घाइते ह्विलचेयर र प्रतिरोध संस्कृति

सङ्गीत श्रोता

पुँजीवादी समाजलाई कविताको शत्रुका रूपमा चित्रण गरिन्छ । नेपालमा पनि पछिल्ला दिनमा आख्यानको भाउ उकालो लागिरहेको र कविताको मूल्य ओरालो लागिरहेको चर्चा बढिरहेकै छ । यस्तो बेलामा त्यस्ता कविहरू मात्रै बजारमा शिर ठाडो गरेर हिँडिरहेका छन्, जसले अहिलेको समाज र अहिलेको मान्छेले भोगिरहेको यथार्थलाई कवितामार्फत् प्रभावकारी रूपमा व्यक्त गर्न समर्थ छन् ।

निसन्देह यतिखेर सामाजिक न्याय र समाज रूपान्तरणको सपनालाई आवाज दिने कविहरूको मूल्य ओरालो लागेको छैन । विमल निभा, पूर्णविराम, श्यामल, आहुति, अमर गिरी जस्ता कविहरूका कविता कुनै आख्यानभन्दा कम शक्तिशाली छैनन् । नेपालका सन्दर्भमा कविताको मूलधारको अगुवाइ अहिले प्रगतिशील शिविरले गरिरहेको छ । र, यही धारमा उभिएका छन् कवि विष्णु भण्डारी । उनको सातौँ कृति ‘घाइते ह्विलचेयर’ हालै शैलवी प्रकाशनले बजारमा ल्याएको छ ।

२०६३ सालयता लेखिएका ४६ गद्य कविताको संकलन हो ‘घाइते ह्विलचेयर’ । कविले यस संग्रहमा जनआन्दोलन २०६२÷०६३ पछि र १० वर्ष लामो जनयुद्धले शान्तिपूर्ण मार्ग अवलम्बन गरेयता नेपाली राजनीति र समाजले भोगेको यथार्थलाई काव्यमा चित्रित गरेका छन् । आन्दोलनपछि सत्तामा पुगेको तर जनताका समस्या र सपनाहरूलाई सम्बोधन गर्न नसकेको नेतृत्वमाथि थुप्रै ठाउँमा कविले औंला ठड्याएका छन् । ‘दुःस्वप्न’ शीर्षकको कवितामा कविले आक्रामक प्रश्न गरेका छन्– किन निभ्दैछ, छातीमा बल्दै गर्ने विद्रोहको राँको ? सत्तासीनमाथिकै अर्को असन्तुष्टिको साक्ष्य हेराँैं–

मान्छेका लासहरूको भ¥याङ चढी
सत्तामा पुगेको अन्धो मान्छे !
हेर त,
जीवनमा सपनाको पङख भर्ने आगो अझै निभेको छैन । (आगो ः ६९)

दलित जीवनमा आएको विद्रोही चेतनालाई पनि संग्रहका कविताले स्वर दिएका छन् । ‘माटो’ र ‘स्वीकारोक्ति’ वर्णव्यवस्थाको जाँतोमुनि पिसिएका तर श्रमशील तिनै दलितहरूको मुक्तिको आकांक्षा अभिव्यक्त गर्ने कविताहरू हुन् । उच्च जाति वा वर्णव्यवस्थामा आधारित सत्ताले अछुत र गँवार भन्दै सधैं उपेक्षा गरेको दलित समुदायलाई कविले उत्पादनको हकदारका रूपमा प्रस्तुत गरेका छन् । कवि भन्छन् ः





जसको स्पर्शमा सारा सृष्टि फुल्छ
त्यो सृष्टि उसकै त हुन्छ
जसको परिश्रमले माटो गुल्जार बन्छ
त्यहाँ उसकै त हक लाग्छ (घाइते ह्विलचेयर ः १९

‘घाइते ह्विलचेयर’ कविताको सबैभन्दा शक्तिशाली पाटो भनेको आशावाद हो । संकटका घडीमा पनि कविताका मुखपात्रहरू निराश र हतास हुँदैनन् । आफैले विश्वास गरेको नेतृत्वप्रति बरु शङ्का गर्छ, इतिहासका नायकहरूप्रति बरु प्रश्न गर्छ तर असफलताहरूबाट हरेस खाएर कविपात्र भाग्दैन । यसैवर्ष लेखिएको ‘खामबन्दी’ कविताकी पात्र हृदयभित्र चुलिँदै गरेको निराशाका बिचमा पनि आशा साँचिरहेकी देखिन्छे ।

