मानवीय मूल्यको पुनर्व्याख्या

प्रारम्भ

मानवीय मूल्यको पुनव्र्याख्या बहसको नयाँ विषय हो । कतिपयलाई यस्तो कुराले आवेश र उत्तेजना पैदा गर्नेछ । कतिपयलाई मानवीय मूल्यको खोजी बहसको उत्तम विषय हुन सक्थ्यो भन्ने पनि लाग्न सक्छ । हुन पनि यो विषय जत्तिको जटिल छ त्यत्तिकै अमूर्त । त्यसो त यो अमूर्त मात्र छैन विवादित पनि छ । यसको कुनै सीमा र साँध छैन, परिभाषा र अर्थ छैन ।

सबैलाई आफ्ना आदर्श र मूल्यहरू प्रिय लाग्छन्, संस्कार, संस्कृति र चालचलन प्रिय लाग्छन् । उनीहरू तिनै मान्यतामा आफूलाई व्यवहारवद्ध बनाउँदै आएका छन् । कोही स्वार्थले, कोही अज्ञानले र कोही बाध्यताले सामाजिक मूल्यहरू स्वीकार्न बाध्य छन् ।

अन्ध राष्ट्रवादीका लागि, अझ यसो भनौँ आत्मश्लाघावादीका लागि त यो झनै अस्पटयुक्त लाग्ने छ । मानौँ कोही उनीहरूको नजिक आएर बरबराउँदै छ, निद्राभङ्ग गर्दै छ । जसरी पोखरीको भ्यागुले पोखरी नै विशाल संसार हो भन्ने मनोरोगमा जीवन व्यतित गर्छ, हाम्रा बुद्धिजीवीहरू पनि त्यस्तै हुन् । उनीहरू आफ्ना मूल्य र सांस्कृतिक महानताको बखान गरेर कहिल्यै थाक्दैनन् । उनै मूल्यमाथि यसरी हस्तक्षेप गर्नु निश्चय पनि मूल्यहीन काम लाग्ने छ उनीहरूलाई ।

हुन त म बनिबनाउ परिभाषामा विश्वास गर्दिनँ । परिभाषाहरू समयसँगै परिवर्तन हुन्छन्, आदर्शहरू भत्किन्छन् र नयाँ प्रतिमानहरू निर्माण हुन्छन् । मानवीय मूल्यको परिभाषा पनि त्यस्तै हो । फेरि यस्तो फराकिलो विषयलाई साँघुरो परिभाषामा कैद गर्न पनि त सकिदैन । फेरि कुनै पनि विषय परिभाषाविहीन पनि त हुन सक्दैन । मूल्यलाई परिभाषित गर्दा, मानवीय मूल्य समाज र मानव विकासको त्यस्तो स्वनिर्मित अवधारणा हो, समाजको त्यस्तो आचारसंहिता हो जुन सदियौँदेखिको क्रमिक विकासद्वारा परितोषिक हुन्छ ।

मानवीय मूल्यको निर्माण र विकासमा सामाजिक र सांस्कृतिक आधारहरूले भूमिका खेलेका  हुन्छन् । सामाजिक विकास, वर्गसङ्घर्षको गति र श्रमचेतना मूल्य निर्माणका महङ्खवपूर्ण आधारहरू हुन् । यही भएर मूल्यको विकास सबै ठाउँमा समान रूपमा हुँदैन । सामाजिक, आर्थिक र सांस्कृतिक धरातल कमजोर भएका ठाउँका मूल्यहरू कमजोर हुनु स्वभाविकै हो ।

मूल्यहरू स्थिर हुँदैनन् । समय अनुसार यिनीहरू विकासित र परिवर्तित हुन्छन् । कुनै समय समाजपयोगी भनिएका मूल्यहरू, आचारसंहिता र सद्गुणहरू समयक्रममा अनुपयुक्त हुन पुग्छन् । फेरि सामाजिक परिवेश, भौगोलिक अवस्थिति र राजनीतिक तथा आर्थिक कारणहरूले मूल्य निमाणको गति र प्रकृति फरक फरक हुन्छ ।

हुन त मूल्य क्रयविक्रयसँग पनि सम्बन्धित छ । यसरी हेर्दा मूल्यलाई दुई अर्थमा बुझ्न सकिन्छ । हिन्दीमा योग्यता वा गुणवत्ताका हिसाबले मूल्य निर्धारण गरिनुलाई ‘कीमत’ शब्दद्वारा बुझ्न सकिन्छ । नेपालीमा त्यस्तो शब्द ठ्याक्कै भेटिदैन । नेपाली शब्दकोषमा ‘किम्मत’ शब्द प्रयोग भएको पाइएता पनि यो त्यति प्रचलित शब्द हैन । तर पनि यहाँ ‘मूल्य’को प्रयायवाची शब्दका रूपमा ‘किम्मत’ शब्दलाई नै प्रयोग गर्नुपर्ने हुन्छ ।

