विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’

असोज २०, काठमाडौं ।

कवि विष्णु भण्डारीको पहिलो उपन्यास पहेँलो घाम प्रकाशित भएको छ । उपन्यास जनयुद्धमा सहभागी महिला छापामारको जनयुद्धपछिको जीवनमा आधारित भएको उपन्यासकार भण्डारीले मूल्याङ्कन अनलाइनलाई बताए ।

दश वर्ष लामो माओवादी जनयुद्धमा सहभागी महिला छापामारको सेना समायोजनपछिको जीवनलाई कथामा बुनिएको उनले बताए । ‘जनयुद्धमा साहसिक योद्धाको रुपमा परिचित छापामार युवतीको कथा उपन्यासमा बुनिएको छ,’ उनले भने, ‘युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र देखाएको साहसको रोमाञ्चसँगै उपन्यास अघि बढ्छ । पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ? उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन् ।’

उपन्यासमा अयोग्य भनेर सेना समायोजनमा नपारिएका छापामारले गरेको सङ्घर्ष र समकालीन राजनीतिलाई सँगसँगै उतारिएको भण्डारीले बताए ।

भारतले गरेको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै प्रकाशक प्राइम बुक्सले भण्डारीको उपन्यासको विमोचन कार्यक्रम गर्न नसकेको जनाएको छ ।

भण्डारी प्रगतिशील लेखक संघका केन्द्रीय कोषाध्यक्ष तथा अखिल नेपाल लेखक संघको केन्द्रीय सदस्य हुन् । उनका यसअघि सात कविता कृति प्रकाशित छन् । पछिल्लो पटक उनका उत्सर्ग (महाकाव्य–२०६७) र घाइते ह्विलचेयर (कविता संग्रह–२०६९) चर्चामा थिए ।

http://emulyankan.com/novel-by-bishnu-bhandari-news/


  प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १२:३४