उद्गमतिर खोतल्दा

(पहिलो संस्करणको भूमिका)

जीवनका पाइलाहरू गन्दै जाँदा मनमस्तिष्कमा अनेकौँ भावना फुर्ने गर्छन् । जिन्दगीका उकाली ओराली घुम्दै जाँदा अनेक घटना घट्ने गर्छन् । भावना र घटना एकाकार भए भने एउटा सिर्जनाको नमेरो उम्रिन सक्छ । परिस्थितिसँग जुध्दै जाँदा प्रकृतिसँग भाग्दै जाँदा विदेशको एउटा कुनामा घटेको सानो घटनाले निक्कै समयपछि एउटा कविता जन्मायो– ब्वाँसोको अन्त्यको खेल ।

मनले तर्कना गर्छ उसले यो कविता पढ्ला र ? पढ्न सक्छ । तर उसलाई के थाहा यो उसैले व्यक्त गरेको गन्थनको कवितात्मक रूप हो भन्ने । करिव चार वर्ष पहिलेको कुरो हो, जतिखेर म दिल्लीको अन्धकार परिवेशभित्र रनभनिदै थिएँ । एकदिन एउटा नाम बताउन नचाहने राजनीतिक व्यक्तिले क्लास (प्रशिक्षण) लियो । देश र जनताको स्थितिको बढो मार्मिक कथा सुनायो । साथै मुक्ति र क्रान्ति एवं सुन्दर भविष्यको बारेमा निकै ठुलो प्रेरणा दियो । म फर्किएँ पनि । हो, निश्चय पनि यो कविता तिनै कुराहरूको समुद्रबाट झिकिएको एक अमखोरा पानी हो ।

कालो नाटक त यहीँको उपज हो । व्यवस्थाका ठेकेदारले सडेको व्यवस्था बचाउन अगाडि सारेको पन्ध्र वर्षे योजनाको नाङ्गो रूपलाई जनतासामु देखाउने प्रयाश मात्र । यसको बारेमा बढी भन्नु नपर्ला ।

नखारिएको कलमले गल्ती गर्न सक्छ । गरिएका गल्तीलाई पाठकवृन्दले केलाउनु भै सजग गराउनु हुनेछ । सहर्ष स्वीकार गर्ने छु । यहाँहरूको सहयोग, सुझाब र माया पाउने नै छु । अहिलेलाई यत्ति भन्दै बिदा हुन्छु ।

 विवेक

(असोज, २०४५)                                                 


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १३:३९