बजारमा किम्मतकै आधारमा वस्तुको मूल्याङ्कन गरिन्छ । हुन त मूल्य र किम्मत दुबैले बस्तुको महङ्खव, गुण, विशेषता र उपयोगिता दर्शाउँछन् । तर पनि भौतिक वस्तुको किम्मत बजारले निर्धारण गर्छ । बजारको माग र उत्पादनबिचको अन्तरसम्बन्धले वस्तुको मूल्य निर्धारण हुने भएकोले किम्मत अर्थशास्त्रीय अवधारणा हो । यसको तुलनामा मानवीय मूल्य, जुन आत्मिक र नैतिक मूल्यको संवेगात्मक अभिव्यक्ति हो, आदर्श र विश्वासको प्रतिफल हो ।

प्रकार

मूल्य श्रमचेतनाको प्रतिफल भएता पनि यसलाई एउटै डालोमा राखेर अध्ययन गर्न सकिन्न । मूल्यको स्रोत, आधार र प्रकृतिअनुसार यसलाई विभिन्न तरिकाले अध्ययन गर्न सकिन्छ । मूल्यलाई आत्मिक र भौतिक गरी दुई प्रवर्गमा राखेर अध्ययन गर्न सकिन्छ । आत्मिक मूल्य भावनाप्रधान अवधारणा हो जसलाई सामाजिक जीवनका आधारका विभक्त गर्न सकिन्छ । जस्तैः सामाजिक मूल्य, राजनीतिक मूल्य, आर्थिक मूल्य, सांस्कृतिक मूल्य, मानवीय मूल्य, आदि । जतिसुकै प्रकारमा विभक्त गरे पनि यी सबै मानवीय संवेदना, रुचि र खुसीसँग सम्बन्धित हुन्छन् । यस अर्थमा भावनात्मक हुन्छन् ।

मानवीय मूल्यकै कुरा गरौँ । मानवीय मूल्यको प्रमुख भेद बलिदान, सच्चरित्र र समर्पण हो । समाज र राष्ट्रको उत्थानका लागि जीवन बलिदान गर्ने मूल्य मानवीय मूल्य हो । खासगरी मानिसमा हुनुपर्ने इमान्दारिता, सहनशीलता, जिम्मेबारीबोध मानवीय मूल्य हुन् । मानवीय मूल्यको मुख्य अभिप्राय विश्वास र आस्था हो । सत्यको पक्षमा अटल विश्वास, सेवाभाव र असल विचारप्रतिको पक्षधरताले मानिस सद्गुणी र चरित्रवान बन्न पुग्छ ।

त्यसो त नैतिक र आध्यात्मिक मूल्य पनि मानवीय मूल्यभित्रै राखेर अध्ययन गर्न सकिन्छ । मानवता, परोपकार, सहानुभूति, कर्तव्यपरायणता, आदर–सम्मान, इमान्दारिता, सहनशीलता, स्नेह, करुणा, सदाचार, नैतिकता, विश्वास, सच्चरित्र, अहिंसा, सत्यनिष्ठा, नैतिक मूल्यभित्र पर्छन् भने शान्ति, सद्भाव, प्रेम, दया, करुणा र अहिंसा आध्यात्मिक मूल्यमा पर्छन् । यी सबै मानवीय मूल्य हुन् ।

अधिकार, कर्तव्य, शान्ति, सद्भाव, सहिष्णुता, एकता, सामाजिक मूल्य अन्तर्गत पर्छन् । सामाजिक मूल्य शिक्षा, स्वास्थ्य, शान्ति, सह–अस्तित्व, सुरक्षा, न्याय र आपसी सद्भावसँग सम्बन्धित हुन्छ ।

सौन्दर्यात्मक मूल्यमा सत्यम् शिवं सुन्दरम्को भाव प्रतिबिम्बित भएको हुन्छ । मनवीय जीवनका हरेक घटना, विषय र अनुभूतिलाई कलात्मक ढङ्गले व्यक्त गर्नु, सुन्दरतालाई छाडा, विकृत र अश्लील हैन कि मानवीय र श्रममय बनाउनु, सत्यसँग जोड्नु सौन्दर्यबोधी मूल्य हुन् ।

