खेम थपलिया
जनआन्दोलनका बेला लेखिएका कविताहरूको सङ्गालो देश जागेको बेला कविता सङ्ग्रह भर्खरै बजारमा आएको छ । नेपाली प्रगतिवादी कविताको फाँटमा लामो समयदेखि कविता लेख्दै आउनु भएका युवाकवि विष्णु भण्डारीद्वारा रचित प्रस्तुत कविता सङ्ग्रहलाई हंसराज वाग्लेले प्रकाशनमा ल्याउनुभएको हो ।
तीसवटा कविताहरू रहेको यस कृतिमा सङ्ग्रहीत रचनाहरू १९ दिने जनआन्दोलनको परिवेशभित्र लेखिएका छन् । कवितात्मक दैनिकी भन्न मिल्ने किसिमका कविताहरू मुक्तिको निम्ति लड्ने योद्धाहरूप्रति समर्पण गरिएका छन् । सामन्ती जन्जिर चुँडाल्दै मुक्तिको कावा खान आतुर वीर योद्धाहरूको प्रतिरोधी भाव यहाँ छचल्किएको छ ।
कवि भण्डारी स्रष्टा मात्र होइनन्, उनी सङ्घर्षका विविध मोडहरूका भोक्ता पनि हुन् । उनले आफ्ना कविताका माध्यमबाट आफूलाई क्रान्तिका हरेक मोडमा चट्टान भएर उभिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सहादत, घाइते, अपाङ्गका संवेदनाहरूलाई उनले कलात्मक ढङ्गले पक्रेका छन् । पुरानो रुग्ण, जर्जर सामन्ती शसन व्यवस्थाप्रति घोर घृणा पोखेका छन् भण्डारीले आफ्ना कविताहरूमा । विकसित घटनाहरूको संवेदनासँगै संवेदित हुन सक्ने कवि भण्डारीको मौलिक पहिचान हो ।
१९ दिने जनक्रान्तिमा नेपाली जनताले देखाएको त्याग, तपस्या र वलिदानलाई देश जागेको बेला कविता सङ्ग्रहले साहित्यद्वारा मूर्तिकृत गर्ने काम गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य समेत रहनुभएका कवि भण्डारीको यो कृतिमा कविता विधासम्बन्धी सैद्धान्तिक पक्षको अपुग भने विज्ञ पाठकहरूले जताजतै भेट्न सक्नुहुन्छ । यद्यपि यो कृतिले नेपाल प्रगतिवादी कविताको क्षेत्रमा एउटा प्रयोगात्मक छाप छोडेकै छ । आकर्षक साजसज्जा भएको आवरण पृष्ठसहित ९० पृष्ठ संख्या रहेको यो कृतिको साधारण मूल्यराशि रू.४०।– र संस्थागत मूल्यराशि रू.१००।– तोकिएको छ ।
(हाम्रो जलजला : चैत, २०६३, पूर्णाङ्क : १४, पृ. ४०)