महेश पौड्याल
(Posted by: nayapatrika February 6, 2016)
शिवाको युद्धबाट बहिर्गमन तथा छापामारको शिविरबाट खारेजी केही मूल्यमाथिको प्रहार पनि हो, जुन उपन्यासकारको एक कुसाग्र सैद्धान्तिक चेतनाको द्योतक हो । मूल्य कसरी बन्छन् ? के हो योग्यताको मापदण्ड ? ती कहाँ, कसरी र कोद्वारा बनाइन्छन् र कार्यान्वयन हुन्छन् ? के ती मूल्य आग्रहरहित हुन्छन् ? के तिनीहरूभित्र व्यक्तिका तुच्छ र निजी आग्रहले काम गरेका हुन्छन् ? यी तमाम प्रश्न उपन्यासकारले उठाएका छन् र सोच्न बाध्य पारेका छन् कि आखिर युद्धमा वाहवाही पाएका वीराङ्गनाहरू आँसु चुहाउँदै रित्तो हात किन घर फर्काइए, एक दशकको रगत र पसिनाको नि:स्वार्थ निक्षेपपछि ?
माओवादीले सुरु गरेको दशक लामो युद्धले छोडी गएका युगान्तकारी डोबहरूमा जति आख्यान उभिनुपर्थ्यो, र यसलाई जसरी सिद्धान्तकारहरूले सैद्धान्तीकरण गर्नुपर्थ्यो त्यो पटक्कै भएन । अत्यन्तै न्युन संख्यामा जनयुद्ध आख्यान लेखिएको छ नेपालमा, र लेखिएका दुई अतिवादी दृष्टिबिन्दुको ग्रहणबाट ग्रसित छन् । कि त तिनीहरूमा जनयुद्ध र माओवादी सिद्धान्तको अन्धभक्ति छ, वा तिनीहरू केवल आत्मगत आक्रोशले अभिप्रेरित विरोधपत्र हुन् । जनयुद्धमाथि वस्तुगत दृष्टिबिन्दुसहितको आख्यान एक दुर्लभ चिज बनेर रह्यो नेपाली आख्यान साहित्यमा । यो एक खेदपूर्ण यथार्थ हो । यस खेदपूर्ण यथार्थको कहरका बिच ढिलै भए पनि एक नवीन आख्यान–आरोही पाएको छ नेपाली साहित्यले, जसले निर्भीकताका साथ आग्रह–पूर्वाग्रहका पर्खाल भत्काइदिएर आफ्नो स्वतन्त्र दृष्टिकोणलाई बलियो आख्यान शिल्पमार्फत सबैले देख्ने गरी स्थापित गरेको छ । त्यस आरोहीको नाम हो विष्णु भण्डारी, र उनले दिएको आख्यान हो ‘पहेँलो घाम’ । यो उनको पहिलो उपन्यास हो ।
‘पहेँलो घाम’ तीन अर्थमा जोखिम हो, र यिनै जोखिमका कारण यो विशिष्ट पनि छ । पहिलो, आग्रही जनयुद्ध साहित्यको चाङमा यो एक वस्तुवादी हस्तक्षेप हो । त्यसैले, जनयुद्धका अन्धभक्तहरूको कोर्राको जोखिम यसले उठाएको छ । दोस्रो, यो बाहिरबाट हेरिएको कुनै कोरा ‘आँखोदेखी’ वा ‘किंवदन्ती’मा आधारित टिपोटको आख्यानीकरण होइन । यो देखेभोगेको सत्यका आधारमा जनयुद्धका एक साक्षी, तथा एमाओवादीकै एक सक्रिय सदस्यको डायरी हो । त्यसैले भित्री पोल खोलेको आरोप यसले भोगिरहनुपर्ने जोखिम उठाएको छ । तेस्रो, माक्र्सवाद वा माओवादलाई एक स्वर्णयुगको प्रवेशमार्गको रूपमा, मिथकीय शैलीबाट व्याख्यातीत गरिएको आजको नेपाली समयमा, यसभित्रका केही कुपात्रका स्वार्थपूर्ण ढोङ र कुकृत्यका कारण कसरी पहेँलिँदै गएको छ रातो घाम र कसरी एक कहरपूर्ण अन्धकारको पर्दा यसका हिमायतीका अगाडि खडा गरिदिएको छ भन्ने कुरा यस आख्यानले देखाइदिएको छ ।
कथा ‘अयोग्य’ मानिएका माओवादी पूर्व छापामारको हो । नायिका शिवा, जो साहसको पर्याय बनेर दशकैभरि युद्धरत रही, अन्त्यमा आफ्नो स्वप्नयात्राबाट ‘अयोग्य’को बिल्ला भिरेर पलायनको बाटो रोज्न विवश भई । ऊसँगै छन् धेरै अन्य सहयोद्धा पूर्वछापामार, जो मध्यबाटोमा गन्तव्य हराएर उत्भ्रान्त बनेका छन् । कतै कमान्डरको यौनइच्छा पूरा गर्न नमानेकोमा अयोग्य ठहर्याइएका छन्, त कतै अन्ध सैद्धान्तिक अतिवादको विरोध गरेबापत अयोग्य भएका छन् ।