मानवीय मूल्यभित्र सांस्कृतिक, राजनीतिक, नैतिक, आर्थिक मूल्यहरू पर्छन् जसले मानव समाजलाई व्यवस्थित, अनुशासित र सुन्दर बनाउन सहयोग पु¥याउँछन् । राजनीतिक मूल्य कमजोर भएको मुलुकमा राजनीतिमा वेथिति देखिन्छ भने आर्थिक अनुशासन र मूल्य कमजोर भएका मुलुकमा भष्टाचार, लुट, खसोट र कालोबजारी तीव्र हुन्छ ।

आधार

मूल्य आदर्श जीवनसित सम्बन्धित हुन्छ । जीवनसँग सम्बन्धित हुने भएकोले मूल्यको अधार समाज र जीवन नै हो । मूल्यको धरातल समाज भएकोले मूल्य सामाजिक विकासको उपलब्धी हो । मूल्य मूलत आत्मपरक हुन्छ तर पनि यसको क्षेत्र फराकिलो छ । यसलाई समाज सञ्चालनको आचारसंहितासँग पनि तुलना गर्न सकिन्छ । समाजलाई नैतिक, अनुशासित र व्यवस्थित गर्नकै लागि मूल्यहरूको निर्माण भएको हो ।

व्यक्तिको मूल्य प्राप्तिको प्रक्रिया उसको जन्मसँगै सुरु हुन्छ । मानिसको पहिलो पाठशाला परिवार भएकोले र परिवार सामाजिक संगठनको आधारभूत इकाई भएकोले उसले परिवारबाट नै मूल्यहरू ग्रहण गर्न थाल्छ । मूल्यको स्थापनामा पारिवारिक मूल्य र संस्कारको ठुलो भूमिक हुन्छ । मानिसको मूल्य निर्धारणमा प्रमुख हात परिवारको हुँदाहुँदै पनि उसको संगत, सामाजिक सम्बन्ध र रुचिले पनि मूल्य निर्धारणमा भूमिका खेल्छ ।

मूल्य निर्माणमा मानिस र समाजको अन्तरसम्बन्ध कायम रहेको हुन्छ । सुरुमा समाजले मानिसलाई मूल्य र मान्यताहरू सिकाउँछ, उसलाई शिक्षित र परिपक्क बनाउँछ । पछि उही मानिस समाजलाई दिशानिर्देश गर्ने ठाउँमा पुग्छ । आफ्नो अध्ययन, ज्ञान र खोजका आधारमा समाजमा नयाँ मूल्य निर्माण गर्न मद्दत पु¥याउँछ । यसरी हेर्दा मूल्य निर्माणको प्रक्रिया द्वन्द्वात्मक हुन्छ ।

उद्देश्य

मानवीय मूल्यको उद्देश्य सच्चरित्र मानिसको निर्माण, सेवाभाव र आदर्श जीवनको परिकल्पना नै हो । ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तु सुखिन’ जस्ता पूर्वीय दर्शनमा भेटिने नीतिवाक्यले पनि मूल्यको उद्देश्यमाथि प्रकाश पार्छन् । मूल्यभित्र सबै सुखी र खुसी रहुन् भन्ने मनसाय लुकेको हुन्छ । सबैलाई समान व्यवहार गर्नु, सम्मान र आदर गर्नु मूल्यको उद्देश्य हो । बहुजनहितायको आदर्शले मूल्यहरू निर्माण हुन्छन् । सबै मानिसको हित खातिर कर्म गर्नु मानवीय मूल्यको प्रमुख विशेषता हो ।

मानवीय मूल्यले समाज र व्यक्तिलाई नियन्त्रित मात्र गर्दैन सामाजिक र नैतिकसंहिताप्रति प्रतिबद्ध हुन निर्देश पनि गर्छ । जसले समाजद्वारा स्वीकृत मूल्यको वर्खिलाप गर्छ वा तिनलाई अस्वीकार गर्छ, समाजले उसलाई दण्डित गर्छ । दण्ड र जरिवानाका कारण मूल्यहरू विवादित पनि बनेका छन् । सत्तास्वार्थमा प्रयोग पनि भएका छन् ।

मानवीय मूल्यले मानिसलाई समाज र समाजलाई मानिससँग जोड्ने काम गर्छ । समाजमा अमनचयन, सद्भाव र शान्ति कायम गर्न मूल्यको अहम् भूमिका हुन्छ । मूल्यलाई सामाजिक कानुन भन्दा पनि फरक पर्दैन । जहिले पनि मूल्यको काम सार्वजनिक हित र स्वार्थका लागि प्रतिबद्ध हुनु हो ।

