पहेँलिदै गएको क्रान्तिको कथा

कला अनुरागी | अन्नपूर्ण २०७२ माघ ३ आइतवार

सातवटा काव्य कृतिपछि विष्णु भण्डारी आख्यान लेखनमा आएका छन् उपन्यास ‘पहेँलो घाम’मार्फत । भण्डारी राजनीतिक रूपमा खुलेका लेखक हुन्, एमाओवादीनिकट लेखक संघको केन्द्रीय तहमा छन्। यसअघिका किताबझैं ‘पहेँलो घाम’ पनि माओवादीकेन्द्रित राजनीतिकै सेरोफेरोमा छ।

क्यान्टोनमेन्टबाट ‘अयोग्य’ प्रमाणित भएका माओवादी छापामारको कथा उपन्यासको मूल विषय हो। उपन्यास सुरु भने माओवादी ‘जनयुद्ध’ नियन्त्रण गर्न राज्यले सेना परिचालन गरिसकेपछिका घटनाक्रमसँगै हुन्छ। उपन्यासकी मूल पात्र हो शिवा, गाउँकी डोल्मा तामाङ। सेनाले उसको बाबुको हत्या गर्छ र आमालाई बलात्कार। साहसपूर्वक नातिनीलाई उम्काए पनि सेनाले हजुरआमाको पनि ज्यान लिन्छ। डोल्मा दुःख खेप्दै माओवादी सम्पर्कमा पुग्छे र शिवा बन्छे। युद्धमा चमत्कारी चरित्र देखाउँछे र ‘सार्प सुटर परी’ बन्छे।

माओवादी शान्तिप्रक्रियामा आएपछि जनसेना क्यान्टोनमेन्टमा राखिन्छ र समायोजनको प्रक्रिया सुरु हुन्छ । प्रक्रियामा शिवा भने ‘अयोग्य’ प्रमाणित हुन्छे। त्यसपछि क्यान्टोनमेन्ट छाडेर हिँडेकी शिवाले अमेरिका बस्ने नेपाली सोहन भेट्छे र काठमाडौंसम्म सँगै यात्रा गर्छे। 

सोहनलाई उसले आफ्नो नाम ‘रमिला’ बताउँछे। तर, सोहन भने शिवाकै खोजीमा अमेरिकाबाट आएको हुन्छ । केही पटकको भेटघाटपछि शिवा सोहनलाई प्रेम गर्न थाल्छे। सँगसँगै आफ्ना ‘अयोग्य’ साथी जम्मा गरेर कृषि उत्पादनमा लाग्छे।

उपन्यासमा विभिन्न पात्रले शिवाले भोगेको त्रासद घटना र उसले लडाइँमा देखाएको चमत्कार वर्णन गर्छन्। ‘अयोग्य’ भएपछि काठमाडौंमा संघर्ष गरिरहेका शिवाका साथीहरू र केही नेतासँगको संवाद तथा सोहनसँगको प्रेमसँगै उपन्यास अघि बढ्छ। 

युद्ध लड्न योग्य व्यक्तिलाई राज्य र पार्टीले ‘अयोग्य’ बनाएर के गर्न खोजेको हो भन्ने प्रश्नलाई उपन्यासले केन्द्र बनाएको छ । उपन्यासको मुख्यसहित अधिकांश पात्र ‘अयोग्य’ छन्। उनीहरू ‘अयोग्य’ भनिनुको पीडामा त छन् नै, भविष्यको निश्चित बाटो नदेखेर अल्मलिएका छन्।

त्यसैले उनीहरू पार्टीको चर्को आलोचना गर्छन्, शान्तिप्रक्रियामा आएपछि पार्टी भ्रष्ट, नैतिकहीन र दिशाहीन बन्दै गएको निष्कर्ष निकाल्छन् । मुक्तिको सपना देखेर युद्धमा सहभागी भए पनि अहिले जीवन जिउन नै संघर्ष गर्नुपरेकोमा पार्टीप्रति रोष प्रकट गर्छन्। 

पार्टी एकताका नाममा पातपतिंगर जम्मा गर्दै ‘जनयुद्ध’विरोधीलाई पार्टीमा हुलेको भन्दै आक्रोशित छन्। चन्दामा मोज गर्ने वाइसिएलप्रति कडा टिप्पणी गर्छन्। पार्टीको नाममा जम्मा हुने पैसा अपचलन गरी नेताले घरघडेरी जोडेको, विभिन्न कम्पनी, हाइड्रो र व्यापारमा लगानी गरेकोमा आक्रोशित छन्। 

