अलग धार : औचित्य र आवश्यकता

म दुईटा अतिवादी सोचबाट ग्रसित भएको रहेछु । सायद म मात्र भएको थिइनँ, म जस्ता लाखौँ युवाहरू यही मनोदशा बोकेर हिँडेका थिए । ती भ्रम थिए । पूर्ण नहुने सपना थिए । तर पूर्ण हुँदैनन् भनेर त कसरी भन्न सकिन्छ र ! असम्भव भन्ने पनि त केही चिज छैन । तर ती युटोपिया जस्तै मेरो वारिपरि घुमिरहेका थिए । यी दुई अतिवादी सोच थिए, खोक्रो राष्ट्रवाद र सुन्दर समाजको निर्माण ।

यो सपना थियो । सुन्दर समाज निर्माण गर्ने दूरदृष्टि थियो । सत्तरी वर्षदेखिको सपना, जसलाई बोकेर हिँड्दा कतिले जीवन बलिदान दिए, कति मृत्युवरण गर्न पुगे र कति अझै पनि भ्रमित मनोदशामा बाँचिरहेका छन् । कति म जस्तै अलग धारको खोजीमा निस्किएका छन् । भ्रमको कुरा गर्दै गर्दा मैले निराशाको कुरा गरिरहेको छैन । तर यथार्थ के हो भन्दा सात दशकदेखिको मुकुन्डो पक्कै पनि उघ्रिएको छ ।

यो निरन्तर प्रक्रिया हो । के सपना मारेर मर्छन् र ! जतिसुकै अप्ठ्यारोमा उभिनु परे पनि मानिसहरू सपना देख्न छोड्दैनन् । यही सपनाले मानिस जङ्गली अवस्थाबाट विज्ञान र प्रविधिको युगमा आएको हो । यही सपनाले मानिस सभ्यताको मिनार उठाउन सक्षम भएको हो ।

केही वर्ष पहिलेसम्म हाम्रो महान् देश र महान् नेपाली भन्ने स्लोगानबाट प्रभावित थिएँ म । वीर नेपाली हुनुमा गर्वबोध गर्थें । मलाई कहिल्यै परायको दाशतामा बस्नु नपरेको इतिहास पढ्दा आनन्द आउँथ्यो । सगरमाथाको देश, गौतम बुद्धको देश र पहाड, मधेश अनि हिमाल भएको सुन्दर देश भन्नेमा गर्व गर्थें । त्यो सत्य पनि थियो । जनक र सीताको भूमि नेपाल त हो । विश्वका अग्लाअग्ला दसोटा हिमाल नेपालमा नै त छन् । गौतम बुद्ध नेपालमा जन्मिएका त हुन् ।

कतिपयलाई लाग्छ म पनि अतिवादी सोचबाट ग्रसित हुँदै गएको छु । म आफ्नै मातृभूमिको आलोचना गर्दै छु । यस्तो सोच पनि राष्ट्रवाद हो । भ्रमपूर्ण राष्ट्रवाद । मलाई मेरो देशको माया लाग्छ । मेरो भाषा, संस्कृति, सार्वभौमिकता र राष्ट्रियतामाथि कसैले पनि औँला ठड्यायो कि मभित्रको राष्ट्रवाद जागृत हुन्छ । म आन्दोलित हुन्छु । तर मैले मभित्रको कमजोर राष्ट्रवादलाई सच्याउनुपर्छ । के नेपाल हुनुको गौरव पहाड, हिमाल, मधेश, बुद्ध, जनक र सीतामा मात्र छ ?

मलाई विगतको गान गाएर वर्तमानमा आँसु पिएर बाँच्नु छैन । म वर्तमानलाई उजिल्याउन चाहन्छु । मैले मेरो समयमा के गरेँ ? कुन त्यस्तो खोज र निर्माण गरेँ जसले राष्ट्रलाई समृद्ध बनाउन सहयोग पु¥यायो ? म कसरी बाँचेको छु ? मेरो चिन्तन कस्तो छ ? संस्कार संस्कृतिमा म कुन ठाउँमा छु ? मैले निर्माण गरेको सामाजिक, राजनीतिक र मानवीय मूल्य के हो ? जबसम्म यी तमाम प्रश्नहरूमाथि बहस केन्द्रित हुन्न तबसम्म मेरो राष्ट्रवाद खोक्रो हुन्छ ।

