विष्णु भण्डारीको ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

 

२०८० बैशाख ३१ आइतबार १४:४६:००

साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ। पद्मकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा मार्क्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन्।

भण्डारीले यस कृतिमा नेपालमा वि.सं. १४५० देखि हालसम्म भएका युद्धमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरेका छन्। कृतिमा नेपाली युद्धसाहित्यका साथै नेपाली द्वन्द्वसाहित्य र जनयुद्धको साहित्यको पनि चर्चा गरिएको छ। त्यस्तै, ००७ र ०१८ सालमा भएका सशस्त्र विद्रोहमा लेखिएको साहित्यको पनि विवेचना गरिएको छ।

मार्क्कवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथाकालदेखि जनयुद्धकालसम्म भएका युद्धमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित भएको बताए।

त्यसैगरी सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेको बताए। डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइबर युद्ध, जैविक युद्धजस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए। उनले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गर्ने बताए।

कार्यक्रममा बोल्दै अर्का वक्ता डा. विन्दु शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्। पुस्तक ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको हो । पाँच सय पृष्ठको कृतिको मूल्य सात सय राखिएको छ।

https://www.nayapatrikadaily.com/news-details/114498/2023-05-14?fbclid=IwAR2fgAAPxyOOFNPn2btHJZDTKlb4bIGLWcHmruFa4b6h-TMJSXWj8pcu38Q


  प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १४:४२