरफ्तार गर्ने सुरक्षा फौजहरूको कृयाकलापलाई पनि कविले जाति मानेका छैनन् । जनयुद्ध दवाउने नाममा गाउँ गाउँ घुम्ने सुरक्षाफौज  र आकाशमा उड्ने हेलिकप्टरहरूले जनतालाई अनाहकमा दुःख दिएको कुरालाई कविले कवितामा व्यक्त गरेका छन् । उनीहरू चिल जस्तै कावा खाँदै आउने गरेको, बमगोला बर्षाउने गरेको, काला आँखा र लामा नङ्ग्रा देखाएर कसैलाई सताउने गरेको कुरा प्रतिकात्मक रूपमा कवितामा प्रस्तुत गरेका छन् । यसै प्रशङ्गमा उनी लेख्छन्–

चिल आएर कावा खायो 
मेरो आकाशमा ।

उसले घुर्दै हेर्यो कायर झुप्राहरू !
हिजोसम्म उसको छाया पर्दा झस्किने आँगनहरू
आज फेरिएका थिए 
हिजोसम्म उसको आवाज सुन्दा सन्त्रस्त हुने बुकुराहरू 
आज अविचल उभिएका थिए । (चिल)

कविले जसरी कवि इच्छुकको सम्झनामा पूरै कितावको नाम राखेका छन् त्यसैगरी जनकवि गोकुल जोशीको पनि उत्तिकै सम्मान र सम्झना गरेका छन् । जनकविको सम्झना शीर्षकको कवितामा उनले जनकवि गोकुल जोशीको त्याग र बलिदानको राम्रो चित्रण गरेका छन् । उनी जीवनदेखि नथाकेको, यात्रादेखि नभागेको, हिँड्दाहिँड्दै आफ्ना उद्देश्यहरू नबिर्सेको कुरालाई पनि कवि विष्णुले कविताको माध्यमद्वारा व्यक्त गरेका छन् ।

कवि अरूजस्ता अस्पष्ट र अलमलिएको विचार बोकेर हिँड्ने सिकारु कवि होइनन् भन्ने कुरा  उनका हरेक कविता पढ्दा अनुभव हुन्छ । कवि विष्णु भण्डारी सामन्ती शासन व्यवस्थाको  विरोधी छन् । उनी देशमा निरङ्कुश सामन्ती व्यवस्था होइन, जनताको शासन हुनुपर्छ भन्ने चाहना राख्छन् । सदियौँदेखि जमेर बसेको सामन्ती सत्तालाई उनी खोलाको किनारामा मसानघाटमा रहेको जुरे ढुङ्गासँग तुलना गर्दछन् र भन्दछन्–

ऊ मुण्डमालामा सजिएर 
मान्छेहरूको मृत्युमा हाँस्ने गर्थ्यो
ऊ रगतले नुहाएर 
लासहरूको बिचमा घुम्ने गर्थ्यो । (जुरेढुङ्गो र छल्दीको छाल)

यो कविता यस सङ्ग्रहको उत्कृष्ट कविता हो । यसमा प्रतीकको माध्यमद्वारा सामन्ती सत्ता र शासनकको धज्जी उडाइएको छ । सामन्ती सत्ताले सदियौँदेखि मान्छेलाई पोलिरहेको, मान्छेलाई सताइरहेको भए पनि बलियो समयको भेलले उसलाई छोपिदिएको प्रसङ्गलाई पनि कवितामा व्यक्त गरेका छन् । कवि अगाडि लेख्छन्–

तर यो समय कति बलवान !
समयको गतिसँगै छल्दी बढेर आयो 
बर्सादको भेलसँगै छाल उर्लिएर आयो
र अर्को बिहान
जुरे ढुङ्गो बेपत्ता भयो । (पूर्ववत्)

पुस्तकमा प्रकाशित कतिपय कवितामा विगत लामो समयदेखि चल्दै आएको जनयुद्धको प्रसङ्गलाई पनि उठाइएको छ । एकातिर कवितामा जनयुद्धलाई सकारात्मक रूपमा हेरिएको छ भने अर्कोतिर जनयुद्धको नाममा भएका अनेकौँ कमी कमजोरीहरूप्रति पनि कवि सचेत भएका छन् । उनी लेख्छन्–

तिम्रो साथ लाग्ने सबै राम्रा नहुन सक्छन्
एउटी बुढी आमै सुँक्कसुँक्क गर्दै भन्दै थिइन् 
छर्न राखेको बीउ नै खाइदिए 
तिम्रो नाम लिने खन्चुवाले । (सम्झनाको तरेलीमा)

भाव, विचार वा घटनको विशिष्ट लयात्मक भाषिक संरचनालाई कविता भनिन्छ । प्रतीकात्मक कवितामा भावको प्रवलता हुन्छ भने आख्यानात्मक र नाटकीय कवितामा घटनाको प्रवलता हुन्छ । सामान्यतया कवितामा विषयवस्तु, सहभागिता, परिवेश, उद्देश्य, दृष्टिविन्दु वा विचार, भाषा शैली लगायतका आवश्यक तङ्खव हुनुपर्छ भन्ने गरिन्छ । यसै अन्तर्गत भाषा, शैली, विचार, बिम्ब, प्रतीक, लय, छन्द, अलङ्कार यी सबै कुरा पनि कविताका गहना हुन् । विगतमा छन्दोवद्ध कविता मात्र लेखिन्थ्यो भने अहिले आएर छन्दोवद्धभन्दा पनि गद्य कविताले बढी प्रश्रयता पाउन थालेको छ । कविहरूको संख्या पनि दिनदिनै बढ्दै गएरहेको छ । धेरै व्यक्ति कवि बनेका छन् । तर हिजोआज जति सजिलो मानेर कविता लेख्ने गरिन्छ कविता लेख्न त्यति सजिलो चाहिँ छैन । छन्दमा लेख्न खोजिएको तर छन्द नमिलेको कविता पढ्दा जसरी असजिलो हुन्छ त्यसैगरी मुक्त छन्दका कवितामा पनि कविताका आधारमूत तङ्खवहरूको समायोजन वा प्रयोग नभएमा कविता त्यत्ति सहज देखिदैन । यी पक्षहरूमा कवि विष्णु भण्डारी सचेत देखिएका छन् ।