प्रत्येक मानिसको सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार हुन्छ । यदि सामाजिक मूल्यमाथि अतिक्रमण भयो वा समाज असहिष्णु भयो भने मानिसको बाँच्न पाउने अधिकार गुम्न र खोसिन सक्छ । त्यसैले मूल्यहरूले सामाजिक सद्भाव, सहअस्तित्व र भातृत्व कायम गर्न सहयोग गर्छन् । व्यक्तिलाई रिसिइवी र कुत्सित स्वार्थका आधारमा कसैले अन्याय गर्नु भनेको मूल्यमाथि अतिक्रमण गर्नु हो । समाजले त्यस्ता व्यक्तिले गर्ने अतिचार र उत्पीडन सर्वमान्य मूल्यकै आधारमा नियन्त्रण र नियमन गर्छ ।

नकारात्ममक मूल्य

मानवीय मूल्य समाजद्वारा निर्धारित र मान्यताप्राप्त हुन्छ । तर सामाजिक विसंगति र विकृतिका कारण कतिपय समयमा ती निर्धारित मूल्य कमजोर बन्न पुग्छन् । व्यक्ति, समुदाय वा परिवार कोहीबाट पनि स्थापित मूल्यहरूलाई अस्वीकार गर्न पाइदैन । तर पनि समाजमा मूल्यहरू मिच्ने गरेको पाइन्छ । चलनचल्तीका मूल्यको ठाउँमा व्यक्तिविशेषले प्रयोगमा ल्याउने मूल्यहरूलाई नकारात्मक मूल्यको रूपमा बुझिन्छ । यस्ता नैतिकहीन र अमानवीय मूल्यहरूको प्रयोग व्यक्तिको अहम्का कारण हुन्छ । कतिपय ठाउँमा बाध्यता र कहीँ नवीन चेतनाका कारण पनि व्यक्तिले मूल्यको सीमा नाघ्न पुग्छ । बढी त हिंसात्मक वा विकृत मानसिकताका कारण हुन्छ ।

समाजमा यौनहिंसा, बलात्कार, हत्या, शरीरिक र मानसिक उत्पीडन, शोषण जस्ता नकारात्मक काम गर्न हुन्न भन्ने सामाजिक र नैतिक मूल्यहरू स्थापित छन् । तर पनि यस्ता नैतिक साँधलाई विघटन गर्ने वा नाघ्ने काम पनि भएको छ । यस्तो हुनु भनेको व्यक्तिभित्रको नैतिक मूल्य कमजोर हुनु वा मानिसभित्र मानसिक विकार उत्पन्न हुनुको परिणाम हो ।

त्यसो त समाजमा सबै मानिस एकै किसिमका हुँदैनन् । सबैले सामाजिक र नैतिक मूल्यलाई अङ्गाल्छन् भन्न पनि सकिदैन । जोसँग नकारात्मक सोच र चिन्तन बढी हुन्छन् उनीहरूले अरूलाई दवाउने र निचा देखाउने कुचेष्टा गर्छन् । हिंसा र बलात्कारलाई प्रश्रय दिने, आफूलाई धुरीमा राखेर सोच्ने र व्यवहार गर्ने, अरूको हित र स्वार्थलाई  भन्दा आफ्नो स्वार्थलाई सर्वोपरी मान्ने नकारात्मक मूल्यकै कारण हो ।

हाम्रोमा मूल्यहरूलाई वर्गभन्दा माथि राखेर अध्ययन गरेको पाइन्छ । खासमा त मूल्यहरू वर्गीय चरित्रका हुन्छन् । कतिपय मूल्यहरू समाजमा जुन वर्गको सत्ता स्थापित छ त्यही वर्गको हितअनुकूल बनेका, बनाइएका हुन्छन् । दलितलाई उत्पीडन गर्ने काम सत्ता र सत्ताको आडमा हुँदै आएको थियो र अद्यापी कायमै छ । महिलामाथि विभेद, समुदाय, जाति र क्षेत्रविरुद्धको उत्पीडन सत्ताकै बलमा हुने गरेको पाइन्छ । यसलाई सत्ताद्वारा स्थापित नकारात्मक मूल्य भन्न सकिन्छ ।

