भण्डारीको ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक 

वैशाख ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार विष्णु भण्डारीको समालोचना कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको उक्त कृति मार्क्सवादी सौन्दर्यचिन्तकद्वय मोहन वैद्य तथा निनु चापागाईं, समालोचकद्वय अमर गिरी र  विन्दु शर्माले शनिबार राजधानीमा सार्वजनिक गरेका हुन् ।

कृतिमा नेपाली हितका लागि भएका युद्धहरूमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरिएको छ । कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको विवेचना गरिएको लेखक भण्डारीले जनाएका छन् ।

कृतिभित्र लोकगाथाकालीन युद्धसाहित्य, राज्य विस्तारकालीन युद्धसाहित्य, भोट–चीनसँग भएको युद्धमाथि लेखिएको साहित्य, ०७ साल र ०१८ सालमा भएका सशस्त्र विद्रोहमाथि लेखिएको साहित्य, जनयुद्धमाथि लेखिएको साहित्यको विवेचना गरिएको छ । यसैगरी नेपाली द्वन्द्वसाहित्यको पनि अध्ययन गरिएको छ ।

प्रस्तुत कृतिलाई नेपालको अखण्डता र सार्वभौमिकता रक्षाका लागि भएका युद्धबारे लेखिएको साहित्यसम्बन्धी पहिलो कृतिका रूपमा लिइएको छ । लेखक भण्डारीका यसअघि ‘विद्रोहको छाल’, आँधी–तुफान’, ‘ब्वाँसोको अन्त्यको खेल’, ‘कालो नाटक’, ‘फेरि अर्को तारा खस्यो’, ‘देश जागेको बेला’, ‘उत्सर्ग’, ‘घाइते ह्वीलचयर’, ‘पहोलो घाम’, ‘सुनको पहाड’जस्ता साहित्यिक कृति प्रकाशित छन् ।

पुस्तकबारे बोर्ल्दै वैद्यले शान्ति र बुद्धको देश भन्दै आएकोमा प्रस्तुत कृतिले नेपाल युद्धमय छ भन्ने प्रमाणित गरेको बताए । चापागाईंले नेपाली युद्धसाहित्यको अध्ययनका निम्ति यो कृति महत्वपूर्ण रहेको बताए ।

समालोचक गिरीले युद्ध सशस्त्र मात्र चर्चा रहेको निशस्त्र युद्ध, साइबर युद्ध, जैविक युद्धजस्ता विषयलाई कृतिमा नसमेटिएको टिप्पणी गरे । समालोचक शर्माले नेपाली साहित्यमा अहिलेसम्म युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एकै ढंगले विवेचना गरिएकोले प्रस्तुत कृतिले युद्धसाहित्यको नयाँ आयाम थपेको बताए ।

https://ekantipur.com/literature/2023/05/14/168406056957013113.html

प्रकाशित : वैशाख ३१, २०८० १६:२१


  प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १४:३८