हाम्रो देश भाडाका सिपाही निर्यात गर्ने देश हो भनेर किन भन्न सक्दैनौँ हामी ? केही हजारको रोजगारीका लागि दाससरह विदेशिन बाध्य युवाको मनोदशा कस्तो हुन्छ ? देशभित्रका कलकारखाना बन्द गरेर बेरोकटोक विदेशी उत्पादन आयात गर्ने काम कुन राष्ट्रवादभित्र पर्छ ? सुनिश्चित भविष्यको खोजी गर्दै विश्वका कुनाकुनामा भौँतारिदै हिँड्नुले कुन आर्थिक र सामाजिक मूल्यको प्रतिबिम्बन गर्छ ? के हामीले कहिल्यै सोचेका छौँ ?

अर्को भ्रम हो क्रान्तिपछिको नेपालको परिकल्पना ।

सन्तानब्बे सालदेखि गणना गर्ने हो भने नौ दशक भयो, हामी अर्को भ्रममा बाँचेको । यसो त उही कुरा सफल भए यथार्थ र असफल भए भ्रम हुँदो रहेछ । कसैले सुखी र समुन्नत भविष्यको कल्पना गर्नु सपना देख्नुसरह न हो । उसले आफूले देखेको सपना पूरा गर्न जुन बाटोको खोजी गर्छ त्यही नै गलत रहेछ भने ऊ दृष्टिभ्रममा रहेछ भन्न सकिन्छ । यसलाई यसरी मात्र पनि आँकलन गर्न सकिन्न होला । सफलता र असफलता त परस्पर विरोधी चिज न हुन् । सफलतासँगै समानान्तर गतिमा त हिँड्छ असफलता । हरेक कुरामा दुई ध्रुव हुन्छन् । ती हुन् सफलता र असफलता । हामीले अङ्गिकार गरेको लक्ष्य असफल भयो भन्दैमा हामीले देखेको सपना पनि गलत थियो त !

जागरणको आठ दशकपछि हामीले विश्वास गरेको नेतृत्व खराव रहेछ भन्ने प्रष्ट भएको छ । क्रान्ति आफैमा अपरिभाषित विषय हो । यसलाई कसरी परिभाषित गर्न सकिन्छ र ! हरक्षण र हरसमय हामीले यसलाई बोकेर हिँडिरहेका हुन्छौँ । हामीले आफूभित्र प्रतिक्रान्ति बोकेर हिँडिरहेका छौँ भने दोष हामीभित्र पनि छ । नेतृत्वलाई मात्र दोष दिएर पनि त हुन्न ।

क्रान्तिपछि, स्पष्ट रूपमा भन्दा राजतन्त्रको अन्त्यपछि, सुखैसुख प्राप्त हुन्छ भनेर सोच्नु नै हाम्रो गल्ती थियो । हैन र ? युद्धमा लड्ने आफू, क्रान्तिका लागि जीवन बलिदान गर्ने आफू तर क्रान्तिपछिको राज्यसत्तामा बस्ने अरू । आफूसँग राख्नुपर्ने तालाचाबी अरूलाई बुझाइदिएपछि प्राप्त हुने भनेको असफलता हो ।

क्रान्तिपछि नेतृत्वले बेइमानी यहाँ मात्र गरेका छैनन् ? प्रायः धेरै देशमा यस्तो नियति दोहोरिएको छ । छोटकरीमा भन्दा जसलाई हामीले विश्वास ग¥यौँ उही नै खलनायकमा परिवर्तन भयो । सुखी र समृद्ध नेपालको सपना कसैको पेवा भयो र त्यो नारा राष्ट्रबाट पार्टी, समुदाय, गुट, उपगुट, परिवार हुँदै एउटा व्यक्तिमा आएर सीमित भयो । अब हामीसँग क्रान्तिको भ्रमबाहेक केही छैन । विशृङ्खलित हुँदै गएका सपनाले तर्साउने अवस्थामा पुगेका छौँ हामी । यस्तो अवस्थामा म भने ‘अलग धार’ निर्माणको अभियान लिएर आएको छु ।