अर्को हो संस्कार, संस्कृति र धार्मिक मान्यताद्वारा स्थापित गरिएका मूल्य । मूल्यहरू मानिसको अधिकार र कर्तव्यसँग जोडिएका हुन्छन् । स्वनिर्णय गर्न पाउने र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने मानिसको प्राकृतिक अधिकार हो । तर समाजमा स्थापित मूल्यहरूले मानिसले जन्मदै लिएर आएका उक्त अधिकारलाई हस्तक्षेप गर्छन् । पहिले पहिले दलितले उच्च जातकी नारीसित यौन सम्बन्ध वा विवाह सम्बन्ध कायम गरे मृत्युदण्डको सजाय पाउँथ्यो । अहिले यस्ता किसिमका नकारात्मक मूल्यहरू कानुनत बन्द गरिएको छ । व्यवहारमा भने अहिले पनि यस्तो कार्य गर्नेलाई दुरुत्साहित गर्ने, दण्डित गर्ने र हत्यासम्म गरेको पाइन्छ । कथित तल्लो जातको मानिसलाई मन्दिर प्रवेशमा रोकावट, धारापँधेरामा अवरोध जस्ता नकारात्मक मूल्यहरू अहिले पनि छ्यापछ्यापती देख्न पाइन्छ ।

नारीलाई मन नपरे सम्बन्धविच्छेद गर्न पाउने अधिकार उसको नैसर्गिक अधिकारभित्र पर्छ । तर उसले उक्त निर्णय गर्दा विभिन्न खाले झमेला र ताडना पाउँछे । कुनै व्यक्तिले संस्कार संस्कृति अनुसार क्रियाकर्म नगरे अहिले पनि समाज र कुलगोत्रबाट कारबाही गर्ने प्रचलन छँदैछ ।

खोज्दै जाने हो भने समाजमा नैतिक र सामाजिक मूल्यको नाममा मानिसमाथि उत्पीडन गर्ने प्रचलन देखिन्छ । सामाजिक सद्भाव र सह–अस्तित्व कायम गर्नुपर्नेमा विभेद, उत्पीडन बढाउने, पारस्परिक सम्मानको ठाउँमा घृणा फैलाउने र एकअर्काप्रति असहिष्णु हुने काम स्थापित मूल्यहरूबाटै भएको पाइन्छ ।

हुन त नकारात्मक मूल्यको वर्गीकरणमा राजद्रोह, अनादर, विश्वासघात, अन्याय, अत्याचार, शोषण, घृणा, असहिष्णुता जस्ता विभिन्नखाले विभेदहरूलाई राखिएको पाइन्छ । तर यी नकारात्मक भनिएका मूल्यहरू सबै वर्गस्वार्थअनुकूल प्रयोगमा आउँछन् । जातीय, धार्मिक, लैङ्गिक, भाषिक जस्ता विभेद अहिले पनि सत्ताद्वारा नै व्यवहारमा ल्याइएको पाइन्छ । यसरी अध्ययन गर्दा कतिपय मूल्यहरू वर्ग र सत्ताको रक्षा गर्ने हेतुले बनाइएको र प्रयोगमा ल्याएको पाइन्छ ।

निरुपण/अन्वेषण

समाजमा चलिआएका मूल्य र विकसित हुँदै गरेका मूल्यबिचको अन्तर्विरोधले नयाँ मूल्यको प्रादुर्भाव हुन्छ । यसो त समाजमा परस्परविरोधी मूल्यहरूको बिचमा हमेसा द्वन्द्व हुन्छ । सकारात्मक मूल्यको ठाउँमा नकारात्मक मूल्यको स्थापनाले समाजलाई विकृति र विसंगतितर्फ धकेल्छ । हुन त जसलाई संस्थापन नकारात्मक भन्छ ती पनि सबै नकारात्मक नहुन सक्छन् । नवीन र विद्रोही चेतना बोकेर आउने नयाँ प्रतिमानहरू सुरुमा नकारात्मक जस्ता देखिनु र लाग्नु स्वभाविकै हो । तर यही प्रक्रियाबाट नै नयाँ मूल्यको निरुपण हुन्छ ।

मूल्यमा हुने यस्तोखाले विकास र द्वन्द्व वर्गसङ्घर्ष तीव्र बनेको समयमा अरू बढी देखिन्छ । राजनीतिक र सामाजिक आन्दोलनले पुराना मूल्यहरू भत्काउने र नयाँ मूल्यहरू स्थापित गर्ने काम गर्छ । आर्थिक र सामाजिक विकासले मानिसका रहनसहन, रीतिथिति र आचारविचारमा परिवर्तन ल्याउँछ । शिक्षामा हुने विकास, विज्ञानप्रविधिको विकास र राजनीतिक चेतनाले मानिसहरू जीवन बाँच्ने शैलीमा परिवर्तन हुन्छ ।

