(दोस्रो संस्करणको भूमिका)
मेरो आठाँै कृति घाइते ह्विलचेयर केही महिना पहिले प्रकाशित भएको थियो । मैले नयाँ काममा हात हालिसकेको थिइनँ । यतिखेर म आख्यान लेखनको प्रारम्भिक अध्ययनमा थिएँ । म आख्यानमा काम गर्न चाहन्थेँ । मैले केही कथा, संस्मरण र नियात्रा लेखको थिएँ । यतिकै भरमा उपन्यासमा हात हाल्न पनि सकिरहेको थिइनँ ।
पचासौँ जन्मदिन ! बिहान छोराछोरीले ह्याप्पी वर्थडे बाबा भन्दा पो म झल्यास्स भएँ । हो नि ! म आज पचासौँ वर्षमा टेक्दै छु । पचास वर्षमा लाग्नु भनेको बुढो हुनु हो । म बुढो भएको थिएँ । यही सोचले म दिनभरि सोचमग्न भएँ । ओहो ! पचास वर्षमा पो लागेँ है भन्ने कुरोले खै किन हो मलाई घोचिरह्यो । एक किसिमले नैराश्यता पनि जागृत भयो । विगतप्रति अलिकता पछुतो पनि लाग्यो । त्यो साँझ म अबेरसम्म सुतिनँ ।
पश्चिमाले किन मनाउँदा हुन् जन्मदिन ? यसको के नै अर्थ होला र ! म यस्तै सोच्थेँ । जन्मदिन मनाउने संस्कृतिप्रति म सकारात्मक थिइनँ । त्यो दिन भने जन्मदिनले ममा नयाँ तरङ्ग ल्याइदिएको थियो । सोचेँ, जन्मदिन मनाउनु भनेको विगतको समीक्षा गर्नु रहेछ । नयाँ योजना बनाउनु पनि रहेछ । र, आफूलाई सच्याउनु पनि रहेछ । त्यो दिनले मलाई केही कुराको सङ्केत गराएर गएको थियो ।
के साँच्चिकै म बुढो भएको हुँ ? सबैभन्दा त मलाई यही प्रश्नले घोचिरह्यो । के मैले जीवनमा गर्नुपर्ने काम गरेँ ? यो अर्को प्रश्न थियो । मैले जति गर्दा पनि आफूलाई सान्त्वना दिन सकिनँ । मैले जति गरेँ त्यो नराम्रो छैन तर जति गर्नुपर्ने थियो त्यति गर्न सकिनँ । यसमा पछुतो थियो ।
‘उमेर गएछ’ भन्ने कवित लेखेको थिएँ चालिस सालमा । फेरि विगततिर चियाउँदा त्यही कविताको याद आयो । झन्डै तिस वर्ष पहिले नै जीवनमा खासै केही गर्न नसक्दा पिरोलिने म यहाँसम्म आउँदा के गरेँ त ! के यही हो मेरो प्रगति ? के यतिमै म सन्तुष्ट हुन सक्छु ! के मेरो क्षमता यति नै हो ? धेरै प्रश्नहरूले मलाई थिचिरहे । म प्रश्नैप्रश्नको कठघरामा उभिएर विगततिर फर्किएँ ।
आख्यानतिर लाग्नुभन्दा पहिले केही गर्नुपर्ने छ जस्तो लाग्यो मलाई । केही गर्छु भन्दाभन्दै घनश्याम दाइ ढलेको सम्झिएँ । इच्छुक मारिनुभयो । यस्ता धेरे साथीहरूले मृत्युवरण गरे जसले आफ्ना सिर्जनालाई यत्तिकै लथालिङ्ग छोडेर गए । जनकवि गोकुल जोशीलाई पनि सम्झिएँ । उनले प्रकाशन गर्ने चाँजो मिलाउन खोज्दाखोज्दै पनि धेरे रचना हराए ।
मलाई तीन दशकदेखि यत्रतत्र छरिएर रहेका रचनाको खोज र संकलन गर्नुपर्छ भन्ने लाग्यो । नयाँ काममा हात हालेपछि पुराना काम गर्न सकिन्न । यही भएर म पुराना पाण्डुलिपी र प्रकाशित रचनाको खोजीमा लागेँ ।
वि.सं. २०४५ सालमा ‘ब्वासोको अन्त्यको खेल’ र ‘कालो नाटक’ एउटै पुस्तकमा निकालेको थिएँ । फेरि दोहो¥याएर पढेँ । कालो नाटक अनुष्टुप छन्दमा लेखेको थिएँ । छन्दमा लेखे पनि छन्दभङ्ग गरी लेखको थिएँ । म क्रमभङ्गमा विश्वास गर्ने मान्छे । पुरानो शैली र संरचना नभत्काई नयाँ बन्दैन भन्ने लागेर छन्द मिलाउनतिर लागेको थिइनँ । जे गरेको थिएँ अहिले आएर सोच्दा ठिकै गरेको रहेछु भन्ने लाग्यो ।
