अलग धारको सैद्धान्तिक मान्यता र अवधारणागत दृष्टिकोण

अलग धार एउटा अवधारणा हो, त्यस्तो अवधारणा जसले समाजमा प्रचलित रीतिरिवाज, आचारविचार र मूल्यमान्यताको ठाउँमा नयाँ सोच, नयाँ विचार र नयाँ मूल्य निर्माण गर्न प्रोत्साहन गर्छ । एउटा विकृतिका ठाउँमा अर्को विकृतिलाई प्रोत्साहन गर्नु परिवर्तन हुन सक्दैन, भलै त्यो पहिलोभन्दा उदार किन नहोस् ।

निरन्तरतामा क्रमभङ्गका माध्यमले नै समाज यहाँसम्म आइपुगेको हो । समाजमा जति पनि विकास, प्रगति र आविष्कार भएका छन् योजनावद्ध विकासकै प्रतिफल हुन् । यसो त विकास र परिवर्तन स्वस्फूर्त तरिकाले पनि हुन्छ । चाहे त्यो स्वस्फूर्त होस् अथवा योजनावद्ध मानवीय आवश्यकताले उपज हो, जसलाई श्रमचेतनाले दिशानिर्देश गरेको हुन्छ । मानवीय आवश्यकताको पूर्तिका लागि गरिने श्रमचेतना नै त्यस्तो कुन्जी हो जसले विकास र परिवर्तन सम्भव बनायो ।

स्वस्फूर्त चेतनामा योजनावद्ध प्रतिवद्धता हुँदैन । जहाँ योजनावद्ध चेतनाको अभाव हुन्छ त्यहाँको समाज पिछडिएको हुन्छ । यस्तो समाजले ध्वंस र पुनर्निर्माणमा भन्दा निरन्तरतामा विश्वास गर्छ । माक्र्सले अहिलेसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो भनेका छन् । मानवीय चेतना, सामाजिक परिवर्तन र विकासको गति कुनै पनि समाजमा विकसित हुने सामाजिक अन्तर्विरोधद्वारा प्रभावित हुन्छ । जहाँको समाज आन्दोलित हुन्छ, नयाँको खोजीमा प्रयत्नशील हुन्छ, त्यहाँ विकासको गति तीव्र हुन्न्छ । गतिशील समाजको तुलनामा स्थिर र दब्बु समाजमा विकास र समृद्धि कमजोर हुनुका पछाडि निरन्तरताप्रतिको अतिशय मोह नै मुख्य कारक हो ।

योजनावद्ध विकास विभिन्न उथुलपुथुल र आरोहअवरोहका साथ अघि बढ्छ । निश्चित योजना र सैद्धान्तिक मान्यतामा आधारित भएर हुने परिवर्तन, खोज र आविष्कारले समाजको विकास द्रूत हुनु स्वभाविकै हो । विकास र परिवर्तनको यही गतिलाई समातेकैले पश्चिमाहरू विज्ञान र प्रविधिमा अब्बल भए । हामीले वेद, पुराण र इतिहासलाई पुज्य बनायौँ, खोपीमा राखेर धूप र दीप चढायौँ, त्यसभित्र भएको ज्ञानको दिव्यचक्षुले भविष्यतिरको यात्रा तय गरेनौँ । विषयलाई प्रश्न र आलोचन गर्नबाट बन्देज लगाएपछि हुने भनेको गीता हो । ज्ञानको असीमित भण्डार हुँदाहुँदै पनि पूर्वीय समाज पछि पर्नुको कारण यही हो ।