यस्तो समयमा पुरातन मूल्य र नवीन मूल्यबिच सङ्घर्ष बढ्नु स्वभाविकै हुन्छ । यस्तो खाले सङ्घर्षले सामाजिक जीवन र संस्कार स्खलन हुने, राष्ट्रिय र सामाजिक मनोविज्ञान तहसनहस हुने र अन्तिममा मानवीय मूल्य समेत स्खलन हुने चिन्ता गरेको पाइन्छ । यो चिन्ता र चासो नकारात्मक मूल्यको कारण भएको हो भने जायजै हुन्छ तर यथास्थितिको विरुद्ध प्रश्न गर्ने, सामाजिक विभेद र उत्पीडनको विरुद्ध आवाज बुलन्द गर्ने र पुरातन मूल्यको विरुद्ध विद्रोह गर्ने नयाँ पुस्ता र आन्दोलनप्रति कटाक्ष हो भने त्यसलाई सकारात्मक रूपमा लिन सकिदैन । त्यस्तो सोच पनि अन्ततोगत्वा नकारात्मक मूल्यभित्रै पर्छ ।

मूल्यको निरुपण कसरी गर्ने ? यो ज्यादै सकसपूर्ण कार्य हो । मूल्यको कुनै सीमा हुन्न, ढाँचा र परिभाषा हुन्न । आफूभन्दा ठुलाप्रति सम्मान गर्नु, उनले भनेको मान्नु, सबैसँग प्रेमपूर्वक मिलेर बस्नु हाम्रा आदर्श मूल्यहरू हुन् । तर के यी मूल्यभित्र सामन्ती दासता र बडप्पनको गन्ध आउँदैन ? यस्ता मूल्यहरू सामन्तवादी सोच, सत्ता र विचारको रक्षार्थ सिर्जना गरिएका हुन् । निश्चय पनि यस्ता मूल्यको विरोध हुन्छ र हुनुपर्छ । यस्ता निवर्गीय मूल्य, जसले सधैँ सहनशील हुन र प्रश्न नगर्न अर्ति उपदेश दिन्छन्, नभत्काएसम्म नयाँ मूल्यको खोज अधुरै रहन्छ ।

मानवीय मूल्य अपनाउने व्यक्तिले मात्र व्यक्तित्वको विकास गर्न र विश्वशसनीय पात्र बन्न सक्छ भन्ने मान्यता हामीकहाँ छ । तर ती मूल्यहरू कुन वर्ग र समुदायका लागि फलदायी हुन्छन् भन्नेतिर भने बहस गरेको पाइदैन । एउटा गरिब मजदूर हमेशा मालिकसँग ज्याला बढाउने माग गर्छ । साहु त्यही गरिब मजदुरको पसिनाबाट अतिरिक्त पुँजी सङ्कलन गर्छ । यहाँ मजदुरले समाजले लागु गरेका आचारसंहिताको विरुद्ध नाराजुलुस गर्न पुग्छ । उसले गरेका नाराजुलुस र विद्रोह हाम्रो समाजमा नकारात्मक मूल्यभित्र पर्छन् । मन्दिर पस्न नपाएको दलितले बाहुन अहम्विरुद्ध गर्ने विद्रोह नकारात्मक मूल्य हुन्छ । 

मानवीय मूल्यमा मानिसका विचार, अवधारणा, विश्वास र आस्था अन्तर्निहित हुन्छन् । तर ती विचार र आदर्शहरू सबै वर्ग, समुदाय र क्षेत्रका निम्ति कसरी समान हुन सक्छन् ? उही मूल्य धनी र सम्पन्न व्यक्तिका लागि आदर्श बन्छ भने भोको र उत्पीडित वर्गका निम्ति अपाच्य र कुरूप बन्छ ।

पुनर्व्याख्या

जसले समाजमा स्थापित मूल्यमाथि धावा बोल्छ उसको सामाजिक जीवन पनि भत्किन थाल्छ । सामाजिक जीवनमा ऊ बहिष्कृत हुन पुग्छ । समाजले समाजमा अमनचयन राख्न निश्चित मापदण्ड र आचारसंहिता बनाएको हुन्छ । जब कसैले ती मापदण्ड, मूल्य र आदर्शलाई भत्काउँछ वा अस्वीकार गर्छ, त्यहाँ अस्थिरता, अव्यवस्था, असुरक्षा, अशान्ति आउन थाल्छ ।

अहिलेको हाम्रो समाज मूल्य विघटन तीव्र बनेको समाज हो । मुख्य गरी राजनीतिक र सामाजिक क्षेत्रमा मूल्यहीनता बढ्दो छ । राजनीतिक मूल्यमा आएको स्खलनले सबैतिर प्रभावित गर्नु स्वभाविकै हो । अहिले हिजोका आदर्शहरू भत्किदा छन्, हिजोका विचार र विश्वासहरू पनि भत्किदा छन् । यस्तो मूल्यहीन संस्कृतिको विकास किन भैरहेको छ ? सामाजिक परिवर्तनले राम्रैराम्रो मात्र गर्दैन, नराम्रो पनि सँगै लिएर आउँछ । यहाँ भएको यही हो ।