उपन्यास शिवाको युद्धप्रवेश, र युद्धबाट बहिर्गमन धेरै प्रतीकात्मक अर्थले लेस छ । प्रथम, शिवा ती तमाम परिबन्ध र परिघटनाको प्रतिनिधि हो, जसका कारण युद्धको उठान भयो । विभेद, यौन हिंसा, लुटपाट, हत्या र ज्यादतीका विरुद्ध न्यायको लडाइँमा उतारु भएकी पात्र हो शिवा । उसलाई वाद वा दर्शनका ठेलीहरूको ज्ञान छैन, यद्यपि समयसँगै उसले ती कुरा पनि राम्रै गरी सिकेकी छे । ऊ ती तमाम युवाको सपनाको पनि प्रनिनिधि हो, जसले एक शताब्दीदेखि हुँदै आएको यो वा त्यो राजनीतिक परिवर्तनले गरेका स्वप्न–बलात्कारबाट आजित भएकै कारण सशस्त्र विद्रोहको बाटो अवलम्बन गर्न पुगी । तेस्रो, शिवा त्यो आहत सपना हो, जसको बुई चढेर केही छद्म विद्रोही दरबार छिरे, र आफैँले टेकिआएको माटोमाथि प्रहार गरे ।
स्थगन गरेको सपनाको के गति हुन्छ ? त्यहाँ धेरै कुरा हुनसक्छ, तर सबैभन्दा भयानक, त्यो विस्फोट हुन सक्छ । शिवा कुनै पनि वेला विस्फोट हुन तयार युवाहरूको प्रचुर आक्रोश हो, जो एक अन्यायलाई चिर्ने नाममा पुन: देशमाथि थोपरिएको अर्को नयाँ अन्यायको एक प्रखर विरोधी मनोदशाको प्रनिनिधि हो ।
उपन्यासको शीर्षक ‘पहेँलो घाम’ एक प्रतीकात्मक नाम हो । रातो हुन अपेक्षित घाम पहेँलिँदै गएको संकेत, माओवादीभित्रको सैद्धान्तिक र व्यावहारिक विचलन र यस समूहमा क्रमिक रूपले देखा पर्दै गएको फुटको संकेतको अर्थमा हेर्न सकिन्छ । केही ऐतिहासिक त्रुटिकै कारण र पार्टीका असली निर्माता जवान योद्धाकै बीचबाट उठ्न थालेको असन्तुष्टिको स्वर र विद्रोहले यो विचार कमजोर हुँदै गएको छ भन्ने आरोप यस शीर्षकले लगाएको छ । साथै, जनयुद्धको पटाक्षेप र निष्कर्षको समयमा विद्रोही सेना राज्यको सेनामा बिलय हुनु, नेता संसद्वासको भासतिर विसर्जन हुनु, वर्गीय दुश्मन भनिएकासँग कुम जोडेर सिंहदरबार पस्नु, सर्वहाराका नेता हुँ भन्दै आएकाहरू बिलासपूर्ण जीवनशैलीका साथ पुँजीवादी प्रवृत्तितिर उन्मुख हुनु आदि तमाम दृष्टान्तले घाम, निश्चय नै पहेँलिँदै गएको कुरा पुष्टि हुँदै छ । शिवा र उनका साथीको सामूहिक कृषि खेती, र सोहनसँगको प्रेम प्रसंग जस्तो गैरमाक्र्सवादी विकल्प अस्थायी अभ्यास हुन्, जसको निरन्तरता वा सफलता एक अनिश्चित विषय हो । यस्ता अनिश्चिततातिरै लडाकु भासिँदै जानु जनयुद्धको असफल व्यवस्थापनको उपज हो ।
शक्तिशाली जनयुद्ध साहित्यको चाङमा हस्तक्षेपपूर्ण उपस्थिति सुनिश्चित गरेको यस आख्यानले केही कुरालाई सन्तुलित गरेको भए हुन्थ्यो । लेखकले विचलनको जतिसुकै विरोध गरेका भए पनि उनी जनयुद्ध र माओवादका राम्रै समर्थक हुन् भन्ने कुरा पाठकबाट लुक्दैन । त्यसैले, उपन्यासको पूर्ण वस्तुवादिता अझै इजलासमै रहेको विषय हो । जनयुद्धपछि अयोग्य मानिएका लडाकुसँग नयाँ बाटोको कुनै मार्गचित्र छैन । त्यो कुरा लेखकसँग पनि त्यस्तो दृष्टिकोण छैन कि भन्नेहरूलाई बल दिने पक्ष हुन सक्छ । अथवा, त्यो कुरा बहसका लागि पाठकसामु राखिएको भनेर पनि बुझ्न सकिन्छ । अन्त्यमा पाठकका सामुन्ने एउटा गम्भीर राजनीतिक प्रश्न यस कृतिले छाडेको छ, के माओवादी पार्टीको उपल्लो नेतृत्वपंक्ति यत्तिकै विचलित र गैरजिम्मेवार छ त ? के अयोग्य भनिएकाहरू सबै अन्यायमै परेका हुन् त ? के तिनीहरूमध्ये केही साँच्चै अयोग्य थिएनन् त ? के सबै छनोट आग्रही मात्र थियो त ? यो प्रश्नमा सिंगो राष्ट्रले बहस गर्नेछ, र यसको सहजकर्ता ‘पहेँलो घाम’ नै हुनेछ सायद ।
http://www.enayapatrika.com/2016/02/52065#sthash.Vus2azPf.dpuf
(नयाँ पत्रिका वर्ष ९, अङ्क २८९, माघ २३ २०७२, पृष्ठ ५)