नेपाली समाज पनि स्वस्फूर्त विकासको गतिमा हिँडेको समाज हो । सकभर निरन्तरातालाई कामय राख्ने यथास्थितिवादी सोचको प्रतिफल हो अहिलेको नेपाल । पृथ्वीनारायणले ध्वंस र निर्माणको माध्यमले समाजलाई एक कदम अघि बढाएका थिए । त्यसपछिका राजनेताले आमूल परिवर्तनलाई खासै समाउन सकेनन् । राजा महेन्द्रले उद्योग कलकारखाना खोले, उत्तर र दक्षिणलाई सडक सन्जालद्वारा जोडे । तर विकासलाई मानवीय चिन्तन र संवेदनासँग जोड्न सकेनन् । भौतिक विकास र मानवीय विकासको एकीकृत अवधारणा हो समृद्धि । राजा महेन्द्रले भौतिक विकासमा केही काम गरेपनि मानवीय संवेदना र स्वतन्त्रतामाथि अङ्कुश लगाउने काम गरे । जसले नेपाल अर्को तीस वर्ष एकात्मक र केन्द्रीकृत अवस्थाबाट गुज्रिनुप¥यो । जसले हाम्रो क्षेत्रगत, जातिगत, सामाजिक र लैङ्गिक विकासमा अवरोध सिर्जना भयो ।

कतिपयलाई ध्वंस शब्द सुन्यो कि छटपटी पैदा हुन्छ । कतिपयले ध्वंसलाई विनिर्माणसँग तुलना गर्छन् । तर आमूल परिवर्तनको अवधारणा ध्वंसकै प्रतिफल हो । हामी अहिले आमूल परिवर्तनको मनोदशामा छैनौँ । राजनीतिक रूपमा ठुलै छलाङ लगाए पनि हामीले विकासको कछुवा गतिलाई छोड्न सकेनौँ । सामाजिक र मानवीय विकासको अर्थबोध गर्न सकेनौँ जसको प्रतिफल हामी अहिले असफल राष्ट्रमा रूपान्तरण हुँदै छौँ । यस्तो समयमा आइपुग्दा पनि हामीले नयाँ तरिकाले सोच्न सकेनौँ भने बुझ्नुपर्छ हामी पनि असफल देशका असफल नागरिक हौँ ।

अलग धारको अवधारणा कुनै राजनीतिक अभियान हैन । यसले गर्ने भनेको असाध्यै सामान्य काम हो । मानिसलाई जगाउने र प्रश्न गर्न सिकाउने काम कसले गर्न सक्छ ? यो असाध्यै पेचिलो प्रश्न हो । अलग धारले त्यस्ता क्षेत्रलाई आधार मानेर काम गर्ने छ जसले मानिसहरूमा नयाँ चिन्तनप्रति आकर्षित हुने र आत्ममूल्याङ्कन गर्न बाध्य पार्ने छ ।

नेपाल अति राजनीतिले गिजोलेको राष्ट्र हो । कुनै पार्टी वा गुटको पक्षधर नभएको खण्डमा बाँच्नै नसक्ने अवस्था सिर्जना हुनु भनेको स्वतन्त्र मानिस आवश्यक छैन भन्नु हो । पार्टी राजनीतिले मानिसलाई स्वतन्त्र भएर सोच्न दिँदैन । केही समय पहिले एउटा पार्टीले एकतिस लाख पार्टी सदस्य बनाउने घोषणा ग¥यो । यसरी लाखौँको संख्यामा पार्टी सदस्य बनाउन थालेपछि स्वतन्त्र नागरिक बाँकी नरहने अवस्था सिर्जना हुन्छ । पार्टीको सदस्यले पार्टीका अवैज्ञानिक अवधारणा, नीति र कार्यको विरोध गर्न सक्दैन । यही भएर म अलग धारको माध्यमबाट समाजमा व्याप्त असङ्गति र विकृतिको भण्डाफोर गर्नुपर्छ भन्छु ।

 (१) दार्शनिक क्षेत्रमा अलग धार

कार्ल माक्र्सले भनेका थिए दार्शनिकहरूले आजसम्म विश्वको व्याख्या मात्र गरेका छन्, मूल कुरा त विश्वलाई नै फेर्नु हो । हामीले आफ्ना कुरा राख्दा यही आधारलाई प्रस्थानविन्दु बनाउनुपर्छ । अर्थात कुरा गर्नेभन्दा काम गर्ने पद्धतिको विकास नभएसम्म कुनै पनि दर्शन यथार्थमा दर्शन हुन सक्दैन । पूर्ण र समग्र मानिस बन्न प्रेरित गर्ने तथा सभ्य, सुसंगत र वैज्ञानिक समाजको दिशाबोध गर्ने विचार र दर्शन नै हाम्रो आधार हुन सक्छ ।

