शुभकामना मन्तव्य
पुष्पकमल दाहाल प्रचण्ड
अध्यक्ष
एकीकृत नेकपा माओवादी
विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा पुरानो समाजमा उद्देश्यहीन भौँतारिइरहेकाहरूलाई समेत जनयुद्धले कसरी जीवन उत्सर्ग गर्ने प्रेरणा प्रदान ग¥यो भन्ने यथार्थलाई जनयुद्धका प्रतिनिधि नायक नायिका समीर र नीलिमा मार्फत् जीवन्त चित्रण गरिएको छ । वैज्ञानिक विचारले दीक्षित हुँदा मानिस एउटा आम मानिसबाट उठेर युगकै बाहक बन्न सक्छ भन्ने नै यो महाकाव्यको मूल सन्देश हो ।
नेपाली सर्वहारावर्गको अग्रदस्ता एकीकृत नेकपा माओवादीको नेतृत्वमा सञ्चालित महान् जनयुुद्ध मानिस मानिसको बीचमा खडा गरिएका विभेदका पर्खालहरू भत्काएर समतामूलक समाज साम्यवाद स्थापना गर्ने महाअभियानको युगान्तकारी थालनी थियो । जनयुद्धले पुरानो व्यवस्थालाई मात्रै भत्काएन, अपितु पुराना विचार, पुराना संस्कृति र मूल्यमान्यतालाई पनि भत्कायो । र, जनता, देश, पार्टी र क्रान्तिको लागि त्याग, बलिदान, एवम् उत्सर्ग को उदात्त संस्कृति र मूल्यमान्यताको सिर्जना ग¥यो । नयाँ विचार, नयाँ संस्कृति र नयाँ मूल्यमान्यताका अनुयायी नवीन मान्छेहरू जन्मायो । उत्सर्ग तिनै विवेक र साहसका अनुपम सङ्गम नवीन मान्छेहरूको बलिदानीपूर्ण जीवनकथा हो । काव्यकारकै शब्दमा-
हो, त्यही नवीन जीवनको कथा हो यो
जसले हाँसीहाँसी मृत्युलाई स्वीकार गरे
ती महान् योद्धाको कविता हो यो
जसले ढल्दाढल्दै पनि
मुक्तिको आवाज बोले ।
यो महाकाव्यले जनयुद्धबाट पैदा भएका नयाँ विचार, नयाँ संस्कृति र नयाँ मूल्यमान्यताको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने आशा मैले लिएको छु । स्रष्टा भण्डारी आउने दिनमा क्रान्तिको पक्षमा अझ राम्रा सिर्जना पस्कन सफल हुने विश्वास सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद !
(२०६६ चैत्र १७)