क्यान्टोनमेन्टको गुलियो चाखेर कमान्डर लाखौंको गाडीमा हिँडेको, श्रीमतीलाई सभासद् बनाएको र काठमाडौंमा घर बनाएको देखेर छक्क परेका छन् । पार्टीमा शुद्धीकरण अभियान चलाउने पनि भन्ने, आइफोन र रोलेक्स घडीको शान पनि देखाउने नेताप्रति दिक्क छन्। 

आफ्नो गुटको भएपछि सात खुन पनि माफ हुने प्रवृत्तिले पिरोलिएका छन्। मजदुर नेताले सित्तैंमा सेयर मागेपछि ठूला होटल रेस्टुरेन्ट बन्द भएकोमा दुःखी छन्। एकल जातीय पहिचानको मुद्दालाई वर्गीय मुद्दामा जोड्न सकेन भनेर चिन्तित छन्। पृथ्वीनारायण शाहले दुःख गरेर टुक्रेको राज्य एउटै पारेका थिए भन्दै उनलाई विस्तारवादी र हत्यारा भनेकोमा चित्त दुखाएका छन्।

शान्तिप्रक्रियापछि पार्टीले चालेका अधिकांश कदमले कार्यकर्तामा निराशा पैदा गरेको छ । माओवादीले गरेको ‘जनयुद्ध’ र अवलम्बन गरेको सिद्धान्तप्रति उनीहरूको विमति देखिदैन तर सत्तायात्रा र त्यसपछिका क्रियाकलापबाट भने सन्तुष्ट छैनन्। 

पात्रका अभिव्यक्तिमार्फत आफ्नो जीवन पार्टी र उसले सञ्चालन गरेको युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्तिप्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत गर्नु उपन्यासकारको ध्येय देखिन्छ। त्यस क्रममा आफैं संलग्न पार्टीको खुलेर आलोचना गर्न सक्नु उनको लेखकीय इमानदारिता हो।

त्यसो त ‘अयोग्य’ साथीहरूलाई निराश नहुन शिवाले निरन्तर प्रेरित गरिरहन्छे । उसको साहस, प्रतिरोधी चरित्र र आशावादिताले नै उपन्यासका पात्रहरूलाई बाँधिराखेको छ । पुराना नेतृत्वबाट आशा गर्न नसकिए पनि युवाले पार्टी बनाउन सक्छन् भन्ने आशा शिवामार्फत प्रवाह गरिएको छ। 

यसलाई चाहिँ लेखकको पार्टीप्रतिको सदाशयता मान्न सकिन्छ। तर, लेखक नेताको पक्षमा उभिएका छैनन्, इमानदार कार्यकर्तामै आशा खोजेका छन्। शिवामार्फत उपन्यासले जनयुद्धमा महिला र जनजातिको बलियो सहभागिताको कथा प्रस्तुत गरेको छ। 

युद्धमा वीरतापूर्वक लडेको सीमान्त वर्गलाई पार्टीले सत्तामा पुगेपछि वेवास्ता गर्न थालेको चित्र प्रस्तुत गर्न उपन्यासकार सफल छन्। शिवा ‘अयोग्य’ हुनुको कारण हुन्छ-कमान्डरको यौनप्रस्ताव अस्वीकार गर्नु। 

यसले जनसेनाभित्र पनि यौनहिंसा हुन्थ्यो भन्ने खुलासा गरेको छ र लडाकू प्रमाणीकरण प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठाएको छ। त्यसो त बाहिरी समाजमा हुने यौनहिंसाका घटनालाई पनि उपन्यासले समेटेको छ। त्यस्ता घटनामा शिवाको प्रतिरोध कथामार्फत निष्कर्ष निकालिएको छ- प्रतिरोधी चेतना प्रयोग गरेर त्यस्ता हिंस्रक मनोवृत्तिलाई पराजित गर्न सकिन्छ।

उपन्यासले सामूहिकतालाई जोड दिएको छ । ‘अयोग्य’हरूले सामूहिक कृषि फार्ममार्फत उत्पादन सुरु गर्छन्। यसले उनीहरूको जीवनलाई सहज बनाउने मात्रै होइन, भ्रष्ट नेतासँग बहसमा उत्रन पनि बल दिन्छ।