अलग धार भौतिकवादी दार्शनिक चिन्तनका आधारमा समाजको पुनर्संरचना गर्नुपर्छ भन्ने धारणा राख्छ । यसले प्रत्ययवादको विरुद्धमा आफूलाई उभ्याउँछ । ईश्वरवाद, भाग्यवाद, उत्तरआधुनिकवाद र शून्यवाद जस्ता दार्शनिक चिन्तनको विरुद्धमा भौतिकवादी चिन्तनको पक्षपोषण गर्छ । दार्शनिक क्षेत्रमा माक्र्सवाद र साहित्यिक क्षेत्रमा प्रगतिवाद यसका सैद्धान्तिक आधार हुन् ।

नेपालमा विद्यमान राजनीतिक पार्टीहरू भौतिकवाद र प्रत्ययवाद दुबै दार्शनिक मान्यता स्वीकार गर्ने खालका छन् । पुँजीवादी विश्वदृष्टिकोणलाई आधार मान्ने पार्टीहरू पनि सम्पूण रूपमा पुँजीवादी चरित्रका छैनन् । उनीहरूमा प्रत्ययवाद व्याप्त छ । सैद्धान्तिक रूपमा पुँजीवादी विचार बोक्ने पार्टीहरू भौतिकवादी चिन्तनको पक्षधर हुनुपर्ने हो । तर यहाँ त्यस्तो देखिदैन । यहाँका पुँजीवादी पार्टीहरू चिन्तन र दृष्टिकोणका हिसावले यति कमजोर छन् कि उनीहरूलाई बुर्जुवा भन्न र मान्नका लागि न कुनै सांस्कृतिक आधार छ कुनै दार्शनिक धरातल । यस्ता कमजोर धरातलमा उभिएका पार्टीका नेतृत्वले समाजलाई वैज्ञानिकीकरण र आधुनिकीकरण गर्लान् भन्ने आशा गर्न सकिदैन ।

यहाँका सत्ताधारी वामपन्थी पार्टीहरूमा पनि समाजवादी चिन्तनभन्दा पुँजीवादी र प्रत्ययवादी चिन्तन हावी छ । उनीहरू सत्तास्वार्थमा यसरी लिप्त हुँदै गएका छन् कि कम्युनिष्ट सिद्धान्तको समेत धज्जी उडाइरहेका छन् । उनीहरूबाट द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादका आधारमा समाजको अध्ययन र विकास होला भनेर सोच्न सकिन्न ।

यस्तो अवस्थामा ‘अलग धार’ निश्चित दार्शनिक आधारमा टेकेर मात्र आफूलाई विकसित गर्न सक्छ । अलग धार कलासाहित्य, संस्कार संस्कृति र सामाजिक मुद्धाहरूमा काम गर्ने अभियान भएकोले सौन्दर्यचिन्तन यसको महङ्खवपूर्ण पाटो हो । जबसम्म हामीले भौतिकवादी चिन्तन, मूल्य र सिद्धान्तलाई दह्रोसँग समाउन सक्दैनौँ त्यतिखेरसम्म जतिसुकै आदर्शका कुरा गरेपनि हाम्रा काम छिपछिपे नै हुने छन् ।

(२) राजनीतिमा अलग धार

अलग धार अहिलेको नेपाली राजनीतिको गति र मतिसँग सहमत छैन । नेपाली राजनीति यति धेरै विकृत भएको छ कि यसलाई राजनीति भन्न पनि लाजमर्दो अवस्था सिर्जना भएको छ । राजनीति निश्चित दर्शन, विचार र सिद्धान्तमा आधारित हुन्छ । राजनीतिको मुख्य उद्देश्य देश र जनताको विकास र समृद्धिसँग जोडिएको हुन्छ । तर यहाँका राजनीतिक पार्टीहरूको कुनै सैद्धान्तिक आधार नभए जस्तै दखिन्छन् । निश्चित आदर्श र विचारभन्दा पनि सत्ता र शक्तिको पछि कुदेको देखिन्छ ।