छन्दलाई छोडेर अरू कुरा ठिकै थियो । तर सामान्य परिमार्जन भने गर्नुपर्ने भयो । पच्चिस वर्ष पहिले लेखिएको र एउटा आवेगमा लेखिएकोले रचना सम्पादन गर्नु आवश्यक हुन्थ्यो नै । मैले त्यसलाई परिमार्जन गरेँ । मरिमार्जन गरे पनि मलाई सन्तुष्टि मिलेन । केही कुरा भन्न खोजे पनि भन्न नसके जस्तो, नमिले जस्तो लाग्यो । आफ्ना कुरा सहज ढङ्गले भन्न नसक्नु छन्दको सीमा हो । ‘आधारभूत आवश्यकता’लाई कसरी भन्ने ? जसरी भने पनि मिल्दैन । त्यसको पर्यायवाची शब्द हुने कुरो पनि भएन । ‘एशियाली मापदण्ड’लाई के भनेर लेख्ने । अनुष्टुप छन्द÷लयमा यी दुई शब्दलाई कहीँ पनि सहजतापूर्वक राख्न सकिनँ मैले ।
‘आधारभूत आवश्यकता’लाई ‘आधार आव’ गरेको रहेछु । सायद ‘एशियाली मापदण्ड’ झनै असहज भएकोले ‘माप’ मात्र लेखेको हुँला । यी दुईको पादटिप्पणीमा अर्थ पनि लेखको थिएँ । सोचेँ यो काव्यलाई गद्यमा लेखे कस्तो होला ? एक साँझ सुरु भयो लेखनको काम । कलम यसरी कुँद्यो कि केही समयमै कविता तयार भयो । पछि मिलाउँदा लाग्यो म छन्दमा हैन गद्यमै खुल्दो रहेछु । सायद यही कारण थियो समयमै छन्द छोडेर गद्यतिर लहसिनु ।
अब अलिकता यसको रचनागर्भको कुरो गरौँ । चालिसको दशकमा पञ्चायती व्यवस्थाले ‘एशियाली मापदण्ड’को नारा जोडतोडले लगाएको थियो । उक्त प्रस्ताव २०४२ साल पुष १ गतेको शाही सम्बोधनमा उल्लेख गरिएको थियो । सम्बोधनमा प्रत्येक नेपालीलाई एशियाली मापदण्ड बमोजिमको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न र लत्ताकपडा जस्ता अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्घोष गरिएको थियो । जसमा डेढ दशकमै जापानको आर्थिक सूचाङ्कलाई भेट्नेगरी देशको विकास गर्ने परिकल्पना थियो ।
तर त्यो उद्घोषणा लामो समय टिक्न सकेन । सबैतिरबाट विरोध भएपछि वि.सं. २०४४ सालमा एशियाली मापदण्डको प्रस्तावलाई परिवर्तन गरियो । त्यसै साल प्रकाशित राष्ट्रिय योजना आयोगको कार्यक्रममा एशियाली मापदण्डको ठाउँमा जनताको आधारभूत आवश्यकता पूरा गर्ने उल्लेख गरियो । त्यतिखेरको तातो विषय भएकोले मैले त्यही विषयमा कविता लेखको थिएँ ।
वास्तवमा ‘कालो नाटक’ त्यतिखेरको पञ्चायती व्यवस्थाको लाज ढाक्ने मुखौटो थियो । जसलाई नाटक भन्न सकिन्छ । यस्ता नाटक धेरै भएका थिए पञ्चायति व्यवस्थामा । गाउँफर्क राष्ट्रिय अभियान, नयँ शिक्षा, जनमत सङ्ग्रह, संविधान सुधार आयोग, भूमि सुधार, एशियाली मापदण्ड र आधारभूत आवश्यकताको पूर्ति विशेष नाटक थिए । योजना बनाउने तर काम नगर्ने भनेको नाटक गर्नु हो । जनताको आक्रोश र विरोधलाई थामथुम पार्न र विदेशी अनुदान र ऋण प्राप्त गर्न सुरु गरिने यस्ता परियोजना सहीमा नाटक जस्तै थिए ।
पहिलो संस्करणको भूमिकामा यो कृतिबारे छोटो भनाइ थियो । लेखेको थिएँ, ‘कालो नाटक त यहीँको उपज हो । व्यवस्थाका ठेकेदारले सडेको व्यवस्था बचाउन अगाडि सारेको पन्ध्र वर्षे योजनाको नाङ्गो रूपलाई जनतासामु देखाउने प्रयाश मात्र । यसको बारेमा बढी भन्नु नपर्ला ।’
त्यही नाटकको काव्यिक अभिव्यक्ति हो ‘कालो नाटक ।’ यो कविता मात्र हैन इतिहास पनि हो । अरू कवि साहित्यकारले खासै नबोलेको विषयमा लेखिएको यो कविता अलिक भिन्न छ । अलिक फरक छ । सबैभन्दा नराम्रो कुरो यसले छन्दमाथि मजाक गरेको छ । छन्दमाथि मजाक गरेर लेखेकोमा अवश्य पनि गाली पाउने छु मैले ।
गाली गरे पनि कृपया बिस्तारै गर्नुहोला ! स्वीकार्ने छु ।
विष्णु भण्डारी
(२०७०)