निश्चय पनि समाजमा एउटा शक्ति, जुन बहुमत देखिन्छ, शासनसत्तामा हालिमुहाली गरेर बसेको हुन्छ । उसले अग्रगमनलाई हैन यथास्थितिको पक्षपोषण गर्छ । अझ कतिपय सवालमा त उसले पश्चगमनलाई बोक्न पुग्छ । अर्को शक्ति सधैँ अग्रगमनकारी हुन्छ । ऊ सर्वदा, सानो नै किन नहोस्, सत्ता र सामाजिक विसङ्गतिको विरुद्ध लडिरहेको हुन्छ । म कलासाहित्यको क्षेत्रमा काम गर्ने मान्छे, मेरो चासो र चिन्ता यही क्षेत्रमा बढी हुन्छ नै । के शासनसत्तामा मात्र त्यस्तो प्रवृत्ति देखिन्छ ? के राजनीतिक सत्तामा मात्र परस्पर शक्ति, अग्रगमनकारी र पश्चगमनकारी हुन्छन् । हैन, यस्तो शक्ति समाजका हरेक क्षेत्रमा हुन्छन् । कलासाहित्यमा पनि परस्पर दुई शक्ति, दुई सत्ता र दुई धार हुन्छन् ।

प्रा.डा. ताराकान्त पाण्डे लेख्छन्, ‘कलासाहित्यको एउटा धार शासनकेन्द्री हुन्छ र अर्को धार वैकल्पिक रूपमा सामाजिक कुरूप यथास्थिति एवं त्यसको नियन्ता शासकवर्गका विरुद्ध परिवर्तनको चेतसँगै क्रियाशील हुन्छ ।’ (पाण्डेय : २०७३ : १५८)

म यही आवाजलाई बोकेर हिँडिरहेको छु । हामीले अहिलेसम्म जसलाई महान् भन्यौँ, जुन चिजलाई गौरव भन्यौँ यथार्थमा त्यो सामन्तवादले बनाएको भ्रमपूर्ण स्लोगान थियो । यसलाई नभत्काएसम्म, हामी यथार्थमा जङ्गली अवस्थामा रहेछौँ भन्ने सत्य नबुझेसम्म, अझै पनि केही पुस्ता यसरी नै भ्रमित जीवन बाँच्न बाध्य हुनेछ । राजनीतिको कपटी खेलमा निर्लिप्त नेतालाई सार्वजनिक ठाउँमा उभ्याएर हामीले भोगेको वर्तमान किन यस्तो भयो, हामीलाई यसरी भ्रमित बनाएर राख्ने तिमी नै हैनौँ भनेर नसोधेसम्म, दण्डित नगरेसम्म यहाँ नयाँ बन्नेवाला छैन ।

कतै म राजनीतिक पार्टीप्रति विमति र विभ्रम पैदा त गर्दै छैन ? म पनि गलत बाटोमा त छैन ? राजनीति र राजनीतिक पार्टी तथा नेतृत्व सधैँ खराब हुन्छन् भन्ने मेरो आशय किमार्थ हैन । देशलाई सही दिशा दिने राजनीतिले नै हो । राजनीति सुध्रिए मात्र देश सुध्रिन्छ भन्नेमा म पूर्ण सहमत छु । तर यसको अर्थ यो हैन कि राजनीतिक व्यक्ति भनेको देवतातूल्य हुन्छ । ऊ खराव पनि त हुन सक्छ । र, नेपालको सन्दर्भमा प्रायः सबैजसो नेतृत्व असफल भएको यथार्थ घामजत्तिकै छर्लङ्ग छैन र !

यही भएर म अलग धारको कुरो गरिरहेको छु । अलग धार समाजका हरेक क्षेत्रमा विकास गर्न सकिन्छ । अलग धार भनेको चिन्तन पनि हो व्यवहार पनि हो । प्रश्न पनि हो विद्रोह पनि हो । मानौँ वाचडग हो ‘अलग धार ।’ यसले हमेशा खबरदारी गर्नेछ, हरेक क्षेत्रमा अलग दृष्टिका साथ विषयको अध्ययन गर्नेछ र नयाँ निर्माण गर्न अभिप्रेरित गर्नेछ ।

यतिका राजनीतिक पार्टीहरू भएको देशमा किन चाहियो अलग धार ? के यो ती पार्टी र नेताहरूभन्दा पनि ठुलो शक्ति हो ? प्रश्नहरू उठ्न सक्छन् । अलग धार न त कुनै राजनीतिक पार्टी हो र सामाजिक संस्था । राज्यको स्थायी प्रतिपक्षी भने पक्कै पनि हो । वर्तमानको आवाज हुनुको नाताले अलग धार दर्शन, चिन्तन, राजनीति, कलासाहित्य र संस्कार संस्कृतिमा व्याप्त छ ।