अवश्य पनि राजनीतिको मुख्य प्रप्ति सत्ता हो । तर आफ्ना विचार, मूल्य र सिद्धान्तलाई नै दाउमा लगाएर सत्ता र शक्तिको पछि धाउनु यहाँका राजनीतिक पार्टीहरूको नियति भएको छ । राजनीतिक पार्टीको मुख्य उद्देश्य आफ्नो नीति, कर्ययोजना र अवधारणा प्रयोग गर्नु हो । समाजलाई गतिशील र सिर्जनशील बनाउनु हो । तर नेपाली राजनीतिमा जोसँग गठजोड गरेर भए पनि सत्तामा पुग्ने र सत्ताको मिठो बाँडीचुँडी खाने संस्कार मौलाउँदो छ ।

अलग धार यस्तो खाले विकृत राजनीतिप्रति असहमति व्यक्त गर्छ । यस्तो हुनुको पछाडिको मुख्य कारण राजनीतिक पार्टीहरूको भन्दा राजनीतिक प्रणालीको असफलता हो । विश्वबाटै असफलसिद्ध हुँदै गएको संसदीय व्यवस्था कपी गरेर नेपालमा लागु गरिएको छ । नेपाली जनताको चाहना, यहाँको पर्यावरणीय र भौगोलिक अवस्थिति, आवश्यकता र व्यवहारको अध्ययनले पनि संसदीय व्यवस्था व्यवहारिक प्रयोग हुन सक्दैन । अलग धार सघीयता र धर्मनिरपेक्षतामा विश्वास गर्छ तर सधैँ अस्थिरता र अव्यवस्था सिर्जना गर्ने राजनीतिक प्रणालीको विकल्पमा सोच्नुपर्छ भन्ने मान्यता राख्छ ।

(३) सामाजिक क्षेत्रमा अलग धार

मानव सभ्यताको प्रमुख आधार समाज हो । सभ्यताको मापन समाज विकासको सूचकाङ्कका आधारमा गरिन्छ । समाजको परिकल्पना मानवीय सम्बन्धको प्रतिफल हो । व्यक्ति व्यक्तिबिचको सम्बन्धले समाज र व्यक्ति र समाजबिचको पारस्परिक सम्बन्धले सभ्यताको विकास हुन्छ । मानिसले समाज बनाउँछ तर उही समाजले मानिसको व्यक्तित्व विकासमा सहयोग पु¥याउँछ । यसरी मानव सभ्यताको विकासमा यी दुईको बिचमा अटुट सम्बन्ध कायम रहेको हुन्छ ।

केही मानिस वा समुदायका आधारमा निर्धारण गरिने समुहलाई समाज भन्ने गरेको पनि पाइन्छ । तर त्यस्तो अवधारणा समाजलाई साँघुरो बनाउने पुरातन सोच हो, जसले मानवीय सम्बन्धलाई सीमित बनाउँछ । समाजको समग्र अध्ययन एउटा समग्र जातिको आधारमा गर्नुपर्छ । एउटा राष्ट्र र सभ्यताभित्रका जुनसुकै धर्म, सम्प्रदाय, जाति वा वर्गका मानिसहरूको आपसी सम्बन्धको समष्टि समाज हो ।

यसो त सामन्तवादले समाजलाई जात, वर्ण, क्षेत्र र धर्मका आधारमा विभाजन गरेको छ । पुँजीवादले सामन्तवादी समाजमा जति समाजलाई जात र धर्मका आधारमा विभेद र विभक्तिकरण नगरे पनि समाजको खण्डिकरणमा आर्थिक विषमता बढाएको छ । एकातिर समानताको कुरा गर्ने र अर्कोतिर धार्मिक र अन्तरदेशीय विभेद बढाउने पुँजीवाद वर्गस्वार्थका लागि जे पनि गर्न पछि पर्दैन ।