प्रगतिशलि साहित्य बहुुसंख्यक शोषित, पीडित र मजदुर किसानहरूको लागि लेखिने हुँदा यस्तो साहित्य त्यस्तो वर्गले बुझ्ने खालका सरल, सहज र यथार्थपरक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । यो मान्यताबाट कवि विष्णु भण्डारी पनि प्रभावित छन् । यिनका कवितामा व्यापक विषयवस्तुलाई आधार बनाइएको भए पनि यसमा प्रयोग गरिएको भाषा र शैली सरल र सबैले बुझ्ने खालको छ । कवितामा बिम्ब र प्रतीकहरूको पनि छरपष्ट रूपमा प्रयोग गरिएको छ । र, पनि प्रयोग गरिएका बिम्ब र प्रतीकहरू नबुझिने खालका भने छैनन् । सामान्य पाठकले पनि बुझ्ने खालका छन् ।

साहित्यमा लामो समयदेखि विवाद हुँदै आएको अर्को अत्यन्तै महङ्खवपूर्ण पक्ष हो विचार । कला र विचार साहिरत्यका प्रमुख दुई पक्षहरूका बिचमा प्रगतिशील वा प्रगतिवादी कवि र परम्परावादी कवि साहित्यकारहरूका बिचमा सधै विवाद भइरहेको पाइन्छ । परम्परावादी साहित्यकारले कला वा शैली पक्षलाई विशेष जोड दिन्छन् भने प्रगनिशील वा प्रगतिवादी साहित्यकारहरू विचारलाई साहित्यको प्राण ठान्दछन् । प्राणविनाको जीवको अस्तित्व नभएजस्तै असल विचारविनाको साहित्यलाई अपूर्ण साहित्य ठान्दछन् । यसै दृष्टिकोणबाट यस पुस्तकलाई पनि हेर्न सकिन्छ ।

वैचारिक हिसावले हेर्दा कवि विष्णु भण्डारी परिपक्क देखिएका छन् । सरसरी हेर्दा सङ्ग्रहमा समावेश गरिएका सबैजसो कविताहरूको विषयवस्तु देशको विग्रदो अवस्था, समन्ती शासन व्यवस्थाको कारण देशमा परिवर्तन हुन नसकेको यथार्थता, परिवर्तनका लागि आन्दोलनको अपरिहार्यता, समय समयमा हुने आन्दोलनप्रति समर्थन आदि रहेका छन् । कविले कविता मार्फत आन्दोलनको आवश्यकता महसुुस गरेका छन्, परिवर्तनप्रति काशावादी देखिएका छन् र जनताको शक्तिलाई महङ्खवपूर्ण ठानेका  छन् । सामन्ती सत्ताधारीको गलत प्रवृतिहरूको भण्डाफोर गर्न पनि कवि पछाडि परेका छैनन् । सङ्ग्रहमा सङ्ग्रहित धेरैजसो कविताहरू आख्यानात्मक पाराका छन् । कवितामा बाह्य परिवेशको चित्रण पनि राम्रोसँग गरिएको छ । भाष, शैली, प्रतीक र बिम्बका हिसावले पनि कविताहरू ठिकै छन् तर कवितामा शब्द चयन र बिम्बको परिष्कार पक्षमा अझ ध्यान पुगेको देखिदैन । कवितामा विवरणात्मक र आख्यानात्मक शैलीलाई बढी प्रश्रय दिइएको छ, सूत्रात्मक र भावनात्मक पक्ष अलि कमजोर देखिएको छ ।

यस पुस्तकको अर्को महङ्खवपूर्ण र बिर्सनै नहुने पक्ष हो– प्रगतिशील समीक्षक तथा विद्वान डा.ताराकान्त पाण्डेयको उपस्थिति । उहाँद्वारा लिखित भूमिकाले पनि पुस्तकलाई अझ गहकिलो बनाइदिएको छ ।

समष्टिमा भन्नुपर्दा कविको परिश्रम र कविताको प्रस्तुति असाध्यै राम्रो छ । कुनै पनि कविता नराम्रा वा खोट लगाउन पर्ने खालका छैनन् । तैपनि कवितात्मक शब्द चयन र बिम्बलाई परिष्कृत गर्ने काममा अझ ध्यान दिनुपर्ने देखिन्छ । कतिपय कवितामा विवरणात्मकता र आख्यात्मक ढाचाको प्रवलता देखिएको छ । यी पक्षमा सुधार गर्दै जाने हो भने कवि विष्णु भण्डारीको साहित्यिक भविष्य अत्यन्तै उज्ज्वल देखिन्छ । पहिले जस्तो कविको कलमले विश्राम लिने काम गरेन, निरन्तर अगाडि बढ्दै गयो भने नेपाली प्रगतिशील साहित्यको क्षेत्रमा कवि विष्णु भण्डारी जनताका कविता लेख्ने कविका रूपमा स्थापित हुने छन् भन्ने कुरामा शङ्का मान्नुपर्ने छैन ।

(हाँक साप्ताहिक : ११ असार, २०६७, पृ. ७)


  प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १४:१९