मेरो मनका कुरा

(पहिलो संस्करणको भूमिका)

मेरो भन्नु केही छैन । जे छ यहाँहरूको मात्र छ । मैले त केवल एउटा गन्थन कोरेँ । मात्र गन्थन । गन्थनमा अलि राम्रोसँग कलात्मक तालमेल मिलाउन सकिनँ । भत्केको घर सजिलैसँग मेसो पर्दोरहेनछ । देशको अन्याय, अत्याचार, दमन र उत्पीडन अनि यहाँको आर्थिक अवस्था, छोटकरीमा भन्दा सिङ्गो नेपाल र नेपालीकोे यथार्थता देखाउन खोजेको हुँ । त्यसको साथसाथै नारीको वर्तमान अवस्था र मुक्तिको लागि चाल्नुपर्ने पाइलाको बारेमा प्रकाश पार्न चाहेथेँ । तर यथार्थतालाई काव्यात्मक रूप दिन अलि असजिलो हुँदो रहेछ । त्यसैमा पनि म त भर्खर अङ्कुराउन लागेको बीज हुँ र यो मेरो प्रथम प्रयास । तैपनि हरेस खान्नँ । यहाँहरूको न्यानो माया, ममता र सुझाव नै मेरा लागि प्रेरणा बन्ने छन् ।

मलाई झल्यास्स याद आउँछ चार वर्ष पहिलेको कुरा, जतिखेर म कक्षा दशमा पढ्दै थिएँ । उतिखेर नै मैले यसको आधार तयार गरेको थिएँ । र, एस.एल.सी. परीक्षाको लगत्तैपछि लेख्न पनि सुरु गरेँ । पहिलो प्रयास बिचबिचमा कठिनाइ र अबरोध देखा परे । तैपनि जानी नजानी कोर्दै गएँ ।

यो तीन वर्षको अन्तरालभित्र कापीमा कोरिएका यी मेरा भावनाहरूले मसँगै पहाड, मधेश, उकाली ओरालीहरूमा पुग्ने मौका पाए । विदेशका गल्लीगल्ली र दिल्लीको विकराल अन्धकारभित्र निस्सासिँदैै र दरवानमा लाठीको ठक्र्याकठ्याकसँगै आँसु चुहाएर पुनः स्वदेशिए । तर पनि मैले यसलाई सबैको सामु राख्न सकिनँ । गतसालको यिनताका पनि निकाल्ने प्रयास गरेँ तर असमर्थ भएँ । बल्ल आज विविध समस्यासँग जुद्धै तमाम साथीहरूको सहयोग र न्यानो अनुरागले यसलाई यहाँहरूको हातमा सुम्पिने जमर्को गरेको छु ।

प्रथम प्रयास गल्ती प्रसस्त छन् होला तर पनि त्यसलाई केलाउने र सुझाब दिने काम यहाँहरूको नै हो । आशा एवं विश्वास छ अङ्कुराउन लागेको मेरो यो मनोभावनालाई नकुल्ची अगाडि बढ्न सहयोग एवं प्रेरणा दिनुहुनेछ ।

यसको प्रकाशनका निम्ति प्रेरणा दिने, अमूल्य समय दिएर यसको सुद्धासुद्धी हेरिदिने, सुझाबको साथै प्रेशको व्यवस्था गरिदिने श्री अग्राखज्यूमा मेरो तर्फबाट दिने वस्तु वास्तवमा केही छैन । जे छ केवल धन्यवाद । उहाँको यस सहयोगलाई अन्तिम समयसम्म भुल्ने छैन ।

त्यस्तै गरिबीले सताएको विद्यार्थी जीवनमा पनि आर्थिक सहयोग गरी मेरो प्रयासलाई अगाडि बढाउन भूूमिका खेल्नु भएका सम्पूर्ण साथीहरूमा धन्यवाद दिँदै पछिसम्म पनि यस्तै सहयोग र प्रेरणा पाउने आशा र विश्वास गर्दै विदा चाहन्छु ।

एस. वि. विवेक

(असोज, २०४३)                                                  


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १२:४६