अलध धार समाजलाई जात, वर्ण, धर्म र आर्थिक आधारमा विभाजन गर्ने पुरातन सोच र पद्धतिलाई अस्वीकार गर्छ । नेपालभित्र बस्नेहरू जुन जात, धर्म र क्षेत्रका भए पनि सबैको हैसियत एउटै छ, त्यो हो नेपाल राष्ट्रका नागरिक हुनु । सत्ताले मधेशी, पहाडी, राई, लिम्बु, हिन्दु, मुस्लिम र दलित समाज भनेर जसरी विभाजन गर्ने र त्यसैका आधारमा उत्पीडन र विभेद गर्ने गरेको छ आधुनिक समाजका लागि अस्वीकार कुरो हो ।

अलग धारले मानिस मानिसबिचको सद्भावपूर्ण सम्बन्धको पक्षमा काम गर्छ । श्रमका आधारमा गरिने विभेद, शोषण र मानिसको मूल्याङ्कन उसको समग्रतामा हैन कि खण्डखण्डका आाधारमा गर्ने जुन परिपाटी छ त्यो निन्दनीय काम हो । समाजमा बस्ने जुनसुकै सदस्यको हैसियत समान हुन्छ र राज्यको दृष्टिमा उनीहरू सबैको समान अधिकार रहन्छ ।

(४) कलासाहित्यमा अलग धार

कलासाहित्य समाज परिवर्तनको माध्यम र विचार निर्माणको साधन हो । प्रायजसो मानिसहरू साहित्य विचार निर्माण गर्ने हेतुले पढ्दैनन् । यसो त कलासाहित्य मनोरञ्जननको साधन पनि हो । कतिले आफू र आफूजस्तै मान्छेको कथा पढ्न साहित्यको खोजी गर्छन् । कतिले विगतको यथार्थ बुझ्न साहित्य पढ्छन् र कतिले मन बहलाउन र मनोरञ्जन लिन साहित्य पढ्छन् । उनीहरूले साहित्य मात्र पढ्दैनन्, गीत सुन्छन्, नाटक हेर्छन्, चलचित्र र चित्र हेर्छन् । मान्छेहरूले जुन उद्देश्यले कलासाहित्यलाई अँगाले पनि यसले उनीहरूको अन्तरहृदयमा गहिरो प्रभाव छोड्छ । यही प्रभावले ऊभित्र विचार निर्माण हुने प्रक्रिया सुरु हुन्छ । धेरैजसो मानिसहरू पत्रपत्रिका पढेर आफ्ना धारणहरू बनाएका हुन्छन् । कतिले साहित्य पढेर, कतिले चलतित्र हेरेर र कतिले गीतसङ्गीत सुनेर विचार बनाउँछन् । विचार बनाउँछु भनेर बन्ने चिज हैन, निरन्तरको अध्ययन, संगत र व्यवहारले बन्दै जाने हो ।

नेपाली समाजमा अझै पनि कलासाहित्यलाई हेर्ने आदर्शवादी दृष्टिकोण कायमै छ । अधिकांश कलाकार, कवि, साहित्यकार कलासाहित्यमा विचारको कुरा गर्नुहुन्न भन्छन् । उनीहरू कलासाहित्यलाई विशुद्ध कलाको रूपमा लिनुपर्छ भन्छन् । यति मात्र नभएर कलामा भौतिकवादी विचार र वैज्ञानिक चिन्तनको सट्टा धर्मकर्मको प्रचार, ईश्वरीय शक्तिको महिमा र आदर्शवादी विचारको पक्षपोषण गर्छन् । त्यति मात्र नभएर गणतन्त्र र लोकतन्त्रका लागि भएका युद्ध र आन्दोलनलाई विद्रूपीकरण गर्नेदेखि प्रगतिशील चेतनाको विरोध गर्छन् ।

अर्कोतिर साहित्यलाई पार्टी राजनीतिको प्रचार संयन्त्रका रूपमा लिने र कलाभन्दा नारामा विश्वास गर्नेहरू पनि छन् । कलासाहित्य यथार्थको कलात्मक प्रतिबिम्बन हो भन्ने कुरालाई चटक्कै बिर्सिएर आफू निकटकाहरूले लेखेको साहित्यको महिमामण्डन गर्ने पनि गरिन्छ ।