जनयुद्ध र जनआन्दोलनको बलमा देशमा गणतन्त्र स्थापना भएको छ, धर्मनिरपेक्षता, समावेशिता जस्ता व्यवस्था भएका छन् । तर, संविधान सभाबाट संविधान निर्माण गर्ने जनताको दशकौँ अघिदेखिको सपना अहिले पनि अपूरै छ । जनयुद्ध र जनआन्दोलनका सहिदका सपनाहरू बिच बाटोमै अलपत्र परेका छन् । संक्रमणकालीन राजनीतिको निकास के हुने भन्ने अहिले पनि टुङ्गो छैन । कवि भण्डारीले यस्तो निराशाजनक परिस्थितिलाई घाइते ह्विलचेयरको संज्ञा त दिएका छन् तर त्यो स्थिर र जडवत् छैन, आफ्नै गतिमा गुडिरहेको छ । कविले महासमरकी आमाका हात त्यही ह्विलचेयरका ह्यान्डिलमा राखिदिएका छन् र आमाले पीडामिश्रित आक्रोशसहित त्यसलाई धकेलिरहेकी छन् ः

बोकेर मनभित्र पीडामिश्रित आक्रोश
ताता सडकका
संवेदनाहीन फुटपाथहरूमा
उनले घचेटिरहिछिन्
घाइते ह्विलचेयर । (घाइते ह्विलचेयर  ८८)

बेपत्ताजन, घाइते योद्धा, सहिद परिवार, उत्पीडित नारी, सडक बालक, सीमा अतिक्रमण, बाह्य हस्तक्षेत्र, दलित मुक्ति जस्ता विषय भण्डारीका कविताको प्राथमिकतामा परेका छन् । उत्पीडित वर्ग वा समुदायका पात्रको माध्यमबाट राजनीतिक विसंगतिको चित्रण गर्नु र रूपान्तरणको आकांक्षा सम्प्रेषित गर्नु कविको वैशिष्ट्य हो ।

कविता भाषिक विचलनसहितको लयात्मक र बिम्बात्मक विधा भएकाले भाषिक वैचित्र्य यसको एउटा मुख्य विशेषता नै हो । विष्णु भण्डारीले भाषिक वैचित्र्यकै लागि शब्दचयनमा मसिनो गरी विविधता दिन खोजेका छन् तर संस्कृत तत्सम शब्दहरूको बाहुल्यताले धेरै ठाउँमा कवितालाई सरल र सम्प्रेषणीय हुन बाधा पु¥याएका छन् । प्रगतिशील फाँटका गद्य कविको संस्कृत शब्दप्रेम संग्रहभरि टड्कारो अनुभूति हुन्छ । कतिपय कवितामा समकालीन समाज र राजनीतिको चित्रण गर्नका लागि पौराणिक र धार्मिक बिम्बहरूको सहारा लिइएको छ । त्यस्ता बिम्बहरूले कविको दृष्टिकोणप्रति प्रश्न उठाउने ठाउँ दिएका छन् । ‘ओथारो बसेको समय’ एउटा त्यस्तै कविता हो, जसमा रावण, विष्णु, राम, हनुमान, कुम्भकर्ण आदि पात्रलाई पौराणिक व्याख्या अनुसारकै सकारात्मक–नकारात्मक अर्थमा चित्रण गरिएको छ । कविले यस्ता समस्या र कमजोरीप्रति ध्यान पु¥याउनु आवश्यक छ ।

नेपाली खस साहित्यले भानुभक्त आचार्यको समय–सेरोफेरोदेखि अहिलेसम्म नै समाजमा विद्यमान दुई प्रकारको संस्कृतिलाई समानान्तर रूपमा प्रतिबिम्बन गर्दै अघि बढेको पाइन्छ । पहिलोले सत्ताको संस्कृति र चिन्तनलाई आधारभूमि बनाउँछ भने दोस्रोले सत्ताविरोधी अर्थात् प्रतिरोधको संस्कृतिलाई । प्राथमिककालमा भानुभक्त तत्कालीन सत्ता अनुकूलका स्रष्टा थिए, अनि सन्त कविहरू सत्ताविरोधी । विष्णु भण्डारी दोस्रो धारको प्रतिनिधित्व गर्ने समकालीन कवि हुन् । यस अर्थमा उनलाई प्रतिरोध संस्कृतिका कवि भन्न सकिन्छ । ‘घाइते ह्विलचेयर’ले त्यसैको पुष्टि गरेको छ ।

(सौर्य दैनिकः २०६९ पुस २८ शनिबार, पृष्ठ ११)


  प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ११:००