म अब अलग धारको औचित्यबारेमा बुँदागत रूपमा चर्चा गर्छु ।

(१) परिवर्तन संभव छ नेपालको राजनीतिमा २००७ सालदेखि कम्युनिष्ट र प्रजातन्त्रवादीहरू प्रभावी रहे । राज्य सञ्चालनमा कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष राजाको भूमिका रहेपनि जनताहरू पार्टी राजनीतिको समर्थनमा थिए । उनीहरूमा पार्टी र नेताप्रति विश्वास थियो । यही विश्वासकै कारण सात दशको सङ्घर्ष र आन्दोलनमा राजनीतिक पार्टीसँग हातमा हात मिलाएर अघि बढे । जनताकै बलमा सात साल, अठार साल, उनन्तिस साल र बाउन्नदेखि त्रिसठ्ठी सालमा ठुलठुला सशस्त्र विद्रोह भए । छत्तिस साल, छयालिस साल र त्रिसठ्ठी सालका जनआन्दोलन यही विश्वासकै प्रतिफल थियो ।

तर अहिलेको अवस्था त्यस्तो हैन । अहिले जनता पार्टी र नेतृत्वप्रति विश्वास गर्दैनन् । उनीहरू परिवर्तन र क्रान्तिप्रति नै वितृष्णा व्यक्त गर्छन् । राजनीतिक पार्टी र नेतृत्वप्रतिको विश्वास गणतन्त्र प्राप्तिपछिको डेढ दशमा गल्र्यामगुर्लुम ढलेर गयो । नेपालको इतिहासमा जनता सम्भवत यति निराश पहिले कहिल्यै पनि भएका थिएनन् । उनीहरू अब नेपाल बन्दैन भन्ने निचोडमा पुगेको देखिन्छ । यस्तो समयमा म ती निराश र थकित जनतालाई परिवर्तन सम्भव छ भन्ने भावना जागृत गराउन चाहन्छु । अलग धार यही आवश्यकताबोधले सुरु गरिएको हो ।

(२) स्थायी प्रतिपक्षीको निर्माण लामो समय नेपाली राजनीतिमा कांग्रेस र कम्युनिष्टले कब्जा जमाए । यिनीहरूले जनतालाई सपना त देखाए तर पूरा गर्न सकेनन् । क्रान्ति सम्पन्न भएपछि उनीहरू पछि हटे । क्रान्तिले निदृष्ट गरेका परिवर्तनका मुद्धा छोडे । यस्तो अवस्थालाई भत्काउन फेरि अर्को क्रान्तिको अवश्यकता पर्छ । तर क्रान्तिका लागि नेपाली जनताले राजनीतिक पार्टी र नेतालाई विश्वास गरिहाल्ने अवस्था छैन । र, विश्वासघात र सत्तास्वार्थका कारण तुरुन्तै क्रान्तिको नयाँ उभार आउनेवाला पनि छैन । क्रान्तिको नयाँ उभार नआएसम्म हाम्रा सपना पूरा हुन्नन् ।

गणतन्त्र प्राप्तिको आन्दोलनमा सांस्कृतिक र साहित्यिक क्षेत्रमा सत्ताबाहिर बसेर खवरदारी गर्ने शक्ति हामीसँग थियो । हामी लेखक साहित्यकार सरकार र सत्तासँग निरन्तर लडिरहेका थियौँ । अहिले ती सबै संस्था सरकारको भक्ति गाउनतिर प्रतिवद्ध छन् । प्रायः सबैजसो लेखकहरू कुनै न कुनै पार्टी वा विचार समुहमा आवद्ध छन् । सत्ताको प्रतिपक्षी लेखक भेट्नु भनेको मरुभूमिका पानी भेट्नु सरह भएको छ । जति भेटिन्छन् ती पनि ऊर्जाशील छैनन् । आन्दोलन सेलाएपछि सबै कुरा सेलाउँदो रहेछ । सबैतिर एक किसिमको निराशा पैदा हुँदो छ । म भने यस्तो समयमा पार्टी राजनीतिभन्दा माथि उठेर नयाँ धारको बहस गरिरहेको छु । र, ती किनारीकृत कविलेखकलाई सत्ताबाहिर बसेर पनि हामीले केही गर्न सक्छौँ भन्ने सन्देश दिन खोजिरहेको छु ।