अलग धार यस्ताखाले अतिको सट्टा कलासाहित्य विचार निर्माण र समाज परिवर्तनको साधन हुँदाहुँदै पनि प्रथम त यो कला नै हो भन्ने मान्यता राख्छ । विज्ञान र प्रविधिको एक्काइसौँ शताब्दीमा पनि भौतिकवादी चिन्तनलाई दुत्कार्ने साहित्यले अबको नेतृत्व गर्न सक्दैन । कलासाहित्यले समयको आवाज र समकालीन यथार्थलाई प्रकटीकरण गर्न सक्नुपर्छ । मरणशील यथार्थको पक्षमा हैन कि प्रगतिशील यथार्थको पक्षमा आफूलाई उभ्याउन नसक्ने कविसाहित्यकार र कलाकारले जति नै सुन्दर र कलात्मक सिर्जना गरेपनि ती सबै कागजका खेलौना जस्ता हुने छन् ।

(५) संस्कृतिमा अलग धार

राजनीतिक र सामाजिक परिवर्तनमा संस्कृतिको महङ्खवपूर्ण भूमिका हुन्छ । दिगो विकास र राजनीतिक स्थायित्व अन्तरसम्बन्धित कुरा हुन्, जसलाई चिन्तनको तहबाट संस्कृतिले सघाइरहेको हुन्छ । जुन समाजको संस्कृति पुरातन, अवैज्ञानिक र विशृङ्खलित छ त्यहाँको सामाजिक विकास पनि सोही अनुरूप हुन्छ । यसरी हेर्दा मानवीय मूल्य, आदर्श, राजनीतिक चरित्र र विकास निर्माणदेखि सामाजिक स्थिरतामा संस्कृतिको महङ्खवपूर्ण हात हुन्छ ।

संस्कृति अधिरचनाको एउटा अङ्ग भएकोले यसको विकास र निर्माण पनि आर्थिक विकास अनुरूप नै हुन्छ । यसो त संस्कृतिले पनि आधारको निर्माणमा सहयोग पु¥याएको हुन्छ । संस्कृति अन्तर्गत आचारविचार, रहनसहन, जात्रामात्रा र संस्कारदेखि भौतिक र अभौतिक सम्पूर्ण वस्तु पर्ने भएकोले समाज परिवर्तनसँगै यसको वैज्ञानिकीकरण र आधुनिकीकरणमा विशेष ध्यान दिनुपर्छ ।

राष्ट्रनिर्माणमा राजनीतिपछि मुख्य हात संस्कृतिको हुन्छ । सांस्कृतिक रूपान्तरणबिनाको राजनीतिक परिवर्तन दिगो र स्थायी हुन सक्दैन । कुनै पनि समाजको आधुनिकीकरण र लोकतान्त्रिकरणमा संस्कृतिको हात हुने भएकोले संस्कृतिको आधुनिकीकरणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसो त संस्कृति कसैको चाहनामा परिवर्तन हुने चिज हैन । तर पनि योजनावद्ध पहलले संस्कृतिमा भएका पुरातन, अवैज्ञानिक र रुढीबुढीलाई परिवर्तन गर्न सकिन्छ । समाजव्यवस्थाको अन्र्तवस्तु अनुरूपको संस्कृतिको निर्माण योजनावद्ध पहलबाट नै सम्भव हुन्छ ।

अलग धार संस्कृतिको आधुनिकीकरणमा विशेष जोड दिन्छ । नयाँ संस्कृतिको निर्माण केही व्यक्तिको प्रयत्नले मात्र सम्भव नहुने भएकोले यसलाई संस्थागत र राज्यतहबाट नै पहलकदमी उठाउनुपर्छ । विद्यालय र विश्वविद्यालयमा नयाँ व्यवस्था र संस्कृतिअनुरूपको पाठ्यपुस्तक तयार गर्ने, अवैज्ञानिक चिन्तन र अवधारणालाई न्युनिकरण गर्दै जाने र समाजमा रहेका जातीय, धार्मिक, भाषिक र सामाजिक विभेद र विसंगतिको अन्त्यका लागि योजनावद्ध कार्यक्रम तय गरियो भने मात्र नयाँ संस्कृतिको आधार तयार गर्न सकिन्छ ।

(२०७८)


  प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०७:१६