अहिलेसम्मका मूल्यहरू, जुन समाजद्वारा निर्मित र स्वीकृत छन्, के अबको समाजले पनि तिनैलाई स्वीकारा गर्छ त ! ल मानिलिऊँ मूल्यले समाजलाई सन्तुलित बनाउन सहयोग गर्छ रे ! तर त्यो सन्तुलन, शान्ति र अमनचयन बहुमतले बलजफ्ती लादेको हो कि खुसीले स्वीकार गरिएको हो ? सामाजिक संरचना र मूल्यको बिच अन्योन्यास्रित सम्बन्ध हुन्छ । तर जब समाजमा विकसित अन्तर्विरोधहरू चुलिदै जान्छन् पुराना मूल्यहरू भत्किदै जान्छन् । जब मूल्यहरू भत्किन थाल्छन् समाज पनि अस्थिर हुन थाल्छ । यतिखेर समाजमा अस्थिरता देखिनु नयाँ र नौलो हैन । सामाजिक परिवर्तन यही प्रक्रियाबाट नै विकसित हुन्छ । ध्वंस र अस्थिरताबाट नै नयाँको निर्माण हुन्छ ।

यसो त मानवीय मूल्यहरू कसैको सनक र उपदेशका आधारमा निर्मित हुँदैनन् । विकसित हुँदै गएको सामाजिक संरचना, विज्ञानप्रविधि र आधुनिक चिन्तनले मूल्यमा कस्तो प्रभाव पारेको छ ? समाज विकास सँगसँगै मानिसहरूमा देखिने चिन्तनगत विकास र परिवर्तनलाई मध्यनजर गर्ने कि नगर्ने । हिजोका मूल्य र प्रतिमानहरू आजको समयका कसरी हुवहु लागु हुन सक्छन् ? प्रेम, दया, इमान्दारिता र विश्वास जस्ता मूल्यहरू कसरी वर्गस्वार्थभन्दा माथि हुन सक्छन् ?

समाजमा व्याप्त कुरीति, कुसंस्कार, उत्पीडन, विभेद र शोषणको जालो कुन सामाजिक र नैतिक मूल्यको प्रतिपादन हो ? यदि समाजमा व्याप्त हत्याहिंसा, बलात्कार, चोरी, लुटहरू यही समाजका उपलब्धी हुन् भने हामीले अजमाएको मूल्यमा पनि कहीँ न कहीँ समस्या छ । नयाँ र पूर्ण मानिस बनाउनु पर्नेमा मानिस स्वयम् खण्डित भएको छ । खण्डित मानिसले कसरी नयाँ मान्छेको परिकल्पना गर्न सक्छ ? जबसम्म मानिसभित्र स्वनिर्मित अझ यसलाई बनिबनाउ मूल्य भन्न सकिएला, भत्काउने अभिलाषा हुँदैन, नयाँ बन्न सक्दैन ।

आधुनिक मूल्यको निर्माण समानतामा आधारित हुन्छ । जहाँ असमानता, उत्पीडन र विभेद हुन्छ त्यहाँ नयाँ मूल्य निर्माणको बहस बहसमा मात्र सीमित रहन पुग्छ । यसरी हेर्दा हामीले नेपाली समाजको वर्तमानलाई नियाल्ने हो भने हाम्रा मूल्य खासगरी मानवीय मूल्यको पुनर्व्याख्या

गर्नुपर्ने हुन्छ ।

आधुनिक मूल्यको चर्चा गर्दा स्वतन्त्रता, समानता र भातृत्व जस्ता मूल्यहरूलाई बिर्सिनु हुँदैन । पुँजीवादी समाजव्यवस्थाले अङ्गिकार गरेका यी मूल्यहरू आधुनिक मूल्य हुन् । सामन्तवादसँगको द्वन्द्व तीव्र बनेको बेला बुर्जुवा वर्गले अघि सारेका मूल्य हुन् यी । तर पुँजीवाद नै शोषण र उत्पीडनको प्रयाय बनेको समयमा यी मूल्यहरू वेवारिसे बनेको अवस्था छ ।