(३) सपनाको खोजी दशकौँदेखि मानिसहरूले सुन्दर सपना देखेका थिए । सपना देखाउने काम अहिले सत्तामा रहेका राजनीतिक पार्टीहरूले नै गरेका थिए । समानता, स्वतन्त्रता र समतामूलक समाजको निर्माण सामान्य सपना थिएन । सुखी र समुन्नत राष्ट बनाउने सपनाले नै मानिस आन्दोलनमा सक्रिय थिए । परिवर्तनको पक्षमा विश्वस्त भएर लागेका थिए ।

आफूले त्याग गरेर देश बन्छ भने, आफू मरेर सन्ततीको कल्याण हुन्छ भने कसले बलिदान नगर्ला र ! हजारौँ हजार मानिसहरू यही सपनाका लागि लड्दालड्दै सहादत प्राप्त गरे । हजारौँ घाइते भए, बेपत्ता भए । कति घरबारबिहीन भए, कति टुहुरा भए र कति विक्षिप्त भए । यो सबै सपनाको प्राप्तिका लगि भएको थियो । तर क्रान्तिपछिको नेपाल कस्तो भयो ? सबैतिर बेथिति, विसंगति र विकृतिको आहाल लिएर आएको छ परिवर्तन । हिजोका आदर्शहरू गल्र्यामगुर्लुम ढलेका छन् । हिजोका नायक खलनायकमा परिवर्तन भएका छन् ।

यस्तो आवस्थामा मैले अलग धारको सुरुवात गरेको छु । यसले त्यो नयाँ पुस्ता जो सुन्दर भविष्यका लागि फेरि पनि आशक्त छ, त्यो समकालीन पुस्ता जो सडकमा छरिएका सपना हेर्दै निराश र भयभीत छ, म ती सबैमा क्रान्ति सम्भव छ भन्ने सपना जागृत गराउन गैरहेको छु । क्रान्तिबिना शान्ति सम्भव छैन भन्ने मूल मन्त्र लिएर म जनतासम्म पुग्न चाहन्छु । समानता, स्वतन्त्रता र सुन्दर भविष्यको सपना देख्न छोड्नुहुन्न भन्ने आवाज नै ‘अलग धार’ हो ।

(४) नयाँ मूल्यको निर्माण अहिलेसम्म जसरी सोचियो अब त्यसरी सोचेर हुनेवाला छैन । नयाँ गर्नका लागि नयाँ सोच आवश्यक हुन्छ । नयाँ दृष्टि र नयाँ विचारको आवश्यकता छ । किन पटकपटक क्रान्ति र परिवर्तन हुँदा पनि नेपाली समाजमा तात्विक परिवर्तन हुन सकेन ? किन हाम्रो समृद्धिको सपना ज्युँकात्युँ थाती रह्यो ? यो सबै यथास्थितिलाई टालटुल गर्ने राजनीतिक संस्कारका कारण भएको हो । म यसलाई भत्काउनुपर्छ भन्छु ।

संस्कार, संस्कृति, मूल्य मान्यता, राजनीति, अर्थनीति र आपसी सम्बन्ध के पुरानै तरिकाले चल्न सक्छन् ? गणतन्त्र, लोकतन्त्र र जनताको शासन भनेको के राजतन्त्रको अन्त्य मात्र हो ? राजाको ठाउँमा राष्ट्रपति र एकदलको सट्टा बहुदल हुनु नै गणतन्त्र प्राप्त हुनु हो ? के गणतन्त्रका मूल्य र सामन्तवादका मूल्य समान हुन्छन् ? अवश्य पनि फरक हुन्छन्, तर यहाँ भने पुरानै संस्कृति, मूल्य र नीतिलाई लिपपोत गरेर नयाँ भनिएको छ । नयाँका लागि डिकन्स्ट्रक्सन आवश्यकता छ । पुरानो नभत्काएसम्म नयाँ बन्दैन भनेर कतिपल्ट सिकाउनु नेतृत्वलाई । सबै यथाथस्थितिमा रमाइरहेको समयमा म भने भत्काउने कुरा गरिरहेको छु । समाजका हरेक क्षेत्रमा नयाँ बनाउन नयाँ तरिकाले सोच्नुपर्छ भन्ने अवधारण हो ‘अलग धार ।’