त्यसैगरी असल नेताको उत्प्रेरणा पनि प्राप्त गर्छन्। जनताको त्याग, तपस्या र बलिदानबाट बनेको राजनीतिक पार्टीलाई सीमित नेताको पेवा बन्न नदिन खबरदारी गर्छन्।

‘पहेँलो घाम’ जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको उपन्यास हो । तर, यसमा माओवादी ‘जार्गन’ प्रयोग छैन। भाषा सरल छ। गैरमाओवादी पाठकले पढ्दा टाउकै दुख्ने शब्दावली र सम्बोधन यसमा छैनन् । त्यसो त उपन्यास पढ्न माओवादीबारे बुझेकोचाहिँ हुनुपर्छ। 

माओवादी युद्ध र यसपछिका प्रक्रियाबारे नबुझेका पाठकलाई भने विषयवस्तुले अल्मल्याउन सक्छ। कति ठाउँमा पात्र खडा गरेर आफ्नो कुरा पटट बोल्न लगाए जस्तो लाग्छ। घटनाक्रम कम र संवाद बढी छ। 

संवादलाई नै ‘ठुलो स्वर’ दिएर विषय पुष्टि गर्न खोजिएको छ। त्यसैले आलोचनाको तर्कसंगत पुष्टि भने हुन सकेको छैन । त्यसले उपन्यासमाथि राजनीतिक पक्षधरताको कोणबाट प्रश्न उठाउने बाटो भने खाली नै छ।

उपन्यासको मूल विषयलाई सैद्धान्तिकीकरण गर्न पनि लेखक चुकेका छन्। जति ‘जनसेना’ ‘अयोग्य’ प्रमाणित भए, ती सबै यौनप्रस्ताव अस्वीकार गरेकै कारण भएका पक्कै होइनन्। तर शिवाबाहेक उपन्यासका अरू पात्र कसरी ‘अयोग्य’ बनाइए भन्नेबारे उपन्यास मौन छ। 

यस विषयमा लेखक सचेत बनेको भए उपन्यासको आयाम अझ फराकिलो हुने थियो। उपन्यासको अन्त्यमा नयाँ यात्रा सुरु गर्ने उद्घोष गरिएको छ। तर, त्यो ‘परम्परागत प्रगतिशील’ शैलीलाई पछ्याए जस्तो मात्र देखिन्छ। त्यसको मूर्त भ्रूण उपन्यासभर भेटिँदैन। यी कुरामा उपन्यासकार सचेत हुन सकेको भए उपन्यास अझ बलियो हुन्थ्यो।

त्यसो त, काव्यलेखनको तीन दशकपछि एक्कासि आख्यानमा हात हालेर लेखिएको उपन्यासलाई कमजोर भन्ने आधार छैन। त्यसमाथि समसामयिक राजनीतिमाथि लेख्नु जोखिमको कुरा हो, त्यो जोखिम भण्डारीले उठाएका छन्। 

त्यति मात्रै होइन, कुवाभित्र बसेर आफूलाई सम्राट् घोषणा गर्ने, त्यसबाहिर संसार नै छैन भन्ने सोच पाल्ने तथा कविता लेख्न पोलिटब्युरोको निर्णय पर्खने एउटा वृत्त ‘माओवादी साहित्य’मा छ। आफूलाई सबैभन्दा प्रगतिवादी ठान्ने त्यो वृत्तमा तीन दशक बिताएका भण्डारी यो उपन्यासमार्फत बाहिरी संसारमा निस्केका छन्, जहाँ वास्तविक प्रगतिवादी पनि भेटिन्छन्। 

तर, अब उनलाई कुवाभित्रको समाजले अन्तै लसपसिएको ठान्छ र हेला गर्छ। बाहिरी संसारले कुवाकै मान्छे हो भनेर संशय गर्छ। त्यसैले उनको परीक्षा अब सुरु भएको छ । सुरुआतलाई राम्रो भन्न हिच्किचाउनुपर्ने कुनै कारण छैन।

http://annapurnapost.com/News.aspx/story/25262#sthash.FfYm7wBp.dpuf

(अन्नपूर्ण/फुर्सद : २ माघ, २०७२, पृष्ठ ६)


  प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०१:४२