उपभोक्तावाद र बजारले मानिसको यसरी अवमूल्यन गरेको छ कि ऊभित्र कुनै पनि मूल्य साकार छैनन् । ऊ स्वयम खण्डित छ भने ऊभित्रका मूल्य कसरी पूर्ण हुन सक्छन् । अहिलेको समय मूल्य भ्रष्टिकरणको समय हो । यसले हरेक मूल्यलार्इृ विनिर्माण गर्छ । हरेकलाई वस्तुमा रूपमान्तरण गर्छ र मूल्यलाई नाफा नोक्सानसँग तुलनायोग्य बनाउँछ । नाफाका लागि मानवीय संवेदनालाई पनि विक्रीको वस्तु बनाउने पुँजीवादमा मानवीय मूल्यको खोज गर्नु बालुवाबाट तेल निकाल्न खोज्नु जस्तै हो ।

फेरि मूल्यको निरुपण गर्ने को हो ? कसले गर्न सक्छ मानवीय अस्मिताको खरिदविक्री ? कसैले बनाएको पुरातन मूल्यको घिनलाग्दो डोरेटो पछ्याउन अभिशप्त हुन सक्दैन आजको पुस्ता । मानिसले आफ्नो परिचय आफै बनाउँछ । आफ्नो स्वत्वको सङ्घर्षमा ऊ स्वयम लड्छ । ऊ कसैको प्यादा भएर, कसैको शक्तिको भरमा वा अरूको शक्तिका कारण मात्र मानिस भएको हैन ।

हामीले भावावेशमा आएर करुणा र दयाको कुरा गरेर हुनेवाला छैन । के सत्तासीन वर्गले कहिल्यै दया, माया र करुणा देखायो ? जबसम्म राज्यसत्ता बदलिदैन समाज बदलिन सक्दैन । बन्ने र बनाउने प्रक्रिया माथिबाट हुनुपर्छ । राज्यसत्ताका हरेक मूल्य अपारदर्शी, पीडक र हिंसाप्रिय छन् भने हामीले तल सफा गर्छु भनेर कसरी हुन्छ ?

अहिलेको समयमा, जहाँ समाजवादी समाजको बहस भैरहेको छ, हामीले मूल्यमाथि पनि बहस गर्नै पर्छ । पुराना मूल्यहरू जुन कतिपय सामन्ती वर्गस्वार्थद्वारा निर्मित छन्, सामन्ती आदर्श बोकेका त्यस्ता मूल्यहरूको पुनव्र्याख्या नगरी नयाँ मूल्यको बहस सार्थक हुन सक्दैन । हाम्रो उद्देश्य त नयाँ र समग्र मानिस बनाउने हो । समानता र सद्भावले भरिपूर्ण समाज बनाउने हो । अनि त्यो अभियान र उद्देश्यलाई पूर्ण बनाउन पनि नयाँ मूल्यको खोज आवश्यक हुन्छ नै ।

समाजवादी मूल्य कस्तो हुन्छ ? के अहिलेकै यात्राले हामी समाजवादमा पुग्न सक्छौँ ? हुन त समाजवादी मूल्य पनि हामीले नै निर्माण गर्ने हो । तर अहिलेका हामी स्वयम् नभत्किएसम्म नयाँ चिज बन्नेवाला छैन । पुरानो दिमागले कसरी निर्माण गर्न सक्छ नयाँ संसार । समाजवादको मुख्य आदर्श भनेको समानता हो, भुइँमान्छेको हातमा अधिकार हो, शोषण, विभेद र उत्पीडनको अन्त्य हो । यदि समाजवादी आदर्शको स्थापना हुन सक्छ भने नयाँ मूल्यको स्थापना किन हुन सक्दैन ?

सामन्तवादको ठाउँमा गणतन्त्र, संघीयता, समावेशी र धर्मनिरपेक्षता आइसक्दा पनि हामीले पुरानै मूल्य बोकेर हिँडिरहेका छौँ । एकातिर सामन्ती, पुरातन र रुग्ण मूल्यहरूको दवदवा छ अर्कोतिर दलाल पुँजीवादले भित्र्याएको विसंगति र विकृति मौलाउँदो छ । हामीले एकैसाथ यी दुबै विभ्रम र विकृतिविरुद्ध लड्नुपर्ने छ ।

मानिसलाई उन्नत चेतनातिरको यात्रामा अवरोध सिर्जना गर्ने उत्तरआधुनिक चेतना, दलाल सोच र मानसिकतासँग सँगसँगै लड्नु छ । पुराना मूल्यहरूको ठाउँमा नयाँ मूल्यको खोज र स्थापना गर्नु छ । यसका लागि सबैभन्दा पहिले हाम्रा नैतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र मानवीय मूल्यको पुनर्व्याख्या गनुपर्ने छ ।

(२०७८)


  प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०७:२४