(५) भ्रमको विरुद्ध नागरिक समाज र एनजिओ संस्कृतिमार्फत् नवउदारवादी साम्राज्यवाद क्रान्तिलाई भ्रमित गरिरहेको छ । समाजवादको असफलताको प्रचार गर्दै माक्र्सवादको मृत्युको घोषणा गरिरहेको यो समय युवा जमात भ्रमित हुनु स्वभाविकै हो । पुँजीवाद शोषणका नयाँ नयाँ शैली प्रयोग गरिरहेको छ । उदारवादका नाममा तेस्रो मुलुकको प्राकृतिक सम्पदा हात पार्ने र बहुराष्ट्रिय कम्पनीमार्फत लुटको स्वर्ग बचाइराख्ने हर प्रयास गरिरहेको छ ।

कहिले लेखकको मृत्यु त कहिले विचारको मृत्युको घोषणा गर्दै साम्राज्यवाद उत्तरआधुनिक विभ्रमलाई बढाइरहेको छ । मानिसलाई टुक्र्याउने, एकलो बनाउने र उपभोक्तावादी चिन्तन मार्फत मानवीय संवेदनालाई समेत वस्तुमा रूपान्तरण गर्ने काम सामान्य भैसकेको छ । यस्ताखाले विभ्रम र विकृतिलाई व्यक्तिको स्वतन्त्रता र छनोटको अधिकारको जामा पहि¥याउँदै चोख्याउने गरिएको छ । यसरी विभिन्न कलेबरमा हाम्रो बिस्तरासम्म आइपुगेको विकृतिलाई रोक्नका लागि पुरानो चेतनाले पुग्दैन । सूचना प्रविधिको सन्जाल र यसले पारेको नकारात्मक चिन्तनलाई तोड्नका लागि पनि अलग सोच आवश्यक छ ।

परम्परावादी सोच र संस्थाहरूबाट परिवर्तन संभव छैन । न त पुरातन दृष्टकोण भएका पार्टीहरूबाट नै संभव छ । यसका लागि विकास, परिवर्तन र मूल्यहरूको पुनव्र्याख्या हुनुपर्छ । इतिहासको पुनर्मूल्याङ्कन गरिनुपर्छ । राजनीतिक पार्टीहरूले जुन किसिमको भ्रम सिर्जना गरिरहेका छन्, जसलाई विकास र समृद्धि भनिरहेका छन् त्यो वास्तवमा हामीमाथि थोपरेको भ्रम हो । यसलाई भत्काउनु जरुरी छ । आत्मनिर्भर अर्थतन्त्रसहितको समतामूलक समाज समाजवादी क्रान्तिबाट मात्र सम्भव छ । ‘अलग धार’ सत्तामा ढलीमली गर्दै समाजमा विभ्रम फैलाउने कपटी र निकृष्ट सोचविरुद्धको अभियान हो ।

अन्त्यमा

अन्तिममा म ‘अलग धार’को औचित्य र आवश्यकता किन छ भन्ने पुष्टि गर्नका लागि भारतीय चिन्तक ज्योतिस्वरूप सक्सेनाको यो भनाइ राख्न चाहन्छु । उनी लेख्छन्, ‘समाजमा यस्ता मानिसहरूको संख्या बढ्छ जसको निष्टा नष्ट भैसकेको हुन्छ र जसको आशा र मूल्य टुटिसकेको हुन्छ । यस्तै मानिसहरूबाट नै त्यो ‘मुक बहुमत’को निर्माण हुन्छ जो अवस्थाको विश्लेषण गर्नुको सट्टा स्वयं तटस्थ रहेर उनको मजाक उडाउँछन् । यस्तो समाजमा उदासीन, कामुक, सफल र निर्मम हुनु नै लाभदायक हुन्छ न कि स्पष्ट, चिन्तित, प्रतिबद्ध, गम्भीर र निष्ठावान हुनु ।’ (सक्सेना : २००२ : १९७)

(सन्दर्भ सामग्री)

पाण्डेय, ताराकान्त । माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र, साझा प्रकाशन, २०७३)

सक्सेना, ज्योतिस्वरूप । एक सांस्कृतिक नीतिके आयाम, अनु. मैनेजर पाण्डेय, संकट के बावजूद, वाणी प्रकाशन, दिल्ली, २